कविताः सीमान्त सपना

एकाबिहानै
खुशी रित्तिएको भाग्यको पर्दाबाट
जब चिहाउँछ अँध्यारो घाम
दुख्न थाल्छ विभेदले डामेको मुटु
भतभती पोल्न थाल्छ
कष्टकर यात्राबाट फर्किएको पाइतालामा
बिसङ्गतिका अनेकौं आलो घाउ
आँखाहरूले हेर्न इन्कार गर्छ —
आफ्नै स्वाभिमानको बलात्कृत लास ।

उभिएर
सङ्क्रमित समयको कुरूक्षेत्रमा
उठाउँदैछु विभेदको कुरूप प्रश्न
मेरो चेतनाको आकाशमा
संघर्षरत जीवले
विद्रोह गर्यो या वगावत
बुद्ध खोज्यो या हिटलर
खैर उसले फटफट्याइ रहेकाआँखाले
अस्तिरताको बीभत्स दृश्य हेर्नुको सट्टा
भत्काउँन खोजीरहेछ — आततायी संरचना
फेर्न खोजी रहेछ — वैचारिक बर्बरता बोकेको खप्परको गिदी
र , गाँउन खोजी रहेछ — समानताको एउटा मुक्तिगान ।

दिवंगत सपनाको चिहानबाट
जब उम्रन्छ विश्वासको बीउ
पलाउँन थाल्छ साहसको पालुवा
क्रमशः हुन थाल्छ क्रान्तिको आविष्कार
पुरातन सोच परिवर्तन भएकै क्षण
अन्त्य हुन्छ दु:साध्य यात्रा पनि
भत्किन्छ अविजित पीडाका पर्खालहरू
पुगिन्छ ढिलो चाडो गन्तव्यको निश्चित विन्दु ।

सधैं विपक्षमा छ सनातनी हावा
हाम्रै अस्तित्व माथि धावा बोल्छ विचारको बर्को
ह्याङ्गरमा झुन्याएको नैतिकताको टालो पनि
विवेक गुमाउँदै चिथोर्न खोज्छ इमानको घाम
न्याय खोज्दै जाँदा
सत्ताको साङ्लो सधैं सधैं हामी माथि नै पर्छ
पढ्न खोज्दा आफ्नै भाग्य रेखा
डुब्न खोज्छ जीवनको घाम
धैर्यता गुम्नु अगाडि
खोज्नु छ केही प्रश्नको जवाफ ।

वैवाहिक जीवनको पहिलो दिन
पञ्चे बाजा बजाउँने को थियो ?
तपाईंले दैनिक पुज्ने ढुङ्गाको मूर्ति
कसले बनायो ?
बलभद्र कुवँर र भक्ति थापाले बोकेको हतियार
कसको आरनमा बनेको हो ?
एउटा पुरातन अहम
बारम्बार किन बलात्कार गर्छ हाम्रो स्वाभिमान ?
भयभीत मनको पखेरामा उम्रिएका छन् अनेकौं सवाल ।

कुमारी सपनाका फाँटहरूमा
रहरका मुना निमोठेर
उत्ताउलो रात बलात्कार गर्छ बक्यौता खुशी
र , हुर्किरहेको भुँइफूल माथि बजारेर निर्दयी बुठ
नश्लीय सत्ता दमन गर्छ ।

याद राख्नुहोस् महोदय
सानो हुन्छ सलाईको काँटी
सानै हुन्छ आगोको झिल्का पनि
विद्रोहको हुरी जब चल्न थाल्छ विभेदको वस्तीमा
भत्काउँछ दमनको जङ्गे पिलर
हो त्यसै बखत अचानक झुल्कन्छ
समानताको उज्यालो घाम ।

पुरिएपछि विभेदको खाडल
भत्किन्छ दु:खको अग्लो पहाड
आँखाबाट बग्न छोड्छ आँसुको नुनिलो नदि
छिचोलेपछि वेथितिका अकर्मण्य घुम्ती
अवश्य आइपुग्छ ऐश्वर्यताको राजमार्ग
हो त्यसै बखत फक्रन थाल्छ —
हामीले देखेको सीमान्त सपनाको सुन्दर फूल ।