कविता: आज पनि दिन अपूर्ण नै बित्यो ‘

दश बज्नुअगावै
हतार हतार अफिस पुगेर
औंला थिचेर विद्युतीय मेशिनमा
हाजिर जनाएपछि बल्ल जोगिन्छ जागिर, र
अडेसामा रातो बुट्टे रुमाल राखेको मेचमा आरामले बसेर
विदेशीदाताको सहयोगमा जडिएको
कम्प्युटरको स्विच अन गरेर
ठूलो मनिटरमा फेसबुक पेज खोलेसँगै सुरु हुने गर्छ अफिस

आज फेसबुक खोल्दा, ठूला नेता र तिनका आसेपासेले
वडा अध्यक्षको मितको निधनको खबर ब्रेक गरिसकेका रहेछन्
राजनीतिसम्म पुग्ने अंकुश राख्नै प¥यो
आफूलाई गाउँलेसँग नजिक रहेको देखाउनै प¥यो
स्तब्ध छु, हार्दिक समवेदना लेख्नै प¥यो
त्यसैको तल
महानिर्देशकले आफ्नी श्रीमतीको
जन्मिदिनको केक काटेको फोटो
भर्खरै अफिस आएरै हाल्नु भा’को रै’छ
चलनचल्तिको चाकरी बुझाउनै प¥यो
“हार्दिक शुभकामन ाम्याम“ लेख्नै प¥यो
त्यसपछि दक्षिण चीन सागर विवादको समाचार
आफ्नो वालमा पोस्ट गरेर
आफूलाई विश्व राजनीतिको जानकार रहेको सावित गराएँ
आफू सम्बद्ध कर्मचारी संगठनको सचिवले
वर्तमान राजनैतिक घटनाक्रमको बारेमा राखेको
फेसबुक प्रस्थितिमा
आफ्नो प्रतिक्रिया लेखेर
भोलिको लागि टेक्ने ठाउँ पनि
सन्तुलित तवरले सुरक्षित राख्नै प¥यो
कति सजिलै बित्छ अफिसम ासमय
यति गर्दागर्दै बिहानको साढे एघार बजिसकेको थियो

कार्यालय सहयोगीले रातो चियाको कप टेबुलमा राखिदिनुभयो
चिया खादै केही फाइल हेरेँ
प्राकृतिक प्रकोप पीडितका
केही बेवारिसे निवेदनहरुबाहेक
नेता, हाकिम व ाचिनेजानेका कसैका लागि
गरिहाल्नु पर्ने खालका कुनै काम देखिएन
यो अफिस नै यस्तै छ
नगरिहाल्नु पर्ने कामको दवाव छ
नगरिहाल्न मन लाग्ने कुनै आकर्षण छ
फायल बन्द गरेँ, पैसा झिक्नु थियो
एटीएम खोज्नबाहिर निस्केँ, पैसा झिकेँ
खाजा खाएर अफिस फर्कदा
साढे दुई बजेको थियो
कम्प्युटर अन नै थियो
अनलाइन समाचारहरु पढ्दा पढ्दै
टिकटक हेर्दा हेर्दै, र
युट्युबमा भिडियोहरु खोज्दाखोज्दै
कति छिटै पाँच बजेछ

आकर्षक कार्यालयमा सरुवा भएर
विचौलियामार्फत शक्तिशाली ठेकेदार, र
प्रभावशाली नेताहरु सम्मपुग्ने सपनाहरु जस्तै
समाचार, टिकटक, र युट्युबका भिडियोहरु
धित मरुञ्जेल हेर्नै नभ्याई
आज पनि दिन अपूर्ण नै बित्यो ।