कथा: जमेको डर

बिजुली किन चम्किन्छ ? आँपको रुखमा सुन्तला किन फल्दैन ? बादरले घर किन बनाउदैन ? —-आदि | रामहरिकी चार वर्षे छोरीले बाबुसँग गरेका यी प्रश्नहरु हुन् | रामहरि दिक्दार भएर भने – जा उता कति जान्न परेको ? त्यसैबेला सुरमणि आगनको छेउमा आएर भने – कुकुरले के भन्छ, बाँधन | रामहरिले भने – आउनुहोस, यो कुकुर देख्दा मात्र डरलाग्दो हो | एउटा बच्चाले लौरो ताक्दा पनि कुइकदै भाग्दछ | सानोमा कुखुराको भालेले ठुगि रहन्थ्यो | त्यसैले लुते भयो |

सुरमणि खाटमा बस्नु अघि रामहरिकी छोरीले ‘नमस्कार अन्कल’ भनिन् | सुरमणिले भने – नमस्कार नानु, छोरीलाई त राम्रो संष्कार दिनु भएको रहेछ | नमस्कार भाइ ! रामहरिले प्रति उत्तर दिए – काँहा हजुरले नमस्कार गर्ने मैले गर्नु पर्ने हो | यी छोरीले सोधेको सोधै गर्दा बिर्सेछु | कतिको उत्तर दिने ? सबैको हुनु पनि प-यो, जान्नु पनि प-यो | सुरमणिले पनि आफ्नो दुखेसो पोखे – मेरो छोराले पनि सोधेको सोधै गर्दछ | पानी किन झर्छ ? मैले इन्द्रले झार्दछन् भने | पानी केमा ल्याउछन् ? किन देखिदैन ? पानी कस्तो हुन्छ ? —-आदि |

एउटा बिरालो रामहरितिर हेरेर म्याउ म्याउ ग-यो | यो देखेर सुरमणिले भने – मैले त बिरालो पाल्नै छोडे | सधै दु ध जुठो हाल्ने | रामहरिले भने – यो बिरालोलाई त सानोमा थोरै दुध धेरै पानी कुडेमा तताएर मुख गाडि दिएको अहिले सम्म दुध चोरेर खाएको छैन् । त्यतिखेरै दाह्री पालेका वृध्द सुची दाइ आए | उनलाई देख्ने बित्तिकै रामहरि झसँग परि सुरमणितिर सरे | सुजी दाइले भने – सानो हुदा जिमवाल साहेबले याहाँ बाबुलाई झोलामा हालेर लैजा भन्नु हुन्थ्यो | मलाई देखे डराएर लुक्नु हुन्थ्यो | अहिले आफै तीन सन्तानका बाउ बन्नु भयो | रामहरिले भने – यी दाइको काम खालि केटाकेटी डराउन दिने हो | मलाई अझैसम्म डर लाग्दछ | यो सुनेर रामहरिकी छोरीले भनिन् – वुवा पनि डराउने ! हा हा हा !

आगनको एक छेउको घाँसबाट एउटा मुसा फुत्त निस्केर अर्कोतिर भाग्यो | यो देखेर सुरमणि डराएर आबुई भने | रामहरिले भने – के मुसा देख्दा पनि डराउनु हुन्छ त ? सुरमणिले भने – मेरो पनि मुसासँग एउटा कथा जोडिएको छ | म सानो छदा एक दिन घरमा एक्लै थिए | दुई माने ठेकीमा राखेको घिउ चोरेर खान हात हाले | ठेकीमा पहिल्यै एउटा मुसा छिरेको रहेछ | त्यसले मेरो औला टोकि दियो | त्यसैले अहिले पनि मुसादेखि साह्रै डर लाग्दछ |

सुरमणिकी श्रीमती चिया ल्याएर आइन् | चिया दिदै उनले भनिन् – छोरी डरपोक छे अझै डरकै कुरा गरिरहनु भएको छ | सुरमणिकी छोरीले भनिन् – म त डराउन्न | मम्मी रवडको नली देखे सर्प भन्दै भाग्नु हुन्छ | सबै एकैचोटि मुखामुख गरेर हाँसे |

सुरमणि बालमनोविज्ञान पढेका व्याक्ति थिए | पाँच सात मिनेट भित्र घटेका ती घटनाहरु र कुराकानी बारे यसरी संलेषण गरे – हामीहरुले वालबच्चालाई अनावश्यक डर धम्की देखाउनु हुदैन | सोधेका प्रश्नहरुको सही जवाफ दिनु पर्दछ | परिवारका सदस्यहरुको व्यवहारबाट बच्चाहरुको मनोवृति, प्रवृति र धारणा निर्माण हुने गर्दछ | हामी अहिले पनि एक जना वृध्द व्याक्ति, मुसा र रबडको नली देख्दा डराउनुको कारण पनि वाल्यकालको अमीट छाप हो |

हामी बच्चाको सामु झुटो बोल्दछौ, नचाहिने कुरा गर्दछौ, जिस्काउछौ र गाली गर्दछौ | यस्ता कार्यहरुले वाल मन मस्तिष्कमा पार्ने असर बारे विचार गर्दैनौ | सकारात्मक संबेगहरुको बिकास वाल्यकालैमा गराउनु पर्दछ | सबभन्दा ठूलो बल आत्मबल हो | रामहरिले केहि परको बाङ्गो टिङ्गो रुख औलाउदै भने – त्यस रुखलाई अब सीधा बनाउन नसक्ने जस्तै पो रहेछ | त्यसपछि दुबै एक अर्कोको मुखमा केहि बेर हेराहेर गरि रहे |