हवाई दुर्घटनामा मृत्यु सन्निकट भएको अनुभव

- हवाई दुर्घटनाको मुखबाट बाचेको यात्रुको अनुभव

बिकासे कार्यकर्ताको हैसियतले नेपालको दुर्गम स्थानहरुमा यात्रा गर्नु पर्दथ्यो। सडक सन्जालले नजोडीएका जिल्लामा हवाई यात्रा निर्विकल्प थियो। पैदल यात्रा बिकासेको लागि “कष्ट ईफेक्टिव” हुँदैनथ्यो। कच्ची बाटोको यात्रा पनि हाम्रा लागि “सुरक्षित” हुँदैनथ्यो। हामी अन्तरराष्ट्रिय गै. स. स. का बिकासेहरु नेपालमा बिकट गाउ बस्तिमा जन्मे हुर्के पनि हाम्रा सुरक्षा र सुविधा का मापदण्ड युरोपेली स्तरका हुने गर्दथे। अहिले पनि धैरै सस्थामा निरन्तरता छ होला। तत्कालिन समयमा मेरो कार्यालय नेपालगन्ज थियो र कामको सिलसिलामा बझाङको थलरा क्षेत्रमा जानु पर्ने भयो। नेपालगन्ज देखि बैतडी खप्तड हुँदै जान सकिन्थ्यो। बैतडी खप्तड हुँदै थलरा जानु मेरो लागि सुरक्षित र सस्थाको लागि कष्ट ईफेटिभ नहुने हुँदा बझाङको चैनपुर सम्म हावाई यात्रा र चैनपुर देखी थलरा सम्म सेतीको तिरै तिर भरिया/ गाईडको साथ जाने निधो भयो। संयोगबस जान तोकिएको दिन जहाज उड्यो र चैनपुर पुगियो। सामान्यतया पहुच नहुनेहरु नेपालगन्जबाट पहाडी र हिमाली जिल्ला र क्षेत्रमा हवाई यात्राको लागि हप्तौ कुर्नु पर्दथ्यो।

चैनपुर बिमानस्थल छोटो रन वे भएको र उकालो/ओरालो थियो। छोटो रनवे भएको हुँदा जहाज अवतरण गर्दा ओरालोबाट उकालो तिर लगेर रोक्ने र उडान गर्दा ओरालोतिर उडाएर हवाई मैदानको डिलबाट सेतीको खोज तिर जहाज हाम फालेर उडाईन्छ भनिन्थ्यो।

थलरामा निर्धारित काम पुरा गरेर म पुन: नेपालगन्ज फर्कन चैनपुर फर्के। दिएको समय भन्दा करिव दुई घण्टा ढिला गरी नेपालगन्जबाट यात्रु लिएर जहाज आयो। यात्रुहरु  जहाजबाट ओर्ले। चालक र सह चालक पनि बाहिर ओर्लिएर आ-आफ्नो शरीर तन्काए। हामीलाई बोर्डिङ गरियो र जहाजलाई सेतीको खोच तिर हुईकाईयो। जहाजले आफ्नो रफ्तार लियो। जहाजले जमिन छोडेको करिव २० मिनेट पछी, चालक र सह-चालकको अनुहारमा बेचैनी देखियो। चालकले परिचालकलाई बोलाएर केही भने। परिचालकको अनुहार झन बिग्रियो। ती परिचालकले पहेलो र रातो रङ भएको एउटा लट्ठी झिकेर ल्याए र जहाजको भित्रैबाट एउटा दुलोमा त्यो लट्ठी छिराए। मानौ त्यो दुलोमा मुसो पसेको छ। परिचालक अनुहारले कुनै अनिष्टको प्रष्ट संकेत गर्दथ्यो। परिचालक यो चाला देखेर यात्रुहरु मुखामुख गर्यौ। मैले ती परिचालक सोधे – यो के गरेको? परिचालकले भनौ कि नभनौ जस्तो गरी भने – फ्युल पोखेको। मैले फेरी सहज सोधे- त्यस्तो महगो फ्युल किन पोखेको? परिचालकले चालक तिर हेरे र चालकले आँखाबाट केही ईसारा गरे। परिचालकले भने – जहाजको हाईड्रोलिक हो वा त्यस्तै गडबडी भएको र जहाज आगोलागीबाट जोगाउन फ्युल घटाऊन पोखेको जवाफ दिए। त्यो सुनेर जहाज भित्र कोलाहल, रुवावासी र जप- मन्त्र सुरु भयो। जहाज लगातार उडी रह्यो। पहाड र खोच पार गर्दै जहाज तराई माथि आयो। तराईको जंगल माथि आए पछी जहाजले सन्तुलन गुमाउदै कतिखेर एता त कतिखेर उता लडबडाउन थाल्यो। यात्रुहरु आवाज मन्थर हुँदै गयो। कारण प्राय सबै यात्रुहरु बेहोस भए। बेहोस हुँदा जहाज हल्लिदा उनिहरुको टाउको ठोक्कियर रगत आउन थाल्यो।

मृत्यु सन्निकट भएको अनुभव भयो। बच्चा र परिवार सम्झिए। आस्तिकहरुले भगवान, ईष्ट देवता, कुल्यान आदि पुकार्दा पुकार्दै बेहोस भए। आफु भौतिकवादी भएको हुँदा परिवार बाहेक सम्झने र शरण पर्ने अर्को कुनै ठाउँ भएन। जहाज भित्र चालकहरु, म र एक जना यात्रु मात्र होसमा थियौ अरु सबै बेहोस भएका थिए। चालकले खुलेरै भन्न् थाले- जती सकिन्छ उडाएरै बाँकी रहेको फ्युल सक्ने, हवाई मैदान सम्म लैजाने कोसिश गर्ने हो। हवाई मैदान भन्दा पुर्व जगल माथि लगेर चालकले जहाजको ईन्जिन बन्द गरे। जहाजले सन्तुलन गुमाउदै गयो। गती पनि सुस्त हुँदै गयो। सयोग, जहाज हवाई मैदानको जमिनमा आएर बजारियो र ठोक्किदै उफ्रदै भ्यागुतो सैलिमा अगाडि बढ्यो। अन्तत: हवाई मैदानको सुरक्षाको लागि लगाईएको तारमा अल्झिएर जहाज रोकियो। जहाज आकासमै हुँदा निकै तयारी गरिएको रहेछ। जव जहाज रोकियो, बाहिरबाट सुरक्षाकर्मीहरु भित्र पसेर यात्रुहरुलाई बोकेर बाहिर निकाल्दै एम्बुलेन्समा राख्न थाले। हतारले होला, मलाई पनि झ्याईकुटी पारेर बाहिर निकाले। बाहिर आएर हेर्दा चारैतिर फलामको जस्तो टोपी लगाएका सुरक्षाकर्मिहरु, एम्बुलेन्सहरु, आगो निभाउने दमकलहरु, मान्छेको भिड देख्दा मन फेरी सिरिङ्ग भयो। बाहिर निस्के पछी आफु जिउदै छु भन्नेमा विश्वास गर्न पनि केही समय लाग्यो। जहाजका पाईलट आएर हात मिलाए र जिउदै भएकोमा बधाई दिए। उनले भने ” इट्स र रेयर केस टु वि एलाईभ”।  हामी पल पल जिइरहेका हुन्छौ तर जिउनुको मूल्य तव मात्र थाहा हुदो रहेछ जव मृत्यु लाई नजिकबाट देख्दछौ।

आफु ठुलो दुर्घट्नाबाट बाल वाल बचेँकोमा म परिवारलाई भेट्न आतुर थिए। भोली पल्ट नेपालगन्जबाट काठमाण्डौ हुँदै पोखरा जाने निथो गरे। भोली पल्ट अपरान्धको एती यएरको टिकट लिए। जहाज समयमै उड्यो।  नेपालगन्ज देखि काठमाण्डौ सम्मको यती यएर त्यो यात्राको जहाज कुसुम माथि आइपुग्दा जहाज भित्र प्लास्टिक डढेको गन्ध आयो। त्यो गन्ध पाईलट सम्म पुगेछ। पाईलटले परिचालक भने “हेर त कहाको तार जलेको छ?” परिचालकले तार जलेको ठाउँ पत्ता लगाए र तारमा टेप लगाय र भने- यो जहाज बिग्रेर मर्मतको लागि काठमाण्डौ जान लागेको। सबै यात्रुहरुको होस हवास उड्यो। काठमाण्डौ जाने जहाज भैरहवामा गएर अवतरण गर्‍यो। करिव दुई घण्टा पछी जहाज उड्यो र धन्न त्यो जहाज काठमाण्डौ आई पुग्यो। त्यो दिन देखि म यती चडन छोडे। 

तेस्रो दिन म काठमाण्डौ बाट पोखरा उडे। जहाज पोखराको हवाई मैदान माथि पुरेर ल्यान्डिङ नगरि फेरी काठमाण्डौ फर्कियो। हामीलाई दिएको जानकारी अनुसार पोखरा बिमानस्थलको रन वे मा अर्को जहाज रोकिएको रहेछ। म काठामाण्डौ फर्केर रात्री बसबाट पोखरा लागे। मृत्युबाट जोगिएर बाचेको एउटा हवाई यात्रु फेरी लगातार दुईवटा गन्तब्यमा समेत अवरोध हुँदै यात्रा गर्न पर्‍यो।  

नेपालको भौलोगिक बनौट, मौसम, नाफामुखी मात्र सोच भएका सेवा प्रदाय, फितलो नियगम निकाय आदिको योग नै नेपालमा हवाई दुर्घटना हो जस्तो लाग्दछ। दलाल पूँजीवादले हाम्रो सबै क्षेत्रलाई गिजलेको छ। हवाई क्षेत्र त्यसको अपवाद हुने कुरै भएन। कम से कम पूँजीवादी ब्यबस्थामा जस्तै नाफा सँग सेवालाई पनि जोड्ने हो भने पनि अकाल मृत्यु हुन बाट जोगाउन सकिन्थ्यो। पुराना र कवाडिमा फाल्नु पर्ने जहाजलाई बिदा गर्नु पर्ने ठाउमा सरकारी बिदा गरेर सुल्टो बाटो हिडिदैन भन्ने चेत हाम्रा साशकलाई नआए सम्म यो नियती दोहोरी रहन्छ। अब्यबस्था र कुशासनले लपेटी रहेको देशका जनताहरु तुहिनबाट खसेर, भिरबाट चिप्लिएर, झाडा-पखाला र भोकले मात्र होईन जहाज दुर्घटनाबाट समेत ज्यान गुमाउनेहरुको संख्या थपीई रह्न्छ।