‘जो होचो, उसको मुखमा घोचो’ नेपाली समाजले निमुखालाई हेप्न बनाएको उखान हो । २१ औं शदीको समुन्नत लोकतन्त्रमा पनि यही उखान जताततै चरितार्थ भइरहनु विडम्बना हो । प्रजातन्त्र आगमनपछि नेपालीलाई केही अधिकार प्राप्त भए, विश्वसँग सम्बन्ध जोडियो । विस्तारै सचेत बन्दै गएको नेपाली समाजलाई विश्वमा आएको सूचना, प्रविधिको छलाङले एकै पटक पहिलो विश्वसँग जोडिदियो ।
पहिलो विश्वको समुन्नत सोच र नेपाली समाजको पुरातन सोचबीच तालमेल नमिल्दा केही विकृति देखिएका छन् । प्रविधिको उपयोगभन्दा बढी दुरुपयोग भएका गुनासा आएका छन् । टिकटक प्रतिबन्धै गर्नुपर्ने अवस्था आयो । सामाजिक सञ्जालमा न्याय, समानता र तर्कभन्दा अनेक उट्पट्याङहरुले उल्लेख्य ठाउँ पाएका छन् । एकाधले यसबाट अवसर पनि भेट्टाएका छन् ।
पछिल्लो समय नेपालमा केही भ्रष्ट्राचारका ठूला काण्डबारे छानबिन थालियो । छानबिनमा लहरो तान्दा पहरो तर्किने अवस्था आएपछि यो बीच बाटैमा करिब अलपत्र छ । पछिल्लो क्रममा सहकारीको माध्यमबाट ठगी भएका घटना सार्वजनिक भइरहेका छन् । कास्कीमा मात्रै ५ सहकारीविरुद्ध न्यायिक कारवाही नै सुरु भएको छ । ती सहकारीका सर्वसाधारणको करिब ३ अर्ब जोखिममा परेको छ । समस्यामा परेका सहकारीको संख्या निकै ठूलो छ ।
सहकारी काण्डमा पुराना दलहरुको आलोचना गर्दै अवस्था बदल्ने नारा दिएको रास्वपाका सभापति पनि मुछिएका छन् । जनप्रतिनिधिहरु फरार छन्, नेताहरुले सेयर सदस्यको बचत हिनामिना गरेको खुलासा भएको छ । त्यतिमात्र होइन, सहकारीहरुको नियमक निकायका प्रमुखले नै ठूलो रकम घूस लिएको पर्दाफास भएको छ ।
अहिले विश्वव्यापी रुपमा आएको आर्थिक मन्दीको असर जताततै छ । यस्तो अवस्थामा सर्वसाधारणको अर्बाै हिनामिना गर्नेहरु फरार भएका छन् । त्यतिमात्र होइन, त्यस्ता ठगहरुलाई राजनीति संरक्षण भएका तथ्यहरु पनि बाहिरिएका छन् । विश्वमा ठूला ठूला नेताहरु पनि जेल गएका छन्, मृत्युदण्ड भएको छ । नेपालमा भने ठूलो ठूलो घोटाला गर्नेहरुले पनि माफी पाएका छन्, उन्मुक्ति मिलेको छ ।
ठग, अपराधीको कुनै दल हुँदैन, ती जता गए पनि अपराधी नै हुन् । गाउँका जमिन्दार साहूहरुको दमन, अत्याचार हटाउने र भूईमान्छेको जीवन बदल्ने सहकारीलाई बदनाम बनाइएको छ । कतैबाट यसरी हजारौं सर्वसाधारणलाई ठग्नेहरुलाई जोगाउने प्रपञ्च नहोस् । सरकारको अग्निपरीक्षा यसमा देखिन्छ । सरकार जनताको हो कि ठग, तस्करहरुको, प्रमाणित गर्ने मौका हो यो ।