शैक्षिक क्रियाकलापमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग अवसर र चुनौती

मानीस वा अन्य जनावरको भौतिक दिमागको प्रयोग नगरी बौद्धिकताको प्रदर्शन यन्त्र र मेसिनको मार्फत प्रदर्शन गर्ने प्रणालीलाई कृत्रिम बौद्धिकता (एआई) भनिन्छ। अर्को शब्दमा यसलाई यान्त्रिक बुद्धि, बौद्धिक मध्यस्थकर्ता पनि भनिन्छ। कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स, एआई) भनेको मेसिनहरू, विशेष गरी कम्प्युटर प्रणालीद्वारा मानव बुद्धिमत्ता प्रक्रियाहरूको एकीकृत रूप हो। यसको विशिष्ट अनुप्रयोग अन्तर्गत विशेषज्ञ प्रणाली, प्राकृतिक भाषा प्रशोधन, वाक्य परिवर्तन एवं पहिचान र यान्त्रिक दृष्टिकोण आदि पर्दछ्न।

सूचना प्रबिधिको क्षेत्रमा भएको तिब्र बिकाश र अनुसन्धानको उपलब्धिले अध्ययन अध्यापन एवं शैक्षिक सामाग्री उत्पादन र संकलनको क्षेत्रमा नयाँ आयामको रूपमा कम्प्युटर प्रणालीमा आधारित प्रविधिको पछिल्लो समयको बिकाशको एउटा क्षेत्रको रूपमा एआईलाई मानिएको छ। यसको उदेश्य नै मानव बौद्धिकताको वृद्धि र स्वचालित कार्यहरू एकीकृत गर्नमा केन्द्रित हुन्छन ।

एआईले शैक्षिक सामाग्री उत्पादनमा धेरै तरिकाले महत्त्वपूर्ण प्रभाव पार्न सक्छ, जस्तै स्वचालित कार्यहरू, तथ्यांक विश्लेषणमा मद्दत गर्ने, भाषागत परिवर्तन, भविष्यमा हुन सक्ने बिषयगत प्रवृत्तिको प्रक्षेपण,अनुमान र व्यक्तिगत सिकाइका अनुभवहरू प्रदान गर्दछ।

यद्यपि, एआईले शैक्षिक कार्यका प्रयोगकर्ताहरूका बीचमा प्रबिधि तनाव (टेक्नोस्ट्रेस) पनि निम्त्याउन सक्छ। प्रबिधि मुलक तनाव एक भावनात्मक अवस्था हो जुन प्रबिधिको प्रयोगको कारणले हुन्छ। यसको बिशेषता तनाव, चिन्ता र निराशाको भावनाहरू उत्पन्न गराउने हुन्छन। यस्तो तनावको कारणहरु धेरै नै हुनसक्छन, जस्तै अति बढि समय रहनु/अधिक कम्प्युटरको प्रयोग (ओभरलोड), प्रबिधिसंग सम्वन्धित प्राविधिक समस्याहरू र प्रबिधिको प्रयोग राम्रोसँग कसरी गर्ने बारे अनिश्चितता हुँदा उत्पन्न तनाव आदि यसका उदाहरण हुन।

प्रबिधि तनावले शैक्षिक उत्पादकतामा नकारात्मक असर पार्न सक्छ। टेक्नोस्ट्रेस अनुभव गर्नेहरू कम उत्पादक हुन सक्छन्, गल्ती गर्ने सम्भावना बढी हुन्छ, र रिस उठने सम्भावना बढी हुन्छ। टेक्नोस्ट्रेसले सिक्ने अनुभवमा पनि नकारात्मक प्रभाव पार्न सक्छ। टेक्नोस्ट्रेस अनुभव गर्नेहरूमा सिक्ने कुरामा रुचि कम राख्ने सम्भावना हुन्छ। शिक्षकहरुमा पनि बिषयगत तयारीका लागि धेरै समय नछुट्ट्याउने, सन्दर्भ सामाग्रीहरुको संकलन र सिर्जनात्मकता तर्फ निकै कम समय दिने एवं एआइमै बढी भरपरि सन्दर्भसुची एवं कक्षागत विशेष नोट तयार गर्ने र पाठ्यक्रम अध्ययन रुचिमा कमिआई मौलिकता नआउने, कक्षामा सक्रिय रूपमा प्रस्तुत नहुने देखिन्छन् । एआइको प्रयोगको कारण विद्यार्थीहरुमा पनि कक्षागत रूपमा सकृय सहभागी नहुने, आफुले गर्नुपर्ने विभिन्न जिम्मेवारी एवं कक्षागत रूपमा लिइने विभिन्न शैक्षिक मापनका परिक्षाहरु र बुझाउनु पर्ने गृहकार्यहरु स्व-सिर्जना नगर्ने हुँदा त्यसबाट गुणस्तरीय जनशक्ति उत्पादनको लक्ष्य पुरा हुने सम्भावना कम हुन्छ, भने अभिभूत महसुस गर्ने सम्भावना बढी हुन्छ ।

एआई तर्फ भएको प्राबिधिक बिकासलाई शैक्षिक क्रियाकलाप संगस्ंगै लैजान सकिएन भने उत्पादित जनशक्तिको गुणस्तरमा प्रश्न उठ्ने र त्यसको प्रभाव विभिन्न रोजगारीको क्षेत्रमा समेत देखिने हुँदा शैक्षिक बेरोजगारी बढ्नेछ भने राज्यको ठुलो लगानी प्रत्युत्पादक देखिनेछ। शिक्षा संगस्ंगै प्राबिधिक सिपलाई जिम्मेवार रूपमा अगाडि बढाउन ढिलाइ भैसकेको छ। एआई विधि प्रयोग गरेर अध्ययन अध्यापन एवं शैक्षिक सामाग्री निर्माणमा यो बिधिलाई प्रवेश गराउदै जादा यसबाट सिर्जित समस्याहारुको पहिचान र त्यसको समाधानको बिधिलाई पनि संगस्ंगै अगाडि बढाउनुपर्ने हुन्छ। विद्यालय तह देखिनै विद्यार्थी एवं शिक्षक, प्राध्यापकहरुमा “साहित्यिक एवं बौद्धिक चोरी” सम्बन्धि जानकारी एवं परिक्षणको ब्यबस्था गर्दै यस्तो गतिविधि र व्यबहारलाई नितिगत रूपमा कडाइका साथ निरुत्साहित गर्नुपर्ने हुन्छ । यदि यस्तो गतिविधिलाई समयमै नियमन गर्न सकिएन भने यसले शैक्षिक क्षेत्रमा निकै ठुलो समस्या निम्त्याउने निश्चित छ।

कम्प्युटर र इन्टरनेटको आविष्कार भएको धेरै समय (ई.स. १९६०) भएपनी यसको तीब्र बिकास र प्रयोग भएको केवल १५ देखि २० वर्ष मात्र भएको छ । यसले सामान्य मानिसले कल्पना नै नगरेका कामहरु समेत छिटो छरितो र प्राबिधिक रूपले समेत बिशिष्ठ नतिजा दिने गरि गरेको छ । यस्तो तिब्र रूपमा भएको शैक्षिक क्षेत्रमा कृत्रिम बौद्धिमत्ता (एआई)को प्रयोगलाई देश बिकाशको हरेक पक्षसंग जोड्दै जिम्मेवार रूपमा यसको प्रयोग गर्दै नयाँ र नविनतम सिपको बिकाश गरि दक्ष जनशक्तिको निर्माण गर्दै देशलाई समुन्नत बनाउने तर्फ यस संबंधि कार्यक्रम संचालन गरिनुपर्छ। शैक्षिक वातावरणमा एआई कसरी सुरक्षित र प्रभावकारी रूपमा प्रयोग गर्न र त्यसको असर कम गराउने भनेर बुझ्नको लागि एआई, प्रविधि तनाव र शैक्षिक उत्पादकता बीचको सम्बन्धको बारेमा अनुसन्धान गर्नुपर्ने हुन्छ।

रामेश्वर बराल
उपप्राध्यापक, त्रिभुवन बिश्वबिद्धालय, पृथ्वीनारायण क्याम्पस