
कतै चर्किएका शीशा
देख्यौ भने
कतै भत्किएका खण्डहर
भेट्यौ भने
सम्झने गर्नु बिर्सेको वेलामा पनि
ती, हरेक शीशाहरूमा
मेरो पनि अस्तित्व
गाँसिएको छ भनेर
ती, हरेक खण्डहरहरूमा
मेरो पनि व्यक्तित्व
टाँसिएको छ भनेर
कलङ्कित छु सीताजस्तै
तर धरतीभित्रै बिलाउन सक्दिनँ, म
श्रापित छु अश्वत्थामाजस्तै
तर युग-युग सम्म जिउन सक्दिनँ, म
खै! पखाल्न पनि सकिन्न
छातीभित्र लागेका दागहरूलाई
खै! धुन पनि सकिन्न
हत्केलाभित्र कोरिएका साँधहरूलाई
सङ्ग्रहालयमा राख्न योग्य
मेरो कुनै अस्तित्व छैन
मेरो कुनै व्यक्तित्व छैन
स्वार्थको उत्कृष्टतामा
बरु,
एउटा–
सर्वोतम…अति सर्वोतम
स्याम्पल बनेको छु
स्याम्पल
स्याम्पल
मात्र एउटा स्याम्पल…
त्यसैले सजिदिन्छु,म
बन्द शो–केसभित्र
राम्रो नराम्रोको लेखाजोखा
गर्नेहरुका लागि !
त्यसैले लुकिदिन्छु, म
बन्द ब्रिफकेसभित्र
मूल्य बेमूल्यका हिसाब किताब
गर्नेहरुका लागि !!