नदी

कहिलेकाहीँ
मेरो सपनीमा
एउटा नदी उर्लिन्छ
सभ्यताको जीवन्त इतिहास बोकेको नदी
सभ्यता निर्माणका
सुनौला दिनहरू
दर्दनाक युद्धका व्यथाहरू
शान्ति र सम्झौताका कथाहरू
पोल्टामा बोकी हिँडेका कुरा सुनाउँछ
चिर प्रवाहमान नदी

तटस्थ छ नदी
न उसमा विजयोल्लास छ
न पराजयको ग्लानी
छ त केवल पक्षपातरहित यथार्थ

हिजोआज,
त्यो नदीको कलकलमा
जीवनका विजयगीतको धुन सुनिँदैन
मिलनको व्यग्रता देखिँदैन उसका आँखामा
समुद्र पुग्ने हतारमा अत्तालिँदैन नदी
कुनै रौनक छैन नदीमा

सभ्यताले काँचुली फेर्दै जाँदा
माझीहरूको ‘भाटियाली गीत’ गुञ्जिन छोडे
दुई किनारमा
पुलहरू ठडिए जताततै
पार जोड्ने पुलले
मानिसको मन जोड्न सकेनन्

अचम्मित छ नदी
सभ्यताको पाङ्ग्रो पनि कता घुम्छ घुम्छ

जति जति बुढो भयो नदी
उति उति नोस्टाल्जिक हुँदै एकोहोरिरहन्छ
विकसित सभ्यताको
फोहोरहरू सोहोरेर
नग्न मानसिकतावादी मानिसका स्वाँगहरू पखाल्दै
पापहरू धुँदै
न्यास्रो अनुहार लिएर आज पनि बगेको छ नदी

त्यो त्यही नदी हो
जो पवित्रताको प्रतीक थियो
आज सम्झिँदा आफैलाई नरमाइलो लाग्छ
बग्नै पर्ने बाध्यताले बगेको छ नदी
बस! बगिदिएको छ।