कङ्गालको आत्मकथन

मलाई हिजोआज दुइटा शब्ददेखि
सारै डर लाग्छ
एउटा – देश
अर्को – दुनियाँसँग
अनि यी शब्दहरू घेरेर अरू केही शब्दहरू बसेका छन् – धर्म, ईश्वर, जात, वर्ण, चुनाउ, आश्वासन, सपना
अनि यथार्थ, भोगाई, पीडा अरू धेरै

तिम्रो
शिरपेच, अनि त्यसमुनिको क्रुर हाँसोलाई
आफ्नो शिरमा सजाइ
तिम्रोभित्रबाट बाहिरिएको दुर्गन्धित
रीतिस्थितिहरू घिसार्दाघिसार्दै
अब असहनीय हुनथालेको छ

तिम्रा तराजुमा आफ्नो जीवन राखेर
सासको आवागमन हेर्छु
धेरै लज्जित हुन्छु

कसले जान्दैन र
ईश्वर – तिम्रो अश्लीलतम् ध्यानकेन्द्र हो
धर्म – सृष्टिको सबैभन्दा ठुलो घोटाला
अनि जाति! गहिरो खाडल
जसको भयावहताले
पानी छोप्छ
सास थुनिन्छ

तिम्रो कला र विज्ञानसँग पनि
म अघाइसकेकी छु
उसले यहाँ पसिनालाई – थुक
रगतलाई – पानी
प्रतिस्थापित गरिदिन्छ

चीत्कारलाई यहाँ
मन्दिरको कीर्तनले घोटेर बसेको छ
सुनेकी थिएँ –
सत्यलाई टयलेट-पेपर बनाएर झुन्डाउँछन् आफ्नो स्वार्थमा
बलबुतो हुनेले
लावालस्कर लिएर
अनि
जसले बिहान- बेलुकी
पसिना चुहाउनेहरूको
चुसिएका सपनाहरू पुछिन्छ

म यही देशको त्यो खाद्यनलीबाट आएकी हुँ
जसले सदियौँदेखि
अन्नको मुख देखेको छैन

म तिम्रो भोकदेखि भयभीत छु
मलाई छाडिदेऊ
मेरा ती ताल- तलाउहरूका लागि
जहाँ माछाहरू मेरो पर्खाइमा होलान्

म कुनै दिलदार साथीसँग
साउनलाई आफ्नो भोटो बनाएर
त्यही दिशामा तैरिन जान्छु
जहाँ मेरा गाई चर्दै होलान्

मुक्तिबोधका बारेमा मेरो कुनै ज्ञान छैन
मार्क्सलाई म चिन्दा पनि चिन्दिनँ
अम्बेडकरको नाउँ त पहिलोपटक सुन्दैछु
अज्ञेय हुनु सायद तिम्रो सभ्यताको
सबैभन्दा ठुलो पुरस्कार हो

अब मलाई जान देऊ
म सबै जिद्दी छाडिदिन्छु
चाहे काँतर भन
भगुवा भन
तर जान देऊ
सायद तिमी बुझौँला
म गएपछि
मेरो जानुको कारण

सायद तिमी बुझ्न सक्छौ होला
बङ्गाइएको त्यो फलामको
तनावग्रस्त थरथराहट
जसले मलाई सिकाएको थियो –
विनम्रतालाई विवशतामा परिवर्तन हुनुभन्दा पहिला
विद्रोहमा बदल्नु नै
जीवितताको प्रमाण हो।