दलदलमा ठूला दलहरु

धरै समय पछी दुई जना साथीहरुको भेट भएछ। लामो समय पछिको भेटमा उनिहरुको आपसी घर-परिवार, उन्नती-प्रगती, सुख-दु:ख आदिको बारेमा भला-कुसारी गरेछन।  यसै क्रममा एक जनाले अर्कोलाई सोधेछ- “के तपाईंले लेख-पढ गर्न सिक्नु भयो”? दोस्रो साथीले भनेछ- “पढन त आउँदैन तर लेख्न सिके”। पहिलो साथीले फेरी  सोधेछ- “के लेख्नु हुन्छ”? साथीको प्रश्न सुनेर दोस्रोले भनेछ- “खै मैले के लेख्दछु मलाई पढन आउँदैन। मैले पहिले नै भनी सके नि मलाई लेख्न मात्र आउँदछ तर पढन आउँदैन भनेर”।

माथि उल्लेख गरिएको दोस्रो ब्यक्ती जस्तो (लेख्न जान्ने तर पढन नजान्ने) भएको छ नेकपा (एमाले)। पार्टीका सरदार आफ्नै घरको धुरिमा चडेर आफ्नै पार्टीका वरिष्ट नेतालाई चोर औंला देखाउदै  “त गद्दार होस्, त अपराधी होस्, त देशद्रोही होस, तेरो सत्यानास होस्, तेरो नर्कमा बास होस्” जस्ता गाली गलौज गरेको देख्न र सुन्न पाईन्छ। फेरी भोलिपल्ट बिहानै आउनुहोस् सगै बसौ, जे जस्तो खस्रो-मिठो छ भागशान्ती बाडीचुडी खाऔ जस्ता फर्मान आउँदछन। के नेकपा (एमाले) विश्वासघाती, धोखेवाज, अपराधी,  देशद्रोही, बेईमानहरु वा गद्दार, प्रतिगमनको मतियार, पाखण्डी, घमन्डी, धुर्त, बज्रस्वाठ, छलकपटेहरुको आश्रयस्थल हो? होईन भने माथि उल्लेखित तमाम नकरात्मक भिलेन चरित्रका पात्रहरुको बिच एकता किन र् कस्को लागि हुन्छ वा गरिन्छ? धारे हात पनि लगाउने र अङ्गालो पनि हाल्ने पात्र र चरित्रहरुबाट कस्तो राजनैतीक आदर्श र नैतीकता अपेक्षा गर्ने? मुखियाहरु नाक फुलाएर बस्ने अनी आफ्ना ढोके, बैठके, हुक्केहरुलाई खेतला बनाएर एकताको राग अलाप्ने कुन मार्क्सवादी, लेनिनवादी संगठन र नेत्रृत्व पद्दति हो? यी दुई गुठहरुलाई देख्दा लाग्दछ- उही मुलाको सिन्की, उही मुलाको चाना। कोईलीले कागलाई काले भन्नु र कागले कोईलीलाई काले भन्नु उस्तै उस्तै हो।  शक्ती, स्वार्थ र सत्ताको लुछाचुडीको दल-दलमा फसेको एमाले बाट  साच्चिकै देश र जनताको हित र कल्याण गर्दछ भनी स्वच्छ मनले एमाले भएकाहरुले ठन्डा दिमागले सोच्ने बेला भएन र?

एउटा गाउमा बिजुली आएछ। बिजुली बत्ति आएको उपलक्षमा गाउलेहरु खुशीले नाच्न थालेछन। गाउले सँगै गाउमा भएका कुकुरहरु पनि नाच्न थालेछन। कुकुरहरु पनि खुशीले नाचेको देखेर गाउलेहरुले कुकुरहरुलाई सोधेछन “हामी त बिजुली बत्ती आएको खुशीयालिमा नाचेको। तिमीहरु त रातमा पनि आँखा देख्दछौ, किन खुशी भएको?” गाउलेको प्रश्न सुनेर कुकुरहरुले भनेछन- “बिजुली ल्याउन ठाउँ ठाउमा बिजुलिका पोल (खम्वा/लठ्ठा)  पनि त गाडीएको छ नि। अब हामी पनि बाटो छोडेर झ्याङ र बुट्याङ तिर जानु नपर्ने भयो भनेर नाचेको।”

अहंकारको बिषालु भाईरसले अकालमै संघीय सरकारको अवसानले कागतालीमा नेपाली काग्रेसलाई अपुतालिको सम्पत्ति जस्तो गरी सत्ता हात परेको छ। बिजुलिको पोल देखेर नाच्ने कि बिजुली बत्तिको उज्यालो देखेर नाच्ने हो त्यो उसैको छनौट हो। काग्रेस आफैमा गुटै गुटको महासंघ हो। कोही आफ्ना परा-पुर्खाको लगानिको ब्याज असुली गर्दैछन भने कोही ससुरालिको धाक-धम्कीको सत्ता असुली गर्दैछन । काग्रेस भित्र ७० बर्ष कटेका बाजेहरु सबैले आ-आफ्नै चुलाहरुमा खिचडी पकाउदै छन। पुरानो ग्यास्ट्रिकले गलाएका जस्ता भान्से बाजेहरुले पकाउने खिचडी खान कार्यकताहरु एता उता कुदेको देखिन्छ। नेपाली काग्रेसको पाचन प्रणाली निकै जवर्जस्त छ। बिगतमा पनि जस्ता पाता मात्र होईन फलामै फलामले बनेका सरकारी उधोगहरु मज्जाले पचाएकै हो। ठुला जहाज मात्र होईन गण्डक जस्ता ठुला नदिहरु पनि सर्लक्कै पिएकै हो। “प्रतिगमनकारी” ले देखाएको ठाउमा टुक्रुस्स बसेर संबैधानिक परिषदको बैठकमा साक्षी किनरा भै आफ्नो भाग-बिलो बुझेकै हो। राजनीतिकर्मीहरुको टाउकोमा मुल्यको ट्याग लगाएर टाउकोहरुको कारोवार पनि गरेकै हो। अहिले पनि एमसीसी नामक कपाली तमसुकमा दाँया-बाया ल्याप्छे ठोकेर आफ्नै हातको कालो मोसो आफ्नै अनुहारमा दलेर बसेको छ। राजनीति बर्गिय हुन्छ र काग्रेसले बर्गिय राजनीति गर्दछ। त्यसमा कुनै गुनासो छैन।  आफ्नो जन-बर्गिय सगठन मात्रै होईन पार्टीकै अधिबेशन गर्न नसक्ने दलले अरु के नै लछारपाटो लगाउला? काग्रेसको “प्रजातान्त्रिक समाजवाद” कुनै  नक्कली डाक्टरले दिएको औषधी जस्तो हो जसको “एक मात्रा राती निदाए पछी खाने र अर्को मात्रा बिहान बिउझनु अगाडि खाने”।

एक पटक एउटा बृद्द दम्पती बिच घर-झगडा भएछ। झगडा बढदै जादा गाउका भद्र-भलादमीहरुको कचहरी सम्म पुगेछ। कचहरिका मुखियाले झगडाको मुल कारण के हो भनेर झगडालु बृद्द दम्पतीलाई सोधेछन। दम्पती मध्य श्रीमतिले भनिछ्न – “हामी बिच झगडा हुँदा बुढाले गाली गर्दा मैले सबै सुन्दछु तर जव मैले गाली गर्न सुरु गर्दछु तव यी बुढाले आफ्नो कान सुन्ने मेसिन (हेरिङ्ग एड) आफ्नो कानबाट झिक्दछन र मैले गाली गरेको सुन्दैन्न।

नेकपा (माओवादी केन्द्र) को हालत पनि ती सुस्त- श्रवण शक्ति भएका बृद्दको जस्तै भएको छ। जनताको कुरा, भावना र आलोचना सुन्न छोडेको छ। अरु राजनीतिक दललाई उपदेश त दिन्छन तर आफुले टोप बहादुर वा लेखराजहरु जस्तालाई हुर्काएका छन। अझै पनि कती राम बहादुरहरु त्यो दलको केन्द्रमा हाली-मुहाली गर्दै  होलान। मन्त्रीको लागि दाम्लो छिनाएर शक्ती केन्द्रको वरिपरी घुम्नेहरु प्रस्टै देख्न सकिन्छ। समाबेशिताको नाममा नारायण काजि वा कोटामा गिरिराजमणी मन्त्री हुनु, जनयुद्दका महान सहिद, बेपत्ता परिवार  र घाईतेहरुलाई बेवास्ता गर्दै नयाँ ल्यारक्याङले शासन सत्तामा रजाई गरेको देख्दा धान फले निहुरिन्छ, कोदो फले ठडिन्छ को ठीक उल्टो भएको छ।  भन्डार खनेर आगन पुर्नुको कुनै अर्थ राख्दैन। कहिले दुना सँग कहिले टपरिसँगको संगतले दिगो समाधान दिदैन। अराएको काम र भराएको मानोले जिन्दगी गुजरा हुँदैन। आफ्नो सिद्दान्त, आदर्श , जीवन पद्दति र आचरणमा यी र यस्तै रवैया रहेमा चित्र बहादुरको जनमोर्चा जस्तै सत्ताको मुल खेलाडीबाट हात धुनु पर्ने छ जुवाको खालमा रमिते जस्तै जितौरिको निगाहमा खुशी हुनु पर्ने छ।

मधेसी जनता माथि बर्षौ देखिको बिभेदको बिरुद्द आफुलाई भिष्मपितामह हुँ भन्नेहरुले मदेसी जनता माथि गरेको बेईमानी सायद अन्त कतै देख्न र सुन्न पाईन्छ। हिजो सम्म ओलिको मतियार भएकाहरु एउटा समुह घर न घाट्को भएका छन भने त्यही भित्रका टाउको भएका  मुर्कट्टहरु गुट बदली सकेका छन। “पटुकामा रुपैया- बटुकामा भात” भन्ने सिद्धान्त भएकाहरुबाट मदेसी जनताको मुक्ती कल्पना बाहिरको कुरा हुनेछ। आफु र आफ्नो स्वार्थको लागि Dog (कुकुर) लाई उल्टो पारेर पढेर God (देवता) मान्दै ढोग गर्नेहरुबाट मदेसी जनता सावधान हुनु पर्दछ।

कथमकथाचित दल भित्र नेतृत्व पुस्तान्तरण  भयो भने पनि काग्रेसको दोस्रो पुस्ता रामसरण वा त्यस्तै, एमाले भित्र ईस्वर पोखरेल वा त्यस्तै, माओवादी भित्र नारानकाजि वा त्यस्तैले नेतृत्व लिदा झन् बैराग लाग्दो अवस्था हुने छ। रामकुमारी झाक्री, गगन थापा वा लेखनाथ न्यौपानेहरुले पिण्ड खाने उमेर सम्म पनि अरुकै पछाडी लाईन लाग्नु पर्ने हुदा भावी पुस्ता समेत डिप्रेसनको शिकार हुने देखिन्छ। अत: दल र नेतृत्व प्रति ओठे भक्ति होईन कटु समीक्षा आजको आवश्यकता हो। हली नभएको गोरु र ठेटी (बिनारी) नभएको हलोले जोत्न सकिदैन। सिध्दान्तहिन र नेत्रृत्व बिहिन दलले देश र जनताको हित गर्न सक्दैन। जय नेपाल, लाल सलाम, जय मधेश !!!