मौखिक हिंसा (भर्बल एब्युज) – दीपा भण्डारी, मनोपरामर्शदाता

मन बचन र कर्मले कसैलाई हानी पुर्‍याउनु नै हिंसा हो ! शारीरिक हिंसा अरूलाई देखाउन, मलमपट्टी गर्न वा सहयोग माग्न सहज हुन्छ भने मानसिक, मौखिक वा भावनात्मक हिंसाले मानिसलाई भित्रभित्र खोक्रो पार्दै लैजान्छ ! कतिपय अवस्थामा त मानिस सहयोग र सहारा माग्न पनि नसक्ने परिस्थितिबाट गुज्रिरहेको हुन्छ भने कैयौँले आत्महत्याको बाटो पनि अङ्गालेका हुन्छन् ! जब पिडा असह्य र परिस्थिति असहयोगी बन्छ, उ विकल्पविहीन हुने गर्दछ !

यस्ता मौखिक हिंसा आफ्ना प्रिय वा नजिकका व्यक्तिहरूबाट बढी हुने गर्दछ ! त्यस बाहेक पब्लिक, साथी, परिवारका सदस्यहरू, डेटिङ पार्टनर वा कार्यालयका हाकिम वा सिनियर बाट पनि हुने गर्दछ !

वयस्कजस्तै बालबालिकाहरू पनि यो मौखिक वा भावनात्मक हिंसाको सिकार हुने गर्दछन् ! घरपरिवार, स्कुल परिवार, साथी, शिक्षक वा आफ्ना सिनियर र मान्यजनबाट बारम्बार मौखिक हिंसा सहेर हुर्किएका बालबालिका भविष्यमा डीप्रेसन्, एन्जाइटी वा अन्य मनोरोगबाट पीडित हुने सम्भावना बढी हुने गर्दछ ! पछि गएर उनीहरू आफूलाई नै अयोग्य ठान्ने वा अन्य विकृत सोच राख्ने हुन्छन् !

कहिले कहाँ र कसरी हुन्छ मौखिक हिंसा ?

मौखिक हिंसाका परिस्थितिहरू

-कसैले तपाईँलाई कमजोर, बेकार, अयोग्य तथा काम नलाग्ने महसुस गराउने शब्द, व्यवहार वा गाली गर्दछ भने

-तपाईलाइ अरूको अगाडि हेपेर वा तल पारेर बोलिन्छ वा व्यवहार गरिन्छ भने

-अरुको सामुन्ने अति राम्रो व्यवहार गर्ने तर पछि एकान्तमा शब्द, गाली वा व्यवहारले मानसिक यातना दिइन्छ भने

– तपाईँको सामान्य व्यक्तिगत वा मानवीय अधिकारबाट पनि वञ्चित पारिन्छ वा हरेक काम कुरामा तपाईँको इच्छा वा चाहनालाई बिलकुल बेवास्ता गरिन्छ भने

– तपाईँको छवि, शारीरिक बनोट, लगाई, खुवाई, बोली, व्यवहार वा तपाईँको सोच र विचारहरू प्रति सधैँ नकारात्मक टिप्पणी गर्ने गरिन्छ भने

– तपाईँलाई गरिने बोली तथा व्यवहारले तपाईँमा हीनताको भावना जगाइदिन्छ वा तपाईँलाई लगातार असक्षम, कमजोर, काम नलाग्ने वा बेकार महसुस गराइन्छ भने

– कुनै लिङ्ग, जाति, सम्प्रदाय, तथा पेसालाई उखान, पौराणिक भनाइ, जोक, आदिको उदाहरण दिएर होच्याइन्छ भने

– आफ्नो गल्तीको दोषी पनि तपाइलाई नै ठहराइन्छ र सानो सानो कुरा प्रति बढी प्रतिक्रिया जनाउने वा तपाईँको कारण उल्टो उनीहरूलाई पिडा भएको देखाउने गरिन्छ भने

– तपाई जो हो; जस्तो हो तपाईँलाई त्यस्तै स्वीकार गर्नुपर्नेमा तपाईँमा नभएको वा गाह्रो हुने अपेक्षा गरिन्छ भने   

– म्यानुपुलेसन अर्थात् बारम्बार विभिन्न सर्तहरू राखेर बाध्यात्मक परिस्थितिको सिर्जना गर्ने जस्तै मलाई माया गर्ने भए यो यो गर्नु पर्छ भन्ने

– यसरी तपाईँको आत्मसम्मान, आत्ममुल्यांकन तथा आफूप्रतिको धारणामा बारम्बार प्रश्न उठाउने वा चोट पुर्‍याउने

 – तपाइलाई बिलकुलै वास्ता नगर्ने, इगनोर गर्ने, तपाई प्रति बिलकुलै ध्यान नदिने, नहेर्ने वा सँगै हुँदा पनि पनि नभए जस्तो व्यवहार गर्ने

असरहरू

–    पढाई, अवसर, सम्बन्ध तथा जीवनका अन्य सफलताहरू

–    एन्जाइटी,  मुड चेन्ज, क्रोनिक स्ट्रेस, आत्म विश्वासमा कमी, डिप्रेसन, आत्मग्लानि, असहाय बोध, अपराध बोध,  पिटिएसडी, समाजबाट अलगाव, लागूऔषधको दुरुपयोग आदि !

–    बच्चाहरूमा पछि गएर आफूलाई असक्षम ठान्ने, अविश्वास गर्ने र आफ्ना समवेदनालाई नियमन गर्न नसक्ने हुन्छन् !

पीडितले के गर्ने ?

–    सुरक्षा घेरा सेट गर्ने र आवाज उठाउने : आलोचना, तुलना, नाम काढ्ने, थर्काउने तथा अन्य क्रियाकलापले तपाईँलाई परिरहेको असर प्रस्ट रूपमा पिडकलाई भन्नुहोस् अर्थात् आवाज उठाउनुस् र यस्तो नगर्न वा तपाईँले सहन नसक्ने कुरा भन्नुहोस् ! जस्तै : म यो कोठाबाट बाहिर जान्छु यदि तपाईँको व्यवहार यस्तै हो भने !

–     सम्भव भएसम्म त्यस्ता व्यक्तिबाट टाढा बस्नुहोस् ! तपाईँलाई प्रेरणा तथा हौसला दिने व्यक्तिहरूको सङ्गत बढाउनुहोस् तथा सकारात्मक र सहयोगी व्यक्तिहरूसँग समय बिताउनु होस् ताकी तपाईँलाई एक्लो अनुभव गर्नु नपरोस् !

–    आफ्नो परिवार वा साथीको सहयोग वा सल्लाहले सुधार्न मिल्ने सम्बन्धलाई सुधार्नु होस् तर यदि सम्भव छैन भने र सुधारको सम्भावना छैन भने वा यदि पिडा असह्य वा गाह्रो भएको अवस्था छ भने सम्बन्ध तोड्नु नै उत्तम विकल्प हुनेछ किनकि “जीवनलाई जीवन्त बनाएर बाँच्न पाउनु तपाईँको जन्मजात अधिकार हो” ! विषाक्त सम्बन्धको परिणाम विषाक्त नै हुन्छ |