कथाः आफ्नो खुसी

साँझ भर्खरै छिप्पिएको थियो ।

बर्खामास तपतप पानी परिरहेको थियो । घरभित्र प्रष्ट सुनिएको थिएन । कताबाट मुसुरीको कानमा बाहिर जुत्ता बजेको आवाज टक्लक्क प¥यो । ऊ अलि बढी नै सचेत भई । छेऊमै सुतेको माइलो मगरलाई घच्घच्याई ।मगर दुई तीन दिनको अनिँदो जसरीे मस्त निन्द्रामा थियो । दोस्रो पटकको घच्घच्याइबाट भने ऊ बिउँझियो ।

‘बाहिर कोही आए जस्तो छ’ मुसुरीले कानमा मुख जोडेर भनी । माइलोमगर तातो कराइमा ओइरिएको साग जसरी गल्यो । हात गोडा फत्र्याकफुत्रुक्क भए, मुटु जोडतोडले धड्कियो ।जसोतसो सुतिरहेको ठाउँबाट उठेर बस्यो ।

मुसुरी त्यति डराउने मान्छे होइन । चाहे लोग्ने मान्छे होस्, चाहे स्वास्नी मान्छे ।आई लाग्नेसँग जाई लाग्थी । दुई तीन जनालाई त सजिलै तह लगाउन सक्थी । एकदिन वन जाँदा हेरालोले आँसी खोस्न खोज्यो । ‘कोहीलाई चिलाउने, कडुस ठुन्क्याएर भारी बाँधेर लैजाँदा पनि देखेको नदेख्यै गर्ने । हाम्लाई झिँजा खोज्दा पनि आँसी खोस्ने’ भन्दै हेरालोलाई नाम्लाको पाताले चिलाउनेको रुखमा बाँधिदिएकी थिई मुसुरीले ।

त्यसपालादेखि मुसुरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन थालेको थियो । तर यति बेला मुसुरी, मुसुरी जस्ती रहिन । उसको मनमा एकतमासले भयको चिसो पस्यो ।सन्त्रासले मन–मुटु फुलेर आयो ; डराई–डराई दैलाको ठेलासम्म आएर बाहिरको चाल सुनी ।

मुसुरीको लोग्ने बितेको तीन वर्ष भए पनि मुसुरी विधवाको धर्म धानेर बस्नुपर्छ भन्ने मान्यताकी मान्छे थिइन । उसले ठान्थी–‘लोग्नेमान्छेले स्वास्नी मरेको १३ दिन बित्ने बित्तिकै अर्की श्रीमती ल्याउने, अझ लोग्नेमान्छेले जति बढीश्रीमती ल्यायो त्यति मर्द कहलिने । हामी महिला भने यिनका रजापाठ मान्नु पर्ने। धन्न चन्द्रशम्शेरले सती प्रथा हटाएछन् । नत्र हाम्रो आयु पनि लोग्ने कै आयुसँग जोडिन्थ्यो ।’त्यस्तो सोचकी मुसुरी आफूखुसी निर्णय गर्दथी । समाज र संस्कारका नाममा हुने परम्परालाई अस्वीकार गर्थी। उसमाआफ्नो शरीरमाथि आफ्नो निर्णय हुनुपर्छ भन्ने चेतना थियो । त्यही अनुरूपउसले सम्बन्ध अघि बढाएकी थिई । त्यस्ता लोग्ने मान्छेहरू उसको प्राथमिकतामा पर्थे, जोसँग आफ्नो चित्त मिल्छ, जसले उसलाई मायाको तिर्खा मेटाउँछ । जसले उसको भावना बुझ्छ ।जसले उसको मनको मर्म बुझाउँछ ।

तर उसलाई मुखले ठीक्क पारेर धेरै लोग्नेमान्छेले स्वार्थ लुटे । तीमध्ये सोमे, बिसौने, पदमे, बखते, हरेराम थिए । जोसँग मुसुरीले एकदुई जोर लुगा फटालेकी थिई । तर मुसुरीको तिनीहरूसँगकुनै चित्त दुःखाई, कुनै गुनासो र कुनै सिकायत थिएन। उसले तिनलाई समयका झोक्का जतिकै ठान्थी । जताबाट आए त्यताबाटै गए।

आजकल उसको हिमचिम माइलो मगरसँग चलेको थियो । दुवै आपसी सम्बन्धमा सन्तुष्ट थिए । दुवैको आत्मकथा मिल्दोजुल्दो थियो । मुसुरीको लोग्ने बितेको,माइलोकी श्रीमती बेलायतमै अर्कोसँग सल्केकी र ऊ रनाहामा परे जसरी बेलायतको तमाम सुखसुविधा छोडेर नेपाल आएको । पैसाको कुनै कमी नभएको ब्रिटिस लाहुरे । माइलो साच्चिकै मुसुरीले चाहे जस्तो मान्छे थियो । धन पनि भा’को, मन पनि भा’को ।

माइलो पनि मुसुरी जस्ती अँगालाभरिकी भेटाएर खुसी थियो । बादलिएको जीवनमा आङ तात्ने गरी घाम लागेको अुनभव गरेको थियो । घरिघरि त पोलेर छोरो सप्रियो भने झैँ ठान्थ्यो ।

मुसुरी शारीरिक गठजोडमा मात्र होइन, माया गर्न पनि सिपालु थिई । तिनीहरू प्रायः वनपालेको पाखामा भेटिन्थे । मुसुरी घाँस दाउरा गर्न जान्थी । माइलो बजारबाट खाजा किनेर धाइ लाउँथ्यो । मिलेर घाँस दाउरा काट्थे । मिलेर खान्थे । खाजा मात्र होइन, एक अर्कालाई पनि धित मरुन्जेल र अघाउञ्जेल खान्थे ।

गाउँलेको नजरबाट छिप्न असम्भव हुन्छ । तिनीहरूको उठ–बस वनमा जाने, बाख्रा हेर्नेले देखे । तीदुईका कुराले गाउँको आकाश ढाक्यो ।कोहीले ‘यस्तो अवस्थामा देखेम्’ भने । कोहीले ‘दुलाहादुलही जसरी खेलेको देखेम’ भने । धेरैका मुखबाट धेरै थरीका कुरा ओकलिए । सुन्ने जतिले मुसुरी र माइलालाई ठीक मानेनन् । कोहीले छाडाको उपनाम दिए । कोहीले आलु कुहिँदा झैँ कुहिएका भने । कसैले तिनीहरूको पक्षमा बोलेनन् । अझ भनौं थपिथपाऊ लगाएर तिनको दोहोलो काढे । हल्लामा दुर्गन्ध मिसाए । चाहे महिला हुन्, चाहे पुरुष हुन् । मुसुरी र माइलोको कुरा काट्नु नै तिनीहरूको बसिबियालो र दिनगन्ती मेलो बनेको थियो ।

ती दुईलाई भने गाउँले हल्लाले छोएको थिएन । अटेरी बालक झँै आफ्नो रसरागमा मस्त थिए । भन्दाखेरी गाउँमा माइलालाई मुसुरीले मित दाइ हुन् भनेर चिनाउँथी । कसले पत्याओस् त्यसका झुट कुरा । जब कि मुसुरी र मगर छाडाछट्टै भएर हिँड्थे । एउटै ओछ्यानमा रात बिताउन थालिसकेका थिए । यद्यपि गाउँमा जे जति कुरा चले पनि मुसुरीलाई मतलब थिएन । ऊ माइलोसँग कहिले झाडीमा, कहिले कालीखोलाको पहरोमुनि, कहिले खरबारीमा, कहिले बाँसझाडीमा मनमोज गर्दथी ।
त्यस दिनमाइलो घरमै आएको थियो । मुसुरीले एक किलो मासु लिएर आउनु भनेर बोलाएकी थिई । सोझो मगर हातमा झुण्डाएर ल्याएको थियो । गाउँ पस्ने बाटामा हिँड्दै थियो । परशुरामका कुत्सित नजर मगरमाथि परे ।

उसले दुई वर्ष पहिलाको घटना सम्झियो । जति बेला गाउँमा विभिन्न मान्छेसँग मुसुरीको नाम जोडिएको थियो । उसका खुब कुरा काट्थे । ती सबै आचरणबाट लाउपाएर रोदीघरबाट फर्कदा परशुराम क्षेत्रीले मुसुरीको हात समातेर प्रस्ताव राख्यो । अघिसम्म शान्त र सामान्य मुद्रामा हिँडिरहेकी मुसुरी परशुरामको हर्कतबाट एकाएक खाइखादी र खडाजङ्गी भई । परशुरामको मुखमा थुक्दै भनी–‘तेरो वैँस हिनाविना हुनाँ मुर्दार ! तैले के सोचिस मलाई ? कुकुरलाई नआएको वैँस आएको । आमा समानकी भाउजू माथि गिद्धे दृष्टि राख्ने । तेरा बाआमाको गुन देखेर हो । नत्र तँ जस्ता नकचरालाई भोलि मुख देखाउनै नमिल्ने गरेर ठाउँको ठाउँ मै थला पार्दिने थिएँ ।’

परशुराम र मुसुरी बीचको ठ्यास्सठुस्सको बइन पँधेरा पुगेछ । एका बिहानैबाट एक कान दुई कान हुँदै विना सञ्चार साधन बेलुकासम्म गाउँ ढाकेछ । परशुराम घर गाउँमा मुख देखाउन लायकको रहेनछ । घाट कुरेपछि मसान भेटिन्छ भन्थे । परशुरामले पनि त्यस दिन भेट्यो । त्यो कसरी भने माइलो गाउँ पस्दै गरेको देख्यो । माइलो र मुसुरीको बारेमा यथेष्ट कुरा सुनेको उसले सजिलै लख काट्यो । जसै परशुरामको उल्टो दिमाग चल्यो । उसले आफ्ना भरोसालाग्दा केटाहरूलाई फोन ग¥यो ।

गाउँमा क्लबको अध्यक्ष थियो परशुराम ।त्यसो हुनाले पनि केटाहरू निकट थिए । चाहेर या नचाहेर उसका कुरा सुन्थे । परशुरामका कतिपय विषादी आचरणका बाबजुद पनि केटाहरू उसलाई मन पराउन बाध्य थिए । परशुराम धनी बाबुको एक्लो छोरो थियो । बलियो उस्तै थियो । रिस उठ्यो भने जो कोहीलाई पिटीहाल्थ्यो । सायद त्यसैले होला उसले फोन गर्ने बित्तिकै केटाहरू इमान्दार बने । तत्क्षणमै गोवर्धन, विश्वास, त्रिलोक र अमरसिंह खत्री सेवामा सेवक सरह हाजिर भए ।

माइलो मगरलाई मुसुरीले न्यानो स्वागत गरी । हात खुट्टा धोएर ऊ अँगेनाको डिलमा बस्यो । मुसुरीले खुब मेहनतर जाँगर चलाएर मासु पकाई । माइलोलाई चाख्न दिई । उसले सबै ठीक छ भनेपछि मुसुरीले मासु झिकी। अनि भजालो बसाली । बहान उम्लियो, कोदाको ढिँडो मस्काई–मस्काई ओढाल्न थाली ।

घरि मगर मुसुरीतिर हेर्दथ्यो । घरि मुसुरी मगरतिर हेर्दथी । टुकी खोपीमा बलिरहेको थियो । ‘अब ढिँडो खाने हो हात धुनोस्, त्यसपछि रात आफ्नै त हो नि !’ मुसुरीले मुख तमतमाउँदै भनी ।

माइलोले उसलाई गालामा चुप्प म्वाई खायो । ऊ लजाए जस्तो गरी । त्यो भन्दा बढी केही नगरी माइलो उठ्यो । मझेरीमा रहेको कुँडो पकाउने ताउलामा हात धोयो । पिर्कामा बस्यो । मुसुरीले चरेसको थालमा ढिँडो पस्किदिई ।
‘मासुको झोलसँग पो कोदाको ढिँडो सुहाउँछ । कस्तो मीठो भएको ।बल्ल स्वाद प¥यो ।’ भन्दै उसले एउटा चोक्टा मुखमा हालेर खेलाउँदै चपायो ।

‘होइन होला, कोदाको ढिँडोसँग त गुन्द्रक नै सुहाउँछ ।’ मुसुरीले चोसो पसारेर भनी र फिस्स हाँसी ।

मगरले खाएपछि थाल त्यही छाड्यो । मुसुरी त्यही थालमा ढिँडो पस्केर खान थाली । जुठो थालमा खाँदा माइलो द्रवित भयो ।खफेरि कताबाट कामकाजी भावनाले स्पर्श ग¥यो । त्यसै–त्यसै लठारिएर छेउमा बसेकी मुसुरीलाई अँगालो हाल्यो । कहीँ कतै हात डुलाउन थाल्यो ।

‘धत् कस्तो मान्छे,खाइन्जेल त जारले पनि सुख पाउँछ भन्छन् । छ्या तपाईं त !’ मुसुरी अलिकति सर्दै भनी ।
‘तिमी जार हौ त नि ।’उसले लाडिएर भन्यो ।

‘जार त तपाईं नै होला नि ।’ मुसुरीले हात पन्छाउँदै भनी–‘पहिला खान त सुविस्ताले दिनोस् । अनि जताबाट मेसो लाएर कोपरेर खाए नि,खचिथोरेर खाए नि खानु होला । म कहीँ भाग्ने त होइन नि ।’
‘आइमाइहरू जस्ता हामी धैर्य हुँदैनौ क्या, अहिले खाउली नि त ।’

मुसुरी जुठा हातले उसलाई धकेली र आफूलाई सम्हाली । अनि फेरि खान थाली– ‘पख्नोस न कस्तो भोक लागेको छ, यति ढिँडो खान त दिनोस्, दिँउसो खाजा पनि खाइनँ ।’
‘भोक त मलाई पनि ज्यादै लागेको छ ।’
‘अघि खानु भएको होइन ।’
‘त्यो भोक भनेको होइन नि ।’
माइलोको कुरा सुनेर मुसुरी खित्का छाडी ।
माइलोले भन्यो– ‘पेटको भोक भन्दा मनको भोक ठूलो हुन्छ । यो भोक पूरा गर्न मान्छेले ज्यान गएको पनि पत्तो पाउँदैनन् ।’
‘कात्तिकमा कानको पर्वाह नगरेको त सुनेकी थिए । ज्यान कै पर्वाह नगरेको त मैले सुनेकी छैन ।’

मुसुरीको कुरा सुनेर मगर हाँस्यो । माइलोले भन्दै गयो– “महाभारत हेरेकी छैनौ ? पाण्डुले शिकार गर्दा भूलवश ऋषि दम्पत्तिलाई वाण लाग्यो । तिनीहरूले पाण्डुलाई ‘तेरो मृत्यु पनि स्त्रीसँग संसर्ग राख्दा होस्’ भनेर श्राप दिए । आफू स्त्रीसँग संसर्ग राख्दा मर्छु भन्ने जान्दा जान्दै पनि एक दिन उनले आफ्नी कान्छी पत्नी माद्रीसँग संसर्ग राखे, अनि ऋषिको श्राप अनुसार परमधाम भए । कम्ती कुरा रहेछ त त्यो भोक, त्यो चाहना ।”

मुसुरी केही बोलिन । उसले ढिँडो खाएर भाँडा मड्केल्लाको छेउमा राख्दै भनी– ‘भोलि माझौँला, तपाईंले अत्याउनु भयो ।’

जाडोयाम थियो । झन मौसम झरिलो हुनाले जाडो दोब्बर बढेको भान हुन्थ्यो । ढुङ्गा माटाको घर । खरको छानो भएको घर । त्यतिविधि जाडो नहुनु पर्दथ्यो तर जाडो घरभित्र जबर्जस्ती घुसेको थियो । अँगेनाको वरिपरी भने जाडो रम्न सकेको थिएन । अँगेनाको डिलको तातोपनले उद्धात्त बनेका माइलो र मुसुरी आतुर बनेका थिए ।

‘जाऊ भो सुतौं’ माइलोले भन्यो ।
‘धैर्य गर्नोस न, प्रतिक्षाको फल मीठो हुन्छ भन्छन्’ मुसुरीले फिस्स हाँस्दै भनी । ‘बाह्र वर्ष रामायण पढायो सीता कस्की जोई भने जस्तो । अघि मैले त्यत्रो उदाहरण दिएको होइन । के बुझ्यो त ?’ त्यति भनेपछि माइलो चुपचाप बसेन । मुसुरीमाथि भौतिक आक्रमण गर्न थाल्यो । मुसुरी पानी–पानी भई ।

एक प्रकारको छटपटी, एक प्रकारको उकुस–मुकुस र एक प्रकारको मादकताले उसलाई ओछ्यानसम्म पु¥यायो । दुवै जना हतारमा कपडा खोले । मुसुरी फरिया फुकालेर डङरङ्ग लडी । माइलाले ज्याकेट, टिसर्ट, पाइन्ट र अरु कपडा पनि फुकाल्यो । शरीरमा एउटा धजो बराबर कपडा पनि राखेन । उसले उत्तानो परेकी मुसुरीलाई ग्वाम्लाङ्ग अँगालो हाल्यो । हातमा मेसिन जडान गरे जसरी हात चलाउन थाल्यो ।

‘सबै लुगा किन फुकाल्नु प¥यो । पेटिकोट फुकाले त भइहाल्यो नि ।’ मुसुरीले मगरको छाती मुसार्दै सुस्तरी भनी ।

‘आज फुटबल र भलिबल दुवै खेल्ने हो मज्जासँग । कपडाले त अल्झो बनाउँछ । एक हप्ता भयो भेट नभएको पनि । कहाँ लटरपटर गरेर हुन्छ र !’माइलोले मुसुरीको चोलाका तुना फुकाउँदै भन्यो ।

दुवै जना सर्वाङ्ग बने । दुवै जना आरनमा राखेका फलाम जसरी ताता भएका थिए । त्यसपछि के चाहियो र ? कुन कुराको रोकतोक भयो र ?

मुसुरीले डोकाका खुट्टा झैं दुईतिर खुट्टा फट्टाई । के खोज्छस् काना आँखो भने झैँ माइलाले झ्याइकुटी–झ्याइकुटी पा¥यो । माइलो चौरासी व्यञ्जन खाए जसरी सन्तुष्ट भयो भने मुसुरी सन्तुष्टका अलवा थिलोथिलो भएको अनुभूत गरी । निकै बेरपछि दुवै जना अलग्गिए । अलग्ग सुतेको माइलोले भन्यो– ‘धेरै पछि आज मज्जाले पसिना काट्न पाइयो हगि ?’

मुसुरी केही बोलिन । दुवै जना मित्रवत हिसाबले चालचुल नगरी सुते । माइलो निदाई हाल्यो । सपनामा खोलाले बगाइरहेको थियो उसलाई ।

‘को हो बाहिर ?’ दैला ठेलामा उभिएकी मुसुरीले डराई–डराई सोधी ।

माइलो थर्कमान भएको थियो । ब्रिटिस लाहुरे भए पनि अर्काको गाउँमा आएर परस्त्रीसँग सुत्दा कता–कता उसलाई गल्ती महसुस भएको थियो । त्यही महसुसले उसमा प्रयाप्त त्रास सिर्जना गरेको थियो ।

बाहिरबाट बोली नआएपछि मुसुरी थप आतङ्कित बनी । फेरि अलि कडा स्वरमा भनी–‘को हो ? किन नबोलेको ? के खोज्न आएका हौ ? एक्ली आइमाई बसेको घर ?’

बाहिर जुत्ता बजेको मान्छेको गाइगुइँ स्पष्ट सुनिन्थ्यो । तर हामी हुम भनेर कोही अघि सर्दैनथे । मुसुरीको मनमा एकाएक पहिरो खस्यो । धेरै वेरपछि एउटा आवाज आयो– ‘पाहुना लाग्न आएका हौं, बास पाइन्छ होला नि ।’

मसिनो स्वरमा बोले पनि मुसुरीले स्पष्ट चिनिहाली, बाहिरबाट बोल्ने परशुराम क्षेत्री थियो । ‘खाना खाइसकेर सुत्ने बेलामा आएका पाहुनालाई बास छैन । अन्तै गए हुन्छ ।’ मुसुरीले भनी

‘रातका पाहुना देउता समान हुन्छ भन्छन् क्यारे ।’ फेरि परशुराम नै बोल्यो । सोझो मनले तिनीहरू आए जस्तो रतिभर लागेन ।
एक क्षणसम्ममुसुरी बोलिन ।

‘ढोका खोल्छेस कि ढोका फोरेर भित्र आऊ रण्डी ।’ एकाएक परशुरामले धम्कीको भाषामा भन्यो ।

माइलाका जुत्ता बाहिर थिए । तिनीहरूलाई भित्रमाइलो र मुसुरी छन् भनेर किटान गर्न गाह्रो थिएन । कहिल्यै आइ नलागेको आपत आइलाग्ने भयो ठानेर मुसुरी भिजेको मुसो बनी । उसको आत्मबलले कुनै काम गरेन । मैनिखामामा अडेस लागी । सामुन्नेको पूजा स्थानको करुवाको पानी एक घुट्को खाई र गणेश भगवान्लाई बचाउका निम्ति प्रार्थना गरी । त्यति बेला माइलो भने आडमा देखिन ।

बाहिरबाट ढोका घच्घचाई रहेका थिए । त्यतिले नपुगेर गोवर्धनले लात्ताले हान्दै भन्यो, ‘ढोका खोल रण्डी, हामी मरेका थियौं र कहाँ–कहाँको मगरलाई बोलाएर ओछ्यान तताउने ।’

ढोका हान्ने क्रम रोकिएन । त्यति नै बेला माइलाले पल्लो छेऊबाट हाच्छिउँ ग¥यो । तिनीहरू झन उत्तेजित र आक्रोशित भए । मुखमा जे आयो त्यही बोले । राणी, रण्डी, वेश्से जस्ता शब्द त सामान्य लागे । कुनै सीप नलागेर मुसुरीले ढोका खोलिदिई । पाँचै जना ठेलामठेल गरेर ढोका भित्र पसे । भकारीमा लुकेको माइलोलाई कठालोमा समातेर घोक्क्र्याउँदै बाहिर ल्याए । मुसुरीलाई पनि घिच्याउँदै बाहिर ल्याए ।

‘यो नाठोलाई लिएर हिँडाओ क्लब घरमा थुन्ने हो । यो लखबेस्यलाई भित्र थुनोओ ।’ परशुरामले गर्जदै भन्यो– ‘भोलि समाज जोडेर हिसाब मिलाउँला ।’

मुसुरी खङ्ग्रङग भएकी थिई । उसको दिमागमा भय र सन्त्रास बाहेक केही मडारिएको थिएन । कताबाट अक्किल आयो । परशुरामको अगाडि हात जोड्दै मुसुरीले भनी– ‘हामीबाट गल्ती भयो बाबु, माफ दिनोस् । तपाईंले जे भन्नुहुन्छ अबदेखि म त्यही मान्छु । हाम्रो बदनाम नगर्नोस् । तपाईंको पाउमा पर्छु ।’

परशुराम कड्कियो–‘अहिले आएर जे भन्यो त्यही मान्छु भन्छेस् । अस्ति नि मुखमा थुक्दै मनपरि भनेको मैले बिर्सेको छु र ? अहिले मान्छु भने जसरी त्यसदिन मैले भनेको मान्दिएको भए तेरो के बिग्रन्थ्यो ? अहिले यो दिन पनि देख्नु पर्दैनथ्यो । मेरो मनमा बदलाको भावना पनि जाग्दैनथ्यो । अब तलाई यत्तिकै छोड्न मिल्दैन । पानीमा बसेर गोहीसँग सिगौरी खेल्ने त जावीले आफ्नो कर्मको फल भोग्नै पर्छ ।’

त्यति भनेर मुसुरीलाई घरमै थुनिदिए । माइलोलाई क्लब घर लिएर आए

भोलिपल्ट गाउँभरि बुङ्बुङती हल्ला फैलियो । नराम्रो हल्ला हावाको गतिमा गाउँका कुना कन्दरामा छाउने प्रचलन अनुरूप गाउँलेहरूले थाहा पाए । चारैतिर तिनीहरू कै कुरा चले–

ड्ड माइलो मगर र मुसुरीलाई राती एउटै थलोमा फेला पारेछन् । मगरलाई क्लब घरमा थुनेर राखेका छन् अरे । मुसुरीलाई उसकै घरमा चापी लाएर राखेका छन् अरे ।
ड्ड क्लबको अध्यक्ष परमेश्वरले साथीहरू लगेर समातेको अरे । खुब राम्रो काम गरेछ, त्यस्ता गतिछाडाबेइज्जतीलाई त तह लाउनु पर्छ । अहिले बिहानमा पाटनमा समाज जोड्ने अरे । कस्ले के भन्छन्, सुन्न जानुपर्छ । त्यो खाइखादी मुसुरीले के भन्दी रहिछे ।अरुले के भन्दा रहेछन् ।
ड्ड हो त नि जानपर्छ गाँठे । काम भनेको त हुँदै गर्छन् । कहिले सकिने होइन । त्यस्तो रमिता हेर्न कहिले पाइन्छ र ?
ड्ड मुसुरी पनि लोग्ने गुमाएकी मान्छे, माइलो पत्नीले छोडेको मान्छे । एकापसमा मिले त के भो ? कुन चाहीँ नौलो काम गरेका हुन् र ?सबैले गरेकै काम हो । अझ कति त नाता सम्बन्धमा भित्रभित्रै गन्हाएका छन् । त्यो परशुरामलाई तिनै सुतेको ठाउँमा गएर किन रङ्गेहात समात्नु परेको ? किन रातभरि थुनेर समाज जोड्नु परेको ? मैले त कुरा बुझिन हो । केही रहस्य त पक्कै छ ।
ड्ड गजब गरेछ परशुरामले ।मैले त माने त्यसलाई । गाउँ समाजको इज्जत लिलाम गर्नेलाई यसरी नै समाजका अगाडि ठड्याउन पर्छ, नङ्ग्याउनु पर्छ । अझ कायलनामै पार्नुपर्छ । विभिन्न ठाउँमा मान्छे पिच्छेका विभिन्न कुरा चले । गाउँको ताजा खबर झैँ सबका मुखमा त्यही घटना फरमाएको थियो ।
पहिले नै परशुरामले मुख्य–मुख्य मान्छेहरूलाई खबर गरेको थियो । घटित घटना र छलफलको सन्दर्भ प्रष्ट्याएको थियो । सबै मान्छे पाटनमा, क्लब घर अगाडि जम्मा भएका थिए । कुनै पनि घटनामा या गाउँ समाजको बैठकमा शुभ–विचार राख्ने भन्दा रमिता हेर्नेहरूको उपस्थिति बढी हुन्छ । सोही मुताबिक मान्छेहरू पाटनमा जम्मा भएका थिए । के आइमाइ, के बुढाबुढी, के युवायुवती, के गन्यमान्य सबैको उल्लेख्य उपस्थिति थियो । कोही ठूलो ढुंगा माथि, कोही पर्खालका आड लाएर, कोही चौतारामा, कोही आमा समूहको भवन आडमा उभिएका थिए ।

समाजमा भद्र, भलादमी कहलिएका केही व्यक्तित्वचौरमा बसेका थिए । तिनीहरूलाई यो मुद्दा चुनौतीपूर्ण थियो । त्यसैले गम्भिर थिए । त्यत्तिकैमा मुसुरीलाई केटाहरूले ल्याउँदै गरेको देखियो । महिलोलाई त क्लब घरमा राखेको हुनाले अघि नै समाजमा ठडाएका थिए ।

सबैको नजर त्यतैतिर आकृष्ट भयो । अब के हुन्छ होला ? अधिकांशको मनमा कुतुहलताजागेको थियो । माइलो भने सुनसान मानसिकतामा थियो । उसको मन मष्तिस्कमा कुनै बुद्धि, कुनै तर्क र कुनै संवाद खेलेका थिएनन् । दसैँमा पर्सेको बोकाको हालत जस्तो थियो ।

मुसुरीलाई माइलो छेऊ राखियो । हेर्दै बहुलाही जस्ती – कपाल फिँजारिएको, पेटीकोट मात्र लगाएकी, चप्पल पनि नलगाएकी, चोलाको माथिल्लो भाग खुला । केटाहरूले सभामा ल्याएर राख्न नपाउँदै मुसुरी परशुरामतिर फर्केर भनी–‘तैले गर्न खोजेको मेरो बेइज्जत हो, अरु के गर्न सक्लास् र तँ तरमाराले ?’
केही क्षण सबै जना स्तब्ध भए ।

पाटनको सभामण्डलमा अनेकौं प्रश्न मडारिएका थिए । कसले पहिला बोल्ने ? के, कसरी बोल्ने ? कतै मुसुरीले हिलो छोपिदिने त होइन ? ताकी त्यहाँ त्यस्ता मान्छे पनि थिए । कतिपयको छालामा कस्तो खोटी र कोठी कुन ठाउँमा छ भन्ने मुसुरीले बिर्सेकी थिइन । अझ बिसौने त अहिले वडाध्यक्ष । ऊ नै न्यायाधिश थियो । यो मुद्दा उसैको इजलासमा परेको थियो ।

वडो धैर्यवान् र सचेत भएर बिसौनेले भन्यो– ‘ल परमेश्वर हिजो राती के भएको थियो । नढाँटीकन धर्म सम्झेर भन, ढाँटिस भने न्यायमा तलमाथि पर्छ । समाजमा पञ्च भलाद्मीको नाक काटिन्छ ।’

परमेश्वरले आफू, विश्वास, गोवर्धन, त्रिलोक र अमरसिंह त्यही घरको बाटो हुँदै माथ्लाघरे काका काँ घरपैँचोमा गएको, मुसुरीको घरको बाटो हिँड्दा दैलामा लोग्नेमान्छेका जुत्ता देखेको, भित्रबाट भन्न नमिल्ने स्वर स्पष्टसँग सुनिएको र गाउँ समाजमा यस्ता कुकृत्यले नराम्रो असर पार्ने ठानेर हामीले दुवै जनालाई एउटै थलामा समातेर आज समाजमा बुझाएको व्यहोरा सिलसिलेवार तबरले व्यक्त ग¥यो । साथै दुवैसँग आफ्नो रत्तिभर दुश्मनी नभएको खुलासा ग¥यो । उसको जालसाजी कुरा सुनेर मुसुरीले दाह्रा किटी । उसले मनमनै भनी– ‘त कस्तो होस् र किन यस्तो गरिस् मलाई राम्ररी थाहा छ ।’ तैपनि ऊ आफ्नै पालोमा बोल्ने निश्चय गरी ।

परमेश्वर बोलेपछि सभा सुनसान भयो । सबै जना मुखामुख गरे । क्षणपश्चात सबैले आ– आफ्ना भनाइ राखे । कसैले पनि माइलो र मुसुरीको पक्षमा बोलेनन् । ती दुईको इच्छा, चाहना, आवश्यकता र बाध्यता बुझ्ने प्रयास गरेनन् । उल्टै घृणित लाञ्छना लगाए ।
मुसुरी विरक्त भएकी थिई । अलिकति विक्षिप्त पनि ।

माइलोमूर्तिवत भएको थियो । उसको मनमा भने एक हुल तर्कना ओहोर–दोहोर गरेका थिए । उसले सोचिरहेको थियो, कस्तो अबुझ समाज, देश विदेश नघुमेका कुवाका भ्यागुता जस्ता मान्छेहरू! कस्तो अप्ठ्यारोमा पारे… तर किन यस्तो गरेका छन् । उसको पनि लोग्ने नाई, मेरो पनि स्वास्नी नाई ।मन र कुरा मिल्यो, सकिहाल्यो नि । यिनलाई के को टाउको दुखाई ? यिनका आङ्मा हाम्ले छारो टाँसिदिएका, यिनका इज्जतमा हिलो पोतेका त छैनौं नि । किन कुरो बुझ्न नसकेका हुन् यी गाम्लेले ? यिनै गाउँले बाख्रो कराए बोको भा’को घराँ लान्छन् । भैँसीले राँगो खोजेर करायो भने राँगो भा’को ठाउँमा लान्छन् । हरेक प्राणीलाई आवश्यकता हुन्छ । यौन भन्ने प्राकृतिक चाहना नै हो । यस्तो सामान्य कुरा नबुझेर किन यत्रो रन्थमैलो र राइफाँडो गर्नुपर्ने ? किन समाजमा हाम्लाई ठडाउनुपर्ने ?

‘माइलो भाइको केही भन्नु छ कि ?’ अध्यक्षको बोलीले माइलो झसङ्ग भयो । त्यसरी झस्केको उसले विनासोचविचार भन्यो–‘गल्ती भै हाल्यो हजुर । म के कति हर्जाना तिर्न पर्छ तयार छु ।’
‘पैसाको धाक लाउँछस् अझ, तलाई त जुत्ताको माला लगाएर गाउँ निकाला गर्ने हो ।’ अमरसिंहले औंला ठ्डयाएर भन्यो ।

उसको चुनौती एका दुईलाई मन परेन तर कसैले खण्डन गरेनन् । एउटा बुढाले भने मुख खोले–‘होइन गाँठे, तैले नै निर्णय गर्ने भए चाहिने जो यतिमा मान्छे किन भेला हुनुप¥यो, किन समाज जोड्नु प¥यो ।’ सायद ती बुढा महिला र मुसुरीप्रति केही उदारभाव राख्थे ।

मुसुरीले वरिपरि हेरी । उसैसँग पधेँरा, खेताला र वनपाखा गरेका धेरै जसो महिलाहरू थिए । जो त्यहाँ रमिते बनेर आएका थिए । उनीहरू सबै पुर्ववत रूपमा बसेर हेरिरहेका थिए । मानौ त्यहाँ कुनै रामरमिता छ ।उनीहरू त्यही रमिता हेर्न आएका छन् ।

जहाँ हिजो मुसुरीलाई विविध नाता लगाएर बोल्ने लोग्नेमान्छे, युवा, केही केटाकेटी पनि चनाखो बनेर हेरिरहेका थिए । सबै मिलेर मुसुरीको इज्जत धुजाधुजा पारेको भान हुन्थ्यो । धुजाधुजा भएको इज्जत नालीमा फालिदिन सफल भयौं भन्ने भावमा सबै देखिन्थे । एउटी महिलाप्रति सहानुभूतिको एक बुँदा पनि त्यहाँ तप्केको थिएन । आफूमा आइलागेको निरपेक्षभाव देखेर मुसुरीका आँखाका डिल टिलपिलाए, रोक्न खोज्दा खोज्दै ऊ असफल भई । आसु आँखाको डिलबाट बग्न थाले । उसले सबैले देख्ने गरी हत्केलाले पुछि ।

आफ्नै आँसुले रुझेको हत्केलो देखेर मुसुरी झन् भक्कानिई । क्षणपश्चात्अलि संयम भएर सोच्न थाली, आँसुले मान्छेलाई कमजोर बनाउँछ । शत्रुपक्षलाई हसाउँछ । म कदापि कमजोर हुनहुन्न । मैले यो भिडलाई जित्नुपर्छ । यो अरु केही नभएर रमितेहरूको भीड मात्र हो । त्यसो ठान्दै मुसुरीले मन बलियो बनाई । आत्मबलको जोगाड गरी । तब भावुकताले छिपछिपे भएको उसको मनमा खनिज भरियो ।

त्यसपछि मुसुरीले हिम्मतका साथ भनी–‘अध्यक्षज्यू, म एउटा कुरा सोध्छु’
अध्यक्ष सशंकित भएर सोचे, कतै मेरो धोतीको फुर्को सबका सामु तान्ने त होइन । कतै मुसुरीले मलाई नङ्ग्याउने चाल बुनेकी त छैन ? चोरको खुट्टा काट भन्दा उचाल्छ भनेजस्तो भयो । एकताका मुसुरीसँग चलेको लठारोका घटना वडाध्यक्षका आँखै अगाडि आएर नाँच्न थाले ।

एकछिन सोच विचार गरी सचेततापूर्वक वडाध्यक्षले भन्यो–‘एउटा किन, दुई–तीन वटा जति सोध्छेऊ सोध न ! तिम्लाई सफाइको मौका नदिई हामी कुनै निर्णय गर्दैनौं ।’

अध्यक्षको यो कुरा सुनेपछि मुसुरीले भनी–‘के मेरो घरमा राती तपाईं आएर मसँग सुतेको भए यो परमेश्वरले यस्तो हर्कत गर्ने थियो ? हामीलाई यस ठाउँमा यसरी उभ्याउने थियो ?’

वडाध्यक्ष उसको कुरा सुनेर वडो हडबडायो । ओठ मुख सुक्यो । उसले अनुहार नीलो भनाउँदै भन्यो–‘के भन्दै छ यो मुसुरी ! सुर पाउन छाडिस् कि क्या हो ?’

मुसुरीले भन्दै गई– ‘हो, म सुर पाउन छोडे । म बौलाएँ । यो समाजका मान्छे हुनेखानेलाई एउटा व्यवहार, हुँदा खानेलाई अर्को व्यवहार गर्छन् ।सोझा साझालाई अनेक दुःख दिन्छन् । माइलो मगरको ठाउँमा तपाईं भएको भए कसले साहस गर्दथ्यो, मुसुरीको ढोका लात्ताले हान्न ? कसले साहस गर्दथ्यो समाजमा उभ्याउन ? आज सोझो मगर देखेर, म अवला आइमाइलाई हेपेर यो परमेश्वरले बदला लिन हाम्लाई यहाँसम्म ल्याइयो । भन्नु नभन्नु भन्यो, गर्नु नगर्नु ग¥यो ।’

मुसुरी यत्तिमै रोकिइन। उस्ले भन्दै गई–‘हो म ढाँट्दिन, यसले मसँग बदला लिएको हो । बदलाको भावनाले नै यो सबै कर्तुत गरेको हो । दुई वर्ष अघि रोदीघरबाट फर्कदा राती यसले मेरो हात समातेको थियो । त्यो राती यसले भनेको मानेको भए, त्योसँग डराएर या बसमा परेर लम्पसारिएको भए, आज यो दिन आउँदैनथ्यो । यो खानदानी ठूलो, ठालु हो भन्दैमा योसँग म किन सुत्ने ? किन यसको टाँगामुनि छिर्ने ? आफ्नो मु….. ; आफ्नो खुसी! मलाई जो मनपर्छ त्यससँग मनखुस गर्छु । माइलो मगर मलाई मन प¥यो । मैले उसलाई मन पराए । ऊसँग सुते, कुनै नौलो काम गरे र ? मैले कसको के बिगारे छु ? सक्छौ भने मगरसँग हिल्ला लगाइदेओ । त्यसो गर्ने तिमेरुको आँट छ ?’मुसुरी कड्किएर आफ्नो मनको भडास पोखी ।

धेरैलाई उसका कुरा सही लाग्यो । कतिलाई आफ्नो उपस्थिति निरर्थक लाग्यो । हेर्दाहेर्दै छेउछाउमा बसेका मानिसहरू फुत्त–फुत्त निस्केर छिन्नभिन्न हुँदै गए । यसै बेलामा वडाध्यक्ष पनि एउटा बहाना बनाएर सभाबाट हिँडे । उनी हिँडेसँगै परशुरामलाई के गरुँ ; कसो गरु ? जस्ता तर्क मनमासिर्जना भएकोे मुहारमा प्रष्टै देखिन थाल्यो ।

मौरीको रानो सरहका वडाध्यक्ष सभा स्थलबाट निस्केपछि भद्र–भलाद्मी पनि उठ्दै हिँड्दै गए । केही रमितेहरु एकाएक निस्कदै गए । सभा पातलिँदै गयो ।

‘जाऊ हिँड्नोस्’ मुसुरीले मगरको हात समातेर बाटो लागी । परमेश्वरलाई रिसाएको भैँसीका आँँखाले हेरेर उसकै अगाडिबाट हिँडी । बाँकी रहेका रमिते प्वाक्क परेर लाटाले पापा हेरे झैँ हेरिरहे ।

