मलाई सुन्दर रुपमा निर्माण गर्न धेरै मानिसहरु लागे । यसको लागि तिनीहरूले जुनसुकै मुल्य चुकाउन बाँकी राखेनन् । मेरो दिमागमा एउटा कुरा सधै आउने गर्दछ – राणा कालमा सिंह दरवार बनाउदा सिमेण्टको ठाँउमा मासको पिठो प्रयोग गरिएको थियो । त्यसको लागि तीन वर्ष सम्म सबै किसानहरुले मास उब्जनी गर्नै पर्ने तर खान नपाउने गरिएको थियो । सबै सरकारलाई बुझाउनु पर्दथ्यो । एकजना किसानले लुकाएर एक मुठी मास राखि फुरौला पकाएछन् । श्रादमा यसो गर्दा पितृ उद्धार हुने ठानेछन् । त्यसो गरे वापत उनलाई कोर्रा लगाइयो, दण्ड तिराइयो साथै “बेमासे” थर बनाई उनका सन्तान दरसन्तान कसैले मास खान नपाउने बनाइयो । अहिले पनि बेमासेले मास खादैनन् । तर मलाई बनाउदा कयौंको बंशनास पारी दुई छुट्टाछुट्टै कारखानामा मानिसको नली हाडको धुलो माटो कसिष्गर महिनौ मिसाएर बनाएको मासुको लेप प्रयोग गरिएको छ । राय डोकाका डोका मानिसका टाउकाहरु संकलन गर्न जादा कारिन्दाहरुलाई पाँच तारे होटलको बसोबास र दिनको लाखौं भत्ताको व्यवस्था गरिएको छ ।
विदेश बाट झिकाएको स्पात मलाई ढाल्दा प्रयोग भएको थियो । त्यो फलामलाई झोल बनाई राम्रो पाइनको लागि मानिसको तातो रगतमा डुवा इएको थियो । मलाई उझिलाउन धेरै पटक आँसु पसिनाको पोखरीमा पखालिएको थियो । मलाई बनाउदा भन्ने गर्थे – यसको नाक चुच्चो बनाउँ । होइन थेप्चो बनाउँ । यसको कान ठाडा बनाउँ । होइन कान छोपौ । एउटाले कुरै नबुझि भन्यो – लेखनाथको कविताको जस्तो बनाउँ ” खुला को राख्छ दोकान ।”
मेरो आकार अंग प्रत्यांग कस्तो बनाउने भन्ने बारे क्रिया बस्नु अघि आगनमा जम्मा भएका आफन्तहरले दिने सुभावहरु जस्ता थिए । ” परालमा सुत्नु पर्दछ । ऊनबाट बनेको कम्मल ओडन सकिन्छ । सिधे नुन खाए पनि हुन्छ । पन्चक परेकाले बृखदान गर्नु पर्छ—– आदि ।” मबारे भनियो – यसलाई देख्दा राम्रो बनाउने हो । तर प्राण प्रतिष्ठा गर्दा विचार पुर्याउन पर्दछ । कतै मरेको बाघ को हण्डिबाट पढेका मुर्खहरुले मन्त्रद्वारा बाघ बनाउदा बाघले नै तिनीहरूलाई मारेको जस्तो होला । यसलाई प्राण दिनु हुदैन । आफुलाई अनुकूल हुने प्राण यसले आफै खोज्दछ । कसैले बनिसकेको मेरो रूपलाई हेरेपछि लातले निधारमा हानी ओरालो लागे । मुर्ति कालै हुनु पर्ने रे । सेतोमा आँखा लाग्दछन् रे ।
त्यसपछि म प्राण भर्न धेरै मेसिनहरुभित्र पसे । मलाई थाहा थियो प्राण भनेको एकमुठी सास हो । कयौं मेसिनमा हावा मात्र भरिदो रहेछ । प्राण भरिदो रहेनछ । एकचोटी एउटा पुरानो भटभटे मेसिनभित्र पसे । त्यसबाट प्राण भरेमा सम्मानित जननायक नेता ओलीलाई गरेको घृणा सम्झे । एउटा कार्टुनमा संविधान बचाओ भन्दै मलाई नै उचाल्दै पर्छादै गराएको देखेको थिए । यस्ता नेतालाई नपत्याउने फतुरा लाग्दछन् भने कतै मलाई पनि यस्तै गराउने त होइनन् भने लाग्यो । फुत्त निस्के । एकचोटी घरी उल्टो घुम्ने 1 घरी सुल्टो घुम्ने धेरैचोटी मर्मत गरिएको मेसिनभित्र पसे । त्यो मेसिनको पिंध नभएकाले ढलबलाई रह्यो । त्यतिवेला मलाई लाग्यो – कतै मलाई पनि नेपालका माओ( जसको ब्याच टालेको कमेजको गोजीका टाँस्न पाए अहोभाग्य ठानिन्छ) प्रचण्डलाई कुनै प्रतिक्रियावादीले कार्टुन बनाएर बदनाम गरे जस्तै बनाउने त होइनन् । बदमाशले प्रचण्डलाई राष्ट्रियता पछौरामा पोको पारी निलामीमा बेच्नको लागि हिडेको देखाएको थियो । कतै म पनि त्यस्तै हुने त होइन डर लाग्यो । फुत्त निस्के ।
केहिले मलाई सुझाव दिएका छन् – प्राण जस्तो कुरा पनि मेसिनबाट भरेर हुन्छ । बरू मंदिर मंदिर पूजा गर्दै हिडने माहात्मासंग माग । यो गर्न पनि मलाई डर लागिरहेको छ । लोकप्रिय राजा ज्ञानेद्रलाई समेत मुर्ति चोरि म्येलेक्षको देशमा बेचेको आरोप लगाउनेले मलाई के बाँकी राख्लान् ? मलाई त अहिले सम्मको बनेको भौतिक रूप समेत डल्लो पारी खोल्सामा फाल्ने होलान ! म अहिले भलै एउटा धेरैचोटी परीक्षण गरिएको मेसिनबाट प्राण पाउछु कि भन्ने झिनो आसामा छु । यो भित्र धेरै कम्पानीका थोत्रा पाटपुर्जा जोडेको हुदा हावा फाल्ने ठाँउबाट तेल चुहेको देख्छु । यसबाट प्राण भर्न कोसिस गर्दै गर्दा प्रजाप्रान्तिक सेनानी शेरबहादुरलाई सम्झेको छु । उहाँ कस्तो विवेकी भान्से हुनुहुन्छ सबैलाई थाहा छ । उहाँ पंचायत बहुदल र गणतन्त्रमा भान्से हुदा कसैले मलाई भाग लागेन भन्ने निस्केको छ ? केहि ढीलो चाँडो अघिपछि भैहाल्दछ । उद्योग धन्दा जल जंगल लिलामी गर्ने समय नदिएर हतार गर्नेलाई त विचरा के गरून् त ! मेरो प्राण भर्ने आशा मरेको छैन । अब एक पटकको लागि प्राण भर्न नयाँ नयाँ मेसिन भित्र पसेर विचार गर्ने पो हो कि भन्ने लागेको छ ।




