‘माया गर्नुको अर्थ’ इन्द्रेनी गीतसङ्ग्रह

गीत नै शायद साहित्यको सबैभन्दा बढी सुनिने, गुन्गुनाइने र लेखिने विधा हो। नेपाली गीतिक्षेत्रमा समयसापेक्षित थुप्रै गीतकारहरू सुनिन्छन्, देखिन्छन् । गीत ठानिएका ती सबै सामग्री गीतै हुन् वा होइनन् भन्ने कुरा सामान्यत गीतितत्त्वहरूका आधारमा छुट्ट्याइने कुरा हो। अर्थात् गीतलाई यसका केही मानक लक्षणहरूले नै साहित्यका अरू विधाबाट भिन्न राख्छ। गीतिकृतिहरूको गीतकारपरक वा व्यक्तिपरक परिचयात्मक सामान्य समीक्षाबाहेक खास अध्ययन भएको पाइदैन। साहित्यका अन्य विधाहरूको जस्तै गीतको पनि शुद्ध कृतिपरक समालोचना, विश्लेषण हुनसके गीतिफाँटकै परिष्कृति र सम्बृद्धिमा सहयोग हुनेछ।

नेपाली गीतिबजारमा गत वर्ष आएको माया गर्नुको अर्थ गीतसङ्ग्रह एउटा चर्चायोग्य कृतिको रूपमा देखिन्छ। स्याङ्जा , हरिनासका श्रष्टा शिव पलाँसका गीतहरू नेपालका ख्यातिप्राप्त सङ्गीतकार तथा गायक गायिकाहरूको कलामा अभिलेखीकृत भई विभिन्न संचार माध्यम र युट्युमा सङ्ग्रहीत छन्। लामो समय शिक्षण र रेडियो प्रशारणको समेत अनुभव संगालेका यि स्याङ्जाली श्रष्टा पछिल्ला बर्षहरुमा प्रवासमा रहेर साहित्य कर्ममा क्रियाशिल छन् । यद्यपि यस लेखमा चाहिँ पलाँसको गीतिपुस्तक माया गर्नुको अर्थका गीतहरूलाई वस्तुपरक ढङ्गले केलाउने सानो प्रयास गरिएको छ।

गीत ठानिएका ती सबै सामग्री गीतै हुन् वा होइनन् भन्ने कुरा सामान्यत गीतितत्त्वहरूका आधारमा छुट्ट्याइने कुरा हो

विविधतायुक्त ८१ वटा गीतहरू रहेको यस सङ्ग्रहको पहिलो गीतको शीर्षकलाई नै पुस्तकको नाम बनाइएको छ माया गर्नुको अर्थ। यस सङ्ग्रहभित्रका धेरै गीतहरूले माया प्रेमलाई विषय बनाएको कुरा यस पुस्तकको नामले सङ्केत गर्छ। सर्वप्रिय, मीठो, फराकिलो, अनुभूतिजन्य भावनात्मक ठानिने मायाका रूपहरू उमेर, अवस्था, सम्बन्ध नाता, स्थान आदि अनुसार फरक फरक हुन्छन् नै। मायाका यस्तै विविध रुप, विश्वास, आस्था अनि धोका आदि भावहरूको सेरेफेरोमा लेखिएका छन् यस सङ्ग्रहका ३७ वटा गीतहरू, २ वटा युगल गीतसहित।

गीतहरूमा मानव मनका प्रेमिल भावहरूलाई गीतिबजारमा सुनिँदै आएको जस्तै सस्तो आवेगात्मक रूपमा होइन, अत्यन्त संयमित र शालीन ढङ्गमा व्यक्त गरिएका छन्। यस किसिमका गीतहरूमा भौतिक वा दैहिक अर्थात वासनात्मक प्रेमभन्दा माथि उठेर भावनात्मक प्रेमको अभिव्यक्ति भएको पाइन्छ। अरूलाई देखाएर वा साक्षी राखेर गरेको माया सच्चा नहुन पनि सक्छ। मनले चुपचाप गरेको माया पो गहिरो र दिगो हुनसक्छ भन्ने विचार पनि बोकेका छन् यस सङ्ग्रहका केही गीतहरूले।

माया गर्नुको अर्थमा रहेका प्रेमसम्बन्धी थोरै गीतहरूमा मात्रै मिलनका सन्दर्भ व्यक्त भएका छन्। अधिकांश गीतहरूको विषय वियोग र विरहभाव रहेका छन्। मायालुबाट धोका पाएर विरक्तिएको मन, निरस जीवन, वैराग्य, गन्तव्यहीन यात्राको पीडाहरूलाई सरल शब्दहरूमार्फत गीतमा प्रस्तुत गरिएका छन्। यी गीतहरूमा मायामा घात भएपछि मान्छेले आफ्नो सबैथोक लथालिङ्ग भएको, आफ्नो जीवन आफैँलाई बोझ भएको अनि दुनियामा आफू एक्लो परेको महसूस गर्छ। यस्तै कुरालाई प्रस्तुत गरिएको एक गीति अंश;

सुनिदिने कोही भए पो जिन्दगी यो दुख्यो भन्नु
पुछिदिने कोही भए पो आँसु मेरो बग्यो भन्नु -पृष्ठ २२

मायाप्रेमका केही गीतमा स्वैर कल्पनाको समेत आभास पाइए पनि धेरैजसो गीतमा यही दुनियाको जीवित यथार्थलाई नै अँगालिएका छन्। जीवन चलाउनको लागि मान्छेले मेशिनझैँ बनेर गरिरहेका अनेक दु:ख सङ्घर्षका साथै मानवीय व्यस्तता, स्वार्थीपना, मानवताहीनजस्ता भावहरूलाई पनि एकिङ्ग इन्जोयको रूपमा समेटिएका छन् गीतमा यसरी;

मान्छेसँग ठोकिएर मान्छे लडेको छ
एउटालाई कुल्ची अर्को अघि बढेको छ (पृष्ठ ६८)

मानवीय एवम् सामाजिक विसङ्गति, बेथितिलाई औल्याएर तिनमा सुधारको चाहना राखिएका गीतहरू पनि छन् माया गर्नुको अर्थ गीतसङ्ग्रहमा। यसका कतिपय गीतमा जातीय तथा सामाजिक विभेद, थिचोमिचो, अन्याय, अत्याचार, गरीबिको चित्रण, कमजोरहरूको दुरावस्था, दुर्भाग्य आदि कुराहरू विषय बनेका छन्। केही गीतचाहिँ मीठा कुरा गरेर, झूटो आश्वासन बाडेर जनतालाई सधैँ अल्मल्याइराख्ने राजनीति प्रति असन्तोष र आक्रोश पोख्दै त्यसको चरित्रलाई उदाङ्गो पार्न लक्षित छन्।

बेइमानीहरूका कारण सामाजिक, राजनैतिक अस्थिरता बढेको जिकिर गर्दै तिनमा सुधारको अपेक्षा पनि राखिएका छन् कुनै गीतमा। यस गीतसङ्ग्रहमा शिक्षा, स्वास्थ, रोजगार, सामाजिक परिवर्तन र मानवको सर्वाङ्गीर्ण विकासको आवश्यकतामा जोड दिइएका गीतहरूको पनि सशक्त उपस्थिति भेटिन्छन्।

कुनै गीतमा चाहिं थामिनसक्नु अनेकौँ समस्याले स्वदेशबाट लखेटिएर अलिकति सुख कमाउन विदेश पुगेका मानिसको बाध्यता, सङ्घर्षपूर्ण यथार्थलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ

माया गर्नुको अर्थ सङ्ग्रहका १३ वटा गीतले गीतकार पलाँसको आफ्नै जन्मथलो, गाउँघर र सिङ्गै देशप्रतिको मायालाई मिठा शब्दहरूमार्फत सहज ढङ्गले बोकेका छन्। यीमध्येका कुनै गीतले बहुसंख्यक नेपालीको पेशा कृषिलाई सरल बनाउन सम्बन्धित निकायबाट खास पहल नभएको सत्यको उजागर गर्दै हाम्रा व्यावसायिक दुर्दसाहरूलाई प्रस्तुत गरेका छन्। हाम्रो संस्कृति, चाडपर्व, जीवनोपयोगी रीतिरिवाज आदि पनि स्वभाविक रूपमा गीतिविषय बनेका छन् यस सङ्ग्रहका गीतमा। कुनै गीतमा चाहिं थामिनसक्नु अनेकौँ समस्याले स्वदेशबाट लखेटिएर अलिकति सुख कमाउन विदेश पुगेका धेरैजसो मानिसको बाध्यता, सङ्घर्षपूर्ण यथार्थलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ, स्वयम् गीतकार भोक्ता बनेर।

देशको विकासको लागि हामी आफैँ जुट्नुपर्ने, साँध-सीमानाको रक्षाको लागि सधैँ चनाखो र बलियो हुनुपर्ने आदि देशभक्तिका अपेक्षित विचारहरू माया गर्नुको अर्थका गीतहरूमा छन् नै। विदेशी थिचोमिचो र अन्यायपूर्ण व्यवहारको भद्र र शान्तिपूर्ण शब्दहरूमा खुलेर विरोध पनि गरिएका छन् यस सङ्ग्रहका कुनै गीतमा। छिमेकी देशको हेपाहा प्रवृत्तिप्रति स्वाभिमानी, देशभक्त नागरिकको समसामयिक आवाज पनि बोलिएको छ गीतका पङ्क्तिहरूमा;

मैले नदी तर्दा तर्दै तुइन काट्छौ कहिले
मेरो साँध मिच्छौ, मैलाई गोली दाग्छौ कहिले (पृष्ठ ९०)

उक्त गीतसङ्ग्रहका कुनै गीतले यो भौतिक दुनियाको केही पनि अमर छैन, जन्म र मृत्यु मात्रै साश्वत सत्य हुन् भन्ने कुराहरूलाई आध्यात्मिक ढङ्गमा व्यक्त गरेका छन्। कतिपय गीतमा जीवन, संसारप्रति चरम निराशा, वितृष्णा र वैराग्यता प्रकट भएका छन्। यद्यपि दुनियाप्रति प्रेम, जीवनलाई क्रियाशील बनाउने जोश जाँगर, जीवनअनुभवबाट अनेकौ सिकाइका कुराहरू पनि व्यक्त भएका छन्। सामाजिक समानता, क्रान्तिकारी आवाज, मानवको प्रगति र प्राप्तिको खुशीका साथै आशावादी विचार संचारित गर्ने गीतहरू नभएका होइनन् यस सङ्ग्रहमा। विश्वकै सर्वश्रेष्ठ प्राणी मान्छेहरू कर्तव्यनिष्ठ, जिम्मेवार एवम् परोपकारी हुन सकेमा मानवतावाद र मानवीय मूल्य जीवित रहने आदर्शवादी सन्देश दिन्छन् यहाँ भएका कुनै गीतले।

माया गर्नुको अर्थभित्र पुनर्जन्ममा विश्वास, नितान्त भाग्यवादी विचार, भगवानप्रति पूर्ण भरोसाभावका गीतहरू पनि छन्। मानव सृष्टिको निरन्तरताको लागि नारीहरूले पराइघर जानुपर्ने (पृष्ठ ४७), नारीले पुरूष वा श्रीमानको भरमा बाँच्न राजी हुनुपर्ने (पृष्ठ ८८) जस्ता आशयका गीतले हाम्रो केही परम्परा, रीतिलाई उजागर त गर्लान् तर त्यस्ता थितिहरूमा सुधारभाव प्रवाह गर्नु अझ राम्रो हुन्छ आजका गीतहरूले। यसमा केही गीत पूर्ण रूपमा उपदेशात्मक र नैतिक शिक्षामूलक छन् ।

सङ्ग्रहका धेरै गीतले नेपाली गीतिक्षेत्रको मूल धारका रूपमा चलिआएका मानकलाई नै पछ्याएको देखिन्छ

यस्ता कुरालाई अलि घुमाउरो र कलात्मक तरिकाले ब्यक्त गर्न पाएको भए अझ स्वादिलो हुँदो हो । अनि एकाध गीतमा अग्रजको नजानिदो प्रभावको झल्को पनि भेटिन्छ। सुगम सङ्गीत नै सुनेर सुगम सङ्गीतको गोरेटोमा हिँडेको हुनाले यसलाई अस्वाभाविक नै मान्नु पनि नपर्ला ।

शैली पक्षलाई नियाल्दा माया गर्नुको अर्थ सङ्ग्रहका धेरै गीतले नेपाली गीतिक्षेत्रको मूल धारका रूपमा चलिआएका मानकलाई नै पछ्याएको देखिन्छ। यसमा आधुनिक वा सुगम, लोक, देशभक्ति र बाल मनोभावनाका गीतहरूको स्वभाविक उपस्थिति पाइन्छ।

परम्परागत गीतहरूमा सामान्यत: दुई पङ्क्तिको एउटा स्थायी र चार-चार पङ्क्तिका दुईवटा अन्तरा हुन्छन्। माया गर्नुको अर्थका धेरैजसो गीत परम्परित रूपमा संरचित छन् र नितान्त भिन्न संरचनाका गीतहरूको पनि उनले अभ्यास गरेका छन्। यसर्थ यो गीत सङ्ग्रहमा संरचनागत विविधता पाइन्छ। यसमा भएका कुनै गीत स्थायीमा एउटा मात्रै पङ्क्ति (पृष्ठ ८२) र दुई-दुई पङ्क्तिका दुईवटा अन्तराका छन्।

कुनै गीतमा स्वयम् अर्थपूर्ण वाक्यकै रूपमा रहेका चारवटा र कुनै गीतमा पाँचवटा पङ्क्तिका स्थायी र त्यति नै पङ्क्तिको कतै दुई अन्तरा, कतै तीन र कतै चारवटा अन्तरा पनि छन्। उक्त सङ्ग्रहमा जम्मा सातदेखि लामा-लामा सत्र पङ्क्तिसम्मका गीतहरू छन्। यसलाई सकारात्मक रूपमा बुझ्दा रचनात्मक संरचनाको विविधता मान्न सकिन्छ।

लय जुन सुकै गीतको आधारभूत तत्व हो। यस सङ्ग्रहका गीतहरूमा लयात्मक विविधता पनि भेटिन्छ। हरेकजसो गीतहरू फरक अक्षरसंख्या र मात्रा, फरक आयाम, फरक लयमा संरचित छन्। केही गीत झ्याउरे लोक लयमा पनि छन्। सबै गीतमा अन्त्यानुप्रास संयोजन सुललित छन्। कतै मध्यानुप्रासको पनि उचित संयोजन भेटिन्छ। कुनै कुनै गीतमा भने भावमा जोड दिँदा गेयात्मकतामा असर त गरेन, भन्ने आभास पनि हुन्छ।

प्रस्तुत सङ्ग्रहभित्रका गीतहरूमा ढिब्री, टुकी जस्ता लोपोन्मुख र झर्रा शब्दहरू पनि प्रयोग भएका छन्। जनबोलीका सरल शब्द र वाक्यांशहरूले गीतलाई अझ मिठो र पठनीय बनाएका छन्। कतिपय गीतले चाहिँ आन्चलिकताको पनि प्रतिनिधित्व गरेको पाइन्छ।

यो गीत संग्रहमा ईन्द्रेणीका सबै रंग अटाएका छन् । यस सङ्ग्रहका धेरैजसो गीतहरू हाम्रा साझा यथार्थ नजिक देखिन्छन्

सन्चारकर्मी रमेश पौडेलको आवरण कलामा आवरण प्रकाशनले नै प्रकाशित गरेको गीतसङ्ग्रह माया गर्नुको अर्थको भूमिकामा प्रा.डा. कृष्णहरि बरालले गीतकारको गीतिपरिचय दिँदै सङ्ग्रहका गीतहरूको सङ्क्षिप्त समीक्षा गरेका छन्। साहित्यकार गोवर्द्धन पूजाले शुभकामनासँगै गीतहरू केलाउदै आत्मीयता र भावुकता प्रकट गरेका छन्। वरिष्ठ गीतकार राजेन्द्र रिजाल, सङ्गीतकार राजु सिंह र गायक कर्णदासले पनि गीतकार पलाँसको गीतिक्षमता, विशेषतालाई सारांशमा व्यक्त गरेका छन्।

यस गीतसङ्ग्रहको आन्तरिक सजावट अझै आकर्षक बनाउन सकिने ठाउँ बाँकी नै छ । वर्णविन्यास, भाषिक शुद्धता लगायतका कुरामा अझै ख्याल गरेको भए माया गर्नुको अर्थको गीतिअर्थ सौन्दर्य झनै बढ्ने थियो।

जीवन जगतका सबै पक्ष, पाटालाई समेटेर लेखिएका गीतहरूको सुन्दर समावेशी सङ्ग्रह माया गर्नुको अर्थका जम्मै गीतहरू पढिसक्दा गीतकारले कुनै विषय वा पक्षका बारे लेख्न बाँकी नरहेको महसूस हुन्छ । अर्थात यो गीत संग्रहमा ईन्द्रेणीका सबै रंग अटाएका छन् । यस सङ्ग्रहका धेरैजसो गीतहरू हाम्रा साझा यथार्थ नजिक देखिन्छन्। आ-आफ्नै विशेषतायुक्त यी गीतहरूको अध्ययन गर्दा भूमिकाअन्तर्गत प्रा.डा. बरालले लेख्नुभएझैँ गीतकार पलाँस गम्भीर कुरालाई सहजताका साथ गीतमा प्रतीकात्मक रूपमा अभिव्यक्त गर्न सक्षम देखिन्छन्, यो उनको लेखनको वैशिष्ट्य हो।

यस गीतिपुस्तकभित्रका केही गीतले ‘गीत यस्तो हुनुपर्छ’ भन्ने परम्परित, सैद्धान्तिक परिधिभन्दा बाहिर गएर गीतलाई यसरी पनि त लेख्न सकिन्छ नि भन्ने नयाँ उदाहरण प्रस्तुत गर्ने जमर्को गरेका छन्। यो जमर्को नेपाली गीतिसमाजमा स्वीकार्य बन्यो भने गीतकार शिव पलाँसको ठूलो सफलता ठहरिने छ।