कविता: सुस्केरा

यसरी
जिन्दगीको मध्यान्तरमै
झम्के साँझले पाइला टेकेपछि
घन्किनै छाड्याे राेदीकाे मादल
रन्किन छाड्याे मनकाे बाँसुरी
रेटिन्छ मात्रै विरहको सारङ्गी
उड्नै छाडे रहरका पुतलीहरू
मनका बगैँचाहरुमा
झर्न थाले परेलीका डिलबाट
अबिरल झरनाहरू !

ढकमक्क जीवनको थुङ्गाबाट
ओइलिएर एक-एक पत्र गर्दै
झर्दैछन् सारा खुशीहरू
रोकिएका छन् पाइलाहरू
गन्तव्यभन्दा पहिले नै
यतिबेला स्याँस्याँ गर्दै
उकालो लागेका सपनाहरू
लत्रिएका छन् !

पहाड अगाडि गजधम्म छ
मूलबाटाे राेकेर
हिमाल सेता दाँत देखाइरहेछ
हातखुट्टा कठ्याइरहेछ
इन्द्रेणीको रङ्ग फुङ्ग उडेको छ
पुरानाे खास्टाेजस्तै
तै पनि किन हाे
आशाका झिना त्यान्द्राहरू
यत्रतत्र झुन्डिरहेका छन् !

घाम नियास्रो मानेर हेरिरहेकाे छ
जूनले सान्त्वनाको
स्पर्श छरिरहेछ
यदाकदा रातमा
हावा विरह सुसाइरहेछ
नदीनालाहरू
आफ्नै गन्तव्यतर्फ दौडिरहेछन्
मानाैँ भाग्दैछन्
टाढा टाढा धेरै टाढा
अाफैँबाट !

हेरिरहेछु मधुर दृष्टिले
दुर क्षितिजसम्म
सबैको जीवन चलिरहेछ
केवल रोकिएको छु म
रोकिएको छ मेरो जीवन
कहिल्यै चल्न नसक्ने गरेर ।