‘अनाकार’का शीतका थोपाको चमक र आगोका झिल्काको उज्यालो पहिल्याउँदै

“मिर्मिरे सूर्यदयमा
कञ्चनजंगाको विम्वभरि
मेरो दार्जिलिङ्गको
चित्र प्रतिबिम्बित हुँदा
महाकाल डाढाको
एक मुठी माटो उठाएर
कसम खाँदै भन्न मनलाग्छ
दार्जिलिङ्ग! म तिमीलाई
असाध्यै माया गर्छु।”
(क्विन् अफ हिल्स्: मेरी दार्जिलिङ्ग-१)
पहाडकी रानी दार्जिलिङको मनोरम प्राकृतिक वातावरणको कुरा त गरेर नसक्ने छ, यसको सुन्दरतामा प्रभावित भएर पर्यटकहरू आफै तानिएर यहाँ आउने गर्छन्। पूर्वी भारतको पश्चिम बङ्गालमा स्थित यो स्‍थल स्वर्ग भन्दा कम छैन। यसै जिल्लाको खरसाङमा जन्मिएकी र हुर्किएकी हुन् रचना राई। जसलाई साहित्य क्षेत्रमा रचना ‘अनाकार’को नाउँले जानिन्छ। पेशाले उनी एकजना शिक्षिका भए तापनि साहित्य क्षेत्रमा उनको धेरै योगदान रहेको छ। उनी “परिद्रष्टा” समसामयिक साहित्यिक पत्रिकाकी सम्पादक हुनका साथै “साहित्य संगम” मासिक पत्रिकाकी अनि “वेश्य परिवार” नामक हिन्दी त्रैमासिक पत्रिकाकी सह- सम्पादक पनि हुन्। नेपालको धुलाबारी, झापामा स्थित त्रिफला राष्ट्रिय पुस्तकालयकी आजीवन सदस्य र ब्लूमफिल्ड महकुमा पुस्तकालयकी भूतपूर्व सचिव पनि रहेकी रचनाको संलग्नता गोर्खा जन- पुस्तकालय, खरसाङ, शिवकुमार राई प्रतिष्ठान, डी.एच.आर. संरक्षण समिति, भारतीय गोर्खा परिसंघमा पनि रहेको छ। उनका प्रकाशित कृतिहरूको सूची यसप्रकार छ –
१.क्रान्तिको शंखनाद गर्न तिमी अब ब्यूझ(कविता सङ्ग्रह, सन् २००२)
२.शीतका थोपा अनि आगोका झिल्का(कविता सङ्ग्रह, सन् २०१४)
३.Fragmentation(अङ्ग्रेजी कविता सङ्ग्रह, सन् २०२१)।

यस चर्चामा म रचनाच्यूले मलाई केही दिनअघि अति प्रेमपूर्वक पठाएको उनको दोस्रो काव्य कृति “शीतको थोपा अनि आगोका झिल्का” पढेपछिको मेरो अनुभव यहाँ साझा गर्दैछु।

यो पुस्तकको शीर्षक नै अति आकर्षक लाग्यो मलाई। पाउने बित्तिकै पढ्नलाई आतुर भएँ। पुस्तक पल्टाउने साथै मातृका गजमेर, सिद्धार्थ राई अनि ग्याल्पो लामाज्यूका छोटा छोटा सुन्दर शुभेच्छाहरू रहेछन्। विषेशगरी लेखकहरूले आफ्नो मातापिताको, परिवार या वितेका आफन्तजनको नाउँमा पुस्तक समर्पित गरेको पाइन्छ तर उनले यो पुस्तक वर्णमालाको सृजना गरी साहित्यको साकार स्वरूप निर्माणमा अमूल्य योगदान पुर्‍याएर स्वयं इतिहासका पृष्ठामा अज्ञात रहेका ती प्रथम सर्जकप्रति समर्पित गरेकी छन्। यो एउटा नौलो राम्रो कुरा लाग्यो मलाई।

“शीतका थोपा अनि आगोका झिल्का” पुस्तकमा आदरणीय कृष्ण प्रधानज्यूले ‘काव्यिक सौन्दर्यको सौष्ठवमय सङ्गम: शीतका थोपा र आगोका झिल्का’ शीर्षक दिएर दस पृष्ठाको अति सुन्दर भूमिका लेख्नुभएको छ। यसबाट नै यस पुस्तकका कविताहरू बारे धेरैजसो कुरा बुझ्न सकिन्छ। यसैगरी उपन्यासकार असीत राई, जयप्रकाश लामा, डा. श्रीहरि वाणी ‘विद्यावाचस्पति’ लाशा शेर्पा, उमेद गोले आस्तिक अनि रचनाज्यूकै श्रीमान् कवि तथा समीक्षक ऋषि राईज्यूले पनि सुन्दर शुभेच्छाका हरफहरू लेख्नुभएको छ।

रचना ‘अनाकार’को पहिलो कविता सङ्ग्रह ‘क्रान्तिको शंखनाद गर्न तिमी अब ब्यूझ’ प्रकाशित भएको बार सालको अन्तरालमा उनको दोस्रो कृति प्रकाश भएकोमा कवि अलिकति आफूलाई दोषी ठान्दै समयको सही उपयोग नभएको बताउँछिन्। उनलाई प्रोत्साहन दिने र लेख्न हुटहुटी लाएर अर्को कृति प्रकाशित गर्न उत्साह दिने सम्पूर्णमा कृतज्ञता ज्ञापन गरेर उक्त पुस्तकमा आफ्नो स्वकथन लेखेकी छन् ।

“शीतका थोपा अनि आगोका झिल्का” कविता सङ्ग्रहमा कविताहरूलाई दुई भागमा विभाजन गरेर राखिएको छ। पहिलो भाग (शीतका थोपा)मा मोठ १८वटा कविता छन् भने दोस्रो भाग (आगोका झिल्का)मा मोठ १३वटा कविताहरू छन् । यसरी यस कृतिमा मोठ ३१वटा कविता समावेश गरिएका छन्। पुस्तकको मूल्य भारू १०० रुपियाँ रहेको छ।
पुस्तकको शीर्षकमै रहेको शीर्षकको कविताबाट उनका कविताहरू थालिएको छ। यस कविताले एकतिर कवितालाई शीतका थोपाजस्तै क्षणभङ्गुर र शीतल, कोमल भन्ने चाहेको छ भने अर्कोतिर कविता विद्रोहको प्रतीक बनेको छ। यसमा कविले समाजका विकार, विसङ्गतिहरूलाई कलात्मक पाराले झटारो हानेकी छन्…
“फिलिंगो बोकेर शब्दहरू
आगोका झिल्काहरू सरह
ज्वालामुखीको मार्ग हुँदै
क्रुद्ध /आक्रोशित /विस्फोटक
कविताहरू………..!
बन्द मुठीभित्र आगोको सौन्दर्य बटुलेर
प्रस्फुटनको पर्खाइमा उभिएका विस्फुलिङ्गहरू
कविता जस्तै आगोका झिल्काहरू
आगोका झिल्का जस्तै कविताहरू….!!”
(शीतका थोपा अनि आगोका झिल्का)

यसरी जीवनका दुई परस्पर विपरीत द्वन्द्वहरूलाई डोहोर्‍याएर उनको कविता यात्राको थालनी हुन्छ र कहिले दुखको आँसुमा पौरिँदै अनि कहिके विद्रोहको राँको बोक्तै कविताहरू व्यक्ति जीवनका आरोह-अवरोह र समाज जीवनका सङ्गति-विसङ्गतिहरूको चिरफार गर्न खोज्छन्।

समाजमा अनेक खाले मान्छे छ्न्। राम्रा पनि नराम्रा पनि छ्न्। समाजमा भएका केही छिन्द्रन्वेषीहरू अथवा खुट्टा तान्ने प्रवृत्तिका मान्छेहरूलाई उनी नटेरी परिश्रम गरी आफ्नो लक्ष्यतर्फ अगि बढ्दै जाने सिद्धान्त लिएकी छ्न्।उनको यो दोस्रो कविता “अपरिभाषित अनाकार”बाट यो छर्लङ्ग बुझ्न सकिन्छ…
“अनिश्चित्ताको अथाह बालुवा राशि बीच
बाटो स्वयं निर्माण गर्दै
एक निरन्तर यात्रा
यात्रा सृजनाको लिएर
अग्रसर भइरहन्छ क्रमशः
अपरिभाषित ” अनाकार”।
(अपरिभाषित “अनाकार”)”

अब हेरौं यो अर्को एउटा कविता जहाँ समाजका असमर्थ मानिसहरूको दुखको मर्म बुझिदिने कोही नदेखेर उनी भन्छिन् –
“हिँडिरहन्छन् दिनभरि सडकमा
थरी थरीका परिधानहरू
किसिम किसिमका जुत्ताहरू
एउटा विकलाङ्ग बालकको
रहरहरूलाई गिज्याउँदै/ जिस्काउँदै।”
(एक टुक्रा परितृप्ति: अवोध आँखाहरूमा)

यस कवितामा मानवतावादको नाउँमा भएको घृणा, तिरष्कार, भेदभावप्रति बडो हृदयस्पर्शी तरिकाले कविले यथार्थ दर्शाएकी छन् र हेपिएका मानवजातिको उत्थानको लागि आवाज उठाएकी छन्।

कवि “अनाकार” निपुण लेखक हुनुका साथसाथै एक यस्तो देशप्रेमी हुन जसले देश रोएको देख्न सक्तिनन्। देशका निम्ति सधैं भलो चिताउने प्रवृत्ति छ उनको। यो कुरा उनको यो कविताबाट थाहा पाउन सकिन्छ…
“चञ्चला किशोरीको
अधरको मुस्कान बनेर
तिमी सँधै मुस्काइरहनु
तिमी सँधै हाँसिरहनु
तिमी सँधै बाँचिरहनु
मेरो देश!!!”
(तिमी सँधै मुस्काइरहनु मेरो देश)

हिजोआजका कविहरूले नारी जीवनका प्राय: सबै खाले समस्यालाई लिएर कविता लेखेका छ्न्। धेरजसो नारी कवि नै नारीचेतका कविता भनेको पुरुषका विरोधमा मनमा उब्जिएका घृणा पोख्ने ठाउँ हो भन्ने ठान्छ्न्। पितृसत्तात्मक समाज र समाजका सामान्य पुरुषका बीचको फरक छुट्याउँदैनन् अनि नारीहरू पनि पितृसत्ताको परम्परा बोकेर कसरी नारी विरोधी हुन् सक्छन् त्यो विर्सन्छ्न्। एउटी नरीले नै अर्को नारीको मर्म बुझ्नुपर्ने हो। कारण, आजको युगमा पनि नारीहरू धेरै प्रकारले प्रताडित हुँदै आएका छन्। कवि आफू पनि एउटी नारी नै हुन्। हर नारीको सम्मान हुनुपर्छ भन्ने कुरामा कविको अडान छ। तर, भ्रूण हत्या जस्तो जघन्य अपराधमा धेरै ठाउँमा नारीहरू पनि संलग्न हुन्छ्न् या जिम्मेवार देखिन्छन्। समाजमा कलङ्कित हुने डर, आर्थिक अभाव, दाइजोको समस्या इत्यादि कारणले गर्दा होस् कि स्वेच्छाले होस् गर्भपात गर्छन्। यस्तो एक अनौठो विषयमा कविता लेख्दै कविले ती आमाहरूप्रति छड्के हान्दै भनेकी छन्…
“भनन! ए ! मेरी आमा!
जैविक निर्माणको अधुरो क्रममा
मेरो अपूर्व संरचनालाई
पूर्णता प्राप्ति अघि नै
भ्रूणहत्या गरि कसरी तिमीले
मेरो जीवन समाप्त गरिदिन सक्यौ?
…………………………..
कसरी तिमी बन्नसक्यौ
यति क्रुर हत्यारिणी?!?
(प्रश्नहरू: आमासित)”

कवि रचना जीवनमा घटेका घटनाहरू आत्मसात गर्दै स्निग्ध अनुभुतिहरू करूणा, पीडा व्यथाको बीचमा पनि जिउने प्रयास गर्दै अर्को कवितामा भन्छिन् –
“आज
आँशुको नदी बगाउँदै
कसरी म यो दीयो बाल्दैछु
तिम्रो चित्र अघि?”
(कसरी म यो दीयो बाल्दैछु?)

यहाँ आएर शीतका थोपाको भागका १८वटा कविता टुङिन्छन्। “शब्दहरू: अनि म”, “यात्रा, अस्थायीत्व”, “जीवनका ऋतुहरू”, “ल्यामिनेशन: डुब्दै गरेको घामको”, “हुरी”, “एउटा हुरी यस्तो पनि, यो कस्तो तृष्णा!”, “प्रतिघाती सपनाहरू”, “जीवनको परिभाषित झमक”, “जगमगाइरहनेछौ तिमी” शीर्षकका प्रतेक कविताहरूमा कविको प्रतिभा र कला शीतका थोपा घामको किरणमा चम्किएझैँ चम्किएको छ। एक एक कविता सुन्दर र बेजोड छन् भन्ने कुरामा कुनै शङ्का छैन्।

आगोका झिल्का भागका अरू १८वटा कविताका शीतका थोपा भन्दा केही भिन्न छन्। शीतका थोपामा दुख, वेदना, जीवनको विफलता, वियोग आदिको एकप्रकार करुण स्वर छ, अलिक निराश छ भने आगोको झिल्कामा आक्रोश, विद्रोह, परिवर्तनको प्रबल चाहना छ।

दुवै पाटाका कवि ‘अनाकार’का कविताहरू देख्ता सरल देखिए तापनि काव्यिकताले भरिपूर्ण छन्। उनका कुनै कुनै कविताले पाठकलाई दोहराएर पढ्न बाध्य बनाउन सक्छ। कविले समकालीन कविता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन्। आगोको झिल्काको एउटा कविता हेरौँ जहाँ उनले मुखबाट आगो उकेलेकी छन् –
“एउटै स्फुलिङ्ग
पर्याप्त हुनेगर्दछ जसरी
विनाशकारी अग्निज्वालाको निम्ति
उसरी नै
बन्द परेलीहरू माझबाट बगी झर्ने
मूक आँशुका प्रवाहहरूमा
सञ्चित शक्ति हुनसक्तछ
अदृष्य सुनामीको
छेक्न अनि रोक्न सक्नेछौ
त्यो महाविनाश तब तिमी ??!”
(विस्फुलिङ्ग)

यस कवितामा कविले देशको शासन व्यवस्थालाई चुनौती दिएकी छिन् र निकै चर्को पाराले थर्काएकी छन्। कवि समाज परिवर्तन गर्न चाहनेहरूको लश्करमा उभिएकी छ्न्। उनले देशको राजनीतिक विसङ्गति, विश्वासमा आएका परिवर्तनहरू, देखेका भोगेका कुराहरू जस्ताको त्यस्तै उतारेकी छन् । अझ उनी विद्रोहको तीखो स्वरले क्षमताधारीमाथि प्रहार गर्दै आफ्नो वर्तमानलाई जोगाउन तत्पर देखिन्छन् …
“मभित्र अनवरत
एउटा भुकम्प सल्बलाइरहोस्
एउटा जीवन्त ज्वालामुखीको
महा विस्फोटन भैरहोस्
……………………..
‘स्किजोफ्रेनिक’
मेरो रोगी वर्तमानलाई
वारम्वार अनि निरन्तर
चेतावनी दिइरहोस्।”
(स्किजोफ्रेनिक मेरो वर्तमान)

यस भागका लगभग सबै कवितामै कविले समाजको अन्यायपूर्ण व्यवस्थाप्रति विद्रोह उकेल्दै समाजलाई सचेत गराउने प्रायास गरेकी छ्न्। उनका छोराले परिवर्तनको राँको बोक्ने छ भन्ने आशा राख्तै उनी भर्छिन् ….
“ए मेरो छोरा!
अब तिमीले त्यो सानो झिल्कालाई
महाज्वालामा परिणत गर्नुपर्नेछ
अवरूद्ध बनेको चिसो समयलाई फेरि
झरिलो रापले पोलेर गतिशील बनाउनुपर्नेछ
त्यसैले ए! मेरो नवजात छोरा!
तिमीलाई मैले प्रद्युम्न बनाउनुछ।”
(…..तिमीलाई प्रद्युम्न बनाउनुछ)

‘अनाकार’ एक प्रतिष्ठित कवि हुनका साथै जाति र समाजको हितका लागि सदैव हत्ते गर्ने प्रवृत्तिकि देखिन्छन् र जातिलाई कसरी माया गर्नुपर्छ, कसरी अघि बढाउन सकिन्छ, स्वार्थ त्यागेर जातिको लागि हृदयदेखि साँचो प्रेम उर्लनपर्छ, देखावटी गर्नुहुँदैन अनिमात्र जाति मौलिन्छ भन्ने सुझाव कविले यस कविताको माध्यमबाट दिएकी छन्…
“उर्लनपर्छ साँचो जातिप्रेमका ज्वारभाटाहरू
अनि भत्कनपर्छ स्वार्थका बाँधहरू
………………………….
दन्कनपर्छ मुटुभित्र उत्सर्गका ज्वालाहरू
जल्नपर्छ
पोल्नपर्छ
दु:ख्नपर्छ
अनि मौलिन्छ साँचो चेतना जातीयताको
………………….।”
(जातित्व खोज्छौ भने….)

हामी गोर्खाली जातिलाई साहसी भनेर विश्वमा चिनिन्छ। सारा भूगोलमा फैलिएका छौँ हामी। देश र जातिको हितका लागि लड्न र मर्न डराउँदैनौँ। र पनि हामी आफ्नैहरू अनि अरूबाट पनि शोषणको सिकार हुनु परेकोमा कवि दुखित देखिन्छन्। जातीय मूल्य र मान्यताको लागि चलिआएको द्वन्द्व समाप्त होस्, विकृति हटोस् भन्ने कविको भनाइ छ। हामी पहाड जस्तो अटल भएर एकजुट भएर धैर्यका साथ बसौं भन्दै यस कवितामा लेख्छिन् ..
“हामी वीर ( ? )
तर सहनशील ( ? ) हौं
त्यसैले हामी कदाचित्
पहाड जस्तै अटल/ अचेष्ट
तटस्थ अनि धैर्यशील गोर्खाली हौं।”
( हामी धैर्यशील गोर्खाली )

खासमा भन्नुपर्दा कविहरूले आफ्ना मनका साँचा भावनाहरूलाई रचनामार्फत उतारेर समाजलाई ऐना देखाउने प्रयास गर्छन् र रचनाले पनि अर्काको लहैलहैमा लागेर कुरै नबुझी पछि लाग्नेहरूप्रति छड्के हान्दै यस्तो अवस्थाबाट मुक्ति चाहँदै भनेकी छन् –
“त्यहीँ / त्यस्तै कथाहरू
वारम्बार सुन्दै/ सुनउँदै
लक्ष्यहीन दौडमा
अपरिमेय ऊर्जाहरू अनाहक खर्चेर
अब अझै कति
विश्वासघात गरू स्वयंसित?”
(अझै कति विश्वासघात गरूँ स्वयंसित?)

यस सङ्ग्रहका कविताहरूले कविको समयको देश, देशका मानिस, सरकार, सरकारको नीति, चम्बु नेता र नूनका सोझा जनताको चरित्र चित्रण गर्दै अब न्यायको लागि अन्तिम युद्ध गर्ने तरखरमा छन्। यस पुस्तकमा रहेको अन्तिम कविताले त्यही भन्छ।
“धेरै द्रोह गर्‍यौं अनि
धेरै विद्रोह बोल्यौं हामीले तेरो आदेशमा
धेरै अन्तहीन यात्राहरू हिँड्यौ हामीले तेरो निर्देशमा
तर अब विश्रान्तिको घोषणासितै
विरामका ‘प्लाकार्ड’-हरू बोकेर
अब विद्रोह बोल्छौं हामी
‘अनाकार’!….तेरो विरोधमा।”
(विद्रोह बोल्छन् मेरा कवितारू)

भाव र कलाको सुन्दर समन्वय कविको यस कवितामा देख्न सकिन्छ। विद्रोही सोर झल्काउने यो कविता निकै प्रभावशाली देखिन्छ। तानाशाही र अवसरवादीहरू माथि कविले अति सुन्दर तरिकाले धारिलो प्रहार गरेकी छन्। यो कविता एकदम दमदार पनि लाग्यो मलाई।

यसैगरी – “आऊ! मेरो रथ हाँक्न हे! पार्थसारथी!”, “कविवर! तिम्रो सन्तति हुनको अौपचारिकता निर्वाह गर्दैछु”, “फेरि एउटा अध्याय रगतको मसीले लेखिन्छ”, “अनुशय”, “उघ्रँदैन् यी थकित आँखाहरू” शीर्षकका १८वटै कविताहरूमा कविले विद्रोही व्यङ्ग्य हान्दै मन छुने पाराले जागृतिमूलक सार्थक सन्देश दिएकी छन्।

दुवै भागका कविताहरू हेर्दा, कतै मातृप्रेम, कतै प्रियजनको वियोगको व्यथा, कतै जीवनको अनिश्चयता, दार्जिलिङको सौन्दर्य अनि सौन्दर्यभित्रको पीडा, गरिबहरूका आसुँ, जातिको वेदना, नेताको छल, नारीका पीडा आदिलाई उनले कविताको विषय बनाएकी छन् र एक सुन्दर, भेदभावहीन, मानवताले भरिएको र सबैको भलो हुने, हक पाउने समाज बनाउनेमा जोड दिएकी छन्।

निचोडमा भन्नुपर्दा ‘अनाकार’ को यो कृतिका कविताहरू उनको पहिलो काव्यकृति ‘क्रान्तिको शंखनाद गर्न तिमी ब्यूँझ’का कविता भन्दा धेरै स्तरीय छन्। यस कृतिका मोठ ३१वटा कवितामा प्राय: सबै नै उत्कृष्ट छन्। आकारमा कुनै लामा र कुनै मझौला आयामका कविताहरू यहाँ राखिएको छ। सरल, सहज तरिकाले लेखिएका भए तापनि कविले हरेक कवितामा कलात्मक पाराले बिम्बको सुन्दर प्रयोग गरेकी छन्। धेरै मिथक, बिम्ब र रूपकको प्रयोगले कविताहरू सजाएकी छन् र उनी एक सफल कवि बनेकी छ्न्।

उनका कविताले समाजका विसङ्गतिहरूको विरोध गरेको छ। युगलाई उचित मार्गमा हाँक्ने आशा राखेको छ, सामाजिक भेदभाव, अनाचार, दुष्कर्म आदिबाट समाजको मुक्ति चाहेको छ। कविताहरूको मूल स्वर जातीय चेतना, शोषणहीन समाज निर्माण गर्ने सपना छ, नारी अस्मिताको सम्मान हुनुपर्छ भावना हो। कविताहरूमा गद्यलय पाइन्छ। कविताको विषय छान्ने क्रममा पनि कवि पारङ्गत देखिन्छन्। तर पनि कवितामा केही शब्दहरूमा लेख्य व्याकरणको नियम तोडेर भाषिक विचलन गरेको स्थिति पनि पाइन्छ। दार्जिलिङको स्थानीय बोलिको प्रभाव पाइन्छ। कुनै कुनै ठाउँमा हिज्जेहरूको पनि त्रुटि देखिन्छ। यसबाहेक कविताहरूलाई समग्रमा हेर्दा पुस्तक एकदमै पठनीय छ र यसले मानिसको चेतना जगाउन सक्ने सम्भावना बोकेको छ। रचना ‘अनकार’को यो अमूल्य उपहार पाएर म एकदमै धन्य भएँ र पुस्तक बारे दुई कुरा लेख्ने प्रयास गरेँ। कवि अनाकारबाट अझै धेरै राम्रा राम्रा सिर्जना पढ्न पाउने आशा र विश्वासका साथ धेरै शुभकामना र बधाई दिदै अहिलेलाई यति नै।