कथा : चरित्र

‘अङ्कल हिजो नभेटिएर बाटोभरि कस्तो खल्लो खल्लो लाग्यो । अफिस नै जानु भएन कि कसो ? कि म ढिलो, हजुरअघि जानु भएर हो ?,’ सुशान्तिले तीव्र चासो राख्दै भनेकी थिई । अनि दृष्टिहरू नबिसाइकन किञ्चित ओठ गालातिर लस्काएर मुस्काएकी थिई ।

            ‘म हिजो अलि छिटो जानु परेकाले भेट नभएको होला,’ मैले स्पष्टिकरण दिए ।

हामी बाटोका साथी बनेका थियौं । सुशान्ति र म । दैनिक भेटघाट हाम्रो आदत बनेको थियो । भन्नाले निश्चित समयमा हामी भेट हुन्थ्यौं । उ क्याम्पस जाने र म अफिस जाने समय प्रायशः एउटै पर्दथ्यो । भेट नहुँदा एक प्रकारको अभावले मनमा एक्लोपन छाउँथ्यो भने भेट भएपछि मन भित्र कता कता पूर्णता सञ्चार हुन्थ्यो । बाटोको नियास्रो मेटिन्थ्यो । यसरी हुने भेटघाट र कुराकानीमार्फत् हामी बीचमा आत्मीयता फस्टाएको थियो । तर त्यो आत्मीयतामा कुनै अपवित्र र अवाञ्छित मनसायका जिवाणु प्रवेशसम्म गरेका थिएनन् ।

हामी सीमावद्ध थियौं । कहिलेकाँही टुम चोर्न लागेका मेरा पाइलालाई हठात तान्दथेँ । जहाँ हाम्रो अस्तित्व जायज र शोभायमान हुन्थ्यो । जहाँ उमेरको नाता थियो । जहाँ नाताको सीमा थियो । जहाँ नैतिकताको तटबन्द थियो । कसैको वक्रभाव र दृष्टिदोष आफैंमा अतिरञ्जित थियो ।

भलै ऊ सुन्दर थिई । गोरो मुहार, सुशोभित वक्षस्थल, विकसित नितम्ब, साधुरिएको कम्मर, कसिएको पुठ्ठो, छागाझैं पछाडि झरेको लामो कपाल, एउटा व्यक्तित्व सुरक्षित भएझंै लाग्ने कद । जसका निम्ति पनि स्वाभाविक रूपमा आकर्षक बन्न सक्थेँ म । उसलाई सरसर्ती हेर्दामात्र लाग्थ्यो, आँखाको निम्ति यहाँ भन्दा सुन्दर अरू केही हुँदैनन् । सायद जन्मदैनन् ।

राम्री केटी देखेपछि मनले अँगालो मार्ने लोग्नेमान्छे हुन्छन् । आफ्नो उमरेको पर्वाह नगर्ने आचरणका लोग्नेमान्छे यहाँ धेरै छन् ।

अझ सुन्दरताको महत्वपूर्ण पक्ष–उसको बोली र व्यवहारमा सापेक्षपन थियो । मानौं सुनमा सुगन्ध जस्तो । मानांै उसले बोल्ने तर्क कुनै हस्तसिद्ध लेखकका वाक्यांश जस्ता हुन्थे । मुख्यतः म त्यहीँनेर प्रभावित हुन्थें । त्यहीँनेर म  सम्मोहित हुन्थे ।

            मेरा हजुरबा भन्नुहुन्थ्यो, ‘अरे, छाला त जुत्ताको राम्रो चाहिन्छ ।’ यद्यपि बाहिरी आकर्षण सबैलाई सुन्दर लाग्छ । विचारको सुन्दरता अदृश्य पक्ष हो, जसलाई कमैले ध्यान दिन्छन् । त्यसैले राम्री केटी देखेपछि मनले अँगालो मार्ने लोग्नेमान्छे हुन्छन् । आफ्नो उमरेको पर्वाह नगर्ने आचरणका लोग्नेमान्छे यहाँ धेरै छन् । घरका भरभराउँदा छोराछोरी र भराठलाग्दी श्रीमती बिर्सने लोग्नेमान्छे पनि उत्तिकै मात्रामा छन् । अझ, त्यो केटीलाई त स्वास्नीको रूपमा भोग्न पाए ……… भन्ने दुषित मनोवृत्ति पालेका, एउटा अस्वाभाविक अभिप्सा साँचेका लोग्नेमान्छे समेत समाजमा भएको प्रमाणित विभिन्न घटनाले गराउँदछ । तर सुशान्तिसँगको कुनै पनि भेटमा मलाई त्यस्तो अनुभव भएन ।

मेरो कमजोरी हो, या सहचारिता ? मलाई थाहा छैन, जब कुनै केटी वा आइमाई मेरो अगाडि आउँछन् । चाहे ती बिछट्ट राम्री, वित्पाते किन नहुन् ? म प्रणय भावनामा बहकिन नपाउँदै मेरी श्रीमतीको हँसिलो, मिजासिलो र सन्तुष्ट अनुहार मेरो अघिल्तिर ग्रेटवाल बनेर  आउँछ । म त्यो पर्खाल नाघ्न खुट्टा कमाउँछु । या त नाघ्न नपाउँदै सपनाबाट यथार्थमा बजारिन्छु, बिउँझन्छु ।

यसर्थ कतिपय आइमाइसँग म धेरै बोल्न डराउँछु । त्यति कम पनि बोल्दिनँ, जति बोल्न आवश्यक हुन्छ । त्यसको मतलब यो होइन कि आइमाईसँग डराउने एउटा म कायर लोग्ने मान्छे हुँ । विवाहपछि आफ्नी श्रीमतिसँग मात्र शारीरिक सन्तुष्टि लिनुपर्छ अन्यथा विश्वासमा आधारित दाम्पत्य जीवनसमेत एक दिन टुट्न सक्छ ।

लोग्नेको दैनिकीमा स्वास्नीहरू आँखिझ्याल जस्ता हँुदा रहेछन् । विभिन्न प्वालबाट शंका र चियो निरन्तर रूपमा गरिरहने आँखिझ्याल ।

यस मानेमा परिणामसँग भयभीत हुनु पर्छ, जस्ता मूल्य, मान्यता र आदर्श आत्मसात गर्नु कदापि गलत होइन । भलै म अपवाद र दुर्लभ स्वभावमा परुला । पत्नी व्रतालु पुरुष कहलिउँला । ती कुराले मेरो जिउनीमा कुनै फरक पार्ने छैनन् । न त विद्यमान चरित्रमा कुनै फरक पर्नेछ । वास्तवमा हामी समाजलाई व्यवस्थित एवं बस्न लायक बनाउन चाहन्छौ भने सबैले आ–आफ्नो चरित्र सुधार्नु पर्छ । गलत विचार र दृष्टिकोणलाई परित्याग गरी जीवन पद्दतिमा सुधार ल्याउनु  पर्छ । यौन पक्षमा अनुशासित हुनु पर्छ । यही मेरो संस्कारगत सिद्धान्त हुन् ।

मलाई लाग्छ, पश्चिमी समाजमा जति भौतिक विकास भएको छ, त्यसको तुलनामा सामाजिक मर्यादा र नैतिक अनुकुल व्यक्तिको चरित्र शून्य छ । विकृति ओतप्रोत छ । लोग्ने मान्छे र स्वास्नी मान्छेबीच भोगचलनको वैकल्पिक दृष्टिकोण छ । त्यसैले एक हदसम्म छाडा प्रवृत्ति भन्न सुहाउँदो खालको छ । परस्त्री र परपुरुष गमन सामान्य रूपमा लिइन्छ । जसको कारण विवाहलगत्तै सम्बन्ध विच्छेदको हतार हुन्छ । त्यो समाजको सिको गरेर हामी किन बिग्रनु ? म मनमनै प्रश्न गर्छु ।

‘हेराईबाट त एड्स सर्दैन ? बाटोमै घर छ, हिड्दा सधंै आँखा जुध्ने । राम्रो चिज भनेपछि हुरुक्कै हुने आफ्नो नराम्रो बानी छ ।’

            खैर, मलाई आफ्नो चरित्र समाजमा जतनसँग जोगाएर हिंड्न सक्नुपर्छ जस्तो लाग्छ । तर पनि कहिलेकाँही जीवनमा आइलाग्ने बदनियत र शंकासँग म बँच्न चाहन्छु । अनि चाहन्छु, सधैं श्रीमतीको जीवनमा एकाकार हुन, उसको सन्तुष्टिका लागि अनुवादित हुन् ।

श्रीमतीको पनि मप्रति उत्तिकै विश्वास, श्रद्धा र समर्पण छ जस्तो लाग्छ । कुनै अहमता

छैन ।  यद्यपि म आफ्नो चारित्रिक चेतनामा कैद थिएँ ।

सुशान्ति दागरहित चन्द्रमा जस्ती थिई । एउटा लोग्ने मान्छे र आइमाईबीच निस्वार्थ सम्बन्ध हुन सक्छ भन्ने अड्कल काट्न नसक्ने मान्छेको मनोग्रन्थि हँुदो रहेछ । उसको र मेरो आचरण शंकालु किरण घुस्न मिल्ले छिद्र नहुँदा नहुँदै पनि अनर्थ दिन सक्ने मान्छेको कम्ती रहेन । हामी हिँड्दा कतिका आँखा प्रष्ट बोल्थे, ‘हामीबीच लैङ्गिक रसायन छ ।’

मेरी श्रीमतिलाई पनि कसैले उकेरा लगाएछन् कि कुन्नी ? एक दिन श्रीमतीले व्यंग्यको भाषामा भनेकी थिई– ‘तपाईं अफिस जाने र सुशान्ति क्याम्पस जाने समय सधैं एउटै पर्दो रहेछ है ? बाटो पनि एउटै, हिँड्ने समय पनि एउटै । अलि होस गरेर बाटो हिड्नोस् है ? यता उता खुट्टा चिप्लिएर लड्नु भयो भने शत्रु हाँस्लान् । अनि मैले टाउको समाउनु पर्ला ।”

            उसको व्यङ्गभाव मैले बुझें । तत्काल मलाई दुख्नुपथ्र्यो तर मलाई दुखेन । या त दुख्नुपर्ने जति दुखेन । सोचें, बधुंवा नोक्कर झै घरायसी काम गरेकी छ, मेरो दिनचर्या उपर चियो गर्नु स्वाभाविक

हो ।

आइमाई घरबाट निस्केपछि चियोचर्चोको कठघरामा किन पर्छन् ? के आइमाई घरका सजावट सामान हुन् ?

हुन त लोग्ने चारीत्रिक हिसाबले जतिसुकै सीमाबद्ध भए पनि स्वास्नीले विश्वास मान्दा रहेनछन् । लोग्नेको दैनिकीमा स्वास्नीहरू आँखिझ्याल जस्ता हँुदा रहेछन् । विभिन्न प्वालबाट शंका र चियो निरन्तर रूपमा गरिरहने आँखिझ्याल ।

श्रीमतीप्रति यथावत धारणा परिवर्तन गर्न मन लाग्यो । मेरो मुखमा आएको उक्त वचन रोक्न सकिनँ, “तिम्ले शंका गर्ने अधिकार छ, किन कि तिमी आइमाई हौ तर म अरू जस्तो लोग्नेमान्छे

होइन ।”

त्यसपछि ऊ ह्वाप्प फुलेकी थिई ।

संयोग नै भन्नुपर्छ । त्यसै दिन सुशान्ति विद्युत प्राधिकरणको अफिसमा बिल तिर्न गएकी रहिछ । छेउमा मेरो अफिस पर्ने उसलाई पूर्व जानकारी थियो । सँगसँगै घर जाउँला भन्ठानेर ऊ मेरो अफिस आई । त्यति बेला म र साथीहरूसँगै अफिस अगाडि बिना काम घाम तापेर बसिरहेको थियौं । घामको न्यानो आपसी गफगाफले चपाएको थियो । उसलाई आउँदै गरेको देखेँ । कहीं कसैलाई नहेरी सिधै मतिर हेर्दै आउँदै भनी, ‘घर जाने बेला भएन, हजुरको ?’

            त्यति बेला अंकल नातो लगाएर बोलेको भए पनि मलाई केही राहत मिल्थ्यो । सायद त्यहाँ उपस्थित स्टाफहरूले विपरीत जातिको रूपमा लिए । त्यसरी नै बुझें । अझ भनौं सोही अनुरूप पहिला ऊमाथि र पछि ममाथि पल्याकपुलुक हेरे । सबैका दृष्टि शंकालु थिए । सबैले मनमा उब्जेको शंकास्पद वाक्यांश आँखाबाट धेरथोर बोलिरहेझंै लाग्थ्यो ।

कसैले भने झैं लाग्थ्यो, ‘अफिस भरीको सोझो मान्छे भनेको, देख्दामात्र रहेछ । पर्दा भित्रको नामुद खेलाडी रहेछ ।’ कसैले भनिरहे झैं लाग्थ्यो–“हेर त, कस्ती राम्री केटी पट्याउन सकेको, मान्नुपर्छ वा सुब्बा सा’बलाई । यो उमेरमा यस्ती मस्तकी तरुनी रत्याउन सक्नु पनि खुबी कै कुरो हो । नत्र भने किन अफिससम्म जाउँ भन्न आउँथी । पक्कै बीचमा केही लठारो होला ।”

कसैले भनिरहेझंै लाग्थ्यो–त्यो केटीसँग पहिले पनि हिंडेको देखेको थिएँ । घरमा छोराछोरी र त्यतिबिघ्न राम्री स्वास्नी भएको मान्छे, के केटीसँग बिग्रिएर हिडेको होला । त्यसरी श्रीमती पनि लोग्ने र छोराछोरीलाई आँखा चिम्लेर अर्को लोग्नेमान्छेसँग हिँड्ने हो भने दाम्पत्य जीवनको गति के

होला ?  यहाँ त लोग्ने जसरी जुनसँग हिडे पनि सुहाउने, चरित्रवान कहलिने । आइमाइलाई पारिवारिक दायरामा खुम्चेर बस्नुपर्ने । धर्म, सँस्कृति र सँस्कारको पालना गर्नुपर्ने कस्तो कुनीति !

सबैले मेरो चरित्रको उछितो काढेझंै लाग्दथ्यो । मलाई हिस्सी ट्युरी गरेझैं लाग्थ्यो । म थप शंका, थप अपमानबाट बँच्न चाहन्थें । बक्र रेखाहरूबाट फुत्कन चाहन्थें । त्यसैले मेरा साथीहरूले ममाथि गौरसँग हेरेको मलाई मन परेन । मलाई एक प्रकारको अपाच्य महसुस भयो । तब मैले सुशान्तिलाई भने– ‘तिमी त्यो चिया पसलमा केही क्षण बस । भोक लागेको भए चिया–खाजा खाऊ, म केही क्षणपछि आउँछु । अनि सँगै घर जाउँला हुन्न ?’

            अर्काे कुरा, म अरूबाट उसलाई ओझेलमा पार्न चाहन्थे । एउटा असहज वातावरणबाट फुर्सद लिन चाहन्थें । सायद उसले मेरो भावना बुझी कि बुझिन । तर बोलीको मानमर्यादा राखी । भन्नाले मैले भने अनुसार पसलमा गएर बसी ।

            जब ऊ हाम्रो कुराकानी नसुन्ने गरी टाढिई । एक जना बूढो सुब्बाले मुख फोरेर भन्यो– ‘के हो बस्नेत काजी ? चाला त निको छैन नि । मोज गर मोज, जे पनि मौका मिल्दा र उमेर छँदै त हो नि राम्रो लाग्ने । अब हाम्लाई त्यो इच्छाले छोओस् न, अरूले हेरुन् ।’

मैले झिनो प्रतिवाद गर्दै भने, ‘आफ्नो अनुभव सुनाउनु नराम्रो कुरा होइन ।’

जसले जुन कुनाबाट जसरी हेरुन् । जुनसुकै साघुरो चित्तवृत्तिबाट हेरुन् । सुशान्ति र मेरो निकटता घट्दो थिएन । पहिल्यैको गति र ढाँचामा निरन्तर बगेको थियो, उही समयमा हामी बाटोमा भेटिन्थ्यौं । प्रायशः ऊ नै भेटघाटको तजबिज मिलाउथी । अलिअघि आएर चौतारोमा बस्थी । अनि उ क्याम्पस नपुगुञ्जेल सँगसँगै हुन्थ्यौं । कुनै सान्दर्भिक कुराकानीलाई तेस्रा साथी बनाउँथ्यौं ।

उसको स्नातक सकिन लागेको थियो । एक दिन उसले भनी, ‘अङ्कल तपाईँ राजस्व विभागमा जागिर खानु भएको मान्छे । ठूला, ठूला व्यापारी र उद्योगपति मान्छे चिन्नु भएको छ । मेरो स्नातक सकिन लाग्यो, एउटा सुहाउँदो जागिर खोज्दिनोस् न । हजुरभन्दा नजिकको मन खाने, मर्का सुन्ने र गरिदिन सक्ने मान्छे हाम्रा कोही छैनन् ।’

‘अब त अर्काको भाग्य अजमाउने बेला भएको होइन र ?,’ मैले केही नसोचिकन छड्के कुरा गरें ।

उसले तीखा दृष्टिले मेरो विचारको खण्डन र आलोचना गरी । मैले अकर्मण्य हिसाबले  बुझें । अलिकति ग्लानि बोध भयो । तर पनि उसको भनाई असान्दर्भिक लागेन । विवाह सबैको निम्ति अपरिहार्य बन्दछ । खोइ, किन उसले अमिलो अनुभव गरी ? तर स्पष्ट हुन शाब्दिक प्रतिवाद चाहिरहेको थिएँ ।

सुशान्तिले केही क्षणसम्मको शून्यता चिर्दै भनी, ‘अङ्कलले भनेको आफ्नो ठाउँमा ठीक होला । तर पढाई नटुङ्ग्याई आफ्नो खुट्टामा नउभिई मैले बिहे गर्ने सोच बनाएकी छैन ।’ उसले त्यतिमात्र भनिन् । दाइ र भाउजूको भरमा बाँच्नु पर्दाको कटुता पनि व्यक्त गरी । मेरो मन उसको पीडाजन्य अनुभूतिले पगाल्यो ।

मैले उसलाई धैर्य धारणा गर्ने सल्लाह दिँदै भने, ‘नआत्तिअ न, यदि आफ्नो कमाई नहुँदा तिमी दुःखी छेउ भने म तिम्लाई उचित जागिर खोज्न भरमग्दुर प्रयास गर्छु ।’ मेरो आश्वासनमात्र उसको निम्ति अचुक औषधी बन्यो । त्यो अनुभव अनुहारमा झल्केको आभास मेरो आत्माले मलाई दिलायो । तब मैले मेरो सम्पर्कमा रहेका उद्योगपति, व्यापारी, होटल व्यवसायी, मौखिक रूपमा चाहारें । उसको योग्यता खुलाएर एउटा जागिरको निम्ति अनुनय गरें । मैले कहिल्यै कसैसँग केही मागेको थिइन् ।

सुशान्तिका निम्ति त्यसरी जागिर माग्दा र नपाउँदा, म पटक पटक पोखिएँ । आफ्नो पहिचान र प्रभाव पातलिएझंै लाग्यो । कस्सो एउटा होटेल मेनेजरबाट मेरो प्रस्तावको सुनुवाइ भयो । उसले सुशान्तिलाई एकाउन्टेन्टमा राख्ने वचन दियो । योग्यताको प्रमाणपत्रसहित होटलमा पठाई दिन आग्रह ग¥यो ।

मलाई थाहा थियो, उसको होटल भव्य थियो । फेवातालनजिक हुनाले पर्यटकको सँधै चाप हुन्थ्यो । केवल मेरो भनाइको आधारमा एउटा विश्वासनीय पद दिँदा मैले होटेल मेनेजरको मनमनै प्रशंसा गरें । तत्काल धन्यवाद दिएँ । बेलुका सुशान्तिलाई बधाई दिँदै कागजपत्र लिएर होटेलमा गएर मेनेजरलाई भेट्न भनें । ऊ अति खुसी भई । त्यति खुसीको भीडभाड उसको मुहारमा कहिल्यै देखेको थिइनँ ।

होटलमा जागिर पाएपछि उसको र मेरो भेट पातलिन थाल्यो । भन्नाले उ बिहान अलि छिटो जानु पर्दथ्यो । ९ बजे होटलमा पुग्नु पर्दथ्यो । म ९ः१५ बजे मात्र घरबाट निस्कन्थें । तर हाम्रो भेट फोनमा भइरहन्थ्यो । साँच्चिकै उ एकदम हर्षित थिई, जागिर पाउँदा । उबाट मैले जागिरको महत्व अझ बढी बुझें । जागिर केवल जागिरमात्र रहेनछ । मान्छेको विक्षिप्त मानसिकता एकत्रित र कार्यान्वयन गर्ने एउटा अस्त्र रहेछ । अभावका चारकोसे झाडी छिचोल्ने एउटा अस्त्र रहेछ । मान्छेको सपनासम्म पुग्ने पुल रहेछ । मान्छेलाई जीवनमा सक्रिय र आशावादी बनाउने एउटा स्रोत रहेछ । मान्छेलाई आफैंमा पनि केही गुदो छ, या ‘म पनि केही हुँ’ भनेर गर्व दिलाउने एउटा संयन्त्र रहेछ ।

एकाउन्टेनको जागिर पाउनुमा मेरो भनसुन जत्तिक्कै उसको योग्यताको पनि स्थान  थियो । अर्थात् उसको योग्यता नहुँदो हो त मेरो भनसुनको के अर्थ ? फेरि यो पनि हो, उसमा योग्यता भएरमात्र हुँदैनथ्यो । यदि होटेल मेनेजरसँग मेरो व्यक्तिगत राम्रो सम्बन्ध नभएको भए, उसले मेरो प्रस्ताव नखाएको भए, तर प्रत्येक कुराकानीमा उसले आफ्नो साविक योग्यतालाई कहिल्यै सामुन्ने ल्याइन, केवल मेरै भनसुनलाई आधार मानी । केवल मलाई नै जागिर प्राप्तिको पुर्ण जस दिई । प्रत्येक कुराकानीमा मैले बोक्न नसक्ने गुनगान गाउँथी । उसले पटक पटक भनेकी थिई– ‘अंकलको गुन जीवनमा सायद मैले तिर्न नसकुँला ।’

म कहिलेकाहीँ झिनो प्रतिवाद गर्थें, ‘तिम्लाई मैले कहिल्यै परको मान्छे ठानिनँ, तिम्ले पनि मलाई साँच्चै नि आफ्नो मान्छे ठानेकी छौ भने त्यसलाई गुन नसम्झ, एउटा अङ्कलको हैसियतले पूरा गरेको कर्तव्य ठान ।’

कहिलेकाहीँ भने म नतमस्तक र स्तव्ध हुन्थे । प्रतिवाद गर्ने कुनै शब्द भेटाउँदिन थिएँ । उसको खारिदो र माझिदो तर्क शक्ति मेरो निम्ति प्रशंसायोग्य बन्दथे । कति मीठो बोल्छे यो केटी । कति अकाट्य र अखण्डित विचार छन् उसित, मनले प्रशंसा गर्दथ्यो ।

होटेलको जागिर भए पनि ऊ पवित्र थिई । उसका विचार सदा सर्वदा पवित्र थिए । यस मानेमा उसको अस्मिता मजबुत थियो । कुनै गलत मनसाय प्रेरित व्यक्ति घुस्न सक्ने चर उसको आनीबानीमा थिएन । साविकको आचरण विशेषता थियो । परम्परागत मान्यता थियो । वैचारिक अडान थियो । संस्कार सम्पन्न धरातल थियो । त्यहाँ भन्दा बेगर हिँडाईमा उसका पाईला बाटो भन्दा एक इन्च तलमाथि, दायाँ–बायाँ रड्केको थिएनन् ।

यौवन अवस्थामा विपरीत धु्रवप्रति स्वभाविक आकर्षण हुन्छ । ऊ अलि फरक सोचकी थिई । ऊ आफ्नो लक्ष्यको धारमा प्रतिबद्ध थिई, ‘पढाई नटुङ्गुञ्जेल बिहे नगर्ने ।’ त्यो प्रतिवद्धता केटाहरूप्रति संस्पर्श दृष्टि भन्दा ओजिलो थियो । कैयौं गुणा गहकिलो थियो । तर विडम्बना, उसको बारेमा अतिरञ्जित पारामा कुरा कटानी हुँदा रहेछन् । मेरी श्रीमती पनि कुरौटे समाजको एउटा पात्र हो । जसलाई बढी फुर्सद हुन्छ । उसलाई कुरा चपाएर, उघ्राएर दिन बिताउँदा खुब मज्जा लाग्छ । उसले एक दिन भनी, ‘तपाईँकी सुशान्ति त होटलेमा जागिर खाँदिरहिछे नि । त्यो केटी मलाई पहिला देखि गतिली होइन जस्तो लागेको  थियो ।’

यद्यपि मेरो सिफारिसमा होटेलमा सुशान्तिले जािगर खाएको कुरा उसलाई भनेको थिइनँ । भन्न आवश्यक पनि थिएन । थप शंकाको मौका दिने एउटा मसला जुर्न सक्थ्यो । खैर, त्यति बेला श्रीमतीको कुराले मलाई स्तव्ध बनायो । यस मानेमा होइन कि मेरी श्रीमतीले गंगामा फोहोर फाली । त्यो त अरूबाट पनि भइरहेको थियो होला । म यस मानेमा स्तव्ध भएँ म कति अभागी रहेछु मैले यतिसम्म मतिहीन श्रीमती पाएँ । कसरी उसले यतिसम्म निकृष्ट विचार ओकल्न सक्छे ? एउटी महिला भएर अर्की महिलालाई त्यसरी हिलो छेप्न सक्छे ? उसको बाध्यता बुझ पचाएर बोल्न

सक्छे ? म निरुत्तर हन्छु ।

जाडो महिना थियो । माघको महिना । त्यस दिन हामी बिहानी घाम तापेर बसेका थियौं । हामीभित्र ५ जना समाहित थियौं । म, जीवन, निर्मल, बले काका र अजय दाइ । हामी बाटो छेउमा थियौं । सुशान्ति जागिरमा जान त्यही बाटो आइरहेकी थिई । मेरो र उसको हेराहेर भयो । हाँसोको मौन मुस्कानमा वाद–प्रतिवाद भयो । मुहार भावबाटै हामी केही कुरा बोल्यौं । सञ्चो बिसञ्चोका हालखबर आदानप्रदान ग¥यौं । आपसमा आफ्नोपन कायम राख्यौ । अरूले भेउ पाए कि पाएनन् । जब ऊ अलि पर हामीले बोलेको नसुन्ने दूरीमा पुगी ।

अजय दाइले भने, “होटलमा जागिर खाँदिरहिछ, त्यो केटी । मान्छे राम्री भएर त होला, होटलमा जागिर पाएकी । अनुहार बिक्री हुने ठाउँ त हो, होटेल । त्यसको महिनामा तलब कम्तिमा १५,००० जति हुँदो हो । पन्ध्र हजार तलव, दिनको दुई हजार ओभर टाइमको । अर्थात् भनौं ग्राहकलाई सन्तुष्ट पारेको । अझ दिनमा पाचँ हजार सम्म पनि कमाउँदी हो । भर्खरकी तरुनी केटी–रूप रङको त कुरै नगरौं । ग्राहकले उमेर र रूपलाई नै त हो पैसा तिर्ने । धन र बैंसले मात्तिएका मान्छेले जति पैसा पनि दिन तयार हुन्छन् । भगवानले आइमाई जातिलाई क्या काइदाका बनाएर पठाएका छन् । पैसाको लागि यसो ……. ।’

अरूले उसको तर्क चोपिलो रूपमा सुनेँ । कसैको त मुख रसायो होला, अमिलो सम्झदा मुख रसाए झैं । कसैको अनुहार रसायो । सबैको मुहारमा एक प्रकारको रागात्मक प्रतिक्रिया छाएको मैले अनुभुत गरें ।

उनले फेरि भने, ‘हेराईबाट त एड्स सर्दैन ? बाटोमै घर छ, हिड्दा सधंै आँखा जुध्ने । राम्रो चिज भनेपछि हुरुक्कै हुने आफ्नो नराम्रो बानी छ ।’

सबै हाँस्छन् ।

कस्तो आश्चर्य !  शंका र नीच भावनाको पनि हद हुन्छ नि । अर्कालाई होच्याउनु र मैल्याउनुको पनि दायरा हुन्छ नि !  ऊ पनि कसैकी छोरी हो । कसैकी दिदी बहिनी हो । एउटा बाध्यात्मक अवस्थितिले जागिर खाएकीे । ऊ कति अनुशासित र आचरणबद्ध थिई, त्यो मलाई थाहा थियो । उसो त उसको बारेमा थाहै नपाउनेलाई पनि अर्काको चरित्र हत्या गर्दा वा चरित्रबारे टिप्पणी गर्दा दशपल्ट सोच्नु पर्छ । कसैलाई कसैको चरित्रमाथि धब्बा लगाउन हुन्न, म भित्रभित्र मुर्मुरिएँ ।

म अभय दाईलाई धेरै कुरा भन्न सक्थें । उसको पक्षमा बोल्न मिल्ने मसँग बलिया बलिया तर्क थिए । मसँग अभय दाइको छोरासँग सम्बन्धित एउटा घटना ताजा स्वरूपमा थियो–एक वर्ष पहिलेको घटना हो । पुजारी टोलकी मैता भन्ने लाटी केटीको घरमा आमा बा कोही पनि

रहेनछन् । दिदी हस्पिटलमा भएकोले सबै हस्पिटल गएका रहेछन् । त्यस्तो एक्लोपनलाई उनको छोराले एउटा सुवर्ण मौका ठानेछ र राति कोठाको चुक्कुलसमेत जबर्जस्ती उक्याएर हातपात गरेछ । लाटी मैता बचाउका निम्ति चिच्याइछ । वरपरका सार्की केटाहरू आएर भकुर्नसम्म भकुरेछन्

उसलाई । अनुहार क्षतविक्षत भएछ । जस्तो एवं जत्रो घटना पनि सामाजिक प्रचलन अनुसार कचहरी

बस्यो । उसले माफी पायो । उसको त्यही छोरो आज समाजमा छाती चाक्लो पारेर, अझ भनौ लोग्ने मान्छे हुनुको गर्व गरेर हिड्छ ।

त्यति बेला मलाई लाग्छ, आज उनको दृष्टिमा छोरो चरित्रवान भयो, सुशान्ति कसरी चरित्रहीन भई ? फेरि मलाई अलि तन्किएर सोच्न मन लाग्यो । अर्थात् सोचाई अन्तर्गत अनेकौं प्रश्न मभित्र उब्जिए, सुशान्तिको चारित्रिक प्रमाण भन्न के उसको जागिर हो ? आइमाई घरबाट निस्केपछि चियोचर्चोको कठघरामा किन पर्छन् ? के आइमाई घरका सजावट सामान हुन् ? के लोग्ने मान्छेको चरित्र कहिल्यै ननासिने अजर अमर हुन्छ ? के आइमाईको चरित्र शंकाद्वारा निर्धारित गर्ने खालको हुन्छ ? के आचरणका नियम लोग्नेमान्छेका लागि नभई आइमाईको लागि मात्र बनेका हुन्छन् । के चरित्र मूल्याङ्कनको ढक सँधै आइमाई जातितर्फ मात्र झुक्छ ?

यस्ता यावत प्रश्नको उत्तर मैले कति खोजें, खोज्नेत्र mम अनवरत छ । तर उत्तर पाउन सकेको छैन । सम्भवतः पाउन सक्दिनँ होला ।