कविता: अर्थात्, कसरी हात पर्छन्, सुप्रवल विभुषणहरु…?

न प्रमुख पदासिनहरुको हुक्के बैठके
न सचिव न ठूला दलका नेताको आसेपासे
नउद्योगपति न प्रभावशाली विचौलियासँगको उठबस्
संघ, संगठनको फेर समातेर मौसम अनुसार टोपी फेर्न जान्नु पर्छ
दूर्गम वस्तीका दुःखी गरीब जनताहरु, कत्र्तव्यबोध मात्र हुन्
बुढानिलकण्ठ, खुमलटार वावालकोट नभएको गाउँमा
कसरी बस्छन् र ठूला माछाहरु, अर्थात् देशको लागि मरिमेटेर
कसरी हात पर्छन्, सुप्रवल विभुषणहरु…?

न सरकारी गाडी न अन्तर्वार्तामा बस्ने विज्ञहरुको सम्पर्कसूत्र
न सरकारी कर्मचारीले पढाउने लोकसेवाको तयारी कक्षा
न साँझको डिनर न कुनै भ्रमण भत्ताको पैसामा साझेदारी
कुनै चतुर कार्यकर्ताको खजाञ्ची बनेर कोशेली पठाउन जान्नु पर्छ
विकट गाउँका सोझा जनताहरु, जनगणनाका संख्याहरु मात्र हुन्
भित्तामा झुण्ड्याई दिएका दुई थान फोटाहरु मात्र भएका कार्यालयमा
कहाँबाट आइपुग्छन् ठूला माछाहरु, अर्थात् देश र जनताको सेवा गरेर
कसरी हात पर्छन्, सुप्रवल विभुषणहरु…?

ठूलो माछा बल्छीमा पार्न
गोलो घेरा भएको टोपी, अर्थात् आशिर्वाद राखेर टाउकोमा
ठूलै पोखरीको डिलमा धैर्यतापूर्वक ढुक्न सिक्नु पर्छ
आहारा हालेर अंकुशमा, पानीभित्र बल्छी खेलाउन जान्नु पर्छ
सुदूरका अनकन्टार गाउँ र वस्तीहरु, साना कुण्डहरु मात्रहुन्
अझै भन्ने हो भने, पातमा अल्झिएका पानीका फोकाहरु मात्र हुन्
त्यहाँ पर्दैनन् ठूला माछाहरु, अर्थात् पहुँचहीन जनताका सेवा गरेर
कसरी हात पर्छन्, सुप्रवल विभुषणहरु…?