पहराको फूल हेरिरहँदा !

आजको दिन कविता माथि थप बहस उठाउनु अप्रासाङगिक हुन्छ । कविता किन कसका लागि कसरी लेखिन्छ भनेर व्याख्या अत्यधिक नै भइसक्यो । कविताको तहमा उक्लेको लेखन सतही व्यक्तिगत र क्षणिक हुन चाहिँ सक्दैन र हुनु हुँदैन । त्यसैले पनि कविताका पुस्तकको एउटा भिन्न अर्थ छ । मानिएका कविको प्रतिछायाको ओसेप खोज्नु अर्को अन्याय हो कविताका लागि । जिम्मेवारीको जुवादेखि निस्किएर कविता लेख्नु पुस्तकको आकार दिएर प्रकाशन गर्नु नेपाली नारीहरूका लागि फलामकै चिउरा सरह छ । फेरि पनि सुन्दर नगरी पोखराबाट एउटा कृति निस्कियो पहराको फूल कवि लिली अधिकारीको ।

सगरमाथा साहित्य प्रतिष्ठानको प्रकाशन रहेको पहराको फूलमा प्राज्ञ रमेश श्रेष्ठ , डा. रेणुका सोलु , जीवित खड्का मगरका भनाइहरू मन्तव्य शुभकामना अनि प्रकाशकीयको रूपमा आएको छ । कवि स्वयंले पनि आफ्ना कुरामा आफ्नो स्पष्टोक्ति दिनुभएको छ । उनान्सय पृष्ठमा आफूलाई फिँजाएर छपन्न शीर्षकमा समेटिएको छ पहराको फूल । प्रकृतिसँग जोडिएर कोमल शब्द केलाइएका आफ्ना छनोटलाई” पहराको फूल ” नाम अनि आकर्षक साज सज्जामा आएको छ ।

शिर्ष कविताको स्वाद शुरूवातमै लिन सकिन्छ । कसैको उपस्थिति देखिनु मात्रै जीवनको उपलब्धि होइन । आकर्षण मात्रै फूलको सबै कुरा होइन । छ भनेपछि हुनुको अर्थ पाउनु पर्छ । देखिने सपना ,त्यो जून अनि सुवास लिन नसकिने त्यो पहराको फूल जस्तो जिन्दगी नभैदेओस् कसैको पनि । सार्थक जीवन यथार्थमा एक अर्काको तालमेल र सहयोगमा मात्रै पूरा हुन्छ । मूर्तता भन्दा अलि वर भएर पनि पढ्दै जाँदा शब्दशब्दले नयाँ कुराको प्रक्षेपण गर्छन् ।

आमाहरू सिर्जनाका श्रोत हुन् । एउटा परिवारका लागि अझ हरपल उदाइरहने सूर्य हुन् । आमाको महानता माथि अर्को आमाले जति अरुले भन्न सक्दैन । जिन्दगीदेखि चुहेका आँसु आफ्नै गालाको पहरामा सुकाउन बरु तयार हुन्छ कविमन ।कसैको सापटीले चलाउन सक्दिन भन्दै अर्काको छाताको ओत नबस्ने स्वाभिमान व्यक्त हुन्छ अरुको छातामा । फूलका आँसु नारी संवेदनाको प्रतिनिधि कविता हो । आँसुकै सिञ्चनले फूल उमार्दै सुवास फैल्याउने फूलहरूको अवस्थिति आँसुकै दहमाथि छ । मुक्तिका बाजा जति बजे पनि युगौदेखि आजसम्म नारीले भोगेका कारुणिक कथा बोकेको छ यस कविताले । कलम र सियो तथा कथित जातपात माथि समानताको दृढता हो यसरी ,,

सभ्यताका डोरीहरू
झुन्डिरहेका छन्
समानताको आकाशमा ।
पर्खाल बनेर बसेका हुन्छन् कुनै सम्बन्ध सुमधुर बनाउने प्रयासका बाबजुद पनि । मानव इतिहासमै सदैव कुकृत्यका रूपमा परिचित अपराध बलात्कारलाई उखुघारीले प्रतिबिम्बित गरेको छ । कुख्यात निर्मला काण्डमा देखिएको उखुघारी डरलाग्दो र भयावह छ । जघन्य अपराध रोक्न खुदो चिनीको नशालु खुदोको चिरफार घर देखि नै हुनुपर्ने बुझाइ हो कविको , बासँगको सम्बोधनमा । जीवन सहज छैन , गोरेटो देखेजस्तो सुन्दर छैन । चालिने प्रत्येक कदम सावधानी सहित चाल्नुपर्ने सन्देश हो गोरेटो । छुट्न मन नहुँदा नहुँदै एउटा अनेपेक्षित बिछोडको घाउ हो जहाँ केवल यादहरू औसधी बनेर बस्छन् । सिरेठो आफैँमा दु:ख दिने चिसो हावा हो तर त्यही हावा अमृत हुन्छ गर्मीले छट्पटिएको बेला । एक पात्र जो अभावमा पिल्सिएको छ ऊ प्रति जाग्ने भावनाले मनमा आउने तुफानलाई अमूर्त रूपमा देखिन्छ सिरेठोको रूपमा । जसरी सिरेठोको आयु छोटो छ त्यसभन्दा छोटो भइदिन सक्छ मान्छेको जीवन । जसलाई सहयोगको नितान्त आवश्यकता छ भन्ने बुझिन्छ । आँखाको भोक अचम्मको हुन्छ जति सक्दो धेरै देख्न चाहन्छ । जमिनमा उभिएर देख्न पुगेपछि चढ्छन् मान्छेहरू भ्यु टावरमा तर ,
नियालेर हेर्दा
आदर्शका छाता ओढ्नेहरु
सिद्धान्त र आदर्शबाट निर्वस्त्र भएर
शिशिरमा कठ्याङ्गगृएको
कोइली जस्ता पो देखिए ।
जति सुकै अग्लो टावरबाट हेरिए पनि धर्तीमा सुन्दरता ल्याउन मानवीय व्यवहार नै सकारात्मक हुनेपर्ने चेतनाको उद्घोष हो यो कविता ।

प्रकृति हो फूल सुन्दर देखिन्छ । हेर्ने आँखा र फैलिएको सुवास लिने हजारौं हुन सक्छन् । टिप्ने सामर्थ्य जो कोहीले राख्न सक्दैन । एउटा नारी फूल बनिरहन सक्छे । ओइलाए पनि फूल फूल नै हो । सिस्नोको फूल हुनु एउटा विवसताको रूपमा नलिएर सुरक्षित अवस्थितिको रुपमा अर्थ्याइएको छ । जिन्दगी फूल जस्तै हो , अवस्था र परिस्थिति भिन्न हुनु नै संसार हो । दु:खभित्रको एउटा सुखको खोज हो सिस्नुको फूल ।

गुन्द्रुक अर्को एउटा मार्मिक कविता हो । जीवनलाई गुन्द्रुकसँग जोडेर हेर्दा गुन्द्रुकको निर्माण प्रक्रिया भन्दा भिन्न रहेनछ जिन्दगी । बरु गुन्द्रुक भन्दा बेसि पो झेल्दै छ कि कतै । तयारी गुन्द्रुक एउटा उमेरको उत्तरार्ध भन्दा कम छैन । सरल र मिठा बिम्बको प्रयोग भएको यो कविता संग्रहका उत्कृष्ट मध्येको एक हो । कहाँ होली ऊ ? राजनिति र द्वन्दले बिसाएको घाउ देखाउने कविता हो । मातृ हृदयले नारी खोजे जस्तै पुरुष मनले पनि खोज्दो हो सहयोद्दा हरेक पाठकको मनले । राजनितिलाई यति सरल गरी पनि त देखाउन सकिन्छ भन्ने बलियो उदाहरण हो यो कविता । प्रिय सखी एउटा किशोरकालीन प्रेमिल स्मृति हो । झरना देखेर जो सुकै कवि हुन सक्छ । तर कवि लिली झरनालाई आँसुसँग जोड्छिन् तर सहानुभूतिको अपेक्षाले होइन । त्यो झरना देख्नेहरूमा आत्मियताको खुशी छाओस् बरु कामना छ ।

आशा शीर्षक कविता भावनात्मक छ । जुनसुकै अवस्थामा पनि आशा मार्न नहुने कुराको सन्देश सहित ? तिम्रा लागि , एउटा प्रेमिल सम्बन्धका लागि एउटा नारीको समर्पण भावको मोटो पुलिन्दा भएर आएको छ । असार आए पछि मङ्सिर आउन नसक्ने कैयौं जीवनको प्रतिनिधि कविता हो हराएको मङ्सिर । एक लहर जिन्दगी जीवनका आरोह अवरोहको संक्षिप्त परिचय हो । स्पर्शको काल्पनिक अनुभूति प्रेमिल उठान हो । छोरी कविताले आफैंमा उन्मुक्ति खोजेको छ । शिक्षासँगै चेतनाको जागृति भरिदिनु सबै अभिभावकको कर्तव्य हो । विकसित हुँदै गएको भनिएको समाज पनि कस्तो छ त साँच्चिकै भोगाइमा ? अन्तिम अनुच्छेदमा यसरी भनिएको छ ।
छोरी !
तिमीमाथि हेरिने नजर फेर्न
हर कदममा यहाँ
मौरीले झैँ खिल बोकेर हिँड्नुपर्छ
सर्पले झैँ विष बोकेर हिँड्नुपर्छ ।

जीवन भोगाइ सरल सहज होस् भन्ने सबैको कामना हुन्छ । तर अदृश्य कुराले कतिका सपनाका वृक्ष तहसनहस भएका हुन्छन् । बिरालोले मुसा खेलाए झैँ जिन्दगी खेलाइदिन्छन् आफ्नैले ।सपनाका पर्खाल भत्काएर लगाइदिन्छन् आरोपका गहना । जिन्दगी दाउमा राखेर सपनाको वृक्ष हुर्काउन पर्नेलाई मात्रै यो पीडाको अनुभूति हुन सक्छ । कुनै न कुनै कोणबाट जो कोही यो चरणमा गुज्रेको हुन्छ । निकै शसक्त कविता हो यो सपनाको वृक्ष । निकटता जैविक रूपमा हुनु र मानसिक रूपमा हुनु उस्तै हुन त सक्दैन फेरि पनि महसुस गर्ने मनले हो । मानसिकताले हो । दुरिले कोही टाढा हुँदैमा भुल्न सकिन्न । नजिक छ भन्दैमा आत्मिय हुन सक्दैन । प्रेमिल महसुस हुन्छ निकटता पढिरहँदा । एउटा निर्दोष फूलको संरक्षण गर्न सजिलो छैन । जिम्मेवारी प्रायः गह्रौ हुनेगर्छ ।

घोषित युद्ध भन्दा खतरापूर्ण हुन्छ अघोषित युद्ध । युद्धको नियम समेत लागू हुँदैन अघोषित हुँदा । र यो युद्ध व्यक्ति भित्र , परिवार भित्र अनि समाज भित्र पनि हुन्छ । युद्धमा संघर्षरत छ दुनिया । कवि मनले सन्तुलित विचार पस्किन्छ यसरी ,
निभिसकेका बत्ती जस्ता लासहरूको बीचमा पनि
म आशाको जुनकीरी खोजिरहेछु
काला फूलहरुको सन्नाटामा पनि
म जितको सम्भावना देखिरहेछु ।

अन्लाईन कक्षा – आर्थिक अभावमा पिल्सिएका तमाम विद्यार्थीको थप बोझ भएको थियो । जीवन धान्न संघर्षरतहरूलाई शिक्ष! पाउन अझै गाह्रो परेको यथार्थ देखाइएको छ । प्राकृतिक र सांस्कृतिक सुन्दरता प्रदर्शन गर्दछ मेरो गाउँले । प्रेमलाई सफल पार्न , जीवनमा जोडिन आउने प्रेमी होउन् या पति पत्नी दुबैमा एक अर्काप्रति कायम हुनुपर्ने विश्वासको आव्हान हो खुसीका फूल । विश्वास तोडिए पनि इमान्दार मानिएका पनि बेइमान सावित हुन्छन् बेइमानीमा । प्रीतिको पसलमा प्रेमको आदान प्रदान त हुन्छ । बेचिनुको बाध्यताले कति प्रश्न उब्जाएको हुन्छ पनि ” खुसीको कैफियत कस्तो घोर तपस्या हो जिन्दगीको ?”

अन्यायका चाङहरूमा गर्भदेखि नै हेलाँ च्यापेर हुर्कनुको बढ्नुको समयसँगै जीवनको चुली चढ्नुको अन्तर संघर्ष हो नारीको । स्वतन्त्रताको दुहाइ दिएर जाल भित्र उड्न दिने समाज परिवार संस्कार र धर्म कति विरोधाभासपूर्ण छ कविताका हरेक अनुच्छेद उत्तिकै चोटिला भएर लिपिवद्द भएका छन् ।

जिन्दगी एउटा अनपेक्षित भोगाइको पाटो पनि हो । जे कुरा हुनेछ भन्ने कल्पना गरिन्छ त्यसैको विपरीत भइदिन्छ तिमी आए पछि… मा ।

तकदिरको भरमा बस्नेहरूले टुट्नुको यथार्थ झेल्नुपर्ने बाध्यता देखाइएको छ । मौनता भित्र पनि चाहनाको एउटा तराजुले समयका पर्खाइ झुन्ड्याइरहन्छ । विवश र लाचार भएपछि लाजको आँसु पनि भेटिँदैन । उसो त हामी सबैले देखेको सूर्य एकै हो । कवि हृदयले सूर्यलाई एउटा मुख्य सहाराको रूपमा प्रस्तुत गरेको छ । हरेक सूर्य प्रत्येक मान्छेका लागि भिन्न र मौलिक हुनुपर्छ भन्ने कवि धारणा देखिन्छ । विगतको यादले वर्तमान र भविष्य समेतलाई निर्धारण गर्ने रहेछ । समय निरन्तर अघि बढे पनि भोगाइका यादहरू फर्की फर्कि आउने रहेछन् ।कहिले मूर्ति त कहिले हतियार बनेर उपस्थिति दिई रहने रहेछन् , यादमा । जीवनका तिता भोगाइको कुण्ठालाई नवीन वैचारिक बिम्बमा आभास कविता पढ्न पाइन्छ ।

आशाको उज्यालो आशावादी कविता हो ।जतिसुकै दु:ख भएपनि दु: ख पछि केही सुख अवस्य आउने सन्देश पाइन्छ । भ्रमको भूमिका धेरै भए पनि सपनाको , कल्पनाको र आशाको अन्तिम नतिजा भ्रम हो । हरेक व्यक्तिका लागि साथ अनिवार्य तत्व हो तर विश्वास लाग्दो र भरपर्दो साथ जो कसैलाई प्राप्त हुन नसके पनि जीवनको गति निरन्तर हुनुपर्छ ,साथ कविताले यही भन्छ । औसत या सामान्य हुनुपर्छ सबैकुरा नत्र अत्यावश्यक हावा पनि गतिको तिब्रतामा आँधी हुरी हुन पुग्छ । सुन्दरता एउटा रंग को दृष्टिकोण हो । मान्छेको अपेक्षा रङ्गीन हुनु स्वभाविक हो तर रंगहीनता पनि स्वीकार गर्न विवश छ मान्छे । भुइँको गोडामा सहनु र झुक्नुको पराकाष्ठा उल्लेख छ । नारीको सहनशीलतालाई केस्राकेस्रा केलाएर देखाइएको छ । समाज परिवार या एउटा पुरुषले कसरी झुकाउँछ नारीलाई ? भुइँको गोडाले देखाएको छ ।

धोकाको सेरोफेरोमा बेइमानको उपस्थिति हुनु स्वभाविक हो । भोगाइ नै जीवनको उहापोह हो । सामाजिक वृत्त भित्र कति कुरा लुकेका हुन्छन् ।त्यो जसले भोग्यो उसलाई मात्रै थाहा हुन्छ । भिक्षुमा माग्ने र दिने दुबैको हात रित्तो देखिन्छ । मन स्थिर हुनुको सुन्दरता पस्केर अस्थिर हुनुको परिणाम बुझाएर गएको छ अस्थिर मनले । साथीसँग सदैव सकारात्मक अपेक्षा राखिन्छ तर कति साथीको मुखुन्डोमा बैरी बनेका हुन्छन् । सम्बन्धलाई हतियार बनाएर युद्ध लढ्ने साथी या जीवन साथीको पनि अभाव छैन यो समाजमा । जसले विक्षिप्तता मात्रै छोडेर जान्छन् । साथी चिन्नका लागि सावधानी सिकाउँछ तिमी कस्तो साथीले ।

जेल एउटा गहिरो बिम्ब हो घेरिनुको । अरुका आँखाबाट जोगाउँदा आफ्नै आँखा पनि छेकिन्छन् । ओइलाएका आशाहरूले वर्तमान राजनितिक बेथिति माथिको तीखो टिप्पणी हो । व्यक्तिदेखि समाज र सत्ताले अपेक्षित आशा राख्न सकेको छैन । आशा दिन सकेको छैन । कवि जहिल्यै प्रतिपक्षी हुन्छ सत्ताको खवरदारी गर्नु कर्तव्य हो ।

निराशा हात लाग्नु स्वभाविक हुन्छ जीवनमा छाया समेत भ्रम हुन पुग्छ निराशा कवितामा । नारी सुन्दरता र जैविक प्रक्रियाको वर्णन लालीगुराँसको कथा हो । नेपाली समाजले हरेक नारीको मासिक धर्मलाई सकारात्मक आँखाले हेर्नुपर्ने आव्हान हो यो । र अन्तिम कविता हो अग्नि चिता जुन यसरी शुरु हुन्छ
एउटा अन्त्य

अर्को प्रारम्भको बीचको
डर हटाएर बसेको अनुहार जस्तै हो
अग्नि चिता !
जीवनको अन्त्यसँग जीवनका भिन्न भिन्न आयाम जोड्दै कविता टुङ्गिएको छ ।
यसरी सरसर्ती पहराको फूल पढी सकाउँदा यस प्रति लागेका धारणा छोड्नु पनि उपयुक्त हुनेछ । कविता पुस्तकको भूगोल आकर्षक छ । जुनसुकै कविता संग्रहको एउटा विशेषता हुन्छ नै । पहराको फूल कविता संग्रहको पनि आफ्नै पहिचान छ । शैक्षिक क्षेत्रसँग आवद्द हुनाले शिक्षा र विकासका विविध कुरा समेटिएको छ । नारी हस्ताक्षर हुनाले नारी वेदनाको उजागर हुनु स्वभाविक नै ठानिएला तर भोगाइका अन्तर कुन्तर खोतलेर बिम्ब र विचार प्रधान तरिकाले पस्किनु भिन्न कवित्व हो । कतै पीडा कतै आक्रोश कतै समर्पण कतै बिद्रोह कवितासँगै मानवीय चरित्र पनि हुन् । पहिलो कृति भए पनि दोष लगाइहाल्ने ठाउँ नदेखिनु र सन्तुलित प्रतिक्रिया देखिनु यस कृतिका सफल पक्ष हुन् । कतै बिम्ब र प्रतीकको प्रयोग अधिक हुनाले अर्थ बिचलन हुने उत्तिकै खतरा बोकेको छ यस संग्रहले । तिता स्थितिहरूको अमूर्त प्रक्षेपणभन्दा अत्युक्ति हुँदैन कतिपय कविता । देख्दा वैयक्तिक जस्ता लाग्ने कति परिस्थितिहरो आखिरमा सामाजिक हुन्छन् पाठकलाई यो कुराले पछ्याउन सफल छ पहराको फूल ।