शुक्रराज कांग्रेस गण्डकी प्रदेश सभापति लड्ने

नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गण्डकी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

पोखरामा सोमबार एक समारोहबीच उम्मेदवारी घोषणा गर्दै उनले लामो समयसम्म पार्टी सङ्गठनमा गरेको क्रियाशीलतालाई व्यवहारमा उतार्न आफ्नो उम्मेदवारी भएको बताए । पार्टीभित्रका अव्यवस्थाका कारण पार्टीलाई मात्र नभइ राष्ट्र र प्रजातन्त्रका लागि असर पारेको जनाउँदै उहाँले ती अव्यवस्थालाई हटाउँदै सङ्गठन मजबुत बनाएर आसन्न तीनवटै तहका निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आफूले प्रदेश सभापतिको जिम्मेवारी लिन लागेको स्पष्ट पारे ।

नेपाली कांग्रेस कास्कीको २०४६ देखि २०६१ सालसम्म पार्टी सभापतिको जिम्मेवारी सम्हालेका शर्माले २०४६ सालको प्रजातन्त्र पुनःस्थानपनाको आन्दोलन एवं २०६२÷६३ को जनआन्दोलनमा सक्रियता रहनुका साथै जेल जीवन विताएका थिए । उनी २०२३ सालमा गण्डकी छात्रसमितिको सदस्य, २०२६ सालमा तरुण दल कास्कीको अध्यक्ष, पार्टीको जिल्ला सदस्य, सचिवलगायत विभिन्न पदमा रही काम गरेका थिए ।

गत प्रतिनिधिसभा चुनावमा कास्की ३ बाट कांग्रेसका उम्मेदवार शर्मा एमाले नेता जगत विश्वकर्मासँग पराजित भएका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!