लम्फु, लफङ्गा र चुनावी लफडा

देश फेरी चुनावको मालोह उन्मुख भएको छ। संधिय र प्रदेश सभाको चुनावले पार्टिका मठाधिसहरु र  मठाधिसहरुका भित्रियाहरु, ढोके, बैठके, हुक्केहरु को कहाँ बाट चुनावमा उठ्ने? कस्को टेकोमा उठ्ने? को-कस्को आशिर्वाद लिने? कहाका जनता बढी लम्फु र विबेकहिन छन जस्ता हिसाव्-किताव सुरु भएको छ। खास गरेर मुखियाहरु र तिनका खास भित्रियाहरुलाई निर्वाचन क्षेत्र छनौट निकै चुनौतिपूर्ण देखिन्छ। त्यो पिरलो खर्चिलो र भड्किलो चुनावको भन्दा पनि मतदाताहरु सँगको सम्वन्ध र चेतनाको स्तरले झन बढाएको छ। पुरानै निर्वाचन क्षेत्रबाट उमेद्द्वार भयो भने त्यहाका मतदाताले आफुलाई राम्ररी चिनेका छन भोट दिदैनन। नयाँ ठाउबाट उठ्यो भने मतदातासँग चिन-जान नै छैन। चुनाव क्षेत्रको छनौट गर्दा ससुराली भएको क्षेत्र, मावली क्षेत्र, सम्धी भएको क्षेत्र वा आफ्ना बढी हनुमान भएको क्षेत्र रोज्नु पर्ने बाध्यता भएको छ। सत्ता र शक्तिमा हुँदा आफ्ना भाई-भारदार, छोरी-चेली, हनुमान, चम्चे, गोत्र र खलक हेर्नेहरु  आफ्नो चुनाव लडने क्षेत्र छनौटमा तिरमिराएका छन।

आफ्नो अनुकुलता र परचक्रिको आशिर्वादबाट चुनावी क्षेत्रको छनौट पछी अब आयो चुनावी मुद्दा वा नारा। हे बरै! चुनावी नारा के बनाउने? पहिले पहिले वकालत गर्ने मुद्दा वा नाराहरु फेरी दोहोरायो भने जनताले पत्याउदैनन। राष्ट्रियता कुरो गर्‍यो भने एमसिसी (MCC), एसपीपी (SPP), अमेरिकी सेना सँगको संयुक्त शैन्य अभ्यास, चुच्चे नक्सा, नागरिकता एेन जस्ता कुकर्मले आफ्नो अनुहारमा कालो पोतेका छन।

बिकास र संबृद्दिको कुरो गर्‍यो भने आफ्नो घर बङ्गला, बैक ब्यालेन्स, सान, रवाफ, नोकर-चाकर प्रभुको आशिर्वाद मात्रै देखाउन सकिन्छ। रेल र रेलको स्टेसन, पानी जहाज, घर घरमा पाईपबाट ग्यासको ब्यबस्था जस्ता कुरा गर्‍यो भने फेरी जनताले पत्याउदैनन। ठाउँ ठाउमा ठडाईएका भ्यु-टावर, कालगती वा आत्महत्या गरेर मरेका आफन्तहरुका सालीकहरुले भोट दिदैनन। जन जिविकाको कुरो उठाउ भने महङ्गी, अभाव, उखु किसानको पिडा, मिटर ब्याजीको तान्डब्य, रसायनिक मलको हाहाकार जस्ता मुद्दाले अब काम गर्दैन। सुशासनको कुरा गर्दा एम अधिकारी, सिसि टिभी, काठमाण्डौको फोहोर त्यसमा भन्केका झिगाले तिनिहरुका नाक ढाकेका छन।  बालुवाटारको जग्गाको कित्ताकाट, यती, ओम्नी, बतास, प्रिन्टिङ प्रेस आदि ईत्यादि काण्डै काण्ड भुत बनेर उभिएका छन। आफ्ना  पित्रृको नाममा खोलिएका प्रतिष्ठानलाई जनताको रगत पसिनाको करबाट गरेको दानले पित्रृको आशिर्वादले मात्र चुनाव नजितिने कुराले त्रसित देखिन्छन। न्याय र कानुनी राज्य आँफैमा उत्तानोटाङ परेका छन। निहारिकाको पिडा, निर्मला बलत्कार र हत्या काण्ड प्रतिनिधि घटना मात्र हुन।  अलिकती धर्म कर्मको मुद्दा उठाउ भन्दा राम, हनुमान, सिताहरुको मुद्दा पहिलेनै उठाई सकियो। सुनको जलारिको कुरो उठाउ फेरी अपुग सुनको कुरो उठ्ला। बलत्कारीको आरोप लागेका सिद्दबाबा उर्फ कृष्ण बहादुर गिरीको शरण पर्नु बाहेक अरु विकल्प छैन।

एक अर्काको टेकोमा (गठबन्धन) चुनावी मैदानमा उठने भए पछी आफ्नो  पार्टिगत दर्शन, सिद्दान्त, निती तथा कार्यक्रम भन्ने केही हुँदैन। जहाँ जे भन्दा जनता झुकिन्छन त्यही भन्ने छन। अलि कती ईतिहासको ब्याज खाने प्रयास गर्ने छन।  मार्क्स, लेनिन, माओ, बिपी कोईराला, गणेशमान, मन मोहन, मदन भण्डारीहरुको नाम लिने छन। सात सालको क्रान्ति, जन आन्दोलन, जनयुद्द, झापा बिद्रोह जस्ता कुरोले मेसो सोझ्याउने प्रयास गर्ने छन। हिजोका पन्च र नितिहरुका ठिमाहा  उन्त्तरधिकारीहरुले अहिलेका खराव नेताहरुको उदाहरण दिएर पारस जस्तालाई स्थापित गर्न वकालत गर्ने छन।

अबको चुनावको सबभन्दा रोचक पक्ष भने को कुन राजनीतिक दर्शनमा विश्वास गर्ने उमेदबार र कार्यकर्ता हो छुट्याउनै सकिने छैन। कोही हसिया हटौडा भएको झन्डा बोक्दै रुख चिन्हमा भोट माग्ने छन। चारतारे झण्डावाला गोलाकार भित्रको हसिया हतौडा चुनाव चिन्हमा भोट माग्ने छन। सुर्य चुनाव चिन्ह वालाले हलोमा र हलो चिन्ह वालाले सुर्य चिन्हमा भोट मागेको देख्न पाईने छ। कही कतै रुखमा गिलास झुण्डाएर हिंडेको पनि देखिने छ भने कतै छाता वा साईकलमा कलम झुण्डाएको देख्न सकिने छ। राजनीतिमा गुण र गोवर छ्यास-मिस हुँदा गुण पनि गोबर जस्तो र गोबर पनि गुण जस्तो देखिने छ। राजनीतिक “बाद” अहिले बाझ्न र झगडा गर्न मात्र प्रयोग भएको देखिन्छ।

सार्वभौम जनताहरुले अब गाली गरेर, धारे हात लगाएर वा आलोचन मात्र गरेर देश अगाडि बढदैन। कुनै ठालुको उत्तराधिकारि, गाउखर्के मनोनयन वा धन सम्पत्तिको तुजुकबाट आउने उमेद्दवारलाई पूर्ण तिरस्कार गरौ। हिजो परिक्षणभै असफल भएका, राजनीतिलाई अर्थोपार्जन र जिविकोपार्जन गर्ने र आफुलाई सधैंभरी शासक ठान्नेहरुलाई निषेध गरौ। छिप्पिएका र बृद्दाश्रममा बस्ने उमेर समुहकालाई राजनीतिबाट आराम गर्ने ब्यबस्था गरौ। राजनीतिलाई समाज परिवर्तनको सम्वाहक बनाउने, हर्क साम्पाङ जस्तो श्रम संकृतीको बिकास गर्ने, आकाश पातल जोडेर हावा कुराको खेती नगर्ने, सरल जीवन पद्दति भएको, हनुमानबाट नघेरिएको उम्मेद्द्वारहरुलाई चिनौ। दरवार, हबेली र बार्दलिको प्रतिनिधित्व गर्ने होईन झुपडिको प्र्तिनिधित्व गर्ने युवाहरुलाई छानौ। फेरी पनि लम्फुहरुलाई विजयी गराई आफुलाई अर्को पाच बर्ष लफङ्गो नबनाउ।