कविताः आवेगको ओदानमा स्वार्थको रोटी

अर्थहीन सदाचारको पट्टी आँखामा बाधेर
विवेकको भाँडो रित्ताएपछि
दुई कान ठप्प बन्द हुन्छन्
पौराणिक कुरीति घिसार्दै
अदृश्य शक्तिको डरमा पिल्सिएर
अर्को पिँढीको मानसिकतालाईसमेत
खरानी पार्ने तरखर चल्दछ
व्यापार चल्दैछ
ठुलो व्यापार
ईश्वरको नाउँमा
द्वन्द्व चल्दैछ
राम-रहिमको नाउँमा
चलिरहेछ लडाइँ
धर्म भनेको
राजनीति हो कि
समाजनीति
मानवता हो कि
प्रतिस्पर्धा
बुझ्नै गाह्रो
लुट्नेले लुटेकोलुटै छ
लुटिने लुटिएको लुटियै छ
न रामको चेलो
न रहिमको अनुयायी
नाउँ जपेरै मख्ख
भजन गाएरै डुक्क
बिर्को लागेको बुद्धिको बट्टा बोकी
दुगुर्दै छ अझै पनि
अनजान गोरेटोतिर
फुर्सद छैन सोच्ने
समय छैन बिचार्ने
केही फिक्री नै छैन
ऊ नै सही
उहीँ साँचो
तर
उसलाई के थाहा
ऊ त बलिको बाख्रो हो
कसैको दाउको कौडी हो
पल्ला बाँदरको हातमा छ है
रोटी सकिने अघि नै आँखा उघार।