कथाः बरखी

म वसबाट ओर्लिएँ । घाम लापरवाहीसँग लागेको थियो । नेपालकै वातानुकुलित क्षेत्र मानिने पोखरा पनि खाडी मुलुक जस्तो । झन सडक हिँड्दा त कस्तो गर्मी ।

खल्तीबाट रुमाल झिकेर पसिना पुछे । मेरा अघि एक जना बृद्धा हिँडिरहेकी थिइन् । कुप्रो शरीर । लौरो टेकेर हिडिरहेकी उनको चाल असामान्य पाराको थियो । सानो झोला भुण्डाएकी थिइन । बुढेसकालको अशक्ततालाई बाटो नाप्दै, बडो कठिनपुर्वक बढिरहेकी थिइन् ।

जब म घुम्ती कटँे, उनी पछाडि परीन । भन्नाले मैले उनलाई उछिनँे । खासै वास्ता नगरिकन हिँडे । पछाडिबाट आवाज आयो, ओई बाबु ! त्यही बेला एउटा मोटरसाइकलले बाटो काट्यो । बाबु भनेको आवाज त्यसैको लागि हो भन्ने ठानँे । त्यसैले वास्ता गरिन् ।

‘ओइ बाबु, कस्तो नसुनेको हो ।’ फेरि त्यही खाले आवाजले मेरो चेतना तान्यो । म फरक्क पछाडि फर्किएँ । तिनैबृद्धा पो रहिछिन् । अझ ति बृद्धा त मेरा नातेदार रहिछिन् । कस्तो वेवास्ता गरेको, कस्तो नचिनेको, ठान्दै मैले संस्कार अनुसार टाउको दिएँ, भन्दै ‘दर्शन ठुलीआमा ।’

उनले मनदेखिको आशिर्वाद मुखसम्म ल्याइन । वडो रसिकलाग्दी र आध्यात्मिकपाराकी थिइन् ठुलीआमा । टाढाको नाता भए पनि हुरुक्कै गर्थिन् । आखिर माया सम्झना र सद्भावले नै त हो मान्छे निकटवर्ती बन्ने । आफ्नोपन जाहेर गर्ने । अझ भनौस्निग्ध भावनाले नै त हो हरेक सम्बन्ध स्थापित हुने । तर एउटा कुरा भने मलाई अचम्म लाग्यो, ती ठुलीआमाले मलाई पछाडिबाट कसरी चिनिन् । जब कि मैले उनलाई चिनिन् । लिनका बुढा आँखालाई मान्नु पर्छ । अनि स्मरण शक्तिलाई पनि । मैले मनमनै उनको प्रशंसा गर्न छाडेर भनँे, ‘ल्याउनोस यो झोला म लिइदिन्छु ।’
ठुलीआमाले झोला दिइन् । निकै हलुका महसुस अनुहारको भावले दर्शाईन । तर पनि मुख मिलाउँदै भनिन्, ‘त्यति गरुङ्गो त केही थिइन क्यारे ।’

‘म छँदा छदै तपाइलाई कहाँ झोला बोक्न दिन्छु । देख्ने र चिन्नेले के भन्छन् मलाई ।’ मैले अलि कडा स्वरमा भनँे ।

केही क्षणसम्म हामी हिँडिरहयौ । म पनि ठुली आमाको लयमा हिँडिरहे । चौतारो आएपछि उनी सुस्केरा सुसाएर बसिन् ।

‘यस्तो घाममा किन आउनु भा’को ? कि बिहान, कि बेलुकाको चट आउनु भा’को भए पनि हुने । फेरि दाईले गाडिमा ल्याइदिनु हुन्थ्यो होला नि ।’ मैले कुरा बढाउँदै भने ।
‘त्यसमा कुरा नगर ।, त्याईदिन्छ त्यो कुसुण्डाले ।’ उनले भनिन्, ‘त्यसले मलाई कति दु ः ख दिएको छ यही जियरालाई थाह छ । म त ज्यातिबित्ती भएर कालो बादल जस्तो भएर हिँडेकी छु, के थाह छ र तलाई मेरो पिर मर्का ।’

चौताराबाट उठेर फेरि हिँड्यौ । हामीबीच मौनता व्याप्त थियो । मैले नै मौनता तोड्दै केही कुरा नपाए जसरी भने, ‘कति वर्षको हुनुभयो ठुलीआमा ?’
‘यो हिउँदाँअसी कटेर यता आए । म भन्दा कान्छा हुन तेरा ठुला–बा । उ गएको पनि दुई साल भयो अब म पनि जाने होला नि । बाँच्ने चाह पनि मर्दै गएको छ । के गर्ने भनेर भएन ।’ उनले बोल्दै गइन्, ‘छोरा, बुहारीको पनि आँखाको कसिङ्गर भइएको छ । कहिले मर्ली र हाइसन्चो होला भन्दा हुन ।
फेरि उनले मनको बहपोख्दै भनिन्, ‘बेलुका सुतेको बिहान उठ्दा मरिरहेको हुन पाए । हुन त अझै कति गोता खानु छ, कति ठक्कर र डण्डर खप्नु छ । भन्ने वित्तिकै कहाँ फ्याट्ट मर्न पाइन्थ्यो र ? के गर्छस् बाबु आफुले जन्माएर दश धारा दुध खाएको छोरोले घाँडो ठाने पछि तँ, रात दिन टोकासो गरेर बोलेपछि त मलाई मरिहाल्न पाए हुन्थ्यो जस्तो लाग्या छ ।’

उनका त्यस्ता कुराले मेरो मन नौनी भैm पग्लियो । मैले फर्केर हेरेँ । कुप्रो र अशक्त शरीर, पेट भित्रभित्रै दापिएको । मुहार जथाभावि मुजा परेको । ती मुजामा असंख्य निराशा र कुण्ठा । अलि कति मात्र जीवनप्रतिको मोह ।संवेदनाका हिसावले टिटलाग्दो अवस्था । यस्तो दुर्भेद्य अवस्थामा आफन्तको सेवा र माया नपाउनु, उल्टो घृणाको शिकार बन्नु परेको निर्यातले मलाई दिक्क लाग्यो । उनका अभिव्यक्तिले निरस जीवनको सागरमा झाक्यो ।

वास्तवमा सन्तान कुन दिनका लागि प्रिय हुन्छन ? कुन दिनका लागि बाबु आमा माया लाग्दा हुन्छन् ? बुढेसकालमा सेवा र मायाको खडेरी पर्छ भने ति सन्तान हुनुको के अर्थ भयो ? समयको चक्रले आज बाबुआमालाई हेलाँ, निन्दा र तिरस्कार गर्ने छोरा बुहारीलाई भोलि आफु त्यो हैसियतमा पुग्दा तिनका सन्तानले तिनकाबाबुआमालाई गरे जस्तो गरे भने यो सृष्टी कस्तो बन्ला ? मानविय संवेदना र संस्कारको के गति होला ? आखिर संस्कार नै त हो मान्छको व्यहोराको फोटोकपि । म ठुलीआमाको पक्षमा उभिएर सोचे खुब सोचे । तर वैराग्य अनुभूति हुनु सिवाय कुनै विचार मनमा खेलेन् ।

विचरा ठुलीआमा दुःखित देखिन्थिन्, त्यत्तिकै मात्रामा थकित पनि । झन मैले झोला नलिदिएको भए, या बाटोमा म भेट नभएको भए कति गाह्रो हुन्थ्यो ।
समथर बाटो भए पनि बाटो लम्बेतानको छ । उनी रुखको छहारीमनि बसिन् । अलिमाथि हाम्रो घर थियो । म पनि उनी छेउ उभिए । ‘जाउ बाबु, तिमी जाँदै गर । म बिस्तारै आउछु, धकेरा भेटेर’ उनले अनुमति दिदैँ भनिन् ।
‘मलाई कुनै हतारो छैन एक छिन पछिसँगै जाउला । तपाई थकाई मेट्नोस’, मैले भनँे, ‘अब कति छ र, आइहालियो नि ।’

‘तै पनि, म बिस्तारै बिस्तारै आउँला भनेर ।’
‘हुन्छ त नि, ठुली आमा ।तपाई सुबिस्तासँग बिस्तारै आउँदै गर्नाेस् । म झोला लिएर जान्छु ।’
घर पुगेपछि आमा मेरो हातको झोलामा अडिनु भयो । केही नबोले पनि उहाँका आँखाले सोधिसकेका थिएँ, ‘ कस्को झोला लिएर आइस् ?’ तर शाब्दिक प्रश्न गर्न नपाउँदै मैले भने ‘ठुली ढुङ्ेसाँघुकी ठुलीआमा आउँदै हुनुहुन्छ, उनको झोला लिएर आएको ।’

‘ए बुढी आइछिन् । मन बुझाउन आइ होलिन नि, अत्यार लागेर । तिनलाई पनि छोरा बुहारीले पिना खाम कि कोला जाम बनाएका छन् क्यारे ।’ आमाले त्यति भन्दै आँगनको डिलमा उभिनु भयो ।
क्षण पश्चात् ठुलीआमा आइन् । बुबा पनि खेतबाट आउनुभयो । सन्चो विसन्चो आदान प्रदान भयो । ठुलीआमाले दुःख मान्दै भनिन्, ‘के सन्चो भन्नुःके विसन्चो भन्नु, मनमा सुख र सन्तक भए शरीर यसै सन्चो जस्तो हुँदो रहेछ क्यारे । बुढेउलीमा साहै्र पिरलो प¥यो बाबु मलाई ।’
बुबा केही बोल्नु भएन । आमा पनि बुबा केही बोल्नु हुन्छ कि जसरी बुबाको मुखमा हेर्नु भयो । किन भने छोरा बुहारीले ठुलीआमा माथि गरेको ज्यादति कुनै नौलो थिएन ।

पटक पटक उनीबाट र अन्यत्रबाट सुनी आएका थियौ । एक दुई पटक त बुबाले पनि छोरो प्रज्वलसँग कुरा गर्नु भएको बारे घरमा भन्नु हुन्थ्यो । प्रज्वलले भन्थ्यो अरे, ‘आमा नै असेत्तेरी र असजिली छन, बुहारीलाई पटक्क जस दिन्नन् । घरका कुरा गरेर साध्य छैन काका । हुन त तपाई पनि टाढाको, हाम्रो अनिष्ठ चिताउने मान्छे होइन ।’
बुबाले जुनसुकै तवरले सम्झाउँदा बुझाउँदा पनि उसले आमा (ठुली आमा) कै दोष देखायो अरे । अनि बुबाले कुरालाई अन्त मोडिदिनु भएछ । आफ्नै आमाको बारेमा छोराले तथानाम बोले पछि बुबाले के भन्ने स्थिति आउथ्यो र ! बुबा त एउटा इष्ट मित्र सरहको मान्छे न पर्नुभयो । तरपनि बुबाले प्रज्वलको बारेमा घरमा आएपछि धेरै बोल्नु भयो ।

ठुलीआमाले भने आफ्नो वह पोख्नको लागि हाम्रो घर चुन्नु भएको थियो । बेला बखत आउनु हुन्थ्यो । आफ्नो मन हलुका पारेर जानुहुन्थ्यो । कहिले काही भने समस्या, पीडा र दुःख चुलिन्थे । अनि समाधान स्वरुप बुबालाई आह्वान गर्नु हुन्थ्यो । सायद बुबा घर गाउँका पञ्च भलादमी कहलिएको भएर होला । ठुली आमाले अलि बढि नै अपेक्षा गर्नु हुन्थ्यो तर पहिला आउँदा भने बुबाले अलि रुखोवाणी बोल्नु भयो, ‘तपाई छोरा बुहारीले यसो गरे, उसो गरे भन्नु हुन्छ । मलाई पनि साच्चै हो कि जस्तो लाग्छ । तर प्रज्वलले जति वेला पनि तपाईलाई नै अचाडु देखाउँछ ।
तपाईको घरको कुरा हाम्ले सुन्ने मात्र हो, देख्ने होइन । देख्न पाए पो बोल्न अलि सजिलो हुँदो रहेछ । फेरि आफ्नी आमालाई नि माया दया नदेखाउने, आदरभाव नगर्नेले हामीलाई प्याच्चपुच्च केही नजाती भन्यो भने यही सम्बन्ध पनि बिग्रन सक्छ । त्यसैले भो भाउजु छोरालाई मैले तपाईले आसा गरे अनुसार केही भन्न सक्दिन ।’

त्यति बेला अलि खिन्न मन बनाएर बाटो लागेकी थिइन् । धेरै भएको थियो, उनी नआएको । फेरि त्यस दिन आइन ।सायद उनलाई खाने कुरामा भन्दा मनको पिलो निचोर्न हतार थियो । तर आमाले भन्नुभयो,‘पहिला खाना खाउँ, अनि सुबिस्ताले बसेर गफ गरौला । कहि जानु छैन क्यारे ।’
हामी सबैले खाना खायाँै । श्रीमतीले भाँडा माझिन । आमा, बुबा र ठुली आमा बैठक कोठामा बसे । गफगाफको चाँजोपाँजो मिलाउन लागि खोलिरहेको टि.भि. पनि बन्द गरे ।

म आफ्नो कोठामा पसें । भित्रैबाट पनि तिनीहरु बोलेको टक्लक्क सुनिरहेको थियो । ठूलीआमाले बोल्दै गएकी थिइन्, ‘त्यस्ता छोरा बुहारी त जरो खन्ने शत्रुका पनि नहुन, आफुहरु हप्ताको दुईतीन पल्ट मासु खान्छन् । म मासु नखाने मान्छे । तिनले मासुको तिउन पकाउँदाका दिन टङग्रङ्ग दालको झोल मात्र हुन्छ । तरकारी चट्नी केही हुदैन । फेरि कहिल्यै अलिकता मान राखेर खाना दिने होइनन् । कुकुरलाई कलो दिए जसरी थाल हुत्याएर दिन्छे । के गर्नु, नखाउँ भने दिन भरिको शिंकार खाउँभने कान्छा बाउको अनुहार भने जस्तै खानै प¥यो । फेरि दिनमा खाजा भनेको कहिलै देख्न पाउनु होइन । बानियाँकी कान्छी, खत्रीनी बुढिहरुले कति माया र मतलब गरेका कुरा गर्छन् । छोरा बुहारीका कति बइन् लाउँछन् । हुन पनि साँचो बोलेको देखिएकै छ । आफ्ना छोराको कुरा गर्दा आफ्नै आङ्को छोरा उडाए जस्तो । आफ्नै लगाएको लुगामा मयल देखाए जस्तो । भन्नु पनि वेइज्जत मात्र ।’

एक छिन रोकिएर फेरि बोलिन्, ‘अलि बढी चियाको तलतल लाग्छ । तिनले कहिले दिन्छन् । कहिले त चार बज्दा पनि अत्तोपत्तो गर्दैनन्, चियाको तुर्काे सम्म खान पाउदिन ।
‘आपूmले ग्याँस सल्काउँन सक्नुहुन्न र ? त्यति चिया त पकाएर खानपनि त सक्नु हुन्छ क्यारे नि ।’ आमाले कुरा काट्दै भन्नुभयो ।

‘कहाँ ग्याँस छुन पाउने । पहिले पहिले त ग्याँसमा पकाएकी हुम । एक दिन घरमा कोही थिएनन् । चिया पकाएर खानु प¥यो ठानेर ग्याँस सल्काउन लागेकी, त्यही बेला कताबाट छोरा बुहारी आए । बुहारी महाकाली भएर गर्जीदै भनि, कति दुःख खेपेर बनाएको घर ग्यास पड्काएर बित्याँस पार्न खोजेकी । एकछिन पर्खिन सकिन्न । बुढेसकालमा कति व्रत बस्छन्, कति धर्म गर्छन् । यो बुढीलाई भने खान कै धुन छ पो भन्छे । अनि लाइटर प्यात्त फालेर कोठातिर जान लागेकी थिए । छोराले आफ्नी दुलहीलाई हप्काई हाल्छ कि त, मलाई पनि खान मन लाग्यो होला ठानेर पक्ष लिइ हाल्छ कि भनेको त श्रीमतीको पक्ष लिएर बोल्यो, यो बोक्सी नमरीकन घरमा शान्त हुने भएन भन्यो । बुढा मरेपछि त वल्टै वोक्सी पोल्टै बोक्सी भन्न थालेका छन् । केही चित्त नबुझ्ने बित्तिकै बोक्सी भनि हाल्छन् । कस्तो कुलङ्गार जन्मियो होला । कस्तो धर्मछाडा जन्मियो होला । आफ्नै आमालाई पनि कसैले बोक्सी भन्छन् होला त ।’

एक क्षण रोकिइन । आँखाबाट झरेका आसु मजेत्रोको फुर्काेले पुछिन र फेरि बोलिन्, ‘दुई वटा छोरा भकाभक औलो लागेर मरे । त्यसपछि एउटा दुई वटी छोरी जन्मिए । छोरा नहुने भए, वंशको हाँगो मासिने भयो भनेर बाबु चाहीले कति हेराए । कति भाक्कल ग¥यौं । अन्तिममा एउटा ज्योतिषिले शिवरात्रीका दिन करपुटारमा बत्ति बाल्ने हो भने छोरो हुन्छ भनेर भने । अनि त्यसै वर्षको शिवरात्रीमा दिनभरिको बाटोउसका बाबु र म हिँडेर करपुटार गयौं । रातभरि जागा बसेर बत्ति बालियो ।अर्काे साल यो जन्मियो । ज्योतिषिले भनेको हो रहेछ जस्तो लाग्यो । खुबै खुशी भयाँै । धर्मको पुत् सत्यको धन भन्छन् । धर्मकर्म गरेर जन्मेको हो जस्तो लाग्यो । कसरी यो राक्षसकी जन्म लिन पुग्यो । हुन त कलि लागेरको होला नि ।धर्मकर्म गरेर जन्मेका छोरा पनि अलच्छिनाँ हंसकाहुने ।’

बुबा स्तब्ध र सन्तप्त देखिनु भयो । ख्वाक्क खोकेपछि भन्नु भयो – ‘ सानो छदाँ त प्रज्वल त्यस्तो थिएन । पछि पिउने बानी बसाल्यो । बिहेगरे पछि झन बिग्रियो । बाबु आमा भन्दा श्रीमतीको मायाले जित्यो । उसैका कुरा बढी सुन्न थाल्यो ।’
‘कहाँ सानोमा त स्कुलमा दुईवटा पुष्टकारी किन्यो भने एउटा पुष्टकारी मुठीमा कसेर ल्याएर मलाई दिन्थ्यो । अहिलेको त के कुरा गर्नु । हुन त बुहारी बिना पनि हुँदो रहेछ । म एउटी महिला हुम् ।भोलि मेरा पनि छोरा छन्, त्यो दिन मेरा पनि आउँछन् भनेर त्यो बुहारीले कहिल्यै सोचिन् ।’
‘नाती नातिनाले बाबुआमालाई केही भन्दैनन् । भन्नाले मतलब त्यति विधि अचाक्ली अन्याय बोल्दा, गर्दा कुनै विरोध गर्दैन । आफ्ना बाबु आमालाई केही सम्झाउँदैनन् ?’

आमा र ठुली आमाबीच धेरै गन्थन मन्थन भयो । बुबाले पनि आफ्नो बुद्धि, विवेक र अनुभवका हिंसांबले धेरै कुरा बोल्नु भयो । प्रज्वलको आचरण सरोसर अमानविय भन्नु भयो । आमा बाको साथ र आड पाएर ठुली–आमा झन खुल्नुभयो ।

समयमा खाना नदिने, उमेर मुताविकको खाने कुरा खान नपाउने कुरा त पटक पटक गर्न नै भएको थियो । जब उहाँले बलिन्द्र आसु झारेर घटना माथि घटना सुनाउनु भयो । मेरो मन समेत नराम्ररी हुडल्यो । नराम्ररी कोक्यायो । उहाँले भने अनुसार छोराले खेत बेच्न खोजेछ । ठुली आमा मानिनछन् ।तिम्लाई बुढेसकालमा हेला गर्दिन आमा, बैङ्गमा एक मुष्ठ पैसा राख्दिने भन्छेउ भने पनि राख्दिन्छु आदि इत्यादि कुराले फस्ल्याएछ । ठुली आमाले सोचिछन्, अघि खाए पनि यसैले हो, पछि खाए पनि यसैले हो । आखिर छोरा भन्नु एउटै मात्र त हो, भैगो भन्ठानेर एउटा शर्तमा खेत बेच्न मानिछन् । त्यो के भने दुईवटा छोरीहरुलाई पाँच । पाँच लाखका दरले दिने, आफ्नो नाममा बैङ्गमा १० लाख राखिदिने । तर सहीछाप गरेर काम फत्ते भए पछि राजिनामा गरेर दिएपछि छोराले बोली फेरेछ । पाँच लाखको साटो २ वटा दिदिहरुलाई १÷१ लाख दिएछ । आमाको नाममा पैसा राखिदिन मानेनछ । किन चाहियो त्यतिका पैसा। कतै मन्दिर, तिर्थ जान परे म दिइहाल्छु । खाने कुरामा र उपचारमा केही कम्ति गर्दिन् । मेरो खतामा राख्नु र तिम्रो खातामा राख्नु एउटै हो ।’ तर ठुलीआमा पहिलेको बोली समातिछन् । अड् िलिइछन् ।

प्रज्वलले ठाडो जवाफ लाउँदै भनेछ, त्यति बेला त तिमीलाई मनाउन गरेका कुरा हुन ति सब ।बोले जस्तो कस्ले पु¥याउँछ । कस्ले पु¥याउन सक्छ ? धेरै वकवक गरयौ भने देवघाट छोडेर आउछु । बैङ्कमा पैसा राख्देला र अडकलि अड्कलि छोरीहरुलाई दिउँला भनेर असति बुढी ।’
केही सिप नलागेपछि सहनुको विकल्प भएनछ । घर पालुका पशु जसरी खाने कुरा ढुक्नु, छोरा बुहारीको निगाहामा बाँच्नु नै ठुली आमाको नियति बनेछ । छिमेकका बुढीहरुसँग दिन वियाँल्न जादा पनि घरका कुरा फिजाएको आरोप लगाउँदा रहेछन् । यति सम्म हेला र घृणा गर्दा रहेछन् कि त्यत्रो सम्पतिकी मालिकिन भएर पनि, भोक टार्नलाई अरुको दैला दैला चाहर्नु पर्ने स्थिति आएछ । विचरा! साथमा वस भाडा तिर्न पैसा पनि अरुसँग भिख मागेर हाम्रो घरसम्म आएकी रहिछन् ।
यसपाली आएर गएपछि ठुलीआमा आइनन् । उनी बिरामी परिछन् । सुनेपछि आमा र म उनलाई भेट्न जाने सल्लाह भयो । पर्सी जाउँला ।’ आमाले भन्नुभया । तर ठुली आमा अघिल्लो दिन वितिछन् । पछि भेटी लिएर गर्थाै ।

आमाका चिनजानका मान्छे ढुङ्गेसाँघुमा प्रशस्त थिए । छोराकोे आचार व्यवहार बारे धेरैले धेरै बोले–
‘त्यस्ता छोरा हुन्छन भने छोरो पाइन भनेर पछुताउनु, चित्त दुखाउनु र छोरो पाम भनेर धर्मकर्म गर्नु कसैले पर्दैन ।’
‘के कुरा गर्नु प्रज्वल र त्यसकी दुलहीकोे । बिचराआमालाई मिठो चोखो, चिसो तातो विचारेर दिनु त परै जाओस् रुखो सुखोले पेट भर्दिने काम पनि गरेनन् । बुढाबुढीलाई कति स्याहार गर्नुपर्छ । तिनीहरु पापी हुन ।भोलि तिनको पनि त्यही वेला आउला । आफ्ना छोराछोरीले पनि त्यही देखासिकी गर्लान् । अनि तिनका बाबुका बिहे देखिन्छन् । अनि एउटा कुनामा बसेर रुदा खेरी चेत पाउँछन् ।’

कति पल्ट त मैले चिया र विस्कुट दिए । कति पल्ट खाना र खाजा खुवाए ।हाम्लाई बुढी मान्छे, छिमेकी भनेर माया, दया लाग्ने । ति छोरा बुहारीलाई भने केही नलाग्ने । कसतो ढुङ्गा जस्तो मन रहेछ तिनको ।’
बुढीले कुकुरले नपाउने दुःख पाएर मरिन गाँठे ।सम्पत्ति भएर के हँुदोरहेछ र आफ्नो मान्छे आफ्नो मान्छे जस्ता नभएपछि । आफ्ना मान्छेले माया नदेखाए पछि ।’
‘तिनका लोग्ने स्वास्नी जस्ता निष्ठुरी मान्छे त यो संसारमा कतै खोजेर नपाइएला । मान्छे भएको भए त अलिकति मन रसाउथ्यो क्यारे नि, पशु नै रहेछन् ।’

धेरै दिन ओछ्यान परिनन । तिन दिन थला परिन क्या हो । म भेट्न गएकी, कोठा पिसावले गन्हाएर कति दुर्गन्ध, कति फोहोर के भनि साध्य ।’
सबैले बुढीले दुःख पाएका र छोरा बुहारीले वेवास्ता नगरेका कुरा मात्र गरे । कसैले तिनका पक्ष धारी कुरा गरेनन् । पहिले देखिको आचरणले र सबैका कुरा सुनेर प्रज्वललाई मैले सन्देह जनक हिसावले हेर्न थाले । उसलाई बनमान्छेको दर्जा दिए । कुने मानेमा भने उसले मानविय संवेदना देखाएन । विचरा आमा (ठुली आमा) लाई वेस्कनी दुःख दियो । एक प्रकारको अभावमा तड्पायो । आफ्नी आमालाई त्यतिसम्म गर्ने मान्छेले इष्टमित्रलाई के मानभाउ देला ? के आफ्नो ठान्ला ? त्यसैले उसको बारेमा सोच्न मन लागेन । भेट भए पनि कुन मुखले बोलौ जस्तो लाग्यो ।

तर एक दिन मैले उसलाई देखेर अचम्म परेँ । सेतो टोपी, सेतो कमेज, बाहिर सेतै सुइटर लगाएको, सेतो पाएन्ट लगाएको, सेतो जुत्ता लगाएको । मलाई सोच्न समय लागेन, उसले वरखी बारेको रहेछ ।
म महेन्द्रपुलमा गोरखा पत्र बाजेको पत्रिका पसलमा थिए । मलाई देखेर हो या त्यही आउदै भएर हो, उ सरासर आयो । वरखी वारेको हुनाले मैले नमस्कार गरिन् । एक प्रकारको आश्चर्यजनक भावना वरिपरि रङमङ्गिरहेका थिए । त्यसैले बोल्ने मेलोमेसो बनेन । उनैले नजिक आएर भने, ‘के छ भाई हालखबर, घर तिर सबै सन्चै हुनुहुन्छ, सानोबा र सानीआमा ।’
‘ठिकै छ ।’ मन नलागि नलागि भनेँ ।

मेरो समस्त ध्यान उनको सेतो कपडामा गएको थियो । अर्थात उनले वरखी वारेको नौटङ्की र देखावटीपन तर्पm मोडिएको थिए म । मन मनै सोचिरहेको थिए, बाचुञ्जेल आमा (ठुलीआमा) ले आमाको दर्जा पाइनन् । उनीमाथि कुनै कर्तव्यको अंश रहेन । कुनै मानवता देखाइएन । मरेपछि ‘यो वरखी बारेर के सावित गर्न खोजेको हो ?’ मेरो मुखसम्म अटेसमटेस कुरा आएका थिए । एउटा मनले मलाई केही बोल्न हौसाइ रहेको थियो । तर म बोल्नु भन्दा पहिला प्रज्वलले भन्यो, ‘कति दुःख कष्ट भोगेर दशधारा दुध खुवाएकी, आफु नखाई नखाई हाम्लाई हुर्काएकि आमाको लागि दुःख बोक्न गाह्रो मान्नु हुन्न भनेर मैले वरखी बारेकोे हुम भाई । हुन त आजकलको जमाना धेरै मान्छे धर्मकर्म पट्टी छैनन् तर हाम्ले आफ्नो संस्कार संस्कृतिको जतन ग¥यौ भने पो हाम्रा सन्ततीले पनि त्यही पाठ सिक्छन् होइन भाइ ।’

म खरो स्वभावको मान्छे । भनिदिउँ जस्तो लागेको थियो ‘धर्म त आत्मा र आस्थामा हुन्छ । आपूmले गरेको कर्ममा हुन्छ ? यस्तो नौटंकी र देखावटीपनमा हँुदैन भनेर ।’ बडो संयमतापूर्वक आफुलाई सम्हालँे । केवल उसका जाली कुरा सुनिरहँे, नाटकिय हावभाव मनन गरिरहँे ।