मुक्तकहरु

मेरो अधरको हाँसो तिम्रै मुस्कानमा अडेको छ
तिम्रै मिठो मुस्कानले त मेरो हिम्मत बढेको छ
म त हराएकी हुने थिएँ कता हो कता यो संसारमा,
तिम्रो साथले प्रगतिको शिखर चढेको छ ।


म चाहन्छु कि यो भूमि मान्छे बेच्ने देश नबनोस्
कसैले मलाई हेरी दासहरूकी आमा नभनोस्
बिन्ती छ स्वाभिमान यति त जोगाइ देऊ कि,
मेरै सन्तानको सट्टा कसैले नोटका बिटा नगनोस् ।


छोरीमात्र हैन आमा म छोरो पनि बेचिएको छु
नलाग्ने खुकुरीको धारले दिनरात रेटिएको छु
केही टुक्रा नोटहरूमा स्वाभिमान धितो राखेर,
पलपल दासहरूझैँ बात बातमा हेपिएको छु ।


सुन्दर देखिनलाई सुन लाउनु पर्दैन
बैगुन नगरे पुग्छ गुन लाउनु पर्दैन
बुझ्दै छु वचनले नि पोल्दोरहेछ छाती,
खोजी खोजीकन नून लाउन पर्दैन ।


हरेक दिन एक मन रहर बाँचेकी छु
आँशुका भेलसँगै लहर बाँचेकी छु
धनी घर भनेर केटो छोपी दियौ बाबा
पलपल उनले दिएको कहर बाँचेकी छु ।


मेरो प्रेमको स्तम्भ तिमीमा अझै खडा छ भनेर
तिमीसँग छुटिएका ती हरेक पलहरूलाई गनेर
मायाको न्यानो पोटली बनाई लिएर आउँदैछु प्रिय,
यो जुनीभरको लागि केवल तिम्रै प्यारी बनेर ।


तिमीसँग रिसाएर नबोलेको हैन प्रिय
मनको पीडा मनमै राखी नखोलेको हैन प्रिय
जिन्दगीको दोसाँधमा तिमीसँग बाँच्नलाई
प्रेम गीत हसदयमा नघोलेको हैन प्रिय ।

प्रदेशसभा सदस्यसमेत रहनुभएकी मुक्तककार भण्डारीको मुक्तक सञ्चयन जिन्दगीको दोसाँधमाबाट साभार