मैले बि. सं. २०३४ सालमा पोखरालाई चिनेको हुँ र पोखरा मलाई आफन्त लाग्छ । म विहान उठेर माछापुच्छे«लाई हेर्थे र लाग्थ्यो विश्वकै सुन्दर सक्कले ढाकाको टोपी पहिरेको छु मैले आफ्नो शिरमा, अनि खुशीले छचल्किन्थे म। रातो लालीले लिपिएको, बैंस चढ्दै गरेको आफ्नो घोर्ले अनुहार हेर्न खोज्थें, फेवातालमा। जहाँ म स्निग्ध, जाज्वल्यमान र अग्लो माछापुच्छे«को प्रतिविम्ब देख्थें र आफ्नो अनुहार हेर्नै विर्सिन्थें– लाग्थ्यो माछापुच्छ्रे नै मै हुँ अर्थात् म नै पोखरा। त्यसैले होला कवि भूपी शेरचनले गमक्क गम्किएर धाकै लगाएका थिए:
माछापुच्छे
एक बिहान हेर्छ अनुहार फेवामा
र मिलाउँछ शिरमा सेतो–कालो टोपी सक्कले ढाकाको । (भूपी शेरचन: पोखरा)
गरिबीभित्रको अभाव र अभावभित्रको गरिबीमा हराइरहेका आम मानिसहरुभित्रै खोज्नु पर्छ, सहरमा जीवन। धेरै मानिसहरु काठमाडौं भित्रिए, काठमाडौं मै बसे अनि मौका पर्दा काठमाडौंलाई नै गाली गर्छन् र गरिरहेका पनि छन्। वास्तबमा रहर र बाध्यता, दुबैको कारण भित्रिएका मानिसहरुकै कारण दुःख पाएका हुन्छन् सहरहरुले र दुःख पाएको छ काठमाडौंले। जस्को बोझ बोकेको छ उसैबाट तिरस्कृत पनि छ काठमाडौं। देशको घृणित र फोहोरी राजनीतिको बारम्बारको प्रहारबाट उठ्नै गाह्रो हुनेगरी थला परेको छ काठमाडौं। पीडकहरुकै बोझ बोकेर अस्तव्यस्तभित्रै आफूलाई सम्हाल्ने कोसिस गर्दै बाँचिरहेको छ काठमाडौं, काठमाडौं हाँसेको देख्न मुस्किल पर्छ सर्जकहरुलाई। तर पोखरा हाँसिरहेको देख्छिन प्रभा बराल, अनि उनलाई लाग्छ यो मेरै पोखरा हो:
“माछापुच्छे«को अनुपम मित्रता
सेती नदीको अविरल सुसाइ
महेन्द्र गुफाको नौलो प्रकृति
डेविडफल्सको बहाइमा अलौकिक सौन्दर्य
शान्त, सौम्य र सुन्दर छायामा
मुसुक्क हाँसिरहेको छ मेरो पोखराू (प्रभा बराल: पोखरा तिमी महान् छौ)
प्रेम प्रकाश मल्ल पनि पोखराको सौन्दर्यताको गफ लगाउन चुक्दैनन्। उनी गुनगुनाउछन्:
“पोखरा त साँच्चिकैको पोखरा नै रैछ
माछापुच्छे« फेवातालमा पौडी खेल्दो रै छू
हेर्नु, देख्नु र सबैथोक बुझेको र जानेको जस्तो खोक्रो आडम्बर देखाउनु तर कहिल्यै नसिक्नु र सिक्ने कोसिस पनि नगर्नु शायद हाम्रो साझा पहिचान हो र त्यस प्रवृत्तिको जगेर्ना गर्नु पनि शायद हाम्रो साझा कर्तव्य हो। त्यसैले यतिखेर पोखरा पुगेर केही क्षण विचरण गर्दै भूपी शेरचनको कविता पढ्ने हो भने तिनले गाँजा खाएर गफ लडाए झैं लाग्न सक्छ र प्रभा बराल वा प्रेम प्रकाशहरुले पनि कतै सपना देखेका त हैनन् पोखराको, भन्ने शंका गर्नु पर्ने हुनसक्छ। घृणित र फोहोरी राजनीतिले सहरहरुलाई, बारम्बार व्यक्तिगत स्वार्थको हथौडा बर्साएर थला पार्न थालेपछि र योजनाविद्हरुले आफ्नो पेशागत ज्ञान, विवेक र धर्म गुमाएर राजनीतिकै हथौडा वर्साउन सघाउन थालेपछि, कति कठिन छ सर्जकहरुलाई सुन्दर प्रकृति र प्रकृतिका वरदानहरु हाँसेको देख्न पनि। त्यसैले त मानिसहरु काठमाडौंलाई विवसताको सहर ठान्छन्, यसलाई रहरले बस्न योग्य सहर हो भन्नै चाहदैनन्। सर्जकहरु पनि काठमाडौं हाँसेको विरलै देख्छन् या देख्ने मनै गर्दैनन्। तलको सानो हरफले काठमाडौंको अवस्था चित्रण गर्न खोजेको देखिन्छ, तर त्यो नेता र नीति निर्माताले चाहिँ पढ्दैन वा पढेर पनि बुझ्दैनन्:
“काठमाडौंमा बस्ने प्रायः सबै कवि साहित्यकारहरु यहाँका विभिन्न पीडा व्यथा पोख्ने गर्छन्। ’कान्तिपुर’मा अधिकांशले थप्पड–घुस्सा, लात्ती बेहोर्नुपर्छ। नियति हो। तर कोही पनि यसलाई छोडेर अन्यत्र जाने कुरा चाहदैनन्। प्रत्येक क्षेत्रमा उन्नति–प्रगति गर्न चाहनेलाई चाहे– सोच्न पनि राजनीतिमा÷ समाजसेवामा÷ व्यापारमा÷ पत्रकारितामा÷ साहित्य–साधनामा अर्थात् जुनसुकै कुरामा होस् कान्तिपुरीको बास चाहिन्छ। त्यसैले ’कान्तिपुर’मा सबैखाले बसोबास छ। पीडा र सन्त्रासभित्र पनि जीवनको आस छ– यस कान्तिपुरीमा ।ू(प्रज्ञान, वर्ष १, अंक १, २०७६)
विडम्बना, फेरी पनि हामी सिक्न मनै गर्दैनौं। कस्तो संस्कार बसेछ हामीमा– हेर्नु, देख्नु र सबैथोक बुझेको र जानेको जस्तो खोक्रो आडम्बर देखाउनु बाहेक हामीलाई व्यवस्थितरुपमा केही गर्ने जाँगर वा चेत वा हुटहुटी नै पैदा हुन सकेन। सहरभित्र आफ्नो मौलिक पहिचान र समुदायलाई जोगाउनै हम्मेहम्मे परिरहेको छ। उदाहरणको लागि, काठमाडौंभित्र खोकना, शायद सहरी योजनाविद् र नीति निर्माताहरुको अकर्मण्यताभित्र आफ्नो वैभवशाली मौलिक इतिहासको मृत्यु पर्खिरहेको होला।
“अमरावती कान्तिपुरी नगरीू देखेका तर परलोकमा रहेका भानुभक्तको बारेमा भैरव अर्याल लेख्छन्, “अनि पो भानुभक्तजी आफ्नो काव्य–निद्राबाट झल्याँस्स ब्युँझे। टक्क अडिएर पल्याकपुलुक हेर्न थाले। केही सम्झेजस्तो, केही खोजेजस्तो उनको मुद्रा देख्ता सबै निकैबेर चकित तर कविजीले आफैँ उठेर पछिल्तिर फर्की समूहहरुलाई सोधे– ुहोइन, यहाँ कान्तिपुरबाट आउने कोही छ ?’ूअनि “पोखराू कविता लेखेका महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गर्दै भैरव अर्याल थप्छन्, “कहिल्यै नसकिने अलका मार्क चुरोटको धूवाँ बुङबुङी उडाउदै पल्लो छेउमा पलेँटी मारिरहेको मखिबुट्टे टोपीवाल भलाद्मीले जुरुक्क उठेर भने–ुम पनि कान्तिपुरबाटै आएको तपाईंको चोलो हुँ गुरुजी! मेरो नाम लक्ष्मीप्रसाद देवकोटा हो।’ चुरोटको लामो सर्को तान्दै देवकोटाजीले भने–ुतपाईंको पालाको भन्दा त कताकता सुन्दर छ। मैले आफ्नो मुनामदनमा पनि मन फुकाएर प्रशंसा गरेको छु, साँच्चै रमणीय छ, त्यो गुरुजीको अलकापुरी म आउँदै त त्यस्तो थियो भने मैले छाडेको पनि भइसक्यो पाँच–छ वर्ष।’ू अनि हाँस्यका महारथी भैरव अर्याल भानुभक्तलाई काठमाडौं घुमाउन ल्याउछन्।अनि त फुरिहाल्यो कविता:
“पथ सात–फुटे बस नौ गजको
सिट बीस भए भिड सौतकको
छ त अन्त कतै सुविधा यसरी
अमरावती कान्तिपुरी नगरी“ (भैरव अर्याल ः अमरावती कान्तिपुरी नगरी)
म पोखराको कुरा गर्दै थिएँ। तर काठमाडौंको, कार्यान्वयन हुन नसकेको सहरी विकास योजना (अयोजना) र व्यवस्थित हुन नसकिरहेको विकास(अव्यवस्थित बृद्धि) को अवस्थालाई हेरेर अर्थात् काठमाडौंबाट पोखराले सिकेर, आफ्नो मौलिक पहिचान नगुमाओस् भन्नका लागि काठमाडौंको प्रसंग जोड्नु परेको हो। पोखरा काठमाडौं नबनोस् भन्ने चाहना पनि हो।
भनिन्छ योजनाबद्ध सहरी विकासको सुरुवात राजविराजबाट भएको र त्यसपछि पोखरामा भएको हो। राजविराजको त्यति चर्चा भएको पाइदैन। पोखराको भने चर्चा भइरहेको हुन्छ। बि. सं. २०३१ सालमा अञ्चलाधीश शंकरराज पाठकको निर्देशनमा योजनाकार पदम बहादुर क्षेत्रीले पोखराको सहरी–योजना बनाएका थिए। मूलतः पोखराका हिमालहरु नछेकिने गरि घर बनाउन पर्ने, ताल भएको क्षेत्रमा मूल बाटोदेखि तालसम्म घरहरु बनाउन नपाइने र त्यस क्षेत्रमा उद्यान बनाई परैबाट देख्न सकिने गरि तालको संरक्षण गरिने लगायत एकीकृत जग्गा विकासको अवधारणाअनुरुप न्यूरोड क्षेत्रको विकास गरिएको हो। बि. सं. २०३४ सालमा पहिलो पटक पुग्दा, पोखरा मलाई ज्यादै सुन्दर लागेको थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि पोखराको सौन्दर्यले मोहित पारेको देखिन्छ:
“कल्ले शिल्प्यो अवनितल यो लाख बुट्टा कुँदेर
शोभाको यो घर अजमियो पोखरा नाम हेर!
पन्ना झुक्यो चपल सरितालाई दी नागबेली ?
डाँफे रङ्ग्यो ? चिरबिर भर्यो? छिर्बिराएर बेली ?“ (लक्ष्मीप्रसाद देवकोटा: पोखरा)
यो पोखरा सहर, योजनामा आधारित भएर, भारतको चण्डिगढ जस्तै, नेपालको एक उदाहरणीय सहर बन्नेछ भन्ने पनि लाग्थ्यो। बि. सं. २०३१ साल पछि पनि पोखराको दीर्घकालीन विकास गर्न योजनाहरु बनेको भएतापनि ती योजनाहरु कि त कागजी मात्र भए कि व्यक्तिगत स्वार्थअनुरुप कार्यान्वयनमा आएका हुन् पनि भन्छन् पोखराका केहि जानकारहरु। योजनामा आधारित सहरी विकासको भरपर्दो प्रणाली विकास गर्न भने अझै हामी चुकिरहे झैं नै लाग्छ। विडम्वना, योजना के हो भन्ने बुझेको, अझ सहरी योजना कै बारेमा प्राविधिक रुपमा समेत सक्षम मान्नु पर्ने आर्किटेक्टहरु– डा. बाबुराम भट्टराई प्रधानमन्त्री नै हुनु भयो भने हिसिला यमी देशकै भौतिक पूर्वाधार मन्त्री पनि हुनु भयो । तर ुविद्वान’ र ुसक्षम’ योजनाकार तथा ’दूरदर्शी’ नीति निर्माताहरु पञ्चायतकालीन इञ्जिनियर पदमबहादुर क्षेत्री र अञ्चलाधीश शंकरराज पाठक जत्तिका पनि काविल प्रमाणित हुन सकेनन्। त्यसैले होला कवि रमेश श्रेष्ठ बगरभरि पत्थरहरु रोइरहेको देख्छन्:
“रातको सन्नाटामा
बगरभरि
पत्थरहरू रोइरहेका छन्
सेतीका अनगिन्ती सुकाइहरूमाू (रमेश श्रेष्ठ: पोखरा)
तर कवि लोकनाथ पुडासैनीले भने उत्तरतर्फ खुम्चिएरै भएपनि हिमाल मुस्कुराइरहेको देखेका छन् र सेती भने लुकिछिपी मात्र गुनगुनाउन थालेको बताउछन्। उनी लेख्छन्:
“उत्तरतर्फ छन् हिमाल सधैँ मुस्कुराउने
दक्षिणतर्फ लुकिछिपी सेती गुनगुनाउने
यहाँ छन् फेवा, रुपा अनि वेगनास ताल
सधैँभरि लोभ्याइरहने यी प्रकृतिका जाल ।। (लोकनाथ पुडासैनी: पोखरा)
कवि प्रकट पगेनी ‘शिव’सँग त पोखराले “म मेरी आमा ’पोखरा होइन, म उनकी छोरी पोखरा हुूँ भन्दै यसोसम्म भनिन्:
“अलिकति रोग फेवा घटेर लाग्यो
अलि धेरै रोग बस्ती बढेर लाग्यो
थलै गु÷थलै मुत हुँदा पनि कसैले वास्ता गरेनन् दाइ
मैले धेरैको खुट्टा ढोगेँ÷धेरैको पाउ मोलेँ
कसैसँग स्याहार मागेँ÷कसैसँग गुहार मागेँ
तर रमितेहरु केवल रमिता हेर्दै गए
कौरवहरु मेरो अस्मिता लुट्दै गए
दुःशासनहरु मेरो वर्चस्व लुट्दै गए
दुर्योधनहरु मेरो सर्वस्व लुट्दै गए
र
जालन्धरहरु मेरो सतित्व लुट्दै गए । (प्रकट पगेनी ‘शिव’: हेलो पोखरा हाउ आर यू)
फेरी पनि पोखरामा ८÷९ तलासम्मका भवनहरु बनिरहेका देखिन्छन्। शायद मापदण्ड मिचेर। बनेका संरचनाहरुमा एकरुपता छैन। पोखराको मौलिकता झल्कदैन र कंक्रिटको जंगल निर्माण भइरहेको देखिन्छ। फेवातालको क्षेत्रफल घट्दै गइरहेको, जथाभावी प्लटिङ बढेको र जलाधार क्षेत्र अतिक्रमणमा पर्दै गएको प्रष्ट देखिन्छ। नियमित गइरहेको छु, हेरिरहेको छु तर हेर्दाहेर्दै पोखरा त हराउदै गएको पो महशुस हुन थाल्यो। मलाई अलि चिन्ता लाग्न थालेको छ। बि. सं. २०३४ सालदेखि चिनेको मेरो पोखरा, मेयरसाब खैः त पोखरा ? :
“खैः त मेयरज्यू
सेता बकुल्ला उँघेको देखिने दिन, र
डाँग्रे कराएको देखिने साँझहरु
खैः त मेयरज्यू
सिमेन्ट र इँट्टाका अग्ला अग्ला कारागारहरुभित्र
एकाविहानै माछापुच्छ्रे देखिने झ्यालहरु
मेयरज्यू खैः त पोखरा ?“ (राजेन्द्रप्रसाद अधिकारी: मेयरज्यू खैः त पोखरा ?)।




