परिचय :- योग शब्दको सामान्य अर्थ जोड हुन्छ । तर स्वास्थ्य व्यायामको क्षेत्रमा यसको अर्थ आसन, अभ्यास, साधना, प्राणायम,ध्यान आदिको माध्यमबाट मन र शरीरलाई जोडने प्रक्रिया बुझिन्छ । योग गर्नुको प्रारम्भिक उदेश्य स्वास्थ्यता नै हो । महर्षि पतन्जलिका अनुसार चित्तको वृतिलाई निरोध गर्नु,अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो भनिएको छ । व्यायामशालामा मानशिक पक्ष हेरिदैन । जसले गर्दा विभिन्न नकारात्मक संवेगहरुबाट छुटकरा पाउन सकिँदैन ; मन अस्थिर भै रहेको हुन्छ । कोरा व्यायाम भन्दा स्वाससंग जोडेर गरिएको व्यायामले सयौं गुणा फाइदा दिने हुन्छ । अझ त्यो व्यायामलाई स्वासको साथसाथै मनसंग समेत जोडन सक्यो भने हजार गुणा फाइदा पुर्याउने ठानिन्छ । योग कुनै धर्म होइन । यो बिज्ञान हो । स्वस्थ्य हुन मानसिक स्वास्थ्य समेत अति आवश्यक हुन्छ । स्वास्थ्यता खेतला हालेर प्राप्त गर्न सकिँदैन । आफ्नो स्वास्थ्य धेरै हदसम्म आफ्नै हातमा हुन्छ । योग सही तरिकाले गरेमा फाइदा हुन्छ भने गलत तरिकाले गरेमा वियोग पनि हुन सक्छ । त्यसैले गुरूको निर्देशनमा योग गरेमा सही तरिकाले गर्न सकिने मात्र होइन आफुले आफैलाई ठग्ने प्रवृत्ति पनि रहदैन । योगी गोरखनाथको हठ योगमा आसन प्राणायमलाई जोड दिइएको छ । ह को अर्थ सूर्य र ठ को अर्थ चन्द्र भन्ने हुन्छ । स्वास लिदा सूर्य शक्ति (प्राण) प्राप्त हुन्छ भने स्वास फाल्दा चन्द्र शक्ति (सम्पूर्ण बिकारहरु) निस्कासन हुने मान्यता राखिन्छ । त्यसैले प्राण र वायुको एकताको नाम नै योग हो भनिन्छ । मानिस जन्मसिद्ध योगी हो । तर विभिन्न मत मान्यता र गलत बिचारको संष्कार भर्ने कामले गर्दा वियोगी हुन पुगेको ठानिन्छ ।
प्रक्रिया :- अष्टाङ्ग योगमा यम,नियम,आसन, प्राणायम,प्रत्याहार धारणा, ध्यान र समाधी गरि आठ प्रक्रिया ( अंग ) समावेश गरिएको पाइन्छ । यी प्रत्येकको छोटो चिनारी दिने जमर्को याहाँ गरिएको छ ।
१) यम :- यस अन्तर्गत अहिंसा, सत्य, अप्तेय, बहमचार्य र अपरिग्रह पर्दछन् । अहिंसा भन्नाले काटमार नगर्नु भन्ने मात्र होइन बरु मन वचन कर्मले कसैलाई दुख नदिने भन्ने पनि हो । योगशास्त्रमा अनावश्यक मन वचन कर्मले गरिने संभोगले मानिसमा रहेको दिव्य उर्जा नाश हुन्छ भन्ने मान्यता रहेको छ । भ्रष्टाचार नगर्नु अस्तेय हो । विवशताबाट लाभ लिनु र ढोगी प्रवृत्ति पनि ठगी हो ।अपरीग्रह भनेको सम्पत्तिको मालिक आफू मात्र ठानि नचाहिने सम्पत्ति लोभ गर्नु वा संग्रह गर्नु भन्ने बुझनु पर्दछ ।
२) नियम :- योगमा नियम भन्नाले स्व:आचारसंहिता पर्दछ । यो अनुशासन पनि हो । नियमअन्तर्गत र्शौच,संतोष,तप,स्वाध्याय र इश्वर प्रनिधान पर्दछन् । भौतिकरुपमा गरिने नित्यकर्मको साथै मनलाई शुध्द गर्ने कार्य समेत शौच अन्तर्गत पर्दछ । आन्तरिक शुध्दताले मनमा प्रशन्नता, चित्तमा एकाग्रता र आत्मसाक्षष्कारको योग्यता पनि प्राप्त हुने ठानिन्छ । संतोषम् परम् सुखम् अर्थात संतोष लिनु नै सुख हो भनिन्छ । उचित परिश्रमपछि प्राप्त हुने प्रतिफलप्रति संतुष्ट रहनु नै संतोष हो । लक्ष्य प्राप्तिको लागि धैर्य र संयमसाथ लागि पर्नु नै तप हो । अध्ययन चिन्तन मनन् गर्नाले व्याक्तिलाई स्वसाधना गर्नमा उत्पेरित गर्दछ । सबै उपलब्धिहरुलाई इश्वरप्रति समर्पण गरि प्रेम भावले स्वीकार गर्न जान्नु पर्दछ भनिएको छ ।
३) आसन :- शरीरको स्थिर र सुखदायी अवस्था नै आसन हो भन्ने कुरा पतन्जलीको “स्थिरसुखमासनम्” भनाइबाट प्रष्ट हुन्छ । यसरी पतन्जली योगमा आसनमा विविधता भएको पाइदैन । हठ योगका गुरु गोरखनाथ, महर्षि घेरण्ड आदिले धेरै आसनको उल्लेख गरेको पाइन्छ । संसारमा जति प्रजातीका जीवजन्तू छन् त्यति नै प्रकारका आसन हुन्छन् भनिन्छ । कसैले आसन चौरासी लाख हुने बताए पनि योगमा आसनहरु जस्तै बज्रासन, पद्धासन, भद्रासन, योगासन, चक्रासन, भुजंगासन, मंडुकासन, कुक्कुटासन, सवासन, बृक्षासन, सेतुबन्धासन, गोमुखासन, नौकासन शीर्षासन आदि व्यावहारिक र चलनचल्तीमा रहेको पाईन्छ । फरकफरक प्राणायम गर्दा निश्चित प्रकारको आसन छनौट गर्नु पर्दछ । उपयुुक्त आसनको अभ्यासले शारीरिक स्थिरता, मानसिक स्वास्थ्यता र हल्कापन प्राप्त हुन्छ । आसनसंग व्यायम पनि जोडिएर आएको हुन्छ । विशेष गरि शरीरको सीमित अंग वा भाग मात्रमा व्यायाम पुग्ने अंग व्यायामलाई यौगिक शुष्म व्यायम भनिन्छ । यस्ता व्यायामबाट शारीरिक र मानसिक लाभ प्राप्त हुन्छ । प्राणशक्ति परिमार्जन गर्न यस्ता व्यायामहरु फलदायी मानिन्छन् ।
४) प्राणायम:- श्वासको आयम (विस्तार )लाई प्राणायम भनिन्छ । खाना पानी बिना केही दिन बाच्न सकिएला तर श्वास बिना केही मिनेटमा नै मृत्यु हुन्छ । त्यसैले श्वस नै जीवन हो । प्राण र आयम मिलेर प्राणायम बनेको छ । प्राणायममा श्वास प्रश्वासको सामान्य गतिलाई विछिन्न गरिन्छ । सही तरिकाले गरेको प्राणायमले रोगको निधान गर्छ भने गलत तरिकाले गरेको प्राणायमले रोग जन्माउने भय पनि रहन्छ भनिएको छ । बाह्र वर्ष मुनिकाले प्राणायम गर्नु राम्रो मानिदैन । हावालाई पाँच (प्राण, अपान, उदान, समान र ध्यान ) भागमा बाडिएको छ । यी सबै मिलाएमा नै जागरण आउँछ । प्राणायम गर्दा आसन,वरिपरिको वातावरण, शारीरिक अवस्था आदिले पनि प्रभाव पार्दछ । व्यायाम पछिको प्राणायम उत्तम मानिन्छ । खाना खाएको कम्तीमा तीन घण्टापछि मेरुदण्ड सीधा राखेर बिहानको समयमा स्वास प्रस्वासमा केन्द्रीत भै सकारात्मक सोचाइ लिएर प्राणायम गर्नु पर्ने सुझाव दिइएको छ । प्राणायम गर्दा हातको औलाव्दारा गरिने मुन्द्रालाई विशेष ख्याल पुर्याउनु पर्ने हुन्छ । सूर्यभेदी, भस्त्रिका जस्ता प्राणायमलाई उष्ण प्रकृतिका र चन्द्रभेदी, शीत्कारी जस्ता प्राणायमलाई शीत प्रकृतिका प्राणायम मानिन्छन् । अनुलोमविलोम, भ्रामरी जस्ता प्राणायम सन्तुलनकारी मानिन्छन् । हजारौ नाडीहरुलाई शुध्द पार्ने काम प्राणायमले गर्छ भनिन्छ । मानवीय संवेगहरुलाई नियन्त्रण गरि विशेषतः रक्त संचार र स्वासप्रस्वासजन्य विकारहरुमा प्राणायमहरु उपयोगी मानिन्छन् ।
५) प्रत्याहार :- प्रति र आहार मिलेर प्रत्याहार बनेको छ । कान, आँखा, नाक, जिब्रो र छालाको क्रमशः शब्द, रुप, गन्ध, रस र स्पर्श नै आहारा हुन् । यी पाँच इन्द्रियहरु बहिर्मुखी हुन्छन् । कान रमझममा,आँखा विषय वासनामा, जिब्रो स्वादमा, नाक सुगन्धमा र छाला आलिंगनमा आशक्त हुन्छन् । यी इन्द्रियहरु मनको नियन्त्रणभन्दा बाहिर भडकिने स्वभावका हुन्छन् । यी इन्द्रियहरुको गलत आहारविहार छुटाउन हाम्रै मनले मात्र सक्दछ । यी लोभीपापी पाँच इन्द्रियहरुलाई विषय बिकारबाट अलग्याइँ मनसंग जोडि भित्री साधनातिर उन्मुख गराउने कार्य नै प्रत्यहार हो । मन सात्विक, उत्साहित र जागरुक भएमा मात्र आत्म नियन्त्रण शक्ति प्राप्त हुन्छ । उदारणको लागि आँखिभुइँको बीचमा रहेको आज्ञाचक्रमा मनको आँखाले पृथ्वी जल वायु आकास र अग्नि तत्व हेर्न कोसिस गर्दा शरीर प्रकाशमय भएको आभास हुन्छ ; आँखालाई मनसंग जोडन सकिन्छ । पतन्जली योग साधनामा भोजनको बारेमा केही नबोलिएको दोष देखाइएको पाइन्छ । यो कमीलाई यसै अंगमा सात्विक भोजन गर्ने, प्रसस्त पानी पिउने, बेलुकाको खाना कम तथा सूर्यास्त अगाडि लिने, प्राकृतिक रसायन नष्ट पारिएका प्रोसेसिङ खाना नखाने जस्ता कुराहरु समयसापेक्ष जोडन सकिन्छ ।
६) धारणा :- पतन्जली योगमा मनलाई शुन्यमा एकाग्र गर्नु धारणा हो भनिएको छ । बिना धारणा ध्यान हुदैन। मन केन्द्रीकृत गर्ने धेरै विषयहरु वा कल्पनाहरु हुन सक्दछन् । मनोविज्ञानमा धारणाको बारेमा धेरै अनुसन्धान भएको छ । मनले मानेकोकुरा नै धारणा हो । कला संगित भजन आदिबाट पनि मनमा एकाग्रता आउँछ । कुनै चित्र, विन्दु,विभिन्न प्रतिकहरुमा केन्द्रिकरणले पनि एकाग्रता आउँछ । निरन्तर उच्चारण भैरहने शब्दश्रवण वा स्पर्शव्दारा पनि मनलाई एकाग्र गर्न सकिने सुझाइएको छ ।
७) ध्यान :- ध्यान भनेको एकाग्रता मात्र होइन । आँखा बन्द गर्दैमा ध्यान हुदैन । ध्यानले अनावश्यक विचारलाई मनबाट हटाएर निर्मलतर्फ डोर्याउनु पर्दछ। विपाश्यना ध्यान विधिमा पनि व्यक्तिलाई वर्तमानमा रहन सिकाउँछ । अतीतका सुख दुखमा बाच्नु ध्यान बिरुद्धको कुरा हो । ध्यान एकाग्रता पनि होइन धारणा पनि होइन । एकग्रतामा मन एकाग्र हुन्छ भने धारणामा मन एकोहोरो हुन्छ । धारणाको निरन्तरता नै ध्यान हो । भुतकालको शोक र भविष्य कालको सुर्ताबाट ध्यानले व्याक्तिलाई बाहिर ल्याउछ। ध्यानले श्वास लिदा उर्जा दिन्छ भने बाहिर जाने स्वासले विश्राम दिन्छ ।आज शारीरिक रोग भन्दा पनि मानसिक समस्या बिकराल रुपमा देखिदै आएको छ । शरीरबाट मानसिक बिकार निस्काशन गर्न ध्यानको आवस्यक हुन्छ । ध्यान होस हो । ध्यान भनेको विचार शुन्य अवस्था होइन । बरु शान्त र सक्रियतापूर्वक विचार गर्नु ध्यान हो । योगीको लागि ध्यान बिशेष भएपनि योगाभ्यासीहरुको लागि सचेततापूर्वक कुनै काम गर्नु भन्ने नै हो ।
८) समाधि :- ध्यान गर्ने साधक (ध्यता)संग ध्यता भाव हुन्छ । ध्यताले निश्चित उदेश्य(ध्येय)को लागि ध्यान गर्दछ । त्यो ध्येय भाव हो । साधकले जुन मार्गव्दारा साधनको सम्पादन गर्न कार्य गर्दछ त्यसलाई ध्यान भाव भनिन्छ । साधकले ध्यान गर्दै जाने क्रममा जब यी तीनवटै भावलाई एकाकार गर्न पुग्दछ उसले आफैलाई बिर्सन पुग्दछ । त्यो अवस्थामा साधक केवल ध्येय ( उदेश्य ) भावलाई मात्र आत्मसात गर्न पुग्दछ । ध्यानको यो उच्चतम अवस्थालाई समाधि भनिन्छ । जब साधक बहिरंग योगबाट अन्तरंग योगमा छिर्दछ अन्य कुरा उसको लागि शुन्यतामा पुग्दछन् ।
कमलको फूल दिउँसो फक्रने र राति बन्द हुने गर्छ । भमरालाई त्यो फूलको रस साह्रै मन पर्छ । जब भमरा फूलको रसपानमा तल्लीन हुन्छ उसले रात परेको र फूल बन्द भएको समेत थाहा पाउदैन । साधकको लागि समाधिको अवस्था पनि भमराको समान हुन्छ भनिन्छ । उनान्सय दशमलव उनान्सय प्रतिशत साधकहरुको लागि योगको यो चरण सामर्थ्य र व्यवहारिक रुपले पनि केवल सैद्धान्तिक कुरा हुन आउँछ ; गराउनु पर्ने हुन्छ ।
सारंश :- गीतामा हरेक काम कुशलतापूर्वक गर्नु नै योग हो भनिएको छ । योगले आत्मलाई परआत्मासंग जोडछ भनि अमूर्तपनबाट मुक्त हुन आवस्यक देखिन्छ । योगका प्रत्येक अंगहरु सरलबाट जटिलतिर बढेका छन् । योगको समाधि तह सामान्य योगभ्यासीहरुको लागि काल्पनिक लाग्न सक्छ । कसैले हजारौ वर्ष पुरानो यो पध्दति युगानुकुल नदेखे पनि विज्ञानसम्मत कुरा सदा वर्तमान नै हुन्छ; समयसंग सरोकार राख्दैन । रोगीको लागि योग चिकित्सा पद्धति हो भने निरोगीहरुको लागि सकारात्मक मानवीय गुणहरु स्वास्थ तन निर्मल मन र व्यवहार कुशल वचनको माध्यमबाट कर्ममा प्रत्याभूत गर्ने पद्धति पनि हो । योगका यम, नियम सधैको लागि र सबैको लागि त्यतिकै महत्वपूर्ण छन् । शारीरिक, मानिसक, संवेगानात्मक र आध्यात्मिक विकासको लागि योग जुनसुकै काम गर्दागर्दै पनि गर्न सकिने विज्ञान र कलाको योग पनि हो । योगलाई ऊचित आहार बिहार र विचारको संयोजनको रुपमा बुझि पूर्विय दर्शनको यो महान उपलब्धि लाई विश्वव्यापी रुपमा मानव कल्याणमा फैलाउन आज अझै ढीला भैसको प्रतीत हुन्छ ।
(यस लेखका लेखक पूर्व प्रधानाचार्य, व्यवहार कुशल सीपका प्रशिक्षक तथा वर्षौदेखि योगाभ्यासी हुनु हुन्छ । )
शिवप्रसाद पाण्डे
हाल : कीर्तिपुर, काठमाडौ




