कथा: बुबाको सहयोग

ओछ्यानमा ढल्किएर लुगलुग काम्दै स्वामीले सम्झन थाल्यो – आज त सोमवार बिहान पो रहेछ। यस्तो लाग्छ, मात्र केहीक्षणअघि शुक्रवार थियो, कति छिटो टुपुक्क सोमवार आइपुगेछ। उसले सोच्यो – आज स्कुल जान नपरेको भए!
ठिक नौ बजेपछि स्वामीले बिलौना गर्न थाल्यो, ” आह मेरो शिर दुखिरहेको छ।”
अत्यन्त उदारताका साथ आमाले स्वामीलाई आज घरै बस्ने सल्लाह दिइन्। ९.३० बजे जतिबेर स्वामी स्कुलको प्रार्थना घरमा रहनु पर्थ्यो त्यस समय आज ऊ आमाको कोठाको बेन्चमा ढल्किरहेको छ।

बाबुले उसलाई सोधे,”आज तिम्रो स्कुल लाग्दैन?”
” शिर दुखेको छ”, स्वामीको छोटो उत्तर थियो।
” बेवकुफ! लुगा लगाऊ र स्कुल जाऊ।”
“शिर दुखेको छ।”
“आइतवार अलिक कम बरालिने गर्नु अनि सोमवार तिम्रो शिर दुख्ने बिमार हुँदैन।”

उसका बाबु कत्तिको कडा प्रवृत्तिका मानिस हुन् त्यो स्वामीलाई राम्ररी थाहा भएकै हो। त्यसैले यसपालि उसले अर्को बुद्धि खटायो र भन्यो,”बुबा! म यति ढिलो क्लासमा जान मिल्दैन।”
“तिमी जानै पर्छ। यो तिम्रो आफ्नै गल्ती हो।”
“म यति ढिलो स्कुल पुगेँ भने सरले के सोच्नुहुन्छ?”
“तिमी भन्नू, मेरो शिर दुखेको हुनाले आज स्कुल आउन ढिलो भयो।”
“मैले त्यसो भन्नु हो भने उहाँले मलाई झपाड्नु हुनेछ।”
“हो त? त्यसो गर्नु हुन्छ? हेर्‍यौँ न त। उहाँको नाउँ के हो?”
“स्यामुअल.”
“के उहाँ सधैँ विद्यार्थीहरूलाई हप्काउनु हुन्छ?”
” उहाँ एकजना सारै रिसाहा खालका मानिस हुनुहुन्छ। विशेषगरी ढिलो स्कुल जाने विद्यार्थीहरूमाथि निकै रिस पोख्नुहुन्छ। मलाई स्वामुअलको कक्षामा जानै मन लाग्दैन।”
“उहाँ साँचै नै यस्तो रिसाहा प्रवृत्तिका हुनुहुन्छ भने तिमीहरू किन हेडसरलाई भन्दैनौ?”
“हेडसरसमेत उहाँदेखि डराउनु हुन्छ रे।”

यति भनिसकेपछि उसका बुबालाई आज ऊ किन स्कुल नगएको राम्रो त्यो थाहा हुन्छ होला भन्ने उसको ठनाइ थियो। तर बुबाको व्यवहारले हठात् एक अप्रत्यासित मोड लियो। उनले हेडसरलाई एउटा पत्र लेखेर स्वामीका हातमा पठाउने प्रस्ताव राखे। स्वामीका तर्फबाट गरेको प्रतिवादले उनको निर्णयमा कुनै परिवर्तन ल्याउन सकेन।
स्वामी स्कुल जान तैयार हुँदानहुँदै बुबाले हेडसरलाई एउटा लामो पत्र लेखे। उनले त्यो पत्र एउटा लिफाफामा भराएर बन्द गरे।

“बुबा! तपाईँले चिठीमा के लेख्नुभयो?” स्वामीले चिन्तित हुँदै सोध्यो।
“तिम्रो बारेमा केही छैन। यो हेडसरलाई दिनु र सोझै क्लासमा पस्नु।”
“हजुरले हाम्रा सर स्यामुअलको बारेमा पनि केही लेख्नुभाको छ?”
“हो, छ, धेरैथोक छ।”
“उहाँले के गर्नुभो र बुबा?”
“चिठीमा सबैथोक छ। यो तिमी पहिला तिम्रा हेडसरलाई दिनु।”

आफूलाई संसारको सबैभन्दा खराब मानिस भन्ने ठान्दै स्वामी स्कुलतिर लाग्यो। उसको विवेकले उसलाई सताउन लागेको थियो। स्यामुअलको बारेमा उसले दिएको बयान सही थियो कि थिएन ऊ आफै निश्चित थिएन। उसले केही सत्यता र केही कल्पना मिसाएर भनेझैं आफै अनुभव गर्‍यो।

स्यामुअलको बारेमा आफ्नो मन स्थिर गर्न ऊ केहीक्षण बाटैमा उभियो। हुन त स्वामुअल सारै खराब व्यक्ति पनि होइनन्। बरु व्यक्तिगत तरिकाले उनी अरू शिक्षकभन्दा धेरै मित्रवत् छ्न्। स्वामुअलको ऊप्रति एक विशेष श्रद्धा थियो भन्ने कुरा पनि स्वामीका मनमा आयो।
दोधारमा परी स्वामीको गिदी खलबलिन लाग्यो। उसले स्वामुअलका विरोधमा लगाएका आरोपहरू सही हुन् कि होइनन् भन्ने बारेमा ऊ अझ पनि निश्चित थिएन। ऊ जति जति स्वामुअलको बारेमा सोच्न थाल्यो उति उति दुखित बन्दै गयो। स्वामुअलको कालो अनुहार, उनका पातला जुँगा, दारी नकाटेका गाला र पहेँलो कोटको सम्झनाले स्वामीलाई पिरोल्न थाल्यो।

ऊ स्कुलको गेटभित्र पस्नासाथ उसका मनमा एउटा बुद्धि खेलायो। स्कुल छुट्टीपछि मात्र ऊ यो पत्र हेडसरलाई दिनेछ। दिनभरिमा यो पत्रका आरोपहरूको सत्यता प्रमाणित हुने स्वामुअलबाट केही भुल अवश्री होला।
स्वामी गएर उसको क्लासको दैलाको सँघारमा उभियो। स्वामुअल अङ्कगणित पढाइरहेका थिए। उनले स्वामीतिर हेरे। अब स्वामुअलले उसलाई मार झपाड्ने छन भन्ने स्वामीले सोचेको थियो।

“तिम्रो आधाघण्टा ढिलो भयो”, स्वामुअलले भने।
“सर, आज मेरो शिर दुखेको थियो”, स्वामीले जबाफ फर्कायो।
“त्यसो भए तिमी किन स्कुल आएका त?”
यो उसले स्वामुअलबाट आशा नगरेको प्रश्न थियो।
“बुबाले मलाई स्कुल क्षति गर्न हुँदैन भन्नुभयो,सर।”
यश कुराले स्यामुअललाई निकै प्रभावित भएझैँ देखियो। “तिम्रा बुबाले सम्पूर्ण शुद्ध काम गर्नुभयो। हामीलाई उहाँजस्ता अरू धेरै अभिभावकको खाँचो छ।

“कठैबरा बिचरा स्वामुअल”, स्वामीले मनमनै भन्यो, “मेरा बुबाले तिम्रालागि के गरेका छन् तिमीलाई के थाहा।”
“ठिक छ, जाऊ आफ्नो सिटमा गएर बस।”
दुख मान्दै स्वामी आफ्नो सिटमा बस्यो। उसले जीवनमा कहिल्यै स्वामुअलजति राम्रो मानिस भेटेको थिएन।
शिक्षकले गृहकार्यका खाताहरू हेर्न लागे। अब स्वामुअल पक्का रिसाउने छन् भनेर स्वामीले ठानेको थियो। तर, आज स्वामुअललाई निकै भलादमी जस्तो लागिरहेको थियो।
“स्वामीनाथन, खै तिम्रो गृहकार्य?”
“मैले गृहकार्य गरिनँ सर”, स्वामीले भन्यो।
“किन, शिर दुख्नाले?” स्वामुअलले सोधे।
“हजुर, सर।”
“ठिक छ, तिमी बस त”, स्वामुअलले भने।

” ४.३० बजे लास्ट पिरियडको घण्टी बज्नासाथ स्वामी किताब-कापी टिपेर कुद्दै हेडसरको कोठातिर हानियो। रुममा ताल्चा झुण्डिएको रहेछ। पिउनले एकहप्ताका लागि हेडसरले बिदा लिनुभएको छ भन्यो। स्वामीनाथन हतार हतार त्यहाँबाट भाग्यो।
ऊ चिठीसहित घर पुगेपछि बाबुले उसलाई भने,”यो पत्र तिमीले दिनेछैनौ भन्ने मलाई थाहा थियो।”
“तर, हेडसर छुट्टीमा हुनुहुँदो रहेछ”, स्वामीले भन्यो।
बाबुले उसको हातबाट पत्र खोसे र च्यातेर फ्याँकिदिए।
“यदि फेरि कहिल्यै स्वामुअलले तिमीलाई झपाडे भने सहयोग माग्दै मसँग नआउनु। तिमी स्वामुअलको गाली खाने लायककै हौ”, उनले भने।

मूल (अङ्ग्रेजी): R.K. Narayan