कञ्चन पत्रकारिता पुरस्कार २०८० बाट पत्रकारहरु सुन्दरकुमार थकाली र पत्रकार हुमबहादुर गुरुङ सम्मानित भएका छन् । फोनिजको २४ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित समारोहमा पत्रकारद्वयलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पुरस्कारदाता विमलमान गुभाजु, संस्थाका अध्यक्ष रुद्र श्रीष लगायतले सम्मान गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित यो पुरस्कारको राशि जनही नगद २५ हजार, दोसल्ला, सम्मानपत्र छ । थकाली एक दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी नेपाल पत्रकार महासंघ मुस्ताङ अध्यक्षसमेत रहेका उनी समाधान दैनिक र अन्नपूर्ण पोस्ट दैनिकमा आवद्ध छन् । थकालीले पुरस्कारले आफूलाई यो क्षेत्रमा निरन्तर क्रियाशील हुन प्रेरणा दिएको सुनाए ।
पत्रकार गुरुङ कास्की आवाज दैनिकका प्रधान सम्पादक हुन् । उनले आदिवासी, जनजातिका मुद्दा अझै मूल धारमा आइनसकेको तर्क गरे ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले स्वच्छ र स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण सिर्जना गर्न पहिला पत्रकारहरु नै जिम्मेवार हुनुपर्ने धारणा राखे । उनले भने, ‘आज पत्रकरिताको लय बिग्रेको छ । एउटा टिभी र अर्काे टिभीमा समाचार हेर्दा फरक फरक सन्देश र सूचना जाने देखिन्छ । यसले समाजलाई दिग्भ्रमित गरेको छ । त्यसैले नियमन हुन आवश्यक छ । र पत्रकार आफैं पनि जिम्मेवार र गम्भीर हुनुपर्छ ।’
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको आमसञ्चार विधेयक ल्याउने तयारी भएको सुनाए । उनले पछिल्लो समय स्वतन्त्रतका नाममा सामाजिक सञ्जालमा अराजकता फैलिएको जनाउँदै उनले थपे, ‘सोसल मिडिया स्वतन्त्रताका नाममा अहिले अराजक भएको छ । यसले पत्रकारिता स्वनियमन हुनुपर्ने हो तर त्यो भएको देखिएन ।’
उनले व्यक्तिको गुण वा दोषको आधारमा पत्रकारिताका सिद्धान्त अनुसार समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखे ।
‘सबै पत्रकार गलत छैनन्, सबै पत्रकार सही छैनन् भन्ने बुझे जस्तै सबै राजनीतिज्ञ गलत छैनन् भन्ने पनि हेक्का राख्नुपर्छ । सबै गलत छन् भन्ने सन्देश दिएर हामी कस्तो भाष्य निर्माण गर्न खोज्दै छौं,’ उनले प्रश्न गरे ।
पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनको परिवारले बुवाआमा वेदमान र नेत्रकुमारीको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । हाल पुरस्कारको अक्षयकोषमा ९ लाख रुपैयाँ छ । यो पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने गरिएको छ ।
सो पुरस्कारबाट यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ र उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङ सम्मानित भइसकेका छन् ।




