‘राजाको दरबार’मा गणतन्त्र दिवसमा नागरिकको पहुँच

गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर घोरिएर हेर्न पनि डराउनुपथ्र्यो । सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै, नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको गाली खाएपछि अर्को किनाराबाट हिँड्न बाध्य थिए ।

त्यही रत्नमन्दिरमा सोमबार पोखरेलीले भित्रै पसेर फोटो र सेल्फी खिचें । गणतन्त्र आएको १५ वर्षपछि रत्नमन्दिर सर्वसाधारणका लागि खुला भयो ।

नेपाल ट्रष्टको कार्यालयले आजैदेखि सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेको हो । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले औपचारिक रुपमा सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरे ।

फेवातालको किनारमा रहेको यो करिब एक सय ७४ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा महेन्द्रले आफ्नी रानी रत्नको नाममा विसं २०१३ मा निर्माण सुरु गरी २०१५ सालमा यसको निर्माण सकिएको थियो । विगतमा यसको प्रयोग राजारानी, दरबारका विशिष्ट पाहुना पोखरा आउँदा हुन्थ्यो ।

परिसरभित्र रत्नमन्दिर दरबारलगायत तालघर, बाग बगैँचा र अन्य प्रयोजनका साना ठूला गरी १० भवन छन् । दरबारभित्र बैठक कक्ष, राजारानीको शयन कक्ष, शाही नातेदारले प्रयोग गर्ने शयन कक्ष, डाइनिङ कक्षलगायत ११ कोठा छन् । यहाँबाट फेवाताल, तालपारीको रानिवन र माथि विश्वशान्ति स्तूप, पुम्दीकोटलगायतका सुन्दर दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ ।

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राज परिवारका नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टका नाममा ल्याउने सरकारी निर्णयपछि यो नेपाल ट्रष्टको स्वामित्वमा छ । तत्कालीन राजपरिवारका नारायणहिटीलगायतका दरबार गणतन्त्र आएपछि खुला भए पनि रत्नमन्दिर नखुल्दा पोखराका पर्यटन व्यवसायीले निरन्तर खुलाउन माग गर्दै आएका थिए ।

कार्यक्रममा मन्त्री किरातीले गणतन्त्रको उपहारस्वरुप रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिएको जनाए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निराशा छाएको जनाउँदै उनले यसका लागि कूटनीतिकस्तरमा छलफल चलिरहेको सुनाए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रत्मन्दिर खुला गरिनुले पोखराको पर्यटनमा थप टेवा पुगेको बताए । हालका लागि रत्नमन्दिरका बाहिरी भाग खुला गरिएको उल्लेख गर्दै उनले भित्री भाग खुला गर्न कमजोर संरचनालगायतका कारण अझै केही समय लाग्ने उल्लेख गरे ।

रत्नमन्दिर परिसर अवलोकनका लागि प्रत्येक हप्ताको सोमबारबाहेक बिहान १० देखि साँझ ५ बजेसम्म समय निर्धारण गरिएको छ । आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म यो खुला रहनेछ ।

प्रवेशका लागि नेपालीले १ सय र विदेशीका लागि १ हजार टिकट शुल्क तोकिएको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि ५० शुल्क निर्धारण गरिएको छ । कार्यालयको पूर्वस्वीकृति लिएर वृत्तचित्र तथा भिडियोग्राफी वापत प्रतिघण्टा ५ हजार र व्यावसायिक भिडियोग्राफी वापत प्रतिघण्टा १० हजार शुल्क निर्धारण गरिएको छ ।