राजसंस्था बोकी हिँडेको पुरस्कार पाएँ: थापा

राप्रपा अध्यक्षमा आफ्नो पराजय स्वीकार गरेका छन्। तर उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको भन्दै त्यसको भर्त्सना गरेका छन् ।

राप्रपा अध्यक्षमा थापालाई पराजित गरेर राजेन्द्र लिङ्देन विजयी भएका छन्। हार स्वीकार गर्दै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना। प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।’

निर्मल निवास अर्थात पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पार्टीको आन्तरिक प्रतिस्पर्धामा हस्तक्षेप गरेको भन्दै आलोचना गरेका थापाले लेखेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएका बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभकामना।’