भौतिकवादीको “भूत” सँग भेट

जीवन सुख, दु:ख, उत्साह, आशा, निरासा, डर, भय, प्रेम, धृणा, सम्मान, अपहेलना आदिको सिङ्गो कथा हो। जीवनका आरोह अवरोहहरुमा कुनै पनि मानिसले यी सबै पक्षहरु अनुभव गरेको हुन्छ। कुनै घटना वा दुर्घट्ना समय संगै धुमिल हुँदै जान्छन। कुनै घटना जीवन्त स्मरण भै रहन्छन। यो स्मरण “भूत” सँगको साक्षात्कार हुँदाको डर र भय सँग जोडीएको छ। 

म आफुलाई भौतिकवादी ठान्दछु। भाग्यवाद, परलोक, ईस्वर, भूत-प्रेत, स्वर्ग-नर्क आदिमा मेरो विश्वास छैन। मुर्ती वा ढुङ्गा पूजा मेरो कर्म भित्र पर्दैन। म आफुलाई नास्तिकको समुहमा राख्दछु। आफु नास्तिक भए पनि धर्म प्रती आस्था राख्नेहरुमा मेरो कुनै गुनासो छैन। कसैको आस्था प्रती प्रश्न हुन सक्दैन। भौतिकवादी भए पनि मेरो भूत सँग जम्काभेट भयो। एउटा भौतिकवादीको  भूत सँग कसरी भेट भयो र तर्सायो?

यो घट्ना बझाङको पाराकाट्ने (थलारा) देखि चैनपुर आउँदाको हो।  साइपाल हिमालको हिमश्रृखला कोखबाट अनवरत रुपमा दुबैतिर अग्ला पहाडहरुको बिचमा गहिरो खोच हुँदै सेती नदी सुसेल्दै निरन्तर बगीरहन्छ। भौगोलिक रुपमा गहिरो खोचमा सेती नदी, नदी सगै अलिकती बगर, बगर माथि जङलको बिचमा बुट्याङ र झ्याङले गर्दा दिउसै अध्यारो हुने र फ्याट्ट-फुट्ट मात्र बटुवाहरु हिंड्ने सुनसान गोरेटो बाटो। 

म र  एक जना भरिया/गाईड सगै थलाराबाट चैनपुर तिर लाग्यौ। मेरा भरियाको हिडाई लोसे भएको हुँदा उनलाई पछी पार्दै म निकै अगाडि बढे। खोला कीनारामा हिड्दा मलाई रमाईलो अनुभुती हुन्छ। खोला किनाराको सुनसान जंङ्गलको बाटोमा म निरन्तर अगाडि बढी रहे। नजिकै अतिवल बगिरहेको सेती नदी, जंङ्गलको घाम-छाया हुँदै अगाडि बढेको गोरेटो बाटोमा। जंङ्गलका चरा-चुरुङीको आवाजले म रोमान्चित थिए।  बाटोमा अरु बटुवाहरु नभेटिएपछी अली डर लाग्न थाल्यो। जंङ्गलमा चितुवा हुन्छन भनिएको थियो। चितुवाको भोजन भईइन्छ की भन्ने त्रासले सताउन थाल्यो। भरियालाई कुर्नु भन्दा फटाफट हिंड्नु ठीक होला भन्ने लाग्यो। यसरी हिड्दा म पसिनाले निथ्रुक्क भिजे। मनमा डर र तनमा थकाईले गर्दा केही बेर आराम गर्ने निधो गरे। सम्भावनाको हिसाबले हिड्दा भन्दा एकै ठाउमा बस्दा भरिया वा अरु कुनै बटुवा सँग भेट हुने सम्भावना बढी हुन्थ्यो।

म जंङ्गलको बिच नदी खोच किनरामा एउटा रुखमा अडेस लगाएर सितलमा बसे। मनमा डर, त्रास र भए हुँदा हुँदै आराम गर्नुको विकल्प थिएन। यसो बसेर केही सुस्ताएको थिए नजिकै खोला किनारामा ढुङ्गा माथि एउटा सेतो कपडा सुकाएको जस्तो देखे। मनमा अली शान्ति महसुस भयो। नजिकै कोही मानिस छ कि भनेर आँखा डौडाए। चकमन्न जंङ्गल, एकोहोरो सुसाएको सेती नदीको खोच, टाढा टाढा बाट काग र अरु चराहरुको आवाज बाहेक केही देखिएन सुनिएन।   निरास मन हुँदै कपडा सुकाएको तिर हेरे। लामो सुस्केरा काडे। अचम्म! सेतो कपडा भित्र केही हलचल देखे। ढुङ्गा र दाउरा माथिको कपडा भित्रबाट खुट्टा उचाले जस्तो गरी कपडा उठायो। अझै ध्यानपुर्वक हेरे। नजिकै केही पहेला कपडाका टुक्राहरु, कपाल खौरिएका मानिसका रौ र आगो निभेका काठका टुक्राहरु यत्र-तत्र छरिएका देखे।  

मैले निर्क्योल निकाले- त्यो सेतो कपडा कसैको अन्तेष्टि गरेको ठाउँ हो। हिजो वा अस्ती मात्र। किनकी छरिएका चिजहरु अझै आलै थिए। यदी त्यो अन्तेष्टि भएको लास हो भने कसरी खुट्टा उचाल्यो? मेरो ढुक ढुकी एक्कासी बढेर आयो, हात- खुट्टा पुरै गले, बोली रोकियो। मरेर अन्तेष्टि गरेको मान्छेको लासले हलचल गर्नु र खुट्टा उचाल्नुको कारण त्यो भूत हो। एक मनले सोचे – म भौतिकवादी हुँ, भूत प्रेत केही हुँदैन। तर परिस्थितीले मेरो भौतिकवादी सोचलाई चुनौती दिएको थियो। मैले पढेका भौतिकवादका कितावहरु, प्रशिक्षणहरु, नास्तिकताको मेरो विश्वास सबै क्षणभरमै डगमगाउन थाले। त्यो सेतो कपडा भित्रको अनियमित हलचल र खुट्टा उठाउदै राख्दै गरेको छ। म के गरौ कसो गरौ सोच्ने सकिन। चितुवा त देखिने हुन्थ्यो तर त्यो  अदृष्य भूत त झन डरलाग्दो हुदो रहेछ। सुनसान खोला किनराको अपरिचित जङलमा म एक्लो छु र अगाडि भूतको चर्तिकला। अझै पनि मेरो भौतिकवादी सोचले हिक्मत हारेको थिएन। ठुलो आवाज निकालेर चिच्याउ भने आवाज आउँदैन, भागौ भने खुट्टा चन्दैन्न, श्वास-प्रश्वास रोकिएला जस्तो भयो। नजिकैबाट फट्याङ्गा उफ्रदा पनि झस्किने बनायो त्यो भुतले। मेरो भरिया वा कुनै बटुवा आउँदछन कि भनेर बाटो हेर्यो। अह, कोही आउँदैन। करीव पन्द्र मिनेटको त्राही पूर्ण भूत सँगको सामिप्यबाट छुटकरा पाउन मैले हिक्मत गरे। मन दरो बनाए ।   की मरिन्छ की बाचिन्छ। शरीरमा उर्जा आयो। नजिकैको ढुङ्गा उठाए र त्यो सेतो कपडा माथि हाने। आहा, ढुङ्गा हाने पछी कपडा मुनिबाट एउटा स्याल फुत्त बाहिर निस्कियो र भाग्यो। म खुशीले चिक्याए। मेरो भौतिकवादले जित्यो। भूतले हार्यो।  

मेरो विश्वासलाई चुनौती दिदै त्यो भूत कसरी उपस्थिती भयो? मेरो भौतिकवादी सोचमा त्यो किन हावी भयो? यी र यस्तै अनेकौ प्रश्नहरुको उत्तर खोजिनु पर्दछ। हामी बाल्-बालिकाहरुलाई भूत, प्रेत, पिचास, दोबाटे, किचकिन्नी, लाहो जस्ता भ्रामिक र मनगड्न्ते कुराको डर देखाउदछौ । बाल मष्तिकमा परेको त्यो प्रभाव जीवन्त रहन्छ। जसले गर्दा भौतिकवादी सोचलाई कमजोर बनाउदछ। ढोगी हुनु र यथार्थमा विश्वास गर्नु फरक कुरा हुन। आजभोलि आफुलाई भौतिकवादिको महिसा ठान्ने कम्युनिष्ट हुँ भन्नेहरु मन्दिर, मस्जित र चर्चमा गएर भजन कृतन गर्ने, कसैको मृत्यमा  रिप (RIP) लेख्ने, सस्कार र सस्कृतिको नाममा नतमस्तक हुने ट्यापेहरुबाट हामी जोगियौ भने भूतहरुबाट पनि जोगिन सकिन्छ। विश्वास हुनु र धर्म मान्नु मानिसको नैसर्गिक अधिकार हो। सत्ता र शक्तिमा भएका आसारामहरुको द्दैत चरित्र देख्दा यी पनि भूतका साक्षात अवतार जस्तो लाग्दछ। खोला किनारा मशानघाटका  भूतको भ्रमबाट त मुक्त भईयो तर नक्कली भूतबाट छुट्करा पाउन ज्यादै कठिन भयो।