रारा यात्रा

देख्ने र सुन्नेको बीच चार अगुलको फरक हुन्छ, भनिन्छ । यो आँखा र कानको दुरीको लागि भनिएको लाक्षणीक कुरा हो । तर रारा प्रत्यक्ष हेर्दा भिन्नै अनुभूति हुदो रहेछ । बीस २०८०को प्रथम सूर्य राराबाट हेर्ने लक्ष्यका साथ यात्रा भएको थियोे । नजिकका संबन्धका नौ जना यात्रामा सहभागी थियौं । रारा बारे धेरै साहित्य रचिएका छन् । स्थल मार्गको रारा यात्रा कर्णाली यात्रा हुन पुग्दो रहेछ । सुर्खेतको सदरमुकाम बिरेन्द्रनगर र कालिकोटको सदरमुकाम माम्मा बाटैमा पर्दछन् भने अरु तीन जिल्लाका सदरमुकाम पुग्न मूल बाटोदेखि छोटै दुरी पार गरे हुदो रहेछ । जुम्लाको खलंगा ३४ केमि, दैलेखको नारायण २१ केमि र मुगुको गमगडी १२ केमि बाटो काटदा पुग्न सकिने रहेछ । यस लेखमा बाकेको कोहलपुरदेखि रारासम्मको यात्रा अनुभव र अनुभूति समेट्ने जमर्को गरिएको छ ।

दिउँसो ११ बजे कोहलपुर पुयौं । त्यहाँबाट रत्न मार्ग हुँदै सुर्खेततिर उकालो लायौं । केही समयपछि बर्दिया राष्ट्रिय निकुञ्ज सुरु भयो । सिपालिक पहाड काटेपछि एउटा सानो उपत्यका देखा प-यो । त्यो सुन्दर छिन्तु उपत्यका रहेछ । त्यहाँ जाजरकोटतिरबाट आएको मध्य पहाडी लोकमार्ग जोडिने रहेछ । केही समयपछि भेरी नदी तर्यौं । यो भेरी ठूलो र सानो भेरी मिसिए पछिको रहेछ । चार घण्टा लगाएर कर्णाली प्रदेशको राजधानी समेत रहेको बिरेन्द्रनगर पुगियो । त्याहाँका अवलोकन योग्य स्थानहरु फर्कदा हेर्ने भाका राख्दै हाम्रो यात्रा अगाडि बढ्यो । सुर्खेतको बाङ्गे सिमलबाट कर्णाली लोकमार्ग सुरु भयो । त्यसपछि हामी दैलेखको तल्लो डुम्रेश्वर पुग्यौ । त्यो लोहरी खोला र कर्णालीको संगमस्थल रहेछ । त्यो प्रसिद्ध पंचकोसी धाम रहेछ । त्यस ठाँउमा दाहिनेतिरबाट दैलेख मार्ग जोडिन आउदो रहेछ । दैलेख मार्ग हुँदै पर्यटकीय स्थल गुराँसेको धुरीमा पुगि सुर्खेत झर्न सकिने कुरा थाहा लाग्यो । बाह्र किमि छोटो समेत पर्ने त्यही मार्ग फर्कदा प्रयोग गर्ने सोच बनायौ । बाङ्गे सिमलबाट लगातार पाँच घण्टा लगायर साँझ अबेर आठ बजे दैलेखको राकम भन्ने ठाउँमा पुगि बाँस बस्यौ ।

भोलिपल्ट बिहानै कर्णालीको तिरैतिर अगाडि बढ्यौं । केही समयको अन्तरालमा कालिकोट जिल्लाको स्वागत व्दार छिर्यौ । त्यसपछि दुई नदीको संगमस्थल जितेगाडा पुग्यौ । त्यहाँ हुम्ला कर्णाली र मुगु कर्णाली मिसिएर बनेको कर्णालीमा तिला नदी मिसिदो रहेछ । तिला नदी तरेपछि बाटो उकालो र घुम्ती हुँदै अगाडि बढ्यो । माथि डाँडामा कालिकोटको सदरमुकाम माम्मा देखियो । माम्मामा एक घण्टा रोकियौं । त्यहाँको जनजीवन र भूगोल निगायौं । पुरुषहरु कोट टोपी र गलबन्दीमा सजिएका देखिए । तिनीहरूका पोशाक मात्र होइन अनुहार समेत उस्ता उस्तै जस्तो देख्दा पृथक अनुभूति भयो । बिहानको खाना त्यहीँ खाएर हाम्रो यात्रा अगाडि बढ्यो ।

त्यसपछि काहाली लाग्दो कर्णाली मार्गको वास्तविक रुपले झस्काइ रह्यो । सेल्फी डाँडा काटेर एक घण्टा भित्रैमा हामी एउटा दुखत् घटना भएको पिलि भन्ने ठाउँमा पुग्यौ । त्यो माओवादी र सेनाबीचको अन्तिम युध्द स्थल रहेछ । त्यहाँ बैसठ्ठी जना सेनाको एउटै चिहान भएको रहेछ । मृतकहरुको शिलामा नाम खोपिएको रहेछ । करिब दुई सय मिटर माथि डाँडामा जाने गोरेटो बाटो बनेको रहेछ । डाँडामा एउटा स्मारक भ्यू टावर बनाउने योजना रहेछ । मृतक केहिको गुमनाम पारिएको गुनासो पनि सुनियो । जे होस्, यो धर्ती असमयमै छोडेका नौजवानप्रति श्रध्दाञ्जली मन मनले दिदै हाम्रो यात्रा तल तिला नदीतर्फ अगाडि बढ्यो ।

तिला नदीको किनारै किनार एक घण्टामा नाम्मा बजार पुगियो । त्यसपछि जुम्लातिरबाट आएको तिला नदी र देब्रेबाट आएको सिंजा (हिमा) नदीको दोभान देखियो । हामी हिमा नदी तरि जुम्लाको सदरमुकाम खलंगा तिर लाग्यौं । त्यो दिन खलंगामा बसि अर्को दिन पुनः त्यही बाटो फर्कि सिंजा उपत्यकातिरको मुगु मार्ग हुँदै रारा पुग्ने योजना थियो । जब हामी त्यहाँ पुग्यौं हाम्रो योजना बदलियो । खलंगाबाट डाँफेको लेक हुँदै भुलभुलेसम्म नयाँ मोटर बाटो खुलेको थाहा भयो ।त्यो मार्ग हुँदै जादा नयाँ ठाउँको अनुभव र बाटो समेत छोटो पर्ने ठान्यौं । त्यो दिन चार बजे नै खलंगा पुगेकाले त्यहाँ रहेको प्राचीन तथा प्रसिद्ध चन्दननाथको मन्दिर, एरपोट, शैक्षिक प्रतिष्ठानहरु, गुम्बा लगायत बजार क्षेत्र घुम्यौ ।

अर्को दिन बिहानै हामी डाँफे लेकतिर लाग्यौं । त्यो बाटो धेरै उकालो र अप्ठ्यारो रहेछ । गाडिलाई लेक लाग्यो । त्यसैले गाडि र पैतल आलोपालो गर्दै दस बजे डाँफेको धुरीमा पुग्यौं । त्यो ठाउँ साह्रै सुन्दर रहेछ । त्यहाँ बिहानको खाना खाएर जब हामी ओरालो लाग्यौं यात्रा अझै कष्टकर बन्दै गयो । पहरा, घुम्ती, खोला खोल्सा,डाँडा पाखा र भीर भन्दा हाम्रो ध्यान अनेत्र जान सकेन । एनकेन प्रकारेण हामी दिनको तीन बजे मुगु मार्गको भुलभुले पुग्यौं । त्यहाँबाट रारा पुग्न केबल अठ्ठाईस किमि रहेछ । उकालो र ओरालो घुम्ति घुम्ती पार गर्दै साडे पाँच बजे राराको सल्लेरी पुग्यौं । त्यहाँ बीसौं मोटर पार्क गरिएको र त्यति नै संख्यामा यात्रुको पर्खाइमा रहेका घोडा देखिए । त्यहाँबाट तालसम्म पुग्न एक घण्टा पैतल हिडनु पर्ने रहेछ । घोडा सवार गर्ने हो भने तालसम्म पाँच सय र ताल पारिको एक मात्र डाँफे होटलमा पुर्याए बापत एक हजार तिर्नु पर्ने रहेछ । त्यो रात डाँफे होटलमा बास बस्यौ ।

भोलिपल्ट हामी नव वर्षको प्रथम सूर्योदय केही अग्लो स्थानबाट हेर्ने मनसायले मुर्मा टपतिर लाग्यौं । केही मथि पुग्दा नै सूर्य उदायो । मुर्मा टप राराबाट साडे दुई घण्टाको बनैबनको पैदल उकालो बाटो काटेपछि पुगिदो रहेछ । रारा ताल समुद्री सतहबाट २९९०मिटरको उचाइमा छ भने मुर्मा टप ४००० मिटरको उचाइमा पर्दो रहेछ । भ्रमण टोलीका हामी पाँच जना मात्र टपमा पुग्यौं । त्यो यात्राको सबभन्दा उचाइबाट नव वर्षको शुभकामना दियौं । भ्रमणमा संलग्न सबै त्यहाँ नहुदा केही खल्लोपन महसुुस भयो । उकालो र

कालो र लेक समेत लाग्ने हुदा अरु बीचै बाटोबाट फर्कनु परेको थियो । यस टपबाट पूरा राराको सुन्दर दृश्य देखिनुको साथै हुम्ला जिल्लाको धेरै भाग देख्न सकिने रहेछ । त्यहाँबाट कान्जिरोवा, सिस्ने र सैपाल हिमालको सौन्दर्यता देख्न सकिने रहेछ । त्यहाँको देउरालीमा काठको ठूलो मुर्ति राखिएको रहेछ । टपदेखि केही तल रारा इको रिसोर्ट रहेछ । त्यहीँ रिसोर्टमा नास्ता गरि हामी रारा झर्यौ ।

निर्मल रारामा असला माछा पौडिरहेका थिए । राराले आफ्नो रंग भेर्दै थियो । करिब दस वर्ग मिलोमिटर क्षेत्रफलमा फैलिएको राराको गहिराइ एक सय सठसठ्ठी मिटर सम्म रहेछ । रारामा डुवा चडि रमायौं । राराको किनारमा नाच्यौ । हास्यौ, रमायौ । फोटो खिच्यौं । मोबाइल घुमाई घुमाई राराको सेरोफेरोको सजीव परिदृश्य संसार भरिका आफन्त जनलाई देखायौ । भिमकाय रुखहरु भएको घना जंगलको बीचको घोरेटो बाटोबाट घोडै चडि सल्लेरी आयौं । सल्लेरीमा खाना खाएपछि रारालाई वाइ वाइ गर्दै केही ओरालो बाटो लाग्यौं । पाँच किमि पार गरेपछि ताल्चा विमानस्थलतिर जाने बाटो देखियो । तीन किमि मात्र दाहिनेतिर पस्दा पुगिने ठाउँमा हामी पुगि फर्केर आयौं । हामी भुलभुले पुग्यौ । त्यति राम्रो बाटो अघिल्लो दिन नआएर डाँफेको लेकतिर लाग्नु भुल भएको कुरा आत्मसात् भयो । केही समयपछि माथि डाँडाबाट सुन्दर सिजा उपत्यका देखियो । लुकेका सानातिना चिटिक्क मिलेका बस्तीहरु हेर्दै हामी सिजातिर झर्यौ । बेलुका पाँच बजे नै सिजाको सिरानको बजारमा पुग्यौं ।

स्याउ र मार्सी चामलले प्रशिध्द सिजा उपत्यकाको उर्भरा भुमिलाई हिमा नदीले सिंचित गर्दो रहेछ । नेपाली(खस) भाषाको उत्पत्ति स्थल सिजा प्राचीन संस्कृतिले धनी रहेछ । कनका सुन्दरी मन्दिर, पाण्डव गुफा, बुढा मस्ता, बिराठ मन्दिर, लामा मन्दिर आदि त्यहाँका अवलोकन गर्नै पर्ने स्थानहरु रहेछन् । केही स्थानमा हामी पुग्न सक्यौ भने केहिको बारे जानकार स्थानीयबाट जानकारी लियौ । त्यो रात हामी त्यहीँ बाँस बस्यौ । भोलिपल्ट बिहानै हामी सिजा उपत्यकालाई छिचल्न हल्का ओरालो बाटो लाग्यौं । फाटैफाट भएर गएको सिजा उपत्यकाको बाटो साडे दुई घण्टासम्म पनि निख्रिएन । यसबाट भन्न सकिन्छ कि सिजा उपत्यका पचासौ किमिसम्म तन्किएको रहेछ । त्यसपछि हामीले दुई दिन अघि छोडेको कर्णाली मार्ग फेला पर्यो । नाम्मा, पिलि, माम्मा,राकम हुदै तल्लो डुम्रेश्वरी आयौ ।

पूर्व योजना अनुसार नै हामी गुराँसेको लेकतिर लाग्यौं । गुराँसे दैलेख र सुर्खेतको पानीढलो सिमाना भएको एउटा पर्यटकीय स्थल रहेछ । रातै फूलेका लालि गुराँस र सेतै फूलेर झूलेका सुनखरी त्यहाँ देखियो । समय समयमा हिउँ समेत पर्ने त्यो ठाउँ तराईबाट पनि एकै दिनमा आइजाइ गर्न सकिने रहेछ । त्यो लेकको सबभन्दा उच्च स्थानमा एउटा सुन्दर पार्क र भ्यू टावर समेत बनाइएको रहेछ । त्यस स्थानबाट मध्य पश्चिमका हिमालदेखि तराई सम्मका धेरै जिल्ला देख्न सकिने रहेछ । गुराँसेबाट साँझ अबेर बिरेन्द्रनगरको झिलिमिली हेर्दै तल झर्यौ । त्यो दिन बिरेन्द्रनगरमा नै बाँस बस्यौं ।

बिहानै सुर्खेतको काक्रे विहार, प्राचीन शिव मन्दिर, भुलभुले ताल, सुन्दर पार्क, देउकी बज्यैको मन्दिर लगायत शहरका मुख्य स्थानहरु हेर्यौं । व्यबस्थित सुन्दर नगरलाई बिदाइ गर्दै हामी कोहलपुरतिर ओरालो लाग्यौं । बबई नदी किनारको होटेलमा बिहानको खानापछि दिउँसो बाह्र बजे कोहलपुर पुग्यौं । त्यसपछि बाकेको नेपालगन्ज पुग्यौं । दिउँसोको एक बजे बयालीस डिग्री तापक्रम त्यहाँ पुगेको रहेछ । भारतको रुपैडिया समेत पुगि तीन बजे फेरि कोहलपुर फर्केर आयौं । यात्राको पहिलो दिन कपिलवस्तुको चार नम्बर आएका थियौं भने सातौं दिनमा पनि त्यहीँ आइ पुग्यौं । अर्को दिन त्यहाँबाट आ-आफ्नो स्थानतिर लाग्यौं । । यसरी आठ दिनको रारा यात्रा सफलतापूर्वक टुंगियो ।
शिवप्रसाद पाण्डे
हाल: काठमाडौं