आमुख
प्रसङ्ग – नैना अधिकारीको नवीनत्तम काव्यकृति ‘घात-प्रतिघातका उद्गारहरू’ भित्रका कविताहरूको केही विशेष पक्षको विश्लेषण हो। उनको मूल पाठको विश्लेषणको गहिराईमा पौरनेअघि कविता, विद्रोह र राजनीति सन्दर्भका केही कुराहरू कोट्याउन मन लाग्यो। यश लेखमा प्रसङ्गको डोरी समाएर कविता विश्लेषणको क्रममा पनि केही परसम्म तन्किने प्रयास गरेको छु।
कविताको परिभाषा, स्वरूप र उद्देश्य सन्दर्भमा पूर्व र पश्चिमका साहित्यसाधक तथा कला समालोचकहरूले धेरैखाले विचार राखेका छ्न्, परिभाषा तोकेका छ्न्। तर यी कुनै परिभाषाले कवितालाई बाँधेर राख्न सकेको छैन। यी हरेक परिभाषामा कतै न कतै अपूर्णता छ र त्यही अपूर्णताको बाटो समाएर कविता भागेको भागै छ। ‘कविता कस्तो हुनुपर्छ’ सोझो प्रश्न गर्नु हो भने सायद धेरै कविता पढ्ने पाठक पनि अकमक्क पर्ला। तर ऊ जान्दछ – ‘कविता राम्रो हुनुपर्दछ’। यो राम्रासँग उसलाई कविताको धाराको सरोकार छैन। उसलाई सरोकार छ कविताको सम्प्रेषणीयता, गेयात्मकता, कवितामा धेरैबेरसम्म उसको मनलाई आन्दोलित गराइरहन सक्ने क्षमता। उसले कवितामा जानी जानी होस् वा अञ्जानमै होस्, आफूलाई खोज्छ, आफ्नो समय र आफ्नो परिवेशलाई खोज्छ।
कि पूर्वेली कि पश्चिमेली, हिजो होस् वा आज सधैँ र सबैतिर कविता दुख बिसाउने चौतारी र विद्रोह पोख्ने माध्यम बनेको देखिन्छ।
सायद त्यसैले अङ्ग्रेज दार्शनिक, साहित्यकार जी.के. चेस्टरटनले भनेका हुन् – “What the world wants, what the world is waiting for, is not Modern Poetry or Classical Poetry or Neo-Classical Poetry — but Good Poetry.” – G. K Chesterton. ( पृथ्वीले चाहेको र अपेक्षा गरेको कविता भनेको आधुनिक कविता, शास्त्रीयतावादी कविता अथवा नव्यशास्त्रीयतावादी कविता होइन – एउटा राम्रो कविता हो।) कविताको सन्दर्भमा माथि उल्लेख गरिएका कुराहरू साँचा हुन् भने असमको कामरूप मेट्रो जिल्लाअन्तर्गत खेत्रीकी नवीन कवि नैना अधिकारीका कविताहरू राम्रा हुन्, “घात प्रतिघातका उद्गारहरू” राम्रा कविताहरूको सँगालो हो।
कविताको बजार
कवि जब कविता लेख्न बस्छ ऊ मनभित्रका उगुलथुगुलहरूलाई, आँखाअघिका घटनाहरूलाई भाषाको माध्यमद्वारा शब्दको मालामा उनेर पाठकसमक्ष प्रदर्शन गराउँछ। उसको ध्यान कविताको बजारमा होइन, भावको विशिष्ट प्रकाशमा रहन्छ। तर, कविता प्रकाशित भएपछि कविताले आफ्नो आफ्ना पाठक आफै खोज्छ, बजार आफै सृष्टि गर्छ। अधिकभन्दा अधिक पाठकको माया पायो भने त्यो कृति एक सफल कृति बन्न पुग्छ। नैनाको कविता सङ्ग्रहको बिक्रीले पन्ध्र दिनमै सबै रेकर्ड तोड्नु र लगानी सबै उठ्नुले यो पुस्तको लोकप्रियता प्रमाणित गर्दछ।
घात प्रतिघातका उद्गारहरूबारे
सन् २०२२ को जनवरी १६ तारिख विमोचन भएको प्रस्तुत पुस्तकमा कुल ४० वटा कविता समेटिएको छ। पूर्वायण प्रकाशन, पान बजार गुवाहाटीले प्रकाश गरेको र बाक्लो जिल्दसहितको सुन्दर आवरण पृष्ठ भएको यस कृतिको मूल्य १७०/= रुपियाँ तोकिएको छ। प्रस्तुत पुस्तकमा असमका चर्चित युवा समालोचक लक्ष्मण अधिकारीको भूमिका रहेको छ भने भारतेली नेपाली साहित्यका हुनहार कवि राजा पुनियानीले “नैनाका कविता : दुबो विचारहरूको जोहो”, प्रख्यात कवि, उपन्यासकार डा.इन्दु प्रभा देवी तथा दार्जिलिङकी चर्चित कवि, उपन्यासकार पवित्रा लामाले ” नैनाको दायित्वशील काव्यिक यात्रा” शीर्षकमा शुभकामना सन्देशहरू लेखेर प्रस्तुत पुस्तकको सुनमा सुगन्ध थपेका छ्न्।
विद्रोह सामाजिक प्रतिबद्धता र कविता
कवि नैना भन्छिन् -” कविताद्वारा समाजका विभिन्न समस्या, विसङ्गति आदि उजागर गर्न सक्ने कलात्मक क्षमता कविमा हुनुपर्छ जस्तो मलाई लाग्छ।” यसरी उनले आफ्नो भनाइमै उनी एक समाज प्रतिबद्ध कवि हुन् भन्ने घोषणा गरेकी छ्न् र उनका चालिसवटा कविताका अधिकांश कविताले उनको यस उक्तिको समर्थन गरेको पाइन्छ। यो भनाइ यसै सङ्कलनभित्रको कविता ‘कविताको खेती’मा फेरि यसरी दोहोरिएको छ –
“अमूल्य ती सुनौला शब्दबीजहरू
अब हुङ्कार बन्नेछ्न्
भुँडीको भोक निभाउन
आशाका दाना बन्नेछ्न्
व्यभिचारको लास जलाउन
चिताको आगो बन्नेछ्न्
हकको आवाज बन्नेछ्न्”।
भनिन्छ – व्याधाको निष्ठुर वाणले एउटा निरीह क्रौञ्च पक्षीको प्राण लिएपछि वाल्मीकिका मनमा उब्जिएको दुखबाट उत्पन्न शब्दहरू विद्रोहको भाका बोकेर अभिव्यक्त हुन्छ्न्। हामी पूर्वेलीहरू वाल्मिकीका यही अभिव्यक्तिलाई संसारको पहिलो कविता हो भन्ने दावी गर्छौं। श्लोक यसप्रकार छ –
“मा निषाद प्रतिष्ठां त्वमगमः समाः।
यत्क्रौञ्च्चुनादेकमधि: काममोहितम्॥’
मा निषाद प्रतिष्ठा त्वमगमं शांवती सामं यत
क्रौंचामिथुनादेकम अवधी काममोहितम् ।।”
(तिमीलाई अनन्त कालसम्म कुनै शान्ति मिल्ने छैन/तिमीले प्यार र बेपरवाहमा एक पक्षीको हत्या गर्यौ )
क्रोधित र शोकाकूल वाल्मीकिको मुखबाट स्वतह यो श्लोक निस्किएको हो। यसरी विद्रोहको स्वरबाटै संसारको पहिलो कविता(?)को मुहान फुट्छ। यो स्वर कहिले मुखर भएर आएको छ त कहिले फल्गुधाराझैँ भित्र भित्रै बगेको छ। कि पूर्वेली कि पश्चिमेली, हिजो होस् वा आज सधैँ र सबैतिर कविता दुख बिसाउने चौतारी र विद्रोह पोख्ने माध्यम बनेको देखिन्छ।
स्वच्छ्न्दतावादी कविहरू भावुक र प्रकृतिप्रेमी हुन्छ्न् भन्ने हाम्रो पूर्वाग्रह रहन्छ। उनीहरूभित्रको विद्रोही मनलाई प्राय: उपेक्षा गरिन्छ। तर उन्नाइसौं शताब्दीका अङ्ग्रेजी साहित्यका स्वच्छ्न्दतावादी कवि पी.बी. शेलीले पनि आफ्ना कविताहरूमा विद्रोहको सोर ओकलेका छ्न्। ‘पीटरलु नरसंहार’ ख्यात हत्याकाण्डको विरोधमा जनतालाई सिंहको गर्जिदै निस्कन आह्वान गरेका थिए। सन् १८१९ को १६ अगस्टका दिन मनचेस्टरको सेन्ट पीटर फिल्डमा आयोजित कट्टरपथीहरूको एक बैठकमा सेनाद्वारा अप्रत्यासित हमला गरेर एघार व्यक्तिको हत्या र पाँच सय भन्दा ज्यादा व्यक्तिलाई घायल बनाइएको थियो। यसको विरोधमा शेलीभित्रको ज्वालामुखी यसरी उद्गीरित भएको छ –
“Rise, like lions after slumber
In unvanquishable number!
Shake your chains to earth like dew
Which in sleep had fallen on you:
Ye are many—they are few!”
कविताले राजनीति निस्पक्षताको घुम्टो ओढेर कहिले शासक पक्षको त कहिले जनपक्षको राजनीति गरेकै छ
हो, संसारको कविताको इतिहासका पन्ना पल्टाउनु हो विद्रोहको स्वर ओकेलेरै कविता जन्मिएको हो, विद्रोहको राँको बोकेरै हुर्किएको हो कविता। कविताको जन्म र विकासको इतिहास पल्टाएर तटस्थ आँखाले हेर्दा यही कुराको पुष्टि हुन्छ। वाल्मीकिदेखि शेलीसम्म, पुस्किनदेखि नजरुलसम्म। आजको कवितामा अर्तर्निहित कथनले पनि यसैको सत्यता प्रतिपन्न गर्दछ – युगीन यथार्थको प्रकटीकरण र विद्रोहको स्वर। समाजमा व्याप्त दुख, वेदना, अपूर्ण आशा-अभिलाषा, अन्याय-व्यभिचार, उपेक्षा, शोषण, कुपोषण, मानवताहीनता आदि कारकतत्त्वहरूको पाठेघरमा अङ्कुरित हुन्छ विद्रोहको भ्रुण, विरोध र प्रतिरोधको चाहना।
यस्तै विकृति र विसङ्गतिको अन्त्य कामना गरेर कविको कलमले आगो उकेल्छ, चेतनाको तुणबाट व्यङ्ग्यवाण झिकेर कसेर ठोक्छ। यसरी सामाजिक प्रतिकूलताहरूले विद्रोह र प्रतिरोधलाई अनुकूलता प्रदान गर्दछ्न्। यसैले हामी विद्रोह गर्नेलाई होइन, विद्रोह गर्नुपर्ने वातावरण जन्माउनेको विरोध गर्छौं। व्याधाको क्रुरताको विरोधमा वाल्मीकिको मुखबाट निस्किएका उद्गारहरूको लागि हामी वाल्मीकिलाई दोषी ठान्दिनौँ, व्याधालाई ठान्दछौँ।
कविता र राजनीति
कवि वा कविकर्म राजनीति निस्पक्ष हुनुपर्छ भन्ने मान्यता पनि अविवादित होइन। चेतन वा अवचेतन जे रूपमै नहोस् कविको सिर्जना राजनीतिसँग मुछिएको हुन्छ। जब अस्तित्वको कुरा लेखिन्छ, किनारीकृतको आवाज बोलिन्छ, बेकारीको छ्टफटाहट उतारिन्छ, श्रमिक र किसानहरूको दुखको जरो खोदलिन्छ, जब नारी सशक्तिकरणको स्वर उरालिन्छ कविता स्वतह राजनैतिक बन्न जान्छ। यो राजनैतिक असन्तुष्टि र आक्रोश पोख्ने तरिका भने भिन्न कविको भिन्न हुन सक्छ। कसैले प्रत्यक्ष वाण हान्छ्न् त कसैले परोक्ष तरिकाले व्यङ्ग्यको झटारो हान्छन्। नेपाली साहित्यमा युगकविको रूपले ख्यात सिद्धिचरण स्रेष्ठले उनको लघुकाव्य “आँसु” मा यसरी परिवर्तनका लागि क्रान्तिको चाहना राखेका छ्न् –
“यतिका अन्याय पाप
भूमितलमा बज्रँदा पनि
क्रान्तिको लप्का नउठ्नु
व्यर्थ मैले ज्यूँछु भन्नु।”
भाषाविद महानन्द सापकोटा त झन् वर्गविभक्त सामाजिक व्यवस्थाको अन्त्य चाहँदै भन्छन् –
“शयमा दश पाँच धनी बनिनु
अरुले तिनका करिया गनिनु
विधिको यदि यै छ विधान भने
अब तो विधिको पनि आयु पुगो।”
कविता समय समयमा शाषकवर्गको पाउमा लम्पसार परेका धेरै प्रमाण पनि हामीसँग छ्न्। कविताले राजनीति निस्पक्षताको घुम्टो ओढेर कहिले शासक पक्षको त कहिले जनपक्षको राजनीति गरेकै छ, कहिले राजालाई ढोगेको छ, कहिले अधिकार मागेर जनतालाई विरोधको लागि उकासेको छ। अर्कातिर, सत्ताको परिवर्तन ल्याउन धारिलो कलम लिएर सडकमा उत्रिएका कविहरू पनि हिजो आफूले साथ र सहयोग दिएको नयाँ सरकार जब जवविरोधी बन्छ भोलिका उसैको विरोधमा कलम समाएका उदाहरण अनेक छ्न्। नेपाली साहित्यमा गोपालप्रसाद रिमाल त्यसैको उदाहरण हुन्। आजन्म कङ्ग्रेसी र सतन्त्रता सङ्ग्रामी ज्योती प्रसादले पनि स्वतन्त्रतापछि कङ्ग्रेसको विरोध गरे र “There is something wrong in the history of Denmark.” भने। कवि कुनै राजनैतिक दलको अन्धभक्त होइन, बँधिएको दास होइन। परिवर्तित परिवेश-परिस्थितिमा पूर्वको मान्यतालाई पुन: विवेचना गर्न सक्ने वैज्ञानिक मानसिकता उसमा रहन्छ।
नैनाका राजनैतिक कविता
कवि नैना अधिकारीका धेरै कवितामा टडकालो राजनैतिक स्वर छ। यो राजनीति जनपक्षको राजनीति हो। हुन त उनले प्रस्तुत सङ्कलनमा राजनैतिक चेत, स्खलित सामाजिक मूल्य र मान्यता, उपभोक्तावादले जकडेको समाजको कहाली लाग्दो चित्र, नारी चेत, पर्यावरणीय चेत, प्रेम-प्रणय, जातीय सरोकारका प्रसङ्गहरू, कोरोनाको कहर, अन्ध विश्वासको चपेटमा परेको समाजको दयनीय स्थिति, वैयक्तिक जीवनका आरोह-अवरोह आदिबाट पनि कविताको कथ्य बटुलेकी छिन्। तर, उनका कविताहरू सामाजिक विकृति-विसङ्गतिहरू, वर्ग विभेद, राजनैतिक दावपेच, लैङ्गिक समस्या आदि विषयमा अधिक मुखर छ्न्। यी कविताहरूमा असन्तुष्टि, क्षोभ, विरोधको स्वर छ र परालको आगोझैँ हुरहुरी नबलेर भुसको आगो भित्रभित्रै बलिरहेको छ। घात-प्रतिघातका उद्गारहरूको केन्द्रीय स्वर नै भ्रष्ट राजनीति र लैङ्गिक विषमताको अवसान हो।
प्रस्तुत सङ्कलनभित्र रहेको ‘मेरो गाउँ डिजिटल बन्छ बन्छ’ कविता यस्तै एक राजनैतिक कविता हो। चुनावको समयमा राजनैतिक दलले दिएको प्रतिश्रुति र चुनाव जितेपछिको फलश्रुति कवि नैनाले उनका कवितामा यसरी उतारेकी छ्न् –
” राम्रो दिन आउँदैछ रे!
धेरै दिनअघि नै सुनेको
तर
खोइ कहिले आउँछ?
कुनबाटो आउँछ
त्यो गाउँको भत्किएको पुल कसरी तर्छ
बाटाभरिको हिलो कसरी टेर्छ
कसैले खोलेर भनेनन्
सब दाँत चबाएर बसे” ( मेरो गाउँ डिजिटल बन्छ बन्छ)
झुटो प्रतिश्रुतिको विरोधमा सोझो व्यङ्ग्य कसेर कवि नैना फेरि त्यही कवितामा यसरी श्यामव्यङ्ग्य ( Black Satire) हान्न पुगेकी छ्न् –
” हेरिराख!
खान नपाएर मानिस मरेनन् भने
नोकरी नपाएर युवाहरू बहुलाएनन् भने
दाम नपाएर कृषक पासो लागेनन् भने
पैसा नभएर क्रेता रोएनन् भने
परिवर्तन भान्साकोठाको दैलोबाट आउँछ
मेरो गाउँ
डिजिटल बन्छ बन्छ।”
नैनाको समय कृषक आन्दोलनले देश थर्काएको समय थियो। कृषक विरोधी ऐनहरू वापस गरियोस् भन्ने मागमा चलेको आन्दोलन प्राय: नौ महिना पुगिसकेको थियो। तर उनीहरूको आवाज कसले सुन्छ? उनीहरूको मागहरूलाई चुनावी मुद्दा बनाइन्छ, उनीहरूका सपक्षमा नारा लगाइन्छ। तर, शान्तिपूर्ण प्रतिवाद गर्दा गोली खानु पर्छ। कविका भाषामा –
“‘जय किसान’
एउटा लोकप्रिय नारा हो
जब ऊ हकको आवाज उठाउँछ
राजधानीको गोलीले
छिया छिया पारिदिन्छ उसको छाती
ऊ देशको दुश्मन ठहरिन्छ
जो देशको अन्नदाता हो उही
उही जसको नाडी छामेर
देशको ज्वरो नाप्न सकिन्छ।” (किसान)
“भोकको च्याँखे” उनको अर्को एक राजनैतिक कविता हो। “गरिबी हटाओ” को नारा हामीले सत्तरीको दशकदेखि नै सुन्दैआएका हौँ। तर, धनी र गरिबको बिचको दुरी झनभन्दा झन् बढेको छ। मार्क्सले भनेका थिए – ” गरिबवर्गको समर्थन पाउने आशामा बुर्जुवाहरूले गरिबहरूको भिक्षाको झोली-तुम्बा नै उनीहरूको झण्डामा उडाउने गर्छन्।” भोकलाई च्याँखे थापेर कसरी राजनैतिक लाभ उठाइन्छ त्यसलाई कविले यसरी चित्रित गरेकी छ्न् –
“भोक
कहिले
भोकभोकै मर्छ?
कसैसँग छ
यो हाजिरी जवाफको उत्तर?
छ कसैसँग?
कि भोकलाई च्याँखे नथापे
सत्ताको बागडोर हत्याउन सकिँदैन?” (भोकको च्याँखे)
गणतन्त्रमा जनतालाई नै सर्वोपरि मानिन्छ। तर यहाँ जनतालाई छक्याउने, भ्रमित पार्ने, विभाजित पार्ने, आवेगिक बनाउने, लोभ्याउने अनेक कौशल छ्न्। यिनौ कौशलले चुनाव जितेपछि पाँचवर्ष जनतालाई नसम्झे पनि हुन्छ। केवल पाँच वर्षपछि बल्छीमा नयाँ चारो लिएर आउँदा भयो।
” निमुखाहरूको भाग खोसी अघाएर डकार्दै
भुँडी छाम्दै गद्दीमा लमतन्न भएर
कुम्भकर्णका झैं निद्रामा
विलीन थिए हिजोसम्म।” (व्यस्तता)
यो चुनावअघिको कुरा हो। अब चुनावको समयमा –
“ब्युँझेर भोकले आतुर हुँदै
फेरि धाएका छन् सबैका ढोका ढोकामा
चोर औंलाको खोजीमा
भोका-नाङ्गाहरूको अथाह सागरमा
एकमुठी चारो झुन्डाएर
बल्छी थाप्ने तरखरमा छ्न्” (व्यस्तता)
प्रजातन्त्रमा जनताको हाल कस्तो छ त्यसको सजिव चित्रण पाइन्छ उनको “बन्द आँखामा प्रतिबिम्बित चित्रहरूमा”।
“प्रजातन्त्रको बालीमा मालिक्याइँको हैकम चल्दैछ
……………………
ज्यामी र किसानको आवाज बारुदे धुवाँमा उड्छ
रक्ताम्मे हुन्छ्न् छातीहरू
पुछिन्छ्न् सिउँदाहरू
आश्वासनका वाणीले फाइलमा धुलो खान्छ्न्।”
अधिकारप्राप्तिको लडाइँमा राष्ट्रयत्र कतिसम्म क्रुर बन्न सक्छ त्यसैको उदाहरण हो यो कविता।
नैनाको किसानप्रति मात्र होइन, श्रमिकवर्गप्रति पनि सहमर्मिता छ। १ मे विश्व श्रमिक दिवसको उपलक्ष्यमा लेखेको ‘मजदुर’ त्यस्तै एक कविता हो। सभ्यता निर्माण गर्ने श्रमिकहरूको स्थिति आज दयनीय छ। आफ्नो पाप्य अधिकारबाट बञ्चित श्रमिकहरूले अब अधिकार मागेर होइन, खोसेर लिनुपर्छ। यो उनीहरूको जीवनको अनुभव हो –
“समयले सिकाएको शिक्षा हो –
आफ्नो हक पाउनका लागि लड्नु पर्छ भन्ने
बिस्तारै थाहा हुँदैछ
अधिकार मागेर होइन खोसेर ल्याउने चिज हो।”
लामो समयदेखि आफ्ना श्रीमान श्रमिक सङ्गठनसँग सम्लग्न हुनाले हुनसक्छ उनले यो शिक्षा पाएकी हुन्। कवि नैना निश्चित छिन् –
“जब मजदुर मजबुरीमा पर्छ
विनिर्माण गरिदिन सक्छ सभ्यताको।” (मजदुर)
नैनाको विद्रोहको अर्को पाटो पनि छ। त्यो हो लैङ्गिक असमानताको विरोध, नारीको अस्मिता रक्षा र समाधिकारप्राप्तिको लडाइँ। यस सङ्कलनमा उनले ‘दाइजो र पेवा’, ‘आखिर किन’, ‘अपराध के हो’, ‘नारी : सारेको बिरुवा’ र ‘महिसासुर’ यी पाँचवटा नारी चेतका कविता समावेश गरेकी छ्न्। उनका नारीवादी कविताहरूको विषय हो, नारीको सामाजिक असुरक्षा, बलात्कार, धर्म र परम्पराको थिचोमिचो, दाइजो प्रथा, घरेलु हिंसा आदि। यी कविताहरूमा उनको राजनैतिक दृष्टिकोण वा स्थापित नारीवादी मान्यताभन्दा समाजकी एउटी सामान्य नारीले भोग्नुपरेका समस्याहरूलाई आफ्नै अनुभवका आधारमा व्यक्त गरेकी छ्न्। कविताहरू विद्रोही भन्दा यथार्थवादी ज्यादा छन, मार्मिक छ्न्, वर्णनात्मक छ्न्।
नारी समस्यालाई लिएर लेखेको दाइजो र पेवा एउटा प्रतीकात्मक कविता हो। यहाँ दाइजोले माइतीले दिएको दाइजो होइन, परम्पराले दिएको दाइजोलाई इङ्गित गरिएको छ। यो दाइजो हो घरेलु काम, परम्परा र रितीरिवाज पालन गर्ने जिम्मेवारी। यी कामहरू पिँढीपछि पिँढी महिलाले थाप्लोमा बोकेर हिँड्नु परेको छ। यो पुरुषको काम होइन, नारीको पेवा हो। कवि नैना भन्छिन् –
“कर्तव्य र दायित्वबोध
परम्परा र रिती-रिवाज
संस्कार र संस्कृति बचाउने अभिभारा
लाज र मर्यादाको ठेक्काको अंशबन्डा
छोरिसँग गर्नु?
बराबर दिनु छोरीलाई
उसले पाएका यी सबै दाइजो र पेवाको
खुटैखुट हिसाब?” (दाइजो र पेवा)
नारीहरू आज कतै सुरक्षित छैनन्, सडक, बजार, बस, पाठशाला कतै। उनीहरूको अस्मिता लुट्ने ब्वाँसाहरू सर्वत्र छ्न्। उनी नारीलाई दुर्गा र यी ब्वाँसाहरूलाई महिषासुर भन्दै आफ्नो क्रोध व्यक्त गर्छिन् –
“कसले बलि देलान्
यी महिषासुरको
एउटा निर्दोष निरीह प्राणीको सट्टामा
हरेक विजया दसमीमा?” (महिषासुर)
आशा-निराशा
विद्रोही कविहरू आशावादको काँधमा चढेर समस्याको सागर तर्ने र प्रतिकूलताको विरोधमा लड्ने प्रस्तुतिमा हुन्छ। नैनाका कविताहरूमा पनि आशावाद छ। दृढता, छालको विपरीत, आशा, भर्याङ चढ्ने प्रयासमा, विश्वास, अपेक्षा, पर्खाइ, सत्य-असत्य आदि कविताहरूमा आशावादी स्वर स्पष्ट छ। हरेक हुरी र हुन्डरीका माझमा पनि आजको युवाले आशाको दियो बलेको देखेको छ, छालका विपरीत ढुङ्गा खियाउन उसले कम्मर कसेको छ –
“सफलताका दियाहरू बल्दैछन् उसका वरिपरि
उसलाई होच्याउन खोज्ने औँलाहरू
जलेका छन् दनदनी
……… ……….
ऊ आशावादी युवा हो
हुन्डरी प्रतिरोधी क्षमता बोकेको।” (छालको विपरीत)
यस्तै आशा छ ‘पर्खाइ’ शीर्षकको कवितामा पनि।
“हरेक रात निरन्तर बलिरहेको छ उसको झोपडीमा
आशा र विश्वासको मैनबत्ती
दिनभरि पसिना चुहाएर
एकभुँडी सन्तुष्टिको पर्खाइमा।”
नैनाका एकाध कवितामा निराशाको स्वर पनि गुञ्जिएको छ। फागुन : स्मृति र यथार्थ, जीवनको परिक्रमा, जिन्दगीको हर-हिसाब आदि यस्ता निराशावादी कविता हुन्। जस्तै :
” तर मलाई थाहा छ
ती रङहरू फेरि आउँदैनन्
अनि यो होलीमा पनि
यो मन रङहीन भएरै रहने छ।”
जीवनको परिक्रमा
” मुटुभित्रको हावा न हो जीवन
हुरुरु उडी जान्छ।” (जीवनको परिक्रमा )
“कहिले ज्वालामुखीको लाभा भएर
कहिले लेकको हिउँ भएर
छटपटाएको जिन्दगी
बेहिसाब कुदेको छ
अस्ताउने तरखरमा बुढो घामको पछि पछि।” (जिन्दगीको हर-हिसाब)
यी कविताहरूमा उनको विद्रोही स्वर र आशावादी अभिव्यक्ति जीवनको निस्सारता र शून्यतामा बज्रिएर चकनाचुर भएको छ। हो, उनमा कतै निराशा छ, कतै अन्योल छ, कतै समस्याको लागि भाग्य र ईश्वरलाई दोषारोपण गरेकी छ्न्। तर पनि उनी यस सङ्कलनमा मुख्यत: आशावादी, विद्रोही कविकै रूपमा झुल्किएकी छ्न्।
उपसंहार
असमका समकालीन युवा कविहरूमा बहुआयामिक प्रतिभा लिएर झुल्किएकी नैना अधिकारीको नाउँ अग्रपङ्तिमै आउँछ। उनको हालसम्मको एकमात्र काव्यकृति ‘घात-प्रतिघातका उद्गारहरू’ भविष्यको उज्ज्वल सम्भावना बोकेर आएको कृति हो। उनको विषय चयन, परिस्थितिको मूल्याङ्कन, संवेदनशीलता, सहज र मिठासपूर्ण भाषाको प्रयोग, बिम्ब-प्रतीकको चाहिँदो व्यवहार, व्यङ्ग्य प्रहारको सीप आदिले यस कृतिलाई स्तरीयता प्रदान गरेको छ। उनको अध्ययन र अनुशीलनले कवितामा भएका व्याख्यात्मकता, उपदेशात्मकता, अन्योलहरू अवश्य हटाउन सक्नेछन् भन्ने आशा राख्न सकिन्छ।





