कविता: शून्यताको विकल्प

असन्तुलित भावनाहरू परमाणुझैँ
धुलो र बताससँगै आलिङ्गनमा बाधिएर
बादलसँग उर्लदैछन्
खलबलाउँदैछन् बिचारहरू
हल्लिदैछन् गिदीका पुर्जा पुर्जा

जीवनरूपी खाताको पन्नाहरू मानौँ
कुनै तरुणी बिधवाको सारीझैँ
रङ्गहरू निलेर श्वेतामै भएर
हवामा चलमल गरिरहेछन्

यता हेरो शून्य
उता हेरो शून्य
चारैतिर शून्यता
शून्यताले क्लान्त पारेको छ मन
तर
शून्य पनि आफैंमा एउटा शक्ति हो
ऊ बिना संख्या निम्छरो छ
बिथोलिएको आत्मबल बटुल्दै
ज्ञानको राँकोले अज्ञानताको कालो ओडार नाप्दै
“कर्म नै धर्म हो”
सत्यता पहिल्याउँदै
जीवनको शून्यताका अघि
संख्या बसाउँदै
तल्लीन हुँदैछु म
आफूसँगै आफूलाई चिनाउन।