
नारा र जुलुसको आगो बिना
उसले सित्तैमा छरिदियो
एउटा रङ
दिगन्तसम्म हरियो।
जीवनको समर्थन गर्छ ऊ
बाँचोस ऊ अनि उसका सहोदर प्राणी।
आज ऊ थकित छ
आफ्नो छातीमा विज्ञानिकका कति सूत्रहरू टाँसेर
प्रगति र विकासका चित्रहरू
टुलुटुलु हेर्दै
मौन बस्छ एउटा ग्रह
उसको आयुरेखाको लम्बाइ
ठम्याउन नसकेर।
ऊ रेटिएको छ कतै धर्म
कतै विज्ञानको खोजको नाटकको
निपीडित पात्र बनेर
अचेतन समाजको ताण्डवमा
जङ्गल फाँडिए
विलुप्त भए नदी
हरायो चराको चिरबिर।
पिठ्युँमा बोकेको छ रापिलो घाम
नुहाएको छ अम्ल पानीले
प्रसादको रूपमा खाँदैछ
क्यामिकेलको हलाहल
यो निलकण्ठ ग्रह।
वर्षको एकदिन समर्पित छ उसको नाउँमा
कार्यालय, विद्यालय, जनालय, सडक, मैदान
सर्वत्र उसको गुणगान छ
उसको फुस्रिएको अनुहारमा
रङ्को कोलाज भर्न
त-छाड म-छाड गर्दै कुदेको छ भूगोल
यो जमातले उसलाई
दुई थोपा अर्मृत पिलाउँलान्
सधैँ बिहान उसले
हलाहल पिउनेअघि ?