स्यानी उपन्यासमा हरेक पाठकले आफ्नै आमा देख्छन्

स्यानी मामाघर हजुरबुबाले राखिदिएको नाम हो । स्यानैमा हजुरबुबाले स्यानी भनेर बोलाउनु भयो ।घर, माइती,मावली सबैतिर स्यानी दिदी, स्यानी आमा, स्यानी बहिनी भनेर उनको नाम परिचित भयो । चेतन कार्की पोखरा हुँदा हिँडेरै आफ्नो गाउँ बाटारी पुग्थे ।प्राय शुक्रबार साड्गीतिक झमघट हुन्थ्यो उनको घरमा ।मामाघर बसेर हुर्किदै गरेकी स्यानी पनि रमाइलो हेर्न चेतन कार्कीको घरमा पुग्थिन।पिडीको डिलमा टुक्रुक्क  बसेर गीत सुन्थिन् । रमाइलो हेर्थिन् ।

              जान्न म त हजुरखुर्सानी बारीमा 

              हिलो लाग्छ हजुर नाइलनको सारीमाभन्थी, सानीले 

              अहिले पनि चर्चाको शिखरमा रहेको गीत  बाटारी स्याङ्ग्जा मै भएको साङ्गीतिक माहोल जन्मिएको हो। स्यानी सानै हुँदा जन्मिएको गीत अहिलेसम्म पनि उत्तिकै चर्चाको शिखरमा छ।आज स्यानी दिदी  भौतिक रूपमा नभए पनि उक्त गीत रेडियोमा  बज्दा मलाई स्यानी दिदीकै याद आउँछ । आँखाका किनारा रसाउन पुग्छन् ।आज फेरि तिनै मेरी स्यानी दिदीको सम्झना आउने गरी, मेरो आँखाको डिलै भत्काउने गरी स्यानी उपस बजारमा आएको छ । कवि, गीतकार तथा स्यानी कै  छोरा खगराज बरालले स्यानी उपन्यास  बजारमा ल्याएकाछन् ।

              आमाको अप्रत्याशित मृत्युबाट अत्यन्त भाव विह्वोल भएर पीडाका शब्दहरू उनेर तयार पारिएको छ उपन्यास ।उपन्यासको पहिलो अङ्क नै सामान्य पाठकहरूलाई सरल तरिकाले पढ्न निकै गाह्रो हुन्छ । जस्तै कठोर पाठकको पनि आँखा रसाउन पुग्छ । यो पङ्तिकारलाई सबै उपन्यास पढ्न निकै गार्हो महसुस भयो ।आँखामा आँसु र हातमा स्यानी लिएर  तीन दिन र धेरै छिन गरेर उपन्यास पढेर सकेँ । 

              राती नौ बजिसकेको थियो …………………… मोबाइलको घण्टी बज्यो उताबाट बा बोल्नु भयो ‘खब, आमालाई सन्चो भएन ।ट्याक्सी लिएर तुरुन्तै घर आइज’उपन्यासको पहिलो अनुच्छेद हो यो ।बुबाले  फोन गरेर घरमा बोलाएपछिको कुराबाट उपन्यासको कथाको सुरुवात हुन्छ । अन्तिमसम्म पनि आमा कै सम्झनामा उपन्यासका कथा र पटकथाहरू घुमिरहन्छन् ।भनिन्छ, अरूको लाखभन्दा आमाको काख प्यारो ।  छिट्टै नै आमाको साथ गुमाउनु पर्दा जुनसुकै छोराछोरीलाई पनि पीडा हुन्छ ।  आमा बाबाको सपना साकार पार्न अहोरात्र प्रयास गर्ने छोराछोरीलाई त हुने नै भयो ।आमाको दु:खद निधनले लेखकलाई असीमित पीडा भएको छ । नेपाल सरकारका पूर्व सचिवसमेत रहेका लेखकले आमाको सपना पूरा गरे तर आमाले देख्न पाउनु भएन । 

              उपन्यासको सेरोफेरो कास्की र स्याड्ग्जा वरिपरि नै घुमेको छ ।तेह्र दिन काजकिरिया गर्दा आमासँग बिताएका स्मरणहरूको अनुभूतिलाई लेखकले उपन्यासमा प्रस्तुत गरेका छन् ।लेखकका पाँच भाइमध्ये लेखक माहिलो छोरा हुन् ।सानैमा अर्थात अरू तीन भाइ नजन्मदै आमाले कान्छो भनेर बोलाएको । भाइहरू जन्मिएपछि गाउँलेहरूले माहिलो भनेर बोलाउँदा बालमनोविज्ञानमा परेको प्रभावलाई समेत उपन्यास समेटेका छन् । सत्यहरिश्चन्द्रको कथामा माहिलो बेचिएको प्रसड्गले लेखकको बाल मनलाई विक्षिप्त बनाएको प्रतीत हुन्छ । तेह्र दिन किरिया गर्दा हुने विभिन्न संस्कार र आमाको पूर्व स्मृतिमा नै उपन्यास केन्द्रित छ । उपन्यासमा प्रस्तुत भएका गरुडपुराण,  स्वस्थानी  कथाका केही सन्दर्भहरू अहिलेका पुस्तालाई अनौठो लागे पनि केही नयाँ तथ्यहरू बुझ्ने र जान्ने अवसरसमेत यस कृतिले दिएको छ । 

              ‘अहिले पनि आमा सेतीखोलातिर मामाघर गएकी छन् कि पोखरा तिर गएकी छन् जस्तो लागिरहन्छ ।…………… सिम्ले बारीमा तरकारी टिप्न गएकी पनि हुन सक्छिन् जस्तो लाग्छ ।……………….  कुनै दिन रातो सारीको सप्को काँधमा हालेर खुईईय सुस्केरा हाल्दै टुप्लुल्क आँगन आइपुग्छिन् कि जस्तो लाग्छ।’लेखकले उपन्यास अन्त गर्दाको अन्तिम अनुच्छेद हो यो ।यो अन्तिम अनुच्छेद लेखिसक्दा पनि लेखक आमा अझै भेट्न आउँछिन कि जस्तो लाग्छ । कही कतै गएकी होलिन् जस्तो लाग्छ । यसरी  उपन्यासको बिट मारेका छन् लेखकले ।

              विशेष गरी गीत,कविता, समालोचना, शिक्षा सम्बन्धी अनुसन्धात्मक आलेखहरूमा  कलम चलाइरहने खगराज बरालको पहिलो उपन्यास हो स्यानी । नेपाल साहित्यमा शोक काव्यहरू धेरै नै लेखिए, कित ऐतिहासिक उपन्यास पनि लेखिए तर कथामा आधारित भएर लेखिएको पहिलो  शोक उपन्यास हो स्यानी । 

              आमाको सम्झनामा लेखिएको यो उपन्यास आमाको दुख सड्घर्षका कथाहरूले भरिएको छ ।  स्याङ्जा र कास्कीमा प्रयोग हुने भाषिकाहरू प्रयोगले यो उपन्यास अझै बढी पठनीय भएको  छ ।जम्मा  दुई सय सन्ताउन्न  पृष्ठमा समेटिएको उपन्यास स्यानीमा तेह्र  ओटा अङ्क छन् । हरेक पाठकलाई हरेक अड्क पढ्दा आफ्नै आमाको सम्झना र मायाले  पगाल्छ । 

कृतिः‘स्यानी’

विधाः उपन्यास

लेखकः खगराज बराल

प्रकाशकः साङ्ग्रिला बुक्स प्रा.लि.

संस्करणः पहिलो (२०७७)

पृष्ठः २५७

मूल्यः ने.रु. ४७५

सुरज उपाध्याय ।