पोखराको साहित्यिक बजारमा भरखरै मात्र लिली अधिकारीको कविता सङ्ग्रह “पहराको फूल” फुलेर सुवासित छ । यतिखेर शिशिरको पाहारिलो घामको मोहकसँगै पहराको फूलको सुगन्ध मिसिएर मन मुग्ध बनाएको छ । केही समय अगाडिदेखि लिलीका फुटकर कविता पढ्दै आइरहेकी थिएँ । अहिले सङ्ग्रहको रुपमा आउन सफल भएको छ । समय पनि विकट पहरामा फुल्ने फूल जत्तिकै अनमोल बन्छ महिलाहरूका लागि । कुचो र कलम , चुल्हो र कार्यालयको व्यवस्थापन गर्दै कविता लेख्नु सजिलो छैन । विभिन्न साहित्यिक कार्यक्रमहरूमा समय मिलाएर उपस्थित हुन उस्तै कठिनाइ छ । सुप्रसिद्द अग्रज कवि तीर्थ श्रेष्ठ भन्नुहुन्छ, “कविता लेख्छु भनेर लेखिँदैन । न त लेखिएका सबै कविता नै बन्न सक्छन् ।” नभन्दै कविता लेख्छु भनेर लेख्न नसकेको अनुभव मसँग पनि छ र अन्य कविहरूमा पनि होला ।
लिलीका कविता सङ्ग्रहमा जम्मा ५६ ओटा कविताहरू छन् । कविताहरू कलात्मक छन् । जीवन र जगतमा भोगाइका तीतामिठा पलहरूको चित्रण गर्दै लेखिएका लिलीका कविताहरू मर्मस्पर्शी पनि छन् । कतै आशाका आँकुराहरू छन् , कतै विश्वासका टाकुराहरू छन् । कतै तृष्णा छन् त कतै वितृष्णा पनि छन् । कविता पढ्दै जाँदा केही कविताका पङ्क्तिहरूले मज्जासँग छोएको छ मलाई । “पहराको फूल” शीर्ष कवितामा पहराको फूल हेरेर आनन्दित हुन सकिने तर स्पर्श गर्न नसकिने भाव व्यक्त गरिएको छ । आमा कवितामा आमा सिङ्गो घरको उज्यालो हुन् भनिएको छ । हुन पनि वास्तवमा आमा संसारकै उज्यालो हुन् । “अर्काको छाता” कवितामा –
जोहो गर्न नसक्दा
एउटा सानो छाताको
रुझाएको छु मैले मेरा अमूल्य सपनाहरू – पृ.१९
यो कविता पङ्क्तिले मनलाई भित्रैसम्म छुन सफल छ । गहिरो भाव व्यक्त गरिएको छ ।
कविताहरू कलात्मक छन् । जीवन र जगतमा भोगाइका तीतामिठा पलहरूको चित्रण गर्दै लेखिएका लिलीका कविताहरू मर्मस्पर्शी पनि छन् ।
जीवन एउटा सङ्घर्षको नाम हो । सङ्घर्षसँग सामना गर्न नसके जीवन असफल बन्दछ । कविका कवितामा यस्तै भाव भेटिन्छन् । आँसु पनि शरीरभित्रै रहेको संवेग हो । हर्षमा खुसीका फूल मुस्कुराउने , दु:खमा आँसुको मूल फुट्ने प्रकृतिले नै मानवलाई दिएको संवेग हो । तसर्थ आँसु पिउँदै पनि आँसुकै दह माथि फूलहरू फुलिरहेका यथार्थ दर्शिएको कविता हो फूलको आँसु । यथार्थसँगसँगै कल्पनाको अतल गहिराइमा पनि पुग्न मन पराउँछन् कविहरू । त्यसैले भनेका छन् कसैले – जहाँ नपहुँचे रवि वहाँ पहुँचे कवि । पाठकलाई पनि कविता पढ्दा कल्पनाको संसारमा डुबान भर्न त्यति नै आनन्द आउँछ ।
बा उखु नरोप्नुस् न
पछि त्यो अँध्यारो घारी बन्छ
मलाई निकै डर लाग्छ ।
उखुघारी- पृ.२३
वर्तमान स्थितिलाई इङ्गित गर्दै लेखिएको यो कवितामा सम्भावित दुर्घटनाप्रति सचेत गराउँदै उखुघारी फाँडिदिनु भन्ने आग्रह गरिएको छ । तर आजका छोरीहरूलाई वर्तमान स्थितिलाई मध्य नजर गर्दै आफ्नो अस्तित्व आफै जोगाउन सक्ने शिक्षा दिइनु आवश्यक छ । न कि त्यो बाटो हिँड्दै नहिँड्नु , हिंड्न खतरा छ भनेर हिंड्नदेखि तर्साउनु । आजका छोरीहरू निर्धक्क भएर हिँड्न पाउनुपर्छ । यो वातावरण घरपरिवार, समाज र राष्ट्रले मिलाउनुपर्छ । डर छ भनेर नहिँड्न पनि त सक्दै सकिन्न ।
आशा, संरक्षण, बेइमानी, गति जस्ता छोटा कविता चोटिला र पोटिला छन् । यी कविताले पाठकको मन जित्ने छ । समग्रमा लिली अधिकारीका “पहराको फूल” ले सबैलाई सुवास दिन सफल बनोस् । आगामी दिनहरूमा अझै उत्कृष्ट कविताहरू पढ्ने सुअवसर प्राप्त होस् । काव्यिक उन्नयनको हार्दिक शुभकामना !!!




