राजनीतिमा उरन्ठेउला बिचौलिया

झगडीया दुबै पक्षको बिचमा बसेर आफ्नो स्वार्थ वा लाभको लागि चल-खेल गरी दुबै पक्ष  मिलाईदिन्छु भनी बिचमा लेनदेन गर्ने व्यक्ती बिचौलिया हुन। चलन चल्तिको भाषामा यीनिहरुलाई “दलाल वा दले” भनिन्छ। नेपाली बृहत शब्दकोश अनुसार कुनै बस्तु किनबेच गर्दा किन्ने र बेच्नेको बिचमा कुरा मिलाई नाफा खाने व्यक्ती दलाल हो।  बिचौलिया वा दलालको काम दुबै पक्षसँग साख्य बनी उनिहरुको हित र कल्याण हुने गरी कुरो मिलाउदछु भनी चोचो-मोचो मिलाउने, एक पक्ष सँग अर्को पक्षको खुराफाती गर्ने र अन्तत:  आफुलाई ब्यक्तीगत रुपमा जता बाट बढी फाईदा हुन्छ सोही पक्ष तिर टासिन पुग्दछन। आफ्नो स्वार्थको हिसाव-किताव गरी सके पछी एक पक्षमा खुलेरै चाकरी, चाप्लुसी मात्रै होईन उसैलाई मालिक मानी सेवा, टहल, ताबेदारी र सुसार गर्न थालदछन। 

राजनीतिमा देखिने बिचौलियाहरु आफुलाई समन्वयकारी, एकताका हिमायती, सिद्धान्त र आदर्शका पक्षपाती देखाउदछन। आफुलाई राजनीतिमा सेलिब्रेटीको रुपमा प्रस्तुत हुने यस्ता थुतुनाहरु कालान्तरमा भिलेनको पछाडि उभिने भिडमा रुपान्तरण हुने गर्दछन। नेकपा (एमाले) को फुट हुनु अगाडि के पी समुह (सस्थापन) र माकुने समुह बिचको झगडामा माकुनेको तर्फबाट बिचौलियाको भूमिकामा रहेका “कमरेड” हरुको बिचौलिया चरित्र प्रष्ट देख्न सकिन्छ। आफुलाई मार्क्सवादको बिद्धान ठान्ने, राष्ट्रवादको पर्यावाची हुँ भन्ने, युवाहरुको धुकधुकी मान्ने देखी जवजको व्याख्याकार ठान्ने सबै सबै उनिहरुकै शब्दमा मन्डलेश्वरको अगाडि लाचार निरह दासको रुपमा देख्न सकिन्छ।

पुरातन नेपाली सस्कारमा “चैते पानी” प्रथा छ। विवाह भएको पहिलो बर्षमा पर्ने चैत्र महिनामा विवाहित छोरी र छोरीका बाबुले एउटै घाट,पधेरा वा धाराको पानी खान नहुने। त्यसकारण माईत आएकी छोरी पनि एउटै पधेराको पानी बार्न चैत्र महिनामा आफ्नो माईतमा  बस्दैनन। त्यसरिनै माधव नेपालबाट बिचौलिया को जिम्मेबारीमा रहेका कमरेडहरु पनि चैते पानी बार्न मात्र नेपाल समुहमा आएका रहेछन भन्ने बुझ्न् सकिन्छ। आज थाहा भयो “कमरेड”हरुको सिद्धान्त, आदर्श, स्वाभिमान, आत्मसम्मान सबै भुसतिग्रे र महीतिग्रे रहेछन। डर छेरुवा, कातर, नामर्द, हुतीहारा, पानी मरुवा र  पानी आन्द्रे जस्ता शब्द यीनिहरुको  कर्म देखेर बनाईेएको हो जस्तो लाग्द्छ।  हिजो र आजको कर्म देख्दा लाज पनि लाजले लज्जित हुन्छ होला। राजनीतिमा कि शैद्धान्तिक आस्था हुन्छ वा ब्यक्ती बिशेषमा निष्ठा हुन्छ। आस्था र निष्ठाको दृष्टिकोणले महेस बस्नेत  वा सुर्य थापाहरु यी बिचौलियाहरु भन्दा श्रेष्ठ रहेछन। यिनिहरुले त जे गर्दछन त्यही बोल्दछन। तर  बिचौलियाहरु एउटा बोले तर अर्कै गरे। उनिहरुकै शब्दमा हिजो सम्म प्रतिगमनकारी, बिसर्जनवादी, दक्षिणपन्थी, स्वच्छ्याचारी, भष्मासुर जस्ता उत्ताउला गाली गर्ने तर आज लिच्छिवीकालिन राजाहरुलाई प्रशष्ति गरे जस्तै “परम भट्टारक महाराजाधिराज” भन्न् कसरी सकेका होलान? हिजो सम्म भौतिकवादी हुँ भन्नेहरु आज बिहानै देखी “राम नाम सत्य हो – स्वर्ग जाने   बाटो हो” भनी सङ्ख घन्टी बजाउदै प्रभुको जय जयकार र आरती गरेको देख्दा उदेक लाग्दो रहेछ।  हिजो सम्म आफुले स्थापित र मान्दै आएको बजरंगबली हनुमानको पुच्छरमा आगो  लगाउने यो कस्तो राजनीतिक बिचौलियापन हो? आफ्नो बचेँ खुचेको स्वाभिमानलाई चिलिम च्वाट गरी आफुलाई ठिमाहकरण गर्नु कस्तो लाचारिपन हो? साच्चै यिनिहरुको खान्की के हुन्छ होला? राजनीति वा कुनै दलको छनौट ब्यक्तिको निजी अधिकार हो। मैले यो दल वा समुह ठीक वा बेठिक यहाँ मेरो भनाइको आसय होईन। हिजोको बोली र आजको बोली र व्यबहारमा उल्टो देख्दा राजनीति बिचौलियाहरुको चरित्र देखेर छ्क्क परेको मात्र हो।

कुनै गाउमा एउटा महायज्ञ पछी आरती हुँदै थियो। आरती संगै दानपात्र पनि भक्तजन सामु आयो। सबै भक्तजनहरुले  आ-आफ्नो गक्ष अनुसार दान पात्रमा दान गर्दै थिए। त्यही भिड्मा एकजना गाउँले पनि थियो। उसले पनि आफ्नो खल्तिबाट दस रुपया को नोट झिकेर दान पात्रमा हाल्यो र भिडबाट बाहिर निस्कन लाग्यो। पछाडि बाट एकजना बृद्द महिलाले एक हजारको नोट ती ब्यक्तीलाई दिईन। त्यो ब्यक्तिले ती महिलाको हातबाट रु एक हजारको नोट लियो र दान पात्रमा हालिदियो। देख्दा बिपन्न जस्तो देखिने ती महिलाले रु एक हजार दान गरेको देखेर  त्यो ब्यक्ति ती महिलालाई भिड बाहिर आएर भेट्यो र भन्यो- ओहो तपाईंले त एक हजारनै पो दान गर्नु भयो त! त्यो मनिसको कुरो सुनेर ती महिलाले भनिन- तपाईंले दान गर्ने रु १० निकाल्दा त्यो हजारको नोट भुईमा खस्यो र मैले टिपेर तपाईंलाई दिएको हु।  तपाईंले त दानपात्र पो हाल्नु भयो। बृद्दको कुरो सुनेर ती मानिस दुखी: भयो, न धर्म कमायो न पैसा बच्यो। आज माधव नेपालको हालत पनि त्यही मान्छे जस्ता भएका छन। आँफैले कमाएको सम्पत्ति अर्कैको नाममा आँफैले दान गरे जस्तो भएको छ।

जसरी  जग्गा बिचौलियाहरुले खोला बिचको जग्गालाई पनि एक नम्वरी अब्बल घडेरी बनाई बेच्ने क्षमता देखाउदछन। त्यसैगरी राजनीतिका बिचौलियाहरुले पनि देश जनताको नाममा मार्क्सवाद, लेलिनवाद   छेपारो बिचारधाराको सिद्धान्त ल्याउन सक्दछन। अहिलेका बिचौलियाहरुले सिपाही बिनाको भगौडा जर्नेल जस्ता कमरेड बादलहरुलाई सबभन्दा बिजोग बनाएका छन। दल भित्र लगभग तेर्सो दर्जाका राम बहादुर अब आठौ बारियतामा धकेलियका छ्न। लचक्दार सोफामा गमक्कको बसाईबाट मुडामा टुसुक्क बस्ने भएका छन।   

राजनीतिमा उडन्ते, उरेन्ठ्याउला, लालची, लोभि, लोलुप, किच्चक र पिपल पाते ढोगीहरु रहेसम्म देश र जनताको भलो हुँदैन। राजनीतिका बिचौलियाहरुलाई समयमै चिनौ र बहिस्कार गरौ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।