कविता: नारी दिवसको भोलिपल्टदेखि

अब !
बिस्तारै चिसिन थाल्नेछन्
हिजो माइकमा फुकिएका
आगो जस्तै शब्दका झिल्काहरू
अनि कामिरहने छन्
ठिहीले
एकझुन्ड नाराका पोकाहरू
समानताका
अधिकारका
नारीका चर्का आवाजहरू
पुरुषका
स्वीकारोक्तिहरू
आँउदो वर्षसम्म

काकाकुलको तिर्खा जसरी
तिर्खाएका मुद्दाहरू
तार्किक ज्वालाले
खरानी बनेर
उडने छन्
फेरि एकपल्ट
धेरैपल्ट
पुन: पुन: दोहोरिनेछ
एउटै इतिहास
आँउदो वर्षसम्म

फेरि,
बिस्तारै बिस्तारै
कटमिरो व्यवहार र अपरिमित खल्लोपनमा
छछल्किने छन्
अस्तिर मुटुका छ्टपटाहट
सधैँभरि

आधा लेखिएको पुरानो दस्तावेजमा
निसङ्कोच नाच्ने छन्
शब्दहरू
त्यही पुरानो लयमा
खोक्रो ढोलको
बेसुरा तालमा

नियन्त्रणहीन छ यहाँ दुशासनहरूको शक्ति

त्यही भएर
एक वर्षपछि
फेरि एकपल्ट
छट्पटाउने छ त्यो भीड
सापको काटिएको पुच्छर
एकछिनसम्म छट्पटाएझैँ

फेरि
आलो दुखाइ दुख्नेछ
झनभन्दा झन चिसिने छ्न् सुस्केराहरू
सारा संसारका वेदनाहरूलाई आत्मसात गरेर
घुमिरहनु परेको छ निरन्तर
नारीहरूले
चक्रवत एउटै बाटोमा
सधैँ सधैँ।