हिंसा र अहङ्कारले डडेर
उडेको खरानीको धुलो
पिठ्युँबाट टकटक्याएर
शान्तिको ठुलो श्वास फेर्दै
सत्यको बाटो नाप्तै
निश्चित लक्ष्य ताकेर
तीब्र जोड्ले
हान्न थाल्यो उसले
गिदीका पाटाहरूमा अध्ययनको झटारो
“अल्प विद्या भयङ्करी ” उसले बुझ्दैछ
बुझ्न धेरै बाँकी छ
त्यो पनि सहर्ष स्वीकार्छ
सङ्ग्राम जित्न ढुङ्गाका चिउरा चबाउनु पर्छ
बोकेको कुकुरले मृग मार्न सक्तैन
र त
ऊ लडे पनि
झरे पनि
फेरि उठ्छ
हिँड्छ
धैर्य र साहसको भारी बोकेर
विश्वासिलो अँगेनाको न्यानो पाउने आशामा
उसको धैर्यलाई अगुल्टोले झोसियो
उसको साहसलाई तराजुमा तोलियो
तर
असफलताको हुन्डरीलाई आत्मविश्वासको छाताले छेकेर
चट्टान बनी अडिग रहन्छ जीवन यात्रामा
प्रत्येक मोड र कुइनेटाहरूमा
होसले पाइला टेक्तै
हृदयभरि दया र ममताका मानचित्र टाँसेर
पगालिदिन्छ सबै चट्टानहरू
मानौँ मैनबत्ती नै हुन्
सीसाका घरमा बसेर
अर्कोलाई ढुङ्गा हान्दैन ऊ
थुक्तैन आकाश फर्किएर
अर्काकै काँधमा चढेर अग्लिन नखोजी
आफै भर्याङ हाल्दैछ आजकाल
ज्ञानको महलको अन्तिम तलोसम्म पुग्न ।





