मैले भनेको मान्छस भने
भाई तँ काठमाण्डौ आउदै नआइज
पल्लावारी दाइले भन्थे
जागीर अवश्य पाइन्छ भन्ने
सतही सोचाई लिएर
अलिकति वाध्यात्मक
रहर बोकेर
त काठमाण्डौ आउदैछस अरे
मैले सुनेको ।
यदि सत्य हो भने
तेरो सोच –
हामी वाल्यकालमा
भाडाकुटी खेल्दा
वेसारे ढुङ्गाको धुलोलाई
भात बनाएर
चिउडोलाई खुवाउदै
अग्लो काँहुको डाँडाबाट
उभिएर हात ठडाउदा
आकाश छोइने
अनुमानित गफ जस्तै हो
सत्य यो हो कि
यहाँ जागीर खोज्दा, मेरो
दुई चार जोर जुत्ता उदारिए
दुई चार पटक मन फाट्यो
तर पनि
मैले जागीर पाइन
जागीर मलाई पत्याएन
तारेभिरमा हिड्दा
हावा लागे पछिको डर
उस्तै–उस्तै यो काठमाण्डौ शहर
थाहै हुदैन
कति बेला
कहाँनेर
दुर्घटनासँग भेट हुन्छ
शेष खुसी पनि मेट हुन्छ
देशको मात्र राजधानी नभई
विकृतिको पनि राजधानी
यो काठमाण्डौमा
कसैको कसैसँग
नजाने गाउको वाटो झै
सरोकारै हुदैन
अल्लो घर लास उठाउदा
पल्लो घरमा
खाना खाइरहेका हुन्छन
यस्तो स्वाधी वस्तीमा
पैसासँग समय साट्नु पर्छ
गुजारा चलाउन आफैलाई ढाट्नुपर्छ
ल भन्त त किन आउदैछस ?
नदुखेको टाउको
किन डोरी लगाएर दुखाउदैछस ?
मेरा
बेसाइतका पाइलाहरुले
काठमाण्डौ ल्याएर छोडेपछि
धेरै विकल्पको परिक्षण पछि
होस आएको धेरै दिनपछि
आजकल दिक्क वोझ भएको छ
चैतमा लागेको हुरिले
गाठो पारेको भुवरी
विचमा परेको प्लाष्टीक झोला झै
हिउदमा सुकेको खोला झै
म रनभुल्लमा परेको छु
काठमाण्डौं बसेर पढ्नुको अर्थमा
आजकल
मेरै मनले मलाई लोप्पा हानिरहेछ
’गाउ जाउ’ भनेर घचघचाइरहेछ
त्यसैले त
म भन्छु – “भाई, त काठमाण्डौ नआइज“
बरु म गाउमा आउछु
मिलेर नङ्ग्रा खियाउला
धर्तीमा पसिना चुहाउला ।