यही कार्यकालमा मादीवासीले रोजगारीका लागि गाउँ छाड्नु नपर्ने बनाउँछुः अध्यक्ष गुरुङ

कास्कीको उत्तर पूर्वमा रहेका साविकका नामार्जुङ, पार्चे, सिल्दजुरे, थुमाकोडाँडा, भाचोेक, मिजुरेडाँडा, सैमराङ गाविस, कालिकाका ६–९ वडा, माझठाना २ र ३, हंसपुर गाविसका ५ र ८ समेटी मादी गाउँपालिका बनेको हो । १२ वडा रहेको यो गाउँपालिका अन्नपूर्ण हिमश्रृंखलाको काखमा छ । अन्नपूर्ण दोस्रो र चौथो हिमालको दक्षिणी भागबाट उत्पत्ति भएको मादी नदीबाट यसको नामकरण भएको हो । मादीको पूर्वमा लमजुङका क्होलासोंथर र मस्र्याङदी गाउँपालिका, पश्चिममा पोखरा महानगरपालिका र माछापुच्छ«े गाउँपालिका, उत्तरमा मनाङका चामे र नेस्याङ गाउँपालिका र दक्षिणमा पोखरा महानगरपालिका र रुपा गाउँपालिका छन् । गएको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवारी दिएर अध्यक्ष बन्नुभएका देवीजङ्ग गुरुङसँग गरिएको कुराकानीः

जनप्रतिनिधिको रुपमा पहिलो कार्यकालबाट के उपलब्धि भयो ?
जनप्रतिनिधिको रुपमा पहिलो भए पनि सामाजिक रुपमा विकास, निर्माणमा पहिल्यैदेखि सक्रिय थिएँ । मलाई एकदमै नौलो अनुभव त भएन, तर स्थानीय सरकार जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले धेरै विषयवस्तु बुझ्ने मौका मिल्यो । युवा क्लब, बाटो समिति, संरक्षण समिति जस्ता जिम्मेवारी निर्वाह गरेकाले मलाई यो जिम्मेवारी वहन गर्न सहज नै भयो ।

पहिलो कार्यकालको अनुभवले दोस्रो वर्षका कार्यक्रम, योजना तय गर्न सहज बनाएको छ । पहिलो वर्ष नै कृषि र पर्यटनको विकासले नै समृद्धिको आधार तयार गर्ने निक्र्याेल गरेका थियौँ । दोस्रो वर्ष त्यसलाई कार्यान्वयन गर्ने चरणतिर गएका छौँ ।

कार्यकालको डेढ वर्षमा प्रदेश सरकार र सङ्घीय सरकारसँग सहकार्य वा सङ्घर्षका अनुभव कस्ता रहे ?
खसै सङ्घर्षचाहिँ भएन । तर, माथिबाट बजेट पठाउने बेलामा शसर्त र समानीकरण त हाम्रै सिफारिसमा आउने भयो, अरु बजेट हाल्ने बेलामा समन्वय कम भयो । यहाँको प्राथमिकता, सम्भावना के छ भन्ने सोध्ने, बुझ्ने भएन । बजेट अन्धाधुन्ध हालिएको हुँदो रहेछ ।

सिफारिस गरेका योजना आउँछन् । एक, दुई, पाँच लाखका योजना आउँछन् । त्यत्रा योजना त हामीले नै चलाएका छौँ । अलिकति देखिने खालको प्रोजेक्टमा लगानी गरिदिनुहुन्थ्यो भन्ने लाग्छ । हामीले कार्यपालिकाबाट सिफारिस गरेका क्षेत्रमा लगानी भइदिए सजिलो हुन्थ्यो । कसले मागेको, कहाँका लागि मागेको पत्तै नभएका योजनामा बजेट देखियो ।

मादीका जनताको जीवनोस्तर उकास्न र समृद्धिका सम्भावना के के देख्नुभएको छ ?
अब पालिका, प्रदेश र सङ्घ सरकारले स्थानीय जनताको आर्थिक स्तर उकास्न, उत्पादनसँग जोड्न साझेदारीमा योजना सञ्चालन गर्नुको विकल्प छैन । धेरै कुरा गफ गरिए, भौतिक पूर्वाधारका योजनाहरु चलिरहेकै छन् । अब जनतालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउनैपर्छ । मादीको हकमा यस्तो सम्भावना भएका क्षेत्र कृषि र पर्यटन नै हुन् ।

तपाईको पालिकामा कृषि र पर्यटनका चाहिँ कस्ता सम्भावना पहिल्याउनुभएको छ ?
मादीका सबै वडामा कृषिको सम्भावना छ । निर्वाहमुखी कृषि भइरहेको छ । सुन्तला करिब मासिइसकेको छ । कफी खेतीको सम्भावना छ, बजार पनि छ । अलैंची खेती पनि गर्न सकिन्छ । सँगसँगै मौरीपालनको पनि अथाह सम्भावना छ । अहिले पनि केही हदमा कफी, अलैँची मौरीपालन भएको छ तर नगण्य रुपमा । कफी खेती र मौरीपालन मादीका सबै वडामा गर्न सकिन्छ, अलैँची खेतीचाहिँ वडा नं. १, २, ३, ८, ९ र ११ का केही भागमा गर्न सकिन्छ ।

पर्यटनको क्षेत्रमा के के काम भएका छन्, बाँकी के छन् ?
पहिलेको तुलनामा अहिले पर्यटनमा पनि उल्लेख्य प्रगति भएको छ । वडा नं. १, २ र ३ का बासिन्दाले पर्यटनबाट लाभ लिएका छन् । वडा नं. १ सिक्लेसमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको चाप थेग्ने गाह्रो छ । वडा नम्बर २ को ताङ्तिङ र वडा नं. ३ को यङ्जाकोटको पर्यटन, होमस्टे व्यवसायिकतातिर जाँदै छन् । अरु वडा नं. ५, १० र ११ मा पनि होमस्टेहरु विस्तार हुँदै छन् ।

पालिकाले आफ्नै बुताले समृद्धि हाँसिल गर्न कस्ता प्रयत्न गरेको छ ?
हामीले गत आर्थिक वर्ष पनि यसका लागि बजेट राखेका थियौँ । मौरीका घरमा अनुदान, बिउबिजन सित्तैमा वितरण जस्ता कार्यक्रम चलाएका छौँ । हल गोरु पाल्नेलाई अनुदान दिएका छौँ, आधुनिक हलो दिएका छौँ । पर्यटनको सम्भावना भएका क्षेत्रलाई प्रवद्र्धन र विकास गर्न पनि विभिन्न क्रियाकलाप गरिरहेका छौँ । टान पोखरा, एक्यापसँग सहकार्य गरेका छौँ । साना होटल, कफी हाउसहरुलाई प्रवद्र्धन गरेका छौँ । पूर्वाधार निर्माणमा सहयोग गरेका छौँ, तालिम दिएका छौँ ।

यसपालिको जनगणनामा मादीको जनसंख्या घटेको देखियो । पालिकाले यसका कारण पहिचान गरी निराकरणका उपाय खोजेको छ ?
युवा पलायनको मुख्य कारण बेरोजगारी हो । यहाँ रोजगारी भए पनि त्यसले जीविकोपार्जनमै सकस हुने हुँदा वैदेशिक रोजगारी नै जान खोज्ने प्रवृत्ति छ । अघिल्लो जनगणनामा भन्दा पछिल्लो जनगणनामा साढे सात हजारभन्दा बढी जनसंख्या घटेको देखियो । यसपालिको जनगणनाले सोह्र हजार एक सय बयालिस जनसङ्या देखियो ।

गाउँका युवालाई त्यही स्थापित गर्न पर्यटन र कृषिसँग जोडेर अनुदान दिनु जरुरी छ । युवालाई व्यावसायिक नबनाएसम्म बसाइसराइ रोकिन्न । यो कार्यकालको अन्त्यसम्म हरेक घरले मौरीपालन, कफी र अलैंचीबाट आम्दानी गरी आर्थिक रुपमा आत्मनिर्भ बनाउने योजना छ । पर्यटन र कृषिको विकास गरी आउने जनप्रतिनिधिलाई हामी समृद्ध मादी हस्तान्तरण गर्छाैँ ।