हिजोआज म एक रुमानी कविता लेखिरहेछु
कागजको नाउ बनाएर सागर तर्ने सपना देखिरहेछु
जिन्दगीभर कमाएका
सुख र दुखका पोकाहरू
लाञ्छना र अवज्ञाका सबै सबै आम्दानीहरू
यही नाउमा भराएर
सागर तरेर हिमाल चढ्नु छ मैले
हिमाल चढ्नुअघि लामो लडाइँ लड्नु छ
काँधमा बोकेको पुर्खाको धरोहर
“संसार जित्ने गोर्खे”
पुर्खाकै तक्माहरू हेरिबसेको छु
अनि कहिलेकाहीँ भूपिलाई पढ्छु
कस्तो खिल्ली उडाएका हाम्रो स्वाभिमानको
“हामी बुद्धु छौं र त वीर छौँ”
इतिहास मेरो वीरताको मात्र थिएन
सरलताको पनि थियो
तर,
न वीरता, न सरलता
दुवै पराजित भए
समयको चक्रव्यूह तोड्न नसक्ने
अभिमन्यु पुर्खा
मेरा पुर्खा सारै सोझा थिए
आँखामा हाल्दा नबिझाउने
पसिनाको थोक बिक्रेता
उधारोमै बेच्थे पसिना
फुर्काइलाई विश्वास गरे
गुणरत्नमाला र निर्णय सिन्धु घोक्ने पुर्खालाई के थाहा
राष्ट्रसङ्घको कुन बडापत्रमा
समेटिएका छ्न् मानवाधिकारका बुँदाहरू
लोकतन्त्रका बारेमा के लेखेका छ्न् लिङ्कनले
के के सर्तहरू पूरा भएपछि प्राप्त हुन्छ नागरिक अधिकार
निर्णय सिन्धु पढेर
कुनै ठोस निर्णय लिन सकेनन् नागरिक कसरी बनिन्छ
हक अधिकार कसरी सुरक्षित हुन्छ
सधैंका लागि
बैगुनी हुन नसक्ने पुर्खाले
गुनी र बैगुनीको सीमा छुट्ट्याउने
कुनै प्रयास गरेनन्
उनको अन्तिम चाहना
गोदान गरिदिनु पर्यो वैतरणी तर्न
समयको पुच्छर समाएर
वैतरणी तर्न सकिन्छ भन्ने उनलाई के थाहा
कुराहरू धेरै छ्न् लेख्नु पर्ने
तर, हाल म एउटा नयाँ प्रयोगको प्रेमकै कविता लेख्छु
मैले पनि तर्नु छ सफलताको वैतरणी
प्रतियोगिताका खुड्किलाहरू नाघेर
विजयको हाँसो हाँस्नु छ
हे मेरा पुर्खा!
एउटा लाइक त ठोकिदिनु है।




