यसैगरी हराउँदै जान्छ पहिचान
लोप हुँदै जान्छ नाम
जसरी भयो त्यो विशाल काया गरेको
चट्टानजस्तो हिउँको
मात्रै सूर्य किरणको कोमल स्पर्शले
ऊ तरल बन्यो
आफ्नो सर्वत्र गुमायो
उसको सरलताले उसलाई
तरलताको चोलो भिर्न विवश गरायो
ठोस पहिचान गुमाएर
अहिले तरल भएको हिउँ
बग्दै गएको छ समतलतिर
दुनियाँको फोहोर आफ्नो छातीमा बोकेर
ऊ बगेको बगै छ
पुनः सूर्यकै स्पर्शमा बतासिएर उड्न
वाष्प भई शून्यमा विलीन हुन
आकाशमा बरफको डल्लो बनेको हिउँको
परिचयको खाता पल्टिँदा
उसलाई केवल शूून्यमात्र हात लाग्छ ।