बेहोस (छोटोकथा)

सहर नजिकैको गाउँमा एकजना किसान बस्थे । त्यहीँ तरकारी पसल गर्ने एकजना पसलेसँग ती किसानको राम्रो सम्बन्ध थियो । उनैले कर गरेको हुँदा किसानले पाँचरुपैयाँको चिट्ठा किने । अहिले यो कुरा उनले बिर्सिसकेका थिए, तर उनलाई दशकरोडको चिट्ठा पर्‍यो । चिट्ठा एजेन्टले सोच्यो जिन्दगीमा दुईचारहजार पनि नदेखेको मानिसलाई यत्रो चिट्ठा परेको छ । अकस्मात्को यो खबरले उनलाई मानसिक असर पर्नसक्छ । यति सोचेपछि उनले एकजना स्थानीय वकिलसँग सल्लाह लिए ।

वकिलले भने, “म यसबारेमा विस्तार बिस्तारै कुराकानी गरेर उनलाई सहज बनाइदिन्छु ।”
वकिलले आफ्नो काम सुरु गरे ।

पहिलो दिन उनले किसानलाई भेटेर सोधे, “तिमीले अचानक दशहजार रुपैयाँ पायौ भने के गर्दछौ ?”
किसानले भने, “खेती लगाउने समय भएको छ, मल, बिउ किन्छु ।”
अर्को दिन सोधे, “एकलाख पायौ भने के गर्दछौ ?”
किसानले भने, “एउटा दुहुनोभैँसी र दानापराल किन्छु ।”
यसरी नै प्रतिदिन क्रमश: वकिलले पाँचदशलाख आदि गर्दै एक करोडसम्म पुर्‍याए । किसानले पनि घर, खेत आदि किन्ने कुरा गर्दै गए ।
भन्दै जाँदा वकिलले एकदिन भने, “दशकरोड नै पायौ भने के गर्छौ त ?”
वकिलका कुराले किसानलाई वाक्क लागिसकेको थियो ।
अत: लापरवाह शैलीमा भने, “ल दशकरोड पाएँ भने पाँचकरोड तिमीलाई दिउँला ।” किसानका कुरा सुन्ने बित्तिकै वकिल बेहोस् भएर लडे ।