कांग्रेस प्रदेश १ सभापतिमा सिटौला पक्षका थापा विजयी

नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका छन्। पौडेल पक्षका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै नेता कृष्ण सिटौला पक्षका थापा सभापतिमा विजयी भएका हुन्।

सोमबार बिहान घोषणा भएको मत परिणाम अनुसार सभापतिमा थापा ८४४ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले ८४२ मत प्राप्त गरे।

उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन्। महामन्त्रीमा भुपेन्द्र राई र उमेश थापा विजयी भएका छन्। महामन्त्री थापा भने संस्थापनइतर समूहबाट विजयी भएका हुन्।

२ मतले प्रदेश सभापतिमा पराजित भएका गुरुराजले मागे पुनः मत गणना

सह–महामन्त्री महिलामा प्रमिला गच्छदार विजयी भइन्। सह–महामन्त्रीमा खड्ग फागो र बिनोदकुमार बस्नेत विजयी भए।

देउवा–सिटौला समूह र पौडेल–कोइरालाको समूह बनेको प्रदेश १ मा जम्मा १ हजार ७५२ मत खसेको थियो।

घिमिरेले पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका छन् । मत परिणाममा चित्त नबुझेपछि पुनः मतगणनाको माग गर्दै निवेदन दिएको घिमिरेले जानकारी दिए ।