मुटुको बाँध भत्काएर
जब बग्न थाल्छ आत्मीयताको भल
पाहाडी झरनाको निर्मल पानीझैँ
अविरल प्रतिध्वनित हुन्छ
एकान्त पलहरूमा पनि
तिमीले जान्नु,
मित्रताले जरा गाडेकै हो
अन्तरमनमा डेरा हालेकै हो मित्रताले यसघरी
जन्मदिन अथवा विवाह वार्षिकमा
उपहारको पोको पठाउन सकेँ/सकिनँ
बन्धुत्व दिवसको दिन
सूर्योदय हुँदाहुँदै
शुभकामनाहरू पठाउन भ्याएँ कि भ्याइनँ
अथवा अरू दिवसहरूको शुभमुहूर्तको
सूर्यास्तको समयमा
ब्रह्मपुत्रको निलो पानीमा आफ्नो छायाँ
हेरिरहेको बेला
मैले ‘हाय’ ‘हल्लो’ भने कि भनिनँ
यी सबै कुराहरूको महत्व कति हुन्छ ?
सायद, धेरै औपचारिकता निभाइनँ होला
देखासिखी गर्ने समय भएन होला
अनि यसरी नै चिप्लिएर गए होलान्
प्रत्येक दिवस
विशेष दिनहरू
तर, यदि तिमी हाँसेको दिन
म पनि हाँसेको भए
तिमी रोएको दिन
म पनि निस्ताएको भए
तिमीले याद राख्नु
म पनि तिम्रो अभिन्न मित्र नै हुँ
सभ्यता र मित्रतामा कति प्रतिस्पर्धा छ हेर त !
जति जति सभ्यता विकसित हुँदै जान्छ
उति उति साँघुरिँदै गएको छ मित्रताको आयतन
आत्मीयता बस्ने कोठाहरूलाई
स्वार्थले आफ्नो वशमा पारेर
धमाधम मित्रताका परिभाषाहरू पुन:लेखन गरिरहेछ
मित्रता समयको मापले जोख्न नसक्ने अभिधा हो
सौन्दर्यको तराजुले उठाउन नसक्ने चिज हो मित्रता
उद्देश्यको भिन्नता रहे
कहिल्यै स्थायित्व हुँदैन मित्रता
कुनै पनि घडीमा तोडिन सक्छ
असन्तुलित मित्रता
मित्रता बजार बजार कुदिरहँदैन बिक्नलाई
शुभकामनाको लागि झोला थाप्तै हिँड्दैन मित्रता
उपहारका पोका बटुल्दैन ऊ
कुनै मँहगाइले रोक्न सक्तैन प्रकृत मित्रताको आयात





