पर्वत जिल्ला र पर्यटन


पर्वत भौगोलिक हिसावले सानै भैकन पनि प्राकृतिक, सांस्कृतिक र सामाजिक रुपमा विविधताले भरिएको रमणीय जिल्ला हो । पर्वत पर्यटकीय महत्व बोकेको जिल्ला हो किन कि यो पर्यटकीय सम्पदाले भरिपूर्ण र रमणिय छ । यहा ँधार्मिक, ऐतिहासिक तथा प्राकृतिक रुपमा रमणीय स्थलहरु थुप्रै छन् । जिल्लामा पर्यटकलाई मन्त्रमुग्ध पार्ने थुप्रै सम्पदाहरु लेकाली चुचुराहरु हम्पाल र कालाञ्जर पर्वतका लेकहरु, मध्य भागका पञ्चासे, डहरे तथा दक्षिणी भागका चिसापानी र गल्र्याङ छन् । जहा ँशिशिरमा हिउँले ढाक्ने र वसन्तमा लेकाली जडीवुटी, बाघ, भालु, चितुवा, मृग, झारल जस्ता वन्यजन्तु पाइन्छ भने डाँफे, मुनाल, कोइली, कालीज चराहरु रमाउँछन् । लालीगुराँस जस्ता फूलहरुले छपक्कै ढाकिएका चुचुराहरु देख्दा मानिसको मन नै लोभ्याउने हुन्छ । जिल्लामा पर्यटनको प्रशस्तै सम्भावनालाई नेपालकै अग्लाकुश्मा–ज्ञादी, कुश्मा–बलेवाको यान्त्रिकपुल, कालिगण्डकीमा जलयात्रा, दुर्लुङ, क्याङ, भुक, भोर्ले र होश्राङ्दीबाट गरिने साहसिक खेल प्याराग्लाइडिङ, कालीगण्डकी माथि बनेको बन्जीजम्प, जीपलाइन, लुंखुको महाशीला(मेलढुंगा) नेपालकै ठुलो शीला लगायतको व्यवस्थापन र विकास गरेमा पर्यटनको विकास उल्लेख्य हुने देखिन्छ । पर्वत जिल्लामा त्यस्ता धार्मिक तथा ऐतिहासिक महत्वका प्राकृतिक गुफाहरु कुश्माको गुप्तेश्वर गुफा, कटुवाचौपारीको अल्पेश्वर गुफा, पाङको भुवनेश्वरी र पार्वतीगुफा, वर्राचौरको सितलपाटी गुफा, चुवाको लालेश्वर गुफा, बाच्छाको चमेरे गुफा छन् जुनजिल्लाकै प्रसिद्ध गुफाहरु हुन् । धार्मिक पर्यटनका हिसावले चर्चित मोदीवेणीधामको नरसिंह मन्दिर, मोदीवेणीको शालीग्रामशीला, धाइरिङको भूमे, सातमूले, पाङ र क्याङका सहस्रधारा छहराहरु, चिसापानीको कालिका देवी मन्दिर, थापाठानाको कालिकामन्दिर, खानीगाउँ र देवीस्थानको देवीमन्दिर, कुश्माको प्राचीन शिवालय मन्दिर लगायत महादेवको तपोभूमि भनेर चिनिने कालान्जर पर्वत र सिर्पु क्षेत्र, कुश्मा, आर्थर र भोलेैका बौद्ध गुम्बाहरु, ठुली पोखरीको बाटुलेचौर लगायतका क्षेत्रहरुले धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेका छन् ।
इतिहासको चासो र खोजी गर्न इच्छुक पर्यटकहरुका लागि समेत पर्वत अति नै महत्वपूर्ण जिल्लाहो । यहाँखौलाको जुम्तीठाना, होश्राङ्दीको पैयुँकोट र धुवाकोटको ऐतिहासिक दरवार तथाकिल्लाहरु, दुर्लुङकोट, लु¥याङकोट, जिताकोट, मौलाकोट, खुर्कोट, पुर्कोट लगायतका ऐतिहासिक कोटहरु, माझफाँटको कर्णेलको दरवारसँगै अन्य पर्यटकीय स्थलहरु महत्चपूर्ण छन् ।

जिल्लामा पर्यटन विकासका गतिविधि
पर्वत जिल्लाको प्राकृति, साँस्कृतिक र ऐतिहासिक सम्पदाको विविधतालाई हेर्ने हो भने पर्यटन प्रवद्र्धनको व्यापक सम्भावना छ । पर्यटन विकासको व्यापक विकास गरी आर्थिक समृद्धि हासिल गर्न सकिने व्यापक सम्भावना हुँदाहुँदै पनि योजनागत ढंगले यथोचित पहल हुन सकेको पाइदैन । जिल्लाको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुराउने उद्देश्यले केही नागरिकको पहलमा पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको स्थापना पर्यटन वर्ष २०११ मनाउदै गर्दा भएको थियो । यो संस्थाले पर्वतको पर्यटन विकासका लागि सरोकारवालापक्षको ध्यानआकर्षण गर्ने केही गतिविधि गरेको भए पनि विविध कारणवश प्रभावकारी कदमहरु चाल्न सकेको छैन । पर्यटन विकासकालागि संस्थागत रुपमा एकिकृत प्रयास अपेक्षित रुपमा भएको पाइदैन । जसका कारण पर्वत जिल्लाको पर्यटकीय सम्पदाहरुको यथोचित प्रचारप्रसार र विकासको कामहुन सकेको छैन । जिल्लामा आउनुपर्ने आन्तरिक तथाबाह्य पर्यटकको आगमन हुन नसक्दा जिल्लाकै विविध आयआर्जनको माध्यम संकुचित रहदै आएको अवस्था छ । जिल्लामा पर्यटन प्रवद्र्धनका नाममा नगण्य रुपमा केही संघसंस्थाहरुले आफ्नो चाडपर्व, संस्कृति विशेष पर्यटन प्रवद्र्धनका लागि पहल गरेको भए पनि समग्र पर्वतको पर्यटन किासका लागि ठोस र योजनागत ढंगले पहल हुन सकेको छैन । जिल्ला विकास समितिलाई नागरिक संघसंस्थाहरुको तहबाट पर्यटन प्रवद्र्धनका लागि केही गर्नुपर्छ भनी घच्घचाए पछि विगतमा पर्यटन समिति गठन भएको थियो । यो समितिले पर्यटन प्रवद्र्धनका गतिविधिलाई अलिकति मात्र भए पनि बढावा दिएको थियो । यसले नै जिल्लाको एकीकृत पर्यटकीय विकासका लागि सोसँग सम्वन्धित संघसंस्थाको प्रोफाइल तयार गर्ने, जिल्ला पर्यटन विकास गुरुयोजनाको लागि पहलकदमी गर्ने, पर्यटन प्रवद्र्धनमा सक्रिय संघसंस्थालाई सिमित भए पनि आर्थिक सहयोग गर्ने काम भएको देखिन्छ । जिल्लामा ग्रामीण पर्यटनका लािगपनि केही गतिविधि भएका छन् । पर्यटकीय महत्वका क्षेत्रहरु आर्थर, क्याङ लगायत खासगरी गुरुङ र मगर वस्तीमा ग्रामीण होमस्टे संचालनमा छन् । ग्रामीण होमस्टेलाई व्यावसायिक ढंगले अगाडि बढाउन स्थानीय सरकारले ठोस योजनार कार्यक्रमहरु ल्याउनुपर्ने हुन्छ । कतिपय होमस्टे सवै तहबाट खान र वस्न उपयुक्त हुँदाहुँदै पनि उचित प्रचारप्रसार हुन नसक्दा बन्द हुने अवस्थामा छन् ।

जिल्लामा पछिल्लो पटक पर्यटन प्रवद्र्धनको संम्भावनालाई बढावा दिने भौतिक सम्पदाहरु थपिएका छन् । कालीगण्डकी नदी माथि बनेको बन्जीजम्प, र जिपलाइन जस्ता साहसिक खेलले पर्यटकलाई आकर्षित गरेका छन् । पर्यटकको आगमन वृद्धिसँगै विदेशमा रोजगारीमा गएका युवाहरु स्वदेश फर्केर सुविधा सम्पन्न होटल, रेस्टुरेण्ट संञ्चालन गर्दै आएका छन् । यसले रोजगारी दिएको छ भने उनीहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने मनमाविश्वास जागेको छ । पर्यटन प्रवद्र्धनका लागि जिल्लामा संम्भावना बढ्दै गर्दा केन्द्र, प्रदेश र स्थानीय सरकारले निश्चित रकमको बजेट र कार्यक्रम विनियोजन गर्न सक्ने हो भने झनै पर्यटनको व्यावसायिक विकासमा टेवा पुग्ने थियो तर सो कार्य हुन सकेको छैन । नेपालकै सुन्दर नगरी भनीचिनिएको पोखराबाट सडक यातायातले जोडिएको पर्वत जिल्ला पुग्न सार्वजनिक वसमा यात्रा गरियो भने पनि २ घण्टा लाग्दैन । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्वतले आकर्षित गर्न सक्ने हो भने पनिपर्वतको पर्यटन व्यवसाय फस्टाउन सक्नेछ । यसका लागि स्थानीय मिडियाबाट व्यापक प्रचारप्रसारको अभाव खट्किरहेको छ । त्यसैगरी हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङ जाँदा सडक यातायात पर्वत भएर जान्छ । मुस्ताङ घुम्नका लागि हजारौ आन्तरिक तथाबाह्य पर्यटक वर्षेनी आउछन् । ती पर्यटकको ध्यान खिच्न पर्वतको पर्यटनले सकेको छैन । किन पर्वतको पर्यटन क्षेत्रले पर्यटक आकर्षण गर्न सकेन भन्ने प्रश्न महत्वपूर्ण छ । पर्वतको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्दै आएको उद्योग वाणिज्य संघ पर्वतले वर्षेनी पर्वत महोत्सव गर्दै आएको छ । महोत्सवले केही न केही जिल्लाको प्रचारप्रसार भएको पाइन्छ । पर्वतको लोकसंस्कृति, मौलिक सभ्यतालाई संरक्षण गर्नुृपर्छ भनी केही जागरुक युवाहरुले नयाँ कामको शुरुवात पनि गरेका छन् । उनीहरुले कुश्मा कला केन्द्र भन्ने संस्थाको स्थापना गरी लोकसंस्कृति, ऐतिहासिक र मौलिक भौतिक सम्पदा साथै वातावरणीय सभ्यताको संरक्षण गरिनुपर्छ भनी आवाज उठाउदै आएका छन् । कुश्मा कलाकेन्द्रले कुश्मामा स्थित करीव ३०० वर्ष पुरानो घरलाई संरक्षण गरी शताव्दी घर भनी नामाकरण गरेका छन् । जुन घर अहिले पर्यटक आकर्षणको गन्तव्य बनेको छ । त्यसैगरी कालीगण्डकीमा अवैद्य ढंगले ढुंगागिटीको दोहन हुँदा नदीको अस्तित्व नै लोप हुने अवस्था बनेकोमा सो को विरुद्ध युवाहरुले आवाज उठाउदै आएका छन् । धार्मिक तथा प्राकृतिक महत्व बोकेको कालीगण्डकी नदीको संरक्षण हुन नसक्दा पर्वतको पर्यटन क्षेत्रलाई समेत असर पारेको छ ।
जिल्लाको आर्थिक विकासका लागि पर्वतको पर्यटन क्षेत्रको विकास अनिवार्य छ भन्ने कुरा पटक पटक जिल्ला विकास योजनाको स्वीकृत बजेट, नीति तथा कार्यक्रममा पनिउल्लेख गरिदै आएको पाइन्छ । पुस्तकमै सिमित हुँदा पर्यटन किवासको ठोस कार्यक्रम र योजनाभने आउन सकेको छैन । आ.व.०७३÷०७४ को स्वीकृत बजेट, नीति तथा कार्यक्रममा नै जिल्लाको आर्थिक विकासकालागि पर्यटन प्रवद्र्धन र विकास हुनुपर्छ भनी स्वीकार गरिएको छ । पर्यटन गुरुयोजनाको कुरा पनि उठान गरिएको छ । जिल्ला विकासको अवसर र सम्भावना शीर्षकमा पर्यटन गुरुयोजना र डीआरसीए जस्ता गुरुयोजनाहरुको प्रभावकारी कार्यान्वयन हुन सकेमा आर्थिक विकास हुने उल्लेख छ । पर्यटन प्रवद्र्धनको नाममा न्यून वजेट विनियोजन गरिन्छ । आ.व.२०७३÷०७४ मा पर्यटन प्रवद्र्धनका लागि भनी पर्वत पर्यटन प्रवद्र्धन केन्द्रलाई करीव ९ लाख रुपिया ँविनियोजन गरिएको थियो । त्यस बजेट मार्फत् सो केन्द्रले होर्डिङ बोर्डको स्थापना, होर्डिङ बोर्डको मर्मत (पुरानाको मर्मत), पर्यटन अभिमुखिकरण कार्यक्रम संचालन, पोखराका पर्यटन व्यवसायीहरुलाई पर्वतका पर्यटकीय स्थल(गन्तव्य)हरुको अवलोकन गराउने, पर्यटकीय ब्रोसर छपाई तथा वितरण(नेपाली÷अंग्रेजी), होमस्टे तालिम तथा अध्ययन, भ्रमण, ¥याफ्टिङ प्रवद्र्धन कार्यक्रम, प्याराग्लाइडिङ प्रवद्र्धन कार्यक्रम, पर्वत जिल्लाको कुश्मा–ज्ञादी जोड्ने नेपालकै अग्लो झोलुङ्गे पुलकुश्मातर्फको भागमाबगैचा निर्माण, पर्यटन प्रवद्र्धनात्मक टिसर्ट विक्री वितरण गर्ने गतिविधि गरेको थियो । त्यसका लागि प्रस्तावित स्रोत नेपाल पर्यटन बोर्ड, जिविस पर्वत, निजीकम्पनिथिए । थोरै बजेटले पनि पर्यटनको क्षेत्रमा केही गतिविधि गरेको पाइन्छ भने विस्तृत बजेट हुन सक्यो र पर्यटन गुरुयोजना अन्तर्गत कार्य अगाडि बढ्न सक्ने हो भने पर्वतमा पर्यटन क्षेत्रको व्यावसायिक विकासले द्रुततर गति लिने सम्भावना प्रशस्तै छ । पर्यटन सम्वन्धि केवल गोष्ठी, सेमिनार, छलफल कार्यक्रमले त्यसको व्यावसायिक विकास सम्भव हुँदैन ।


पर्वतको पर्यटन र स्थानीय पत्रकारिता
पर्वतको ग्रामीण पर्यटनलाई विस्तृत योजना सहित अगाडि लैजान सक्ने हो भने आन्तरिक पर्यटक आकर्षण गर्न सहजै सकिनेछ । अहिले पर्वत जिल्लाको कतिपय स्थानमा होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेका छन् । पर्यटनसँग सम्वन्धित विषयवस्तुलाई स्थानीय पत्रपत्रिकाले समेट्न सकेको अवस्था छैन । पर्वतबाट प्रकाशित हुँदै आएका २०७७। साउन देखि कार्तिक महिनामा साप्ताहिक पत्रिकाहरुका अंक हेर्दा पर्यटकीय समाचारलाई कमै मात्र महत्व दिइएको पाइन्छ । पत्रिकाहरुले पहिलो पेजमा प्रमुख समाचार भनेको न्युन संख्यामा मात्र छापेका छन् । पर्यटन समाचारलाई मिसनकै रुपमा छापिएको छैन । सामान्य औपचारिकता निर्वाह गर्न छापेको जस्तो लाग्छ । पर्वतले पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार खोजेको छ । प्रचारप्रसारका लागि पर्यटकी विकासका भौतिक गतिविधि प्रशस्तै पर्वतमा हुने गरेका छन् । पर्वतको पत्रकारिता जगतले पचासको दशकपछि तीव्र रुपमा फड्को मारेको छ । यो दशकमा साप्ताहिक पत्रिकाहरु धेरै प्रकाशनमा आएका छन् । पर्वत सन्देश, २०५७ सम्पादक सागरप्रसाद पाध्या, मोदिकाली, २०५८ सम्पादक हरिनारायण रेग्मी, निस्पक्ष अभिमत, २०५८ सम्पादक भोलानाथ शर्मा रहेर साप्ताहिक पत्रिका प्रकाशन भएका थिए । शुभसन्देश साप्ताहिक, २०६६ सम्पादक इन्दिरा शर्मा सहित हाल जिल्लामा ११ वटा साप्ताहिक पत्रिकाहरु प्रकाशनमा छन् । सानो बजार र चर्को प्रतिस्पर्धाका विच पत्रपत्रिकाहरु गुज्रनु परेको छ । कतिपय पत्रिकाहरु स्थापना हुने र केही समय प्रकाशन भएपछि बन्द हुने प्रचलन जस्तो रहेको छ । जिल्लामा पहिलो पटक २०६३ मा स्थापना भैइ आएको अहिंसावादी रेडियो पर्वतसँगै अन्य ७ वटा एफएम रेडियोहरु पनि स्थापना र संचालनमा छन् । जिल्लामा दैनिक पत्रिकाको सवालमा हेर्दा तीनवटा पत्रिकाहरु कालीगण्डकी दैनिक २०६८, सम्पादक भोलानाथशर्मा, सहारा न्यूज दैनिक २०६८, सम्पादक प्रनिश गिरी र भवानीप्रसाद शर्माको सम्पादनमा धौलागिरि पोष्ट २०७२ संचालनमा रहेको भए पनि हाल कालीगण्डकी दैनिक पत्रिका मात्र निरन्तर प्रकाशनमा छ । स्थानीय पत्रिकाका पनि आफ्नै आर्थिक र प्राविधिक समस्याहरु छन् । सवैभन्दा ठुलो समस्या भनेको आर्थिक नै हो । विज्ञापनको अभावमा स्थानीय मिडियाको अस्तित्व संकटमा छ । आफ्नै समस्याले घेरिइरहेका स्थानीय मिडियाले पर्यटन समाचारलाई कसरी प्रभावकारी तवरबाट पस्कने बनाउन सकिन्छ भन्ने बारे सरोकारवालाहरु विच गम्भीर छलफल हुनु आवश्यक छ । पत्रकारलाई पर्यटन सम्वन्धी तालीम र अभिमुखिकरणको खाँचो छ भने उनीहरुलाई आवश्यक पर्ने क्यामरा, ल्यापटप, सवारीसाधन जस्ता सामाग्रीको अभाव छ । समाचार खोजी गर्ने समय र आर्थिक व्यवस्थापन पनि अर्काे आवश्यक विषयहरु हुन् ।

पर्वतमा पर्यटनको संम्भावना र चुनौती
पर्वत जिल्ला पर्यटकीय महत्वको गन्तव्यबन्दै गर्दा पर्यटनका समस्या र सम्भावनाहरु पनि उति नै पाइन्छ । पर्वत धार्मिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिकमहत्व बोकेको जिल्ला हो । यो पर्यापर्यटन तथा धार्मिक पर्यटनको पनि क्षेत्र हो । यसको ऐतिहासिक सन्दर्भलाई हेर्दा पनि परापूर्व कालदेखि नै भारत वर्षदेखि मुक्तिनाथसम्मको यात्रा गर्दा यही बाटो प्रयोग गरिन्थ्यो । पर्वतको प्राकृतिक र पुरातात्विक महत्व अनुरुप धार्मिक क्षेत्र मोदीवेनी, गलेश्वर, पूर्तिघाट, सेतीवेनी, पञ्चासेधाम, शालिग्राम शिलाको महत्व झल्काई एकीकृत धारणाबाट कार्यक्रम तयार गरी प्राकृतिक, कृषिएवं धार्मिक पर्यटन स्थलको रुपमा पर्वतको दिगो विकास गर्ने लक्ष्य राखिनु पर्ने हुन्छ । पर्वतमा पर्यटनको विकास भएसँगै यसको मौलिकता नष्ट हुन नदिन नेपाल सरकार, निजी क्षेत्र, स्थानीय प्रशासन, स्थानीय जनसमुदाय, अन्तरर्राष्ट्रिय गैरसरकारी संस्था र गैरसरकारी संस्था आदिको ध्यानाकृष्ट गरिनुपर्छ । पर्यटन क्षेत्रका गतिविधिलाई तीव्रतादिदै जिल्लामा पर्यटन प्रमुख व्यवसायका रुपमा स्थापित हुन सकेमा यसबाट प्रचुर आयआर्जन र रोजगारी सिर्जना गर्न सकिनेछ र समृद्ध, न्यायमा आधारित एवं समावेशी नेपाल निर्माण गर्ने सपना पुरा हुने विश्वास लिन सकिन्छ । पर्वतमा स्थानीय निकाय, पर्वत पर्यटन विकास केन्द्र, कुश्मा आर्ट परियोजना, उद्योग वाणिज्य संघ पर्वत, होटल व्यवसायी संघ, पत्रकार महासंघ पर्वत लगायतका संघसंस्थाहरु पर्यटनको विकासमा केही न केही गर्न लागिपरेको अवस्था छ तर पर्याप्त भने छैन । जिल्लामा पदयात्रा मार्गको सम्भावना छ, धार्मिक पर्यटनको संम्भावना छ । जलयात्राको संम्भावना पनि उति नै छ । यो सवैको लागि वृहत्तर पर्यटन विकास गुरुयोजना बनाएर अगाडि बढ्नु पर्ने हुन्छ । प्याराग्लाइडिङ, बन्जीजम्प, जिपलाइन जस्ता साहसिक खेलको सम्भावना बढेर गएको छ । पर्वत जिल्लाका धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थानहरुलाई महत्वपूर्ण पर्यटन केन्द्रको सूचीमा समावेश गरी विस्तृत गुरुयोजना तर्जुमा गर्न र योजनावद्ध विकासलाई अगाडि बढाउन सक्नुपर्छ । जस्तो पञ्चासे क्षेत्र, हम्पाल र लोप्रेक क्षेत्र, सेतीवेणी क्षेत्र लगायत विभिन्न धार्मिक तथा प्राकृतिक महत्वका स्थानहरुलाई पर्यटन केन्द्रको रुपमा अगाडि बढाउन प्रचुर सम्भावना छ । पर्वत विकास समाज,काठमाडौंले पर्वत विकास पुञ्ज२०६९नामक पुस्तकमा पर्वतको पर्यटन क्षेत्रमा देखा परेका समस्या र चुनौतीलाई निम्नानुसार उल्लेख गरिएको छ । भौतिक पुर्वाधारको समानुपातिक विकास नहुनु, पर्यटन व्यवसायसँग सम्वन्धित दक्ष जनशक्तिको व्यवस्था नहुनु, पर्यटकले चाहे जस्तो स्थानीय उत्पादन गर्ने ज्ञान तथा सीप नहुनाको कारणले स्थानीय उत्पादन प्रयाप्त नहुनु, ग्रामीण गरिवी घट्न नसकेकोले पर्यटन व्यवसाय ग्रामीण समुदायमा पुग्न नसक्दा शहर बजारमा मात्र सीमित हुनु, प्राकृतिक तथा मानव निर्मित सम्पदाहरुको राम्रो संरक्षण र प्रवद्र्धन अभावले गर्दा ती सम्पदाहरुले ओझेलमा पर्नु, सरकारी तथा गै¥हसरकारी निकायहरुका लागि पर्यटन व्यवसाय भन्दा भौतिक पूर्वाधारले प्राथमिकता पाउनु, खानेपानी, दूरसंचार, विद्युततथा सडक जस्ता भौतिक पूर्वाधारको असमान वितरण, उपयुक्त पदमार्गको अभाव, राजनैतिक अस्थिरता, सुरक्षाको कमी, प्रभावकारी संचारको अभावमा पर्वतको सुन्दरताको बारेमा प्रचारप्रसार हुन नसक्नु, मुख्य समस्या रहेका छन् । पर्यटन क्षेत्रमा देखा परेका संभावना र समस्याको आलोचनात्मक उठान स्थानीय मिडियाले प्रभावकारी तवरबाट गर्न सकेको अवस्था छैन ।