माओवादीको किल्लामा बागीको प्यानलै विजयी

महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रह्लादकुमार क्षेत्री विजयी भएका छन्।

क्षेत्री १४ हजार २१० मत ल्याएर स्वतन्त्रबाट मेयर पदमा निर्वाचित भएका हुन्। कांग्रेसबाट बागी उठेका क्षेत्रीले ४ हजार ४७४ मतअन्तरले नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु खड्कालाई पराजित गरे। खड्काले ८ हजार ३२३ मत प्राप्त गरेका छन्।

त्यस्तै क्षेत्रीकै प्यानलबाट उपमेयर पदकी स्वतन्त्र उम्मेदवार तारादेवी महतो पनि निर्वाचित भएकी छन्। महतो ९ हजार ७३६ मत ल्याएर विजयी भएकी हुन्। महतोकी निकटतम प्रतिद्वन्दी कृष्ण माया गौतमले ८ हजार १८५ मत ल्याइन्।

क्षेत्रीकै स्वतन्त्र प्यानलबाट बर्दिबासको चारवटा वडाको वडाध्यक्ष समेत निर्वाचित भएका छन्। वडा नम्बर १ मा भोला खड्का, वडा नं ७ मा रामस्वगारथ यादव वडा नं १३ मा लक्ष्मण सिंह र वडा नं १४ मा विजयकुमार महतो वडाध्यक्ष निर्वाचित भएका हुन् ।

मनोनयन दर्ताको दिन कांग्रेस सभापति देउवाले क्षेत्रीलाई पार्टीबाट टिकट दिएनन्। चिरन्जीवी हमाललाई कांग्रेसले टिकट दिएपछि क्षेत्री पार्टीबाट विद्रोह गर्दै समूह बनाएर वडा नं १ देखि १४ सम्म स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।

क्षेत्रीको समूहले मेयर, उपमेयर र चारवटा वडाध्यक्ष जिते पनि कांग्रेसका अधिकारिक उम्मेदवार उम्मेदवार चिरञ्जीवी हमाल भने मात्र १ हजार २६३ मत पाए।

कांग्रेसबाट उपमेयरकी आधिकारिक उम्मेदवार अमिनकुमारी महतोले १७५८ मत ल्याएकी छन्।

मतपरिणाम अनुसार बर्दिबासमा माओवादी केन्द्र दोश्रो, एमाले तेश्रो र कांग्रेस चौथो भएका छन्।

बर्दिबास नगरपालिका नेकपा माओवादीको आधार क्षेत्र थियो।