बिगत ३ दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३ औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ | लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौँ लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो | कोरोनातन्त्र सूत्र उपन्यासभित्र एकसय एकवटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् भने ती लघुकथालाई समयको डोरीले बाँधेर सूत्र उपन्यास तयार भएको छ |
कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सुत्रात्मक रुपमा बुनेका छन् | कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएका छन् | पुस्तकको केन्द्रियपात्र डा.शर्माको भोगाई तथा अनुभवले उपन्यास निकै बाँधिएको छ |
हामीले भोगेका निरङ्कुश तन्त्र, प्रजातन्त्र, लोकतन्त्र आदिले जसरी हामीमाथि निर्मम शाशन गरे, त्यसैगरी आँखाले देख्न नसकिने कोरोना भाइरसले कोरोनातन्त्रको नाममा कसरी शाशन गर्यो भन्ने बिम्बलाई पुस्तकमा सुललित रुपमा लेखिएको छ |
इन्डिगो इन्कले बजारमा ल्याएको यो पुस्तक महामारीको जीवन्त दस्ताबेजको रुपमा रहने विश्वास गरिएको छ |
जीवन भागदौडमा चलेको थियो । विज्ञान र प्रविधिमाथि ठूलो भरोसा थियो । सन् २०१९ को अन्त्यतिर पहिले शङ्काले आँकुरा निकाल्यो । शङ्कापछि हल्लाले आकार लियो । हल्लापछि जैविक अस्तित्व विलोप हुनसक्ने डरको आँधीबेहरी चल्यो । डरपछि महामारी आयो अनि जीवन र जगत ठप्प भयो । जगतभरि रहेको अक्सिजन अपुरो भयो, मान्छेसँग मान्छे डराउनु पर्ने अवस्था आयो, अस्पतालका शय्या साँघुरा भए, केहिदिन पहिले भेटेका तथा बाक्लो जिजीविषा भएका मान्छे श्यामस्वेत तस्बिरमा देखिए, प्रियजनको अन्तिम संस्कार गर्ने मलामी र घाट अत्यल्प भए तथा खोपको सुस्त विकास एबम् गिर्दो अर्थराजनीतिले संसार आक्रान्तको आवर्तमा प¥यो ।
महामारीको यो अत्यासलाग्दो विभिषिकालाई शब्दमा संगठित गर्दै कल्पना मिसेर व्यङ्ग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास हो– कोरोनातन्त्र । लघुकथाका थुँगाहरुलाई पृथक आयामबाट एउटै सूत्रमा उनेर बनाइएको माला जस्तो भएकाले यसलाई सूत्रउपन्यास भन्नु वाञ्छनीय हुन्छ । यो उपन्यास वर्तमान पुस्ताका लागि आफूले भोगेको विगत तथा भावी पुस्ताको लागि महामारीको गतिलो इतिहास हुनेछ ।
रवीन्द्र समीर नेपाली साहित्य बिशेषगरी लघुकथा र लघुकथात्मक उपन्यासका शशक्त सर्जक हुन् । लघुकथा विधामा चर्चित रवीन्द्र समीरका तेस्रो आँखा ( २०५३ ), पोस्टमार्टम् ( २०६२ ), विकिरण ( २०६३ ), ईश्वरका कथा ( २०६५ ), अर्जुनदृष्टि ( २०६७ ), अणु र पहाड ( २०६९ ), व्यंग्यम् शरणं गच्छामि ( २०७० ) तथा एकलव्य दृष्टि ( २०७१ ) गरी आठ ओटा लघुकथा संग्रह प्रकाशित छन् । यसबाहेक समीरका चाँदीको घेरा ( मुक्तक संग्रह, २०६२) , ग्रेटवालको ग्रेट अनुभूति ( नियात्रा संग्रह, २०६६ ), भूकम्पमा मल्हमपट्टी ( संस्मरण, २०७३ ), मृत्युको आयु ( उपन्यास, २०७६ ) पनि प्रकाशित छन् । कोरोनातन्त्र ( सूत्र उपन्यास ) उनको तेह्रौं साहित्यिक कृति हो ।
समीरले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, रमेश विकल समाजसेवा सम्मान, साहित्य सन्ध्या पुरस्कार, नेपाल बिध्याभूषण पदकलगायत दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् ।
कोरोनातन्त्र उपन्यासमा उनले कोरोनाको वैश्विक महामारीका अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण ब्यंग्य गरेका छन् । कोरोनातन्त्र वर्तमान तथा भावी पुस्ताको लागि संग्रहणीय उपन्यास हो ।




